काठमाडौं, बैशाख २० – नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि क्रियाशील सेफ्स एसोसिएसन अफ नेपाल (Chefs Association of Nepal) ले आज पत्रकार सम्मेलन आयोजना गरी आफ्नो ३०औं वार्षिकोत्सवको विविध कार्यक्रमबारे जानकारी गराएको छ।
रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले कार्यक्रममा देश तथा विदेशका विशिष्ट पाहुनाहरूको उपस्थिति रहने जानकारी दिनुभयो। साथै, कार्यक्रममा नेपाली परम्परागत खानाका विविध स्वादसमेत प्रस्तुत गरिनेछ।
उहाँका अनुसार वार्षिकोत्सवको अवसरमा नेपाल तथा विदेशमा कार्यरत अनुभवी र उत्कृष्ट सेफहरूको योगदानको कदर गर्दै विशेष सम्मान कार्यक्रमसमेत आयोजना गरिनेछ।
“सेफ्स एसोसिएसन अफ नेपालले गुणस्तरीय पाकशिक्षा प्रदान गर्दै सेफहरूको क्षमता अभिवृद्धिमा निरन्तर योगदान दिइरहेको छ। हामी अग्रजहरूलाई सम्मान गर्दै र नयाँ पुस्तालाई प्रोत्साहित गर्दै नेपाल र नेपाली खानालाई विश्वमञ्चमा चिनाउने प्रयत्नमा क्रियाशील छौं,” अध्यक्ष तामाङले बताउनुभयो।
साथै, पाककलालाई नेपालको सांस्कृतिक कूटनीतिमा रूपान्तरण गर्दै अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने र पर्यटन तथा अर्थतन्त्रमा योगदान दिने लक्ष्य लिएको समेत अध्यक्ष तामाङले बताउनुभयो।
उहाँले आगामी दिनमा संस्थालाई थप सशक्त बनाउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर नेपाली खानाको अन्तर्राष्ट्रिय यात्रालाई अझ व्यापक बनाइने विश्वास व्यक्त गर्नुभयो।
संस्थापक अध्यक्ष पुष्प थापाले तत्कालीन समयमा पाँचवटै विकास क्षेत्रका खानालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित संस्था स्थापना गरिएको बताउनुभयो। नेपाली खाना नेपालका पाँचतारे होटलहरूको मेनुमा समावेश हुनुपर्छ भन्ने उद्देश्यका साथ अघि बढिएको उहाँले स्मरण गर्नुभयो।
कार्यक्रममा पूर्व अध्यक्षहरू सेफ रत्न बहादुर थापा, गोविन्द नरसिंह केसी र जित लामा पाख्रिनले प्रत्येक वर्षजस्तै यस वर्ष पनि वार्षिकोत्सव विशेष र सफल हुने विश्वास व्यक्त गर्नुभयो।
निवर्तमान अध्यक्ष श्याम कुमार तामाङले सम्पूर्ण सेफहरूलाई वार्षिकोत्सवमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।
महासचिव पदम बहादुर आले मगरले संस्थाको उद्देश्य, भावी योजना र वार्षिकोत्सवसम्बन्धी कार्यक्रमबारे जानकारी दिँदै सेफ्स एसोसिएसन अफ नेपालले आगामी दिनमा नेपाली खानालाई थप व्यवस्थित, वैज्ञानिक र विश्वस्तरीय बनाउने दीर्घकालीन योजना अघि सारेको बताउनुभयो।
एसोसिएसनले सम्पूर्ण नेपाली सेफहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो पहिचानलाई थप सशक्त बनाउन आह्वानसमेत गरेको छ।
‘हाम्रो पेशा, हाम्रो सान’ भन्ने मूल नाराका साथ सेफ समुदायलाई एकताबद्ध गर्दै नेपाली खानाको शुद्धता, मौलिकता र गौरवलाई विश्वसामु चिनाउने लक्ष्य बोकेको सेफ्स एसोसिएसन अफ नेपाल नेपालको पहिलो तथा सबैभन्दा पुरानो सेफ संस्था हो।