१६औँ संस्करणको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ भव्यताका साथ सम्पन्न

PNA


|
|


काठमाडौँ - राजधानी काठमाडौँमा १६औँ संस्करणको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ भव्यताका साथ सम्पन्न भएको छ। विन्ध्यवासिनी फाउण्डेसन द्वारा जमलस्थित राष्ट्रिय नाचघर मा आयोजित कार्यक्रममा १२ विधामा अवार्ड तथा ५ विशिष्ट सम्मान प्रदान गर्दै नेपाली संगीत क्षेत्रका सर्जक र कलाकारहरूको योगदानको उच्च कदर गरिएको हो।

अवार्डतर्फ ‘परेली’ गीतबाट शिव परियार सर्वोत्कृष्ट गायक घोषित भए भने ‘के हेरेको टुलुटुलु’बाट समिक्षा अधिकारी सर्वोत्कृष्ट गायिका बनिन्। ‘मिर्मिरेमा बासेको भाले’बाट शिव हमाल उत्कृष्ट संगीतकार र ‘परदेशी हुनै मन छैन’बाट भुपेन्द्र बुढाथोकी उत्कृष्ट गीतकार घोषित भए।

लोकदोहोरी विधामा ‘झलिको’बाट अर्जुन सापकोटा उत्कृष्ट गायक तथा ‘भ्याप्पै आए बाहुन दाई’बाट ज्योति मगर उत्कृष्ट गायिका बने। म्युजिक भिडियोतर्फ ‘कता हिँड्रयो साइलो’बाट प्रभात पल ठकुरी र गीता ढुंगाना उत्कृष्ट मोडल जोडी घोषित भए भने ‘मायालाई पानको पात’बाट विक्रम चौहान उत्कृष्ट निर्देशक चुनिए।

त्यसैगरी ‘ए आमा जाम भन्यो मलाई’बाट बुद्ध थापा उत्कृष्ट छायाँकार, ‘वैशले जुरुक्क पार्‍यो’बाट दीपक विष्ट उत्कृष्ट म्युजिक भिडियो संगीतकार तथा ‘पैसा जोगाउन’बाट रीतु बोहरा नवप्रतिभा अवार्डबाट सम्मानित भए। सबै विधाका विजेतालाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा विशिष्ट सम्मानहरू पनि प्रदान गरिए। वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा लाई १ लाख रुपैयाँसहित विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२ प्रदान गरियो। गीतकार विजय शिवाकोटी लाई ५० हजार रुपैयाँसहित संगीत साधना सम्मान, गायिका रचना रिमाल लाई २५ हजार रुपैयाँसहित प्रेमध्वज संगीत रत्न सम्मान, लोकगायक पशुपति शर्मा लाई झलकमान लोक संगीत सम्मान तथा पत्रकार पवन आचार्य लाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो।

कार्यक्रम राष्ट्रिय गानबाट सुरु भई गुरुआमाको समूहद्वारा प्रस्तुत नृत्यले अझ रंगीन बनेको थियो। समिक्षा अधिकारी, रचना रिमाल र पशुपति शर्मा को सांगीतिक प्रस्तुति दर्शकका लागि विशेष आकर्षण बन्यो।

लाइफटाइम अचिभमेन्ट अवार्ड विजेता शम्भुजीत बासकोटा को सम्मानमा सुमनकुमार श्रेष्ठ ले उनका चर्चित गीतहरू प्रस्तुत गरेका थिए भने आयोजक संस्थाका सञ्चालक सुवास रेग्मी ले पनि गायनमा साथ दिएका थिए। त्यस्तै विजय शिवाकोटी को सम्मानमा अजर जंगम ले उनका सिर्जनाहरू प्रस्तुत गर्दै माहोललाई थप उत्साहित बनाएका थिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै लीना शर्मा रेग्मी ले नेपाली सांगीतिक सर्जकहरूको सम्मान, संरक्षण र प्रोत्साहनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको बताइन्।

धेरै पढिएको