२०८२ साउन ४, काठमाडौं | जलवायु परिवर्तनका असर न्यूनीकरण, वातावरणीय प्रदूषण नियन्त्रण तथा प्राकृतिक स्रोत संरक्षणमा सहकार्य गर्दै वेष्ट फाइनान्स कम्पनी लिमिटेडले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४’ अन्तर्गतको मार्गदर्शन कार्यान्वयनका क्रममा कम्पनीले यो नयाँ निक्षेप योजना सुरु गरेको हो।
ग्राहकमैत्री यो योजनाअन्तर्गत निक्षेपकर्ताको नाममा एउटा बिरुवा रोपिने व्यवस्था गरिएको छ। त्यसका लागि वेष्ट फाइनान्सले लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालसँग सहकार्य गरेको छ। उक्त वृक्षारोपण कार्यक्रमलाई स्थायित्व दिन बिरुवा रोप्ने, गोडमेल गर्ने, संरक्षण गर्ने र पाँच वर्षपछि स्थानीय निकायलाई हस्तान्तरण गरिने जनाएको छ।

साझेदारीको औपचारिक सहमतिपत्रमा वेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपाल (एरिया १ काठमाडौँ) का एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्यले हस्ताक्षर गरेका हुन्।
यसै सन्दर्भमा, वेष्ट फाइनान्स, लायन्स क्लब र गोदावरी नगरपालिका वडा नं. १ को संयुक्त आयोजनामा गोदामचौरस्थित खाली जग्गामा ५०० बिरुवाको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. १ का अध्यक्ष श्रीराज थापा, वेष्ट फाइनान्सका अध्यक्ष प्रा. डा. रामजी गौतम, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती, कम्पनीका कर्मचारीहरू, लायन्स डिष्ट्रिक्ट ३२५ एस नेपालका पदाधिकारीहरू – एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्य, एरिया एक्जुकेटिभ चिफ बालकुमार पाण्डे लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै लायन्स डिष्ट्रिक्ट ३२५ एस अन्तर्गतका ५० भन्दा बढी क्लबहरू सहभागी भएका थिए। यो अभियानले वातावरण संरक्षणमा वित्तीय संस्थाहरूको भूमिका महत्वपूर्ण रहन सक्ने सम्भावनाको संकेत गरेको छ।



