काठमाडौँ - ब्युटिसियनहरूको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासलाई लक्षित गर्दै आयोजना गरिएको ‘न्युलुक ब्युटी फर लाइफ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन–८ को ग्रान्ड फिनाले काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै धादिङकी ब्युटिसियन चादनी श्रेष्ठ विजेता घोषित भइन्। उनले नगद २५ हजार रुपैयाँसहित मुख्य उपाधि, बेस्ट हेयर स्टाइलिस्ट अवार्ड, पब्लिक च्वाइस अवार्ड र मल्टिमिडिया अवार्ड समेत हात पारिन्।
बिहीबार राति नाचघरमा सम्पन्न उक्त समारोहमा खोटाङकी हिरा राई फस्ट रनरअप भइन्। उनले भिवर्स च्वाइस अवार्ड र बेस्ट आइल्यासेस टेक्निसियन अवार्डसहित नगद १५ हजार रुपैयाँ प्राप्त गरिन्। त्यस्तै, बेस्ट स्क्रिन अवार्डसहित संगीता राई सेकेन्ड रनरअप घोषित भइन् र उनले १० हजार रुपैयाँ तथा क्राउन प्राप्त गरिन्।
रोज ब्युटि एकेडेमी र बिलक्षण क्रियसन प्रा.लि. द्वारा आयोजित यस प्रतियोगितामा अनिता गुरुङले मोस्ट डिसिप्लेन अवार्डसहित थर्ड रनरअपको उपाधि हासिल गरिन्। स्वस्तिका अधिकारी बिष्टले बेस्ट आइ अवार्ड र म्यानेजमेन्ट च्वाइस अवार्ड जितिन् भने अस्बिना सिंहले बेस्ट स्टाइलिस्ट अवार्डसहित अर्गनाइजर च्वाइस अवार्ड प्राप्त गरिन्।
अन्य विजेताहरूमा रेश्मा केसी (बेस्ट ड्रेस र मोस्ट इन्नोसेन्ट), मिना मोक्तान (मोस्ट ब्युटिफुल), सलिना थापा (बेस्ट फिगर), सम्झना लिम्बु (मोस्ट फोटोजेनिक), रेखा लामिछाने (मोस्ट बब्ली) र राधा चौधरी (बेस्ट मेकअप) रहेका छन्। साथै, रविना तामाङ (मोस्ट ट्यालेन्ट), रेणुका कुमारी चौधरी (बेस्ट मेकअप), गौरी कार्की (मोस्ट फ्रेन्डली), चन्द्रा ताम्राकार (बेस्ट स्माइल), अञ्जु तुलाधर श्रेष्ठ (मोस्ट सिभिलिटी), इशारा गुरुङ (बेस्ट क्याटवाक) र सरस्वती आचार्य गौतम (बेस्ट आयुर्वेदिक थेरापिस्ट) पनि सम्मानित भए।
ग्रान्ड फिनालेको निर्णायक मण्डलमा अग्रज गायिका देविका बन्दना, अभिनेता श्रीदेव भट्टराई, गणेशमान प्राविधिक शिक्षालय (सिटिइभिटी)की प्रिन्सिपल पशुपति जोशी, फेसन डिजाइनर गोमा अधिकारी धिताल, अग्रज ब्युटिसियनहरू सिता श्रेष्ठ र मञ्जु सापकोटा तथा सामाजिक अभियन्ता ज्ञानु श्रेष्ठ रहेका थिए। बेस्ट ड्रेसको निर्णायकमा फेसन डिजाइनर गोमा अधिकारी र मितु अधिकारी थिए।
जयन सुब्बा मानन्धरको कोरियोग्राफी र कृष्ण रसालको नृत्य निर्देशन रहेको कार्यक्रमको निर्देशन सरिता भारतीले गरेकी थिइन्। कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बास्कोटाले उद्घाटन गर्दै विगत ८ वर्षदेखि यो प्रतियोगिताले ब्युटिसियनहरूको प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
आयोजक संस्था रोज ब्युटि एकेडेमीकी अध्यक्ष सोनी कारंजितले स्वागत मन्तव्य व्यक्त गर्दै ब्युटिसियनहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। बिलक्षण क्रियसन प्रा.लि.का अध्यक्ष डब्बु क्षत्रीले धन्यवाद ज्ञापन गर्दै राज्यबाट पर्याप्त सहयोग नभएकै कारण यस्तो प्लेटफर्म सिर्जना गरिएको र यसले ब्युटिसियनहरूलाई आत्मविश्वास र अवसर प्रदान गरेको उल्लेख गरे।
समारोहमा गायक नारायण थापा, ओम सुनार, सविना सुवेदी, रमेश पाठक तथा गायिका सारिका घिमिरेले सांगीतिक प्रस्तुति दिएका थिए भने ३६० डिग्री डान्स स्टुडियोका कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए।


