शम्भूजीतलाई दीर्घसाधना तथा शिवलाई म्यूजिकखबर दशक संगीत सम्मान
काठमाडौं- ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने नारासहित विगत १३ वर्षदेखि आयोजना हुँदै आएको ‘१३औँ म्यूजिक खबर म्यूजिक अवार्ड–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौंको बालुवाटारमा आयोजित समारोहमा उत्कृष्ट पाँच मनोनितमध्येबाट सर्वोत्कृष्ट छनोट गर्दै गीत–संगीतका विभिन्न ३३ विधामा अवार्ड प्रदान गरिएको थियो।
सांगीतिक रौनकताबीच सम्पन्न कार्यक्रममा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहेका थिए। म्यूजिक खबरको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा सम्पन्न कार्यक्रमको सभापतित्व अवार्डका सल्लाहकार राधेश्याम लेकालीले गरेका थिए।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, पूर्वमन्त्री तथा वरिष्ठ कवि–गीतकार एसपी कोइराला, वरिष्ठ लेखक–निर्देशक मोहन निरौला, प्रकाश सायमी, वरिष्ठ संगीतकार शक्तिबल्लभ, सम्मानित गीतकार चूडामणि देवकोटा, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ गायक दुर्गा रायमाझीलगायत चलचित्र तथा गीत–संगीत क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
समारोहमा नेपाली गीत–संगीतको विकासमा दीर्घकालीन योगदान पुर्याएका मूर्धन्य संगीतकार संगीतरत्न शम्भूजीत बासकोटालाई ‘म्यूजिक खबर दीर्घ साधना सम्मान–२०८२’ प्रदान गरिएको थियो। प्रमुख अतिथि परमानन्द झाले उहाँलाई दोसल्ला ओढाई सम्मानपत्र तथा आयोजकका तर्फबाट नगद रु. ५१ हजार सहित सम्मान अर्पण गरेका थिए। संगीतकार बासकोटाको सम्मानमा गायिका टीका प्रसाईंले विशेष सांगीतिक प्रस्तुति दिएकी थिइन्।
त्यसैगरी प्रतिष्ठित गीतकार उन्नती शीला बोहरालाई ३५ वर्षभन्दा लामो समयदेखि गीत–संगीत तथा साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ‘म्यूजिक खबर शब्द शीला विशिष्ट सम्मान’ प्रदान गरियो।
वरिष्ठ गीतकार विजय शिवाकोटीलाई नेपाली सांगीतिक क्षेत्रमा २५ वर्षभन्दा बढी समयदेखि पुर्याएको अतुलनीय योगदानको सम्मानस्वरूप ‘म्यूजिक खबर रजत संगीत सम्मान’ प्रदान गरियो।
हरेक वर्ष प्रदान गरिँदै आएको ‘म्यूजिक खबर दशक संगीत सम्मान’ यस वर्ष लोकप्रिय गायक शिव परियार र गायिका कालिका रोका मगरलाई प्रदान गरिएको थियो। त्यस्तै गीतकारद्वय पुरुषोत्तम सानु र सुशीला पौडेललाई ‘म्यूजिक खबर युवा संगीत सम्मान’, अमेरिकामा बसेर नेपाली गीत–संगीतमा योगदान पुर्याउँदै आएकी पुष्पा खनाललाई ‘म्यूजिक खबर डायस्पोरा संगीत सम्मान’ प्रदान गरियो।
यसैगरी पत्रकारद्वय कुवेर गिरी र गोपीकृष्ण चापागाईंलाई जनही रु. ५,५५५ राशिसहित ‘म्यूजिक खबर संगीत पत्रकारिता सम्मान’ प्रदान गरियो। प्रतिभाशाली बालकलाकार युनिश घिमिरेलाई ‘म्यूजिक खबर बालप्रतिभा सम्मान’, प्रवासमा रहेर पनि नेपाली गीत–संगीतमा योगदान पुर्याएकी गायिका नीता आचार्यलाई ‘डायस्पोरा गायन सम्मान’, संगीत क्षेत्रमा योगदान दिएका डा. रणजित झालाई ‘म्यूजिक खबर संगीतकर्मी सम्मान’ तथा पत्रकारिताका माध्यमबाट प्राविधिक योगदान पुर्याएका उदयराज शर्मालाई ‘म्यूजिक खबर सञ्चारकर्मी सम्मान’ प्रदान गरिएको थियो।
अवार्डको निर्णायक मण्डलमा लोकप्रिय गीतकार लोकराज अधिकारीको संयोजकत्वमा वरिष्ठ गीतकार–संगीतकार कस्तुप पन्त र लोकप्रिय गायिका देवी घर्ती रहेका थिए।
यस वर्षको अवार्डमा सुगम संगीततर्फ ‘हृदयमा’ गीतबाट प्रविन बेडवाल सर्वोत्कृष्ट गायक तथा ‘गुन भुल्यौ’ गीतबाट सारिका घिमिरे सर्वोत्कृष्ट गायिका घोषित भए। ‘मुस्कान छैन आज’ गीतबाट डम्बर याक्सो सर्वोत्कृष्ट गीतकार तथा ‘मेरा सुरहरू’ गीतबाट शंकर थापा (स्माइल) सर्वोत्कृष्ट संगीतकार घोषित भए।
‘दुखें धेरै दुख्न पुग्यो’ गीतबाट सरला श्रेष्ठ उत्कृष्ट महिला गीतकार तथा ‘तेजस्वी अप्सरा’ गीतबाट मनोज खड्का उत्कृष्ट डायस्पोरा गीतकार घोषित भए। ‘रात किन हुन्छ हजुर’ गीतबाट नरेन्द्र वियोगीले उत्कृष्ट संगीत संयोजनको अवार्ड प्राप्त गरे।
म्युजिक भिडियोतर्फ ‘तिमी आँखा म नानी’बाट झरना रिसाल उत्कृष्ट महिला मोडल तथा ‘मेरो जिन्दगीको’ गीतबाट सुरेश कोह्ली उत्कृष्ट पुरुष मोडल घोषित भए। ‘नमस्ते ढोगदियाँ’बाट अजय रेग्मी उत्कृष्ट छायाँकार, ‘भागौँला त्रिशूली तरेर’बाट पदम सुवेदी उत्कृष्ट सम्पादक, ‘आगो लाइदिन्छु’बाट राहुल शाह उत्कृष्ट निर्देशक तथा ‘ओइ नक्कले’बाट नरेश बीबीसी उत्कृष्ट ध्वनि सम्पादक घोषित भए।
युगल गायनतर्फ ‘हो नि हो’ गीतबाट कर्णराज गिरी र कमला रेग्मी विजेता बने। ‘हाम्रो देश’ गीतबाट सुरेन्द्र खड्का उत्कृष्ट राष्ट्रिय भावको गीत, ‘बादलपारि’बाट धनवीर थापा मगर उत्कृष्ट पप गीतकार, ‘ओइ नक्कले’बाट अर्जुन पोखरेल उत्कृष्ट पप संगीतकार, ‘प्रिय जिन्दगी’बाट रविन श्रेष्ठ उत्कृष्ट पप गायक तथा ‘इतिहास’बाट आश्रा कुँवर उत्कृष्ट पप गायिका घोषित भए।
चलचित्रतर्फ ‘लाज शरणम्’को ‘च्यातिएको चोली’ गीतबाट सुरज पण्डित तथा ‘ऊनको स्वीटर’को ‘फकाउँछ काफ्ले’ गीतबाट झुमा लिम्बु सर्वोत्कृष्ट पार्श्वगायक–गायिका घोषित भए। चलचित्र **‘एन्जिला’**को ‘रात किन हुन्छ हजुर’बाट थानेश्वर गौतम सर्वोत्कृष्ट चलचित्र संगीतकार तथा **‘ऊनको स्वीटर’**को ‘फकाउँछ काफ्ले’बाट युवराज काफ्ले सर्वोत्कृष्ट चलचित्र गीतकार घोषित भए।
लोकदोहोरीतर्फ ‘दुःख साटम्ला’बाट अर्जुन सापकोटा सर्वोत्कृष्ट गायक, ‘नौली हदेली’बाट लक्ष्मी आचार्य सर्वोत्कृष्ट गायिका, ‘जाम भो हिँड रेलैमा सलल’बाट नवीन परियार उत्कृष्ट भाका, ‘सरर’बाट प्रसाद लामिछाने उत्कृष्ट शब्द, ‘करिमैले’बाट पल शाह र नारायणी खत्री उत्कृष्ट म्युजिक भिडियो मोडल तथा ‘तिम्रै माया लाउँछ नि’बाट दीप गुरुङ उत्कृष्ट निर्देशक घोषित भए।
लोकदोहोरी नवप्रतिभातर्फ ‘देखाउनलाई होइन नि माया’बाट रेखा पोख्रेल, ‘तिम्रो मनमा कुन छ’बाट मनोहर शर्मा तथा ‘गुल्मी चन्द्रकोट’ गीतबाट सुशीला गौतम उत्कृष्ट कल्चरल गायिका घोषित भइन्।
त्यसैगरी जुरी अवार्डतर्फ कल्याण श्रेष्ठ (यादहरू दुखिरहन्छ), राष्ट्रिय भाव गीततर्फ पारसमणि बराल (राजनीति भनेको त), क्रिटिक्स अवार्ड पप गायनतर्फ सुनिल उप्रेती (सागरझैँ गहिरो), आधुनिक गीतकारतर्फ केशव भट्टराई (धमिलियो आकाश आज), गायकतर्फ छिरिङ भुटिया (पहाडी बाटो) तथा संगीतकारतर्फ बीबी अनुरागी (फूलको आफ्नै कथा छ) सम्मानित भए।
चर्चित उद्घोषकद्वय मञ्जु पौडेल र निराजन भण्डारीले सञ्चालन गरेको समारोहमा पल शाह, नारायणी खत्री, टीका प्रसाईं, देवान खनाल, धीरज राई, युनिश घिमिरेलगायत कलाकारहरूले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए।

