राष्ट्रिय प्रतियोगितामा ‘बाछिटा’को ऐतिहासिक सफलता

PNA

चलचित्र विकास बोर्डको ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२’ मा प्रथम हुँदै कमल एक्चै मगरको निर्देशनले रच्यो नयाँ कीर्तिमान

|
|


काठमाडौं- नेपाली लघु चलचित्र क्षेत्रका लागि गौरवको विषय बनेको छ। निर्देशक कमल एक्चै मगर निर्देशित लघु चलचित्र ‘बाछिटा’ ले चलचित्र विकास बोर्डद्वारा आयोजित ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२’ मा प्रथम पुरस्कार जित्दै राष्ट्रिय स्तरमा उत्कृष्ट लघु चलचित्रको उपाधि हात पारेको छ।

देशभरबाट सहभागी भएका उत्कृष्ट लघु चलचित्रबीच भएको कडा प्रतिस्पर्धामा ‘बाछिटा’ले आफ्नो मौलिक कथा, कलात्मक प्रस्तुति, सामाजिक सन्देश र सशक्त निर्देशनका आधारमा निर्णायक मण्डलको उच्च मूल्यांकन प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो। यस सफलताले नेपाली लघु चलचित्रको गुणस्तर र सिर्जनात्मक क्षमतालाई नयाँ उचाइमा पुर्‍याएको चलचित्रकर्मीहरूको विश्वास छ।

पुरस्कार घोषणा भएपछि निर्देशक कमल एक्चै मगरले यस उपलब्धिलाई सम्पूर्ण निर्माण टोलीको सामूहिक मेहनत, समर्पण र विश्वासको प्रतिफल भएको बताएका छन्। उनले चलचित्र विकास बोर्ड, निर्णायक मण्डल, कलाकार, प्राविधिक टोली तथा चलचित्रलाई साथ र माया गर्ने सम्पूर्ण दर्शकप्रति हार्दिक आभार व्यक्त गरे।

‘बाछिटा’ले यसअघि भारतमा सम्पन्न ७औँ सिलिगुडी इन्टरनेशनल शर्ट फिल्म फेस्टिभलमा दोस्रो स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमै आफ्नो क्षमता प्रमाणित गरिसकेको थियो। त्यति मात्र होइन, चलचित्र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सवहरूमा आधिकारिक छनोट भई प्रशंसा र सम्मान प्राप्त गरिसकेको छ।

चलचित्र निर्माण पक्षका अनुसार ‘बाछिटा’को यो उपलब्धिले नेपाली लघु चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा थप परिचित गराउने विश्वास लिइएको छ। साथै, सिर्जनशील युवा निर्देशक र नयाँ पुस्ताका चलचित्रकर्मीहरूका लागि यो सफलता प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ।

चलचित्र विकास बोर्डद्वारा आयोजना हुँदै आएको ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता’ नेपाली चलचित्र उद्योगमा गुणस्तरीय वृत्तचित्र तथा लघु चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने महत्वपूर्ण राष्ट्रिय मञ्चका रूपमा स्थापित छ। यस वर्षको प्रतियोगितामा ‘बाछिटा’ले हासिल गरेको प्रथम स्थानलाई नेपाली लघु चलचित्र इतिहासको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।