अपि हिमाल गाउँपालिकामा ९० जना बालबालिकालाई स्कुल ब्याग र लत्ता कपडा वितरण

Devil Singh Rajput


|
|


दार्चुला । ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ भन्ने नाराका साथ सञ्चालन गरिएको सामाजिक अभियान अन्तर्गत दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा बालबालिकाका लागि स्कुल ब्याग, स्टेसनरी सामग्री र लत्ता कपडा वितरण गरिएको छ। यस अभियानमार्फत झण्डै ९० जना बालबालिकालाई आवश्यक सामग्री वितरण गरिएको हो। उनीहरुलाई अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहोरा र ओपन खबर मिडिया प्रालि का अध्यक्ष मोहनकृष्ण अधिकारीले उक्त सामाग्रीहरु वितरण गरेका थिए ।

ओपन खबर मिडिया प्रा लिले नेतृत्व गरेको उक्त सामाजिक अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रम सफल बनाउनमा साल्ट टे««डिङ कर्पोरेशन लिमिटेड, एभरेष्ट आइ बयर, भुवनेश्वरी इम्पेक्स, समाजसेवी अजय थापा (तारकेश्वर–१, काठमाडौं), विष्णु भण्डारी (नागार्जुन–४, काठमाडौं), हरिसरण सापकोटा र निर्मला तिमिल्सिना (बेलकोटगढी नगरपालिका, नुवाकोट), र अशोक तामाङ (काभ्रेपलाञ्चोक) लगायतका व्यक्तित्व र संस्थाहरूको विशेष भूमिका रहेको थियो। बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने र जीवनस्तरमा सहजता ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी आयोजकले दिएका छन्।

सहयोगदाताहरूको निरन्तर साथ र सद्भावले सामाजिक उत्तरदायित्व वहन गर्न थप प्रेरणा मिलेको आयोजकहरूको भनाइ छ। अपि हिमालजस्तो विकट क्षेत्रमा बालबालिकाले शैक्षिक सामग्री र लत्ता कपडाबाट राहत पाएकोमा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।