नेपाली खानाले विश्वभर हाम्रो पहिचान बनाउँदैछ : मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मी (भिडियोसहित)

Devil Singh Rajput


|
|


काठमाडौं – मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले नेपाली खानाले विश्वभर हाम्रो पहिचान बनाउँदै गएको बताउनुभएको छ ।

ग्लोरी मिडिया र न्यूजलाईन्स मिडियाको संयुक्त आयोजनामा सम्पन्न विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेग्मीले नेपाली पाककलामा समर्पित सेफहरूको सम्मानले राष्ट्रिय गौरव बढाउने र नेपाली खानाको अन्तर्राष्ट्रियकरणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

“नेपाल पर्यटन प्रवर्द्धनमा पाककला र नेपाली सेफहरूको भूमिका” विषयमा आयोजित विचार गोष्ठी तथा “ग्लोबल स्टार अवार्ड” वितरण कार्यक्रममा रेग्मीले यस्ता सम्मान कार्यक्रमहरूले नेपाली सेफहरूलाई थप हौसला दिने उल्लेख गर्नुभयो।

कार्यक्रम ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाको सभापतित्वमा तथा न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्टको संयोजकत्वमा सम्पन्न भएको थियो।

सो अवसरमा विशिष्ट अतिथिका रूपमा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, वरिष्ठ पर्यटनविद् कर्ण शाक्य, नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, समाजसेवी तथा गैरआवासीय नेपाली अभियन्ता रुद्र शर्मा लगायतको उपस्थिति रहेको थियो।

नेपाली पाककला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान तथा सम्मानका लागि आयोजना गरिएको कार्यक्रममा विभिन्न देशहरूमा कार्यरत अग्रज नेपाली सेफहरूको योगदानलाई उच्च मूल्यांकन गर्दै “ग्लोबल स्टार अवार्ड” प्रदान गरियो। आयोजक संस्थाहरूका अनुसार यस्ता कार्यक्रमहरूले नेपाली संस्कृति र खानपानलाई विश्वसामु अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।