जुनियर मिस्टर एण्ड मिस उर्लाबारी सिजन–२ सम्पन्न, आदित्य बराल र सायुरी दाहाल विजेता

Devil Singh Rajput


|
|


उर्लाबारी, मोरङ – उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा शनिबार एक भव्य समारोहका बीच “जुनियर मिस्टर एण्ड मिस उर्लाबारी २०८२, सिजन–२” को ग्राण्ड फाइनल सम्पन्न भएको छ। आकर्षक नृत्य, सांगीतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण उक्त ग्राण्ड फाइनलमा कुल ४३ जना प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा भएको थियो।

जुनियर मिस्टर उर्लाबारीतर्फ उर्लाबारी–८ का आदित्य बराल विजेता बनेका छन्। उनी लालिगुरास सेकेन्डरी बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थी हुन्। सोही शीर्षकअन्तर्गत फर्स्ट रनर अपको उपाधि पशुपति आवासीय माविका मिङ्सो हाङ लिम्बुले हात पारे भने ब्रिलियन्ट बोर्डिङ स्कूलका समिप दाहाल सेकेण्ड रनर अप घोषित भएका छन्।

त्यसैगरी, जुनियर मिस उर्लाबारीको ताज उर्लाबारी–३ की सायुरी दाहालले जितेकी छन्, जो सप्तकोशी आवासीय माविमा अध्ययनरत छिन्। उनलाई सिजन–१ की विजेता मेट्रिना सुवेदीले ताज पहिराइदिएकी थिइन्। मिस उर्लाबारीतर्फ फर्स्ट रनर अपको उपाधि पशुपति आवासीय माविकी सेविका थापाले प्राप्त गरिन् भने लालिगुरास अंग्रेजी माविकी गृषिका कार्की सेकेण्ड रनर अप बनेकी छन्।

विजेताहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। इटहरीस्थित ड्रिम मोडलिङ एजेन्सी प्रा.लि. र क्रिएटर आर्ट फाउण्डेसन उर्लाबारीको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा प्रतिभा, व्यक्तित्व र प्रस्तुतीका आधारमा विजेताहरू छनोट गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

निर्णायक मण्डलीमा शान्ति पाख्रिन, रोनक अग्रवाल, संगिना चौधरी, अस्मिता ओली श्रेष्ठ र नवित प्रधान रहेका थिए। कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बु, ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रञ्जन बराल, वडा सदस्य सुमन कार्की, समाजसेवी नितम चौहान, पत्रकार घनश्याम भण्डारी र सरोज बस्नेत लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक विकी ठकुरीका अनुसार, “जुनियर मिस्टर एण्ड मिस उर्लाबारी” प्रतियोगिता बालबालिकाको आत्मविश्वास, नेतृत्व क्षमता र सृजनशीलता विकासका लागि उत्कृष्ट मञ्चका रूपमा स्थापित भएको छ।

यसैगरी, विशेष उपाधिहरूमा भोटिङ स्टार उपाधि एञ्जेल चौधरी र सोधुहाङ लिम्बुले प्राप्त गरेका छन् भने पब्लिक च्वाइस उपाधि सायुरी दाहाल र निस्साम श्रेष्ठले जितेका छन्।