नुनको कारोबार खुला ग​र्ने सरकारको योजनाप्रति कांग्रेसको आपत्ति, आपूर्ति अहिलेको जस्तै राख्न माग

Devil Singh Rajput


|
|


 काठमाडौं | आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले नुनको कारोबार निजी क्षेत्रलाई खोल्ने तयारी गरिरहेकोप्रति सत्तारूढ नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ। नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै हाल सरकारले आम जनतालाई सर्वसुलभ मूल्यमा नुन आपूर्ति गर्दै आएको व्यवस्थालाई परिवर्तन गरी व्यापारिक समूहलाई जिम्मा दिनु अनुचित हुने बताएको हो।

विभाग प्रमुख तथा कांग्रेसका केन्द्रिय सदस्य गुरु बरालद्वारा जारी विज्ञप्तिमा नुनजस्तो संवेदनशील उपभोग्य वस्तुको कारोबार निजी क्षेत्रलाई दिँदा जनस्वास्थ्य र आर्थिक पक्षमा प्रतिकूल असर पर्न सक्ने भन्दै वर्तमान आपूर्ति प्रणालीलाई यथावत राख्न सरकारलाई आग्रह गरिएको छ। यसअघि राष्ट्रिय उपभोक्ता मञ्चले समेत नुनको कारोबार खुला गर्ने सरकारी योजनाको विरोध जनाएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगपति मोतिलाल दुगडको प्रभावमा परेर आगामी बजेटमार्फत नुनको आपूर्ति निजी क्षेत्रलाई दिने उद्देश्यले मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएको भनिएको छ।

मोतिलाल दुगड आपूर्ति राज्यमन्त्री रहेका बेलामा समेत त्यस्तै प्रस्ताव अघि बढाइएको थियो, तर त्यसबेला पनि व्यापक विरोध भएपछि योजना लागू हुन सकेको थिएन। त्यसो हुँदाहुँदै दुगडले हालसम्म पनि अवैध रूपमा नुनको कारोबार गरिरहेको उपभोक्ता अधिकारकर्मीहरूले बताउँदै आएका छन्।