काठमाण्डौ । आयोडिन मन्थको अवसर पारेर राष्ट्रिय उपभोक्ता मन्चले अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । मन्चले माघ १८ गते अनामनगर स्थित सिलौटो कटेजमा स्वास्थ्य विज्ञ सहित सरोकारवाला निकायका अधिकारीहरुको उपस्थितीमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले प्याकेज गर्दा ५० पीपीए आयोडिन हुनुपर्ने व्यवस्था अनुसार नै साल्ट ट्रेडिङले नूनमा आयोडिन मिसाउने गरेको पाईएको जानकारी दिनुहुँदै उडेर जाने प्रकृतिको भएकोले उक्त प्याकेट नुन उपभोक्ताको भान्छासम्म पुग्दा ३० पीपीएम रहने जनाउनुभयो । उहाँले गरिबीको रेखामुनि रहेका नागरिकहरूको हकमा आयोडिन सेवन अझै चुनौतीपूर्ण हुनसक्ने तर्क पेश गर्नुहुदै दिनमा एक छाक मात्रै खान पाउने वर्गले नूनको मात्रा पनि कम प्रयोग गर्ने भएकाले उनीहरूमा आयोडिनको मात्रा अपर्याप्त हुन सक्ने उल्लेख गर्नुभयो ।
डा. सुवेदीले विदेशी अभ्यासको सन्दर्भ जोड्नुहुँदै नेपालमा आयोडिनको मात्रा बढी छ भन्न नमिल्ने बताउनुभयो । उहाँका अनुसार धेरै देशमा समुद्री खाद्य पदार्थ (सी–फुड) मार्फत पर्याप्त आयोडिन प्राप्त हुने भएकाले त्यहाँ नूनमा आयोडिनको मात्रा कम राखिएको हुन्छ। साथै, खाना पकाउने शैली पनि नेपालभन्दा फरक भएकाले त्यही मापदण्ड नेपालमा लागू गर्न नमिल्ने स्पष्ट पार्नुभयो ।
आयोडिनयुक्त नून सेवन गर्नु हुँदैन वा साल्ट ट्रेडिङको नूनमा आयोडिन अत्यधिक छ भन्ने गलत सन्देश फैलाउने प्रयास भइरहेको भन्दै डा. सुवेदीले उपभोक्तालाई सचेत रहन आग्रह समेत गर्नुभयो। उहाँले नेपाली खाना पकाउने परम्परामा धेरै समयसम्म भुट्ने, मसला प्रयोग गर्ने र लामो समय पकाउने चलन भएकाले करिब १२ प्रतिशत आयोडिन नष्ट हुने जनाउनुभयो । त्यसैले हाल कायम गरिएको आयोडिनको मात्रा उपयुक्त रहेको उहाँको भनाइ छ। डा. सुवेदीले साल्ट ट्रेडिङले बिक्रि गर्ने नुनमा सहि मात्रामा आयोडिन मिसाईएको हुँदा अफवाहका पछाडि नलागि निर्धक्कले दुई बालबालिकाको लोगो चिन्ह अंकित नुन सेवन गर्न आग्रह गर्नुभयो ।
यसैक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन नेपालकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले श्रीलङ्काको उदाहरण प्रस्तुत गर्दै आयोडिन घटाउँदाको नकारात्मक असरबारे जानकारी गराउनुभयो । श्रीलङ्कामा पनि आयोडिन बढी छ भन्ने भ्रम फैलाइएपछि सरकारले आयोडिनको मात्रा घटाएको र त्यसपछि अस्वस्थ बच्चा जन्मिने समस्या देखिएको उहाँको भनाइ थियो। अन्तर्राष्ट्रिय कार्यक्रममा श्रीलङ्काका पदाधिकारीहरूले नेपालले त्यस्तो गल्ती नगर्न सुझाव दिएको कुरा उहाँले उल्लेख गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कर्पोरेशनले नेपाल सरकारको निर्देशन अनुरुप नै नुनमा उचित मात्रामा आयोडिन मिसाएर नेपाल भर बिक्रि वितरण गर्दै आएको जानकारी दिनुहुँदै कर्पोरेशनले आयोडिनयुक्त नुनको अभाव हुन नदिन कम्तिमा पनि नेपालभर ६ महिनासम्मका लागि पुग्ने नुनको मौज्दात राख्ने गरेको र तोकिएका विकट जिल्लामा ९ रुपैयामै नुन बिक्री गर्दै आएको समेत बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले केही व्यापारी समूहले कानून विपरीत आयोडिनरहित नून उच्च मूल्यमा बिक्री गरिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभ्यो । एक केजी नून ३५० रुपैयाँसम्ममा बिक्री गरिएको पाइएकाले त्यस्ता व्यापारीमाथि कारबाही गरिएको र उपभोक्ताको हितविरुद्ध हुने कुनै पनि गतिविधिको मञ्चले सशक्त विरोध गर्ने उहाँले बताउनुभयो । महर्जनले अनधिकृत रुपमा नुनको कारोबार गर्नेहरु उपर कडा कार्वाही हुनुपर्ने माग अघि सार्दै जनस्वास्थ्य माथि कसैलाई पनि खेलबाड गर्न छुट नरहेको भन्दै चेतावनी समेत दिनुभयो ।
सो अवसरमा जनस्वास्थ्य विद् अरुणा उप्रेतीले पत्रु खानाको उपभोगले स्वास्थमा प्रतिकुल असर गर्ने भएकाले स्वस्थकर जीवन शैली अपनाउन सबैमा आग्रह गर्नुहुँदै आयोडिनयुक्त नुन मानव शरीरका लागि नभई नहुने पोषण त्तत्व भएकाले यसको उचित मात्रामा दैनिक सेवन गर्न आवश्यक रहेको बताउनुभयो ।साथै उहाँले आयोडिनको कमीले गलगाड हुने, गर्भ तुहिने आदी जस्ता विकराल स्वास्थ्य समस्या निम्तन सक्ने तर्फ सजक रहन पनि सबैमा आग्रह गर्नुभयो ।
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत विश्वराज दाहालले पिँक साल्टका नाममा बजारमा विभिन्न ब्राण्डमा अत्याधिक महँगो मूल्य तोकी मनलाग्दी रुपमा नुन बिक्री वितरण हुने गरेको पाईएको र त्यस्ता उपर कार्वाही गरी पसल वा डिपार्टमेण्टहरु उपर निगरानी बढाइएको जनाउनु भयो ।
त्यसैगरी, खाद्य विज्ञ शोभिता श्रेष्ठले पनि नेपालमा परिकार पकाउने आनीबानीलाई ध्यानमा राख्दा हाल कायम आयोडिनको मात्रा बढी नभएको धारणा व्यक्त गर्नुभयो ।
अन्तर्कृयामा सहभागीहरुले साल्ट ट्रेडिङ कर्पोरेशन नेपालले बिक्री–वितरण गर्दै आएको आयोडिनयुक्त नूनमा आवश्यकभन्दा बढी आयोडिन रहेको भन्दै केही स्वार्थी समूहले फैलाइरहेको भ्रमप्रति सरोकारवाला निकायहरूले आपत्ति जनाए । राष्ट्रिय उपभोक्ता मञ्चद्वारा आयोजित ‘आयोडिन मन्थ’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरकारका प्रतिनिधिहरूले वैज्ञानिक आधारबिनै फैलाइँदै आएको यस्ता प्रचारप्रति बेलैमा ध्यानाकर्षण गराउनुपर्ने धारणा राखे ।
राष्टि««य उपभोक्ता मंचका महासचिव पुष्पराम पौडेलले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्नुहुँदै कार्यक्रमले पछिल्ला वर्षहरूमा साल्ट ट्रेडिङको आयोडिनयुक्त नूनमा आयोडिन बढी छ भन्ने भाष्य निर्माण गर्ने उद्देश्यले गरिएका केही अनुसन्धानहरू निष्पक्ष नरहेको कार्यक्रमले निष्कर्ष समेत निकालेको बताउनुहुँदै सचेतना अभिब्रिद्धीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिईएको जानकारी दिनुभयो ।

