काठमाडौं-नेपाल चलचित्र निर्देशक समाजले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा एक भव्य समारोहको आयोजना गरी रजत जयन्ती मनाएको छ । चलचित्र विकास बोर्ड परिसरमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी रहनुभएको थियो ।
कार्यक्रममा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी विशेष अतिथिका रूपमा सहभागी रहनुभएको समारोहको अध्यक्षता समाजका अध्यक्ष जनकदीप पराजुलीले गर्नुभएको थियो ।
समारोहमा वरिष्ठ चलचित्रकर्मी निर शाहलाई नगदसहित ‘रजत जयन्ती दीर्घ साधना सम्मान-२०८१’ अर्पण गरिएको थियो भने शम्भु प्रधानलाई ‘रजत जयन्ती हिरा सिंह स्मृति सम्मान-२०८१’, निर्देशक श्याम राई, डा. सुबोधकुमार पोखरेल र रक्षा सिंह राणालाई ‘रजत जयन्ती स्रष्टा सर्जक सम्मान-२०८१’ बाट सम्मानित गरिएको थियो ।
‘डाइरेक्टर अफ दी इयर-२०८०’ को व्यावसायिक विधामा चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले अवार्ड प्राप्त गर्नुभएको थियो भने कलात्मक (क्रिटिक्स) विधामा चलचित्र ‘द रेड सुडकेस’ का निर्देशक फिडेल देवकोटा सम्मानित हुनुभएको थियो ।
सो अवसरमा निर्देशक समाजको प्रोफाइल भिडियो, निर शाहको जीवनीमाथि आधारित दृश्य सामग्री, सम्मानित स्रष्टाहरूका वृत्तचित्र, साङ्गीतिक नृत्य प्रस्तुति तथा रजत जयन्ती स्मारिका विमोचन गरिएको थियो ।