संवाद र समाधान’ कार्यक्रममा युवा र भविष्यबारे गहन बहस, अवसर सिर्जनामा जोड

Devil Singh Rajput


|
|


काठमाडौँ | “युवा र भविष्यः अवसर कि अन्योल ?” भन्ने मूल विषयमा आधारित संवाद र समाधान (From Dialogue to Solutions) कार्यक्रमअन्तर्गत एक संवाद आधारित छलफल श्रृंखला सम्पन्न भएको छ। उद्घाटन सत्रमा विभिन्न क्षेत्रका विज्ञ, शिक्षाविद्, उद्यमी तथा सामाजिक चिन्तकहरूले नेपाली युवाको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रमका विशिष्ट अतिथि अनुसन्धानधाता  डा. प्रमोद केसीले युवाका लागि स्पष्ट रोडम्याप आवश्यक रहेको उल्लेख गर्दै युवाको दृढ संकल्पअनुसार नीति तथा कार्यक्रम निर्माण हुनुपर्ने बताए। उनले समस्या समाधानका लागि वैज्ञानिक सोच (Scientific Temperament) विकास गर्दै प्रमाणमा आधारित समाधान खोज्नुपर्नेमा जोड दिए।

शैक्षिक मार्गदर्शक तथा आईटी क्षेत्रका विज्ञ डा. समीर खरेलले नेपाली सन्दर्भमा प्रश्न सोध्ने संस्कार विकास गर्नुपर्ने धारणा राखे। उनले प्रश्न गर्न हिच्किचाउन नहुने भन्दै आर्थिक रूपमा सक्षम परिवारका युवासमेत वैदेशिक रोजगारीमा जाने र नफर्कने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे।

विशेष अतिथि ECAN का निव​र्त​मान​ अध्यक्ष शेषराज भट्टराईले विश्व व्यवस्था एकध्रुवीयबाट बहुध्रुवीयतर्फ सरेको उल्लेख गरे। उनले सूचना प्रविधि (IT) क्षेत्रमा अपार सम्भावना रहेको भन्दै युवा जहाँबाट पनि आम्दानी गर्न सक्ने अवस्थामा पुगेको बताए। ज्ञान–आधारित अर्थतन्त्रतर्फ युवालाई उन्मुख गरिनुपर्ने र विश्वव्यापी श्रम गतिशीलताले नकारात्मक असर नपार्ने उनको भनाइ थियो।

उद्यमी तथा अतिथि वक्ता टंका भट्टराईले मानव संसाधनको अधिकतम र प्रभावकारी उपयोग आवश्यक रहेको बताए। उनले कृषि, पर्यटन, जलविद्युत् र आईटी क्षेत्र नेपाली सन्दर्भमा अत्यन्तै सम्भावनायुक्त रहेको उल्लेख गर्दै यी क्षेत्रमा युवाका लागि ठूलो अवसर भए पनि सरकारको सक्रिय भूमिका अझ सुदृढ हुनुपर्ने धारणा राखे।

सामाजिक सञ्जाल विज्ञ तथा आयोजक टोलीका सदस्य राजु भट्टराईले युवालाई हचुवाको निर्णयतर्फ होइन, नयाँ विमर्श पहिचान गर्नतर्फ प्रेरित गर्नुपर्ने बताए। युवाका विचार र सोचको कदर गर्दै तिनलाई सकारात्मक दिशामा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रमका सञ्चालक सरोज ओझाले सबै सहभागीलाई स्वागत गर्दै संवादको उद्देश्य स्पष्ट गरे। उनले समाज, अर्थतन्त्र र राजनीति सम्बन्धी जटिल समस्याका समाधान खोज्ने तथा युवाका चासोलाई केन्द्रमा राखेर यो संवाद श्रृंखला अवधारणागत रूपमा अघि बढाइएको बताए। जेन-जी आन्दोलनपछि युवाको सोचलाई कसरी सम्बोधन गर्ने?, उनीहरूका बौद्धिक धारणा के हुन्?  र तिनलाई व्यवहारिक समाधानमा कसरी रूपान्तरण गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको उनले स्पष्ट पारे।

कार्यक्रमले युवाका सवाललाई संवादमार्फत समाधानतर्फ लैजान सकिने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता छलफललाई निरन्तरता दिने आयोजकले जनाएको छ।