काठमाडौं - नाट्यसम्राट बालकृष्ण समद्वारा एक सय एक वर्षअघि रचना गरिएको गजललाई विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले स्वर र संगीत दिएका छन्। उक्त गजलको श्रव्यदृश्य (भिडियो) शनिबार महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय, मैतीदेवीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।
वि.सं. १९८२ मा समद्वारा रचना गरिएको तथा उनको कृति ‘मेरो कविताको आराधन–उपासना (१)’ मा सङ्कलित गजल ‘जान लाग्यो नाम जप्ने सास यो’ लाई श्रेष्ठले संगीतबद्ध गर्दै आफ्नै स्वरमा प्रस्तुत गरेका हुन्।
कार्यक्रममा गजल अभियन्ता तथा समालोचक घनेन्द्र ओझाले नाट्यसम्राटका रूपमा परिचित समले गजल विधामा पनि महत्त्वपूर्ण सिर्जना गरेको उल्लेख गर्दै यसलाई नेपाली गजल इतिहासको महत्त्वपूर्ण उपलब्धि बताए। उनका अनुसार समले गजल शीर्षक नदिए पनि उक्त रचना गजलको शास्त्रीय संरचनाअनुसार सिर्जना गरिएको हो।
ओझाले कृष्णभक्तिमा आधारित समको उक्त गजलसँगै समकालीन त्रिमूर्ति महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र बालकृष्ण समका गजलहरूलाई संगीतकार श्रेष्ठले संगीतमार्फत नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरेको बताए।
फिल्म लेखक तथा निर्देशक मोहन निरौलाले साहित्य र संगीतमा नयाँ प्रयोग गर्न रुचाउने सन्तोष श्रेष्ठबाट यस्ता सिर्जनात्मक कार्य भइरहनु खुसीको विषय भएको बताए।
गजलकार राधा कणेलले सन्तोष श्रेष्ठ र घनेन्द्र ओझाले दुई वर्षअघि घोषणा गरेको ‘नेपाली गजल गायन स्वर्ण दशक (वि.सं. २०८०–२०९०)’ अभियानअन्तर्गत देशका विभिन्न स्थानमा करिब एक दर्जन प्रत्यक्ष गजल गायन कार्यक्रम सम्पन्न भइसकेको र केही एल्बमसमेत सार्वजनिक भइसकेको जानकारी दिइन्। उनले नेपाली साहित्यका त्रिमूर्ति देवकोटा, पौड्याल र समका गजललाई संगीतमा ल्याउने प्रयास प्रशंसनीय रहेको बताइन्।
महाकवि देवकोटाका सुपुत्र प्रा. डा. पद्मप्रसाद देवकोटाले अग्रज स्रष्टाको सम्मान गर्ने सन्तोष श्रेष्ठको प्रयासको प्रशंसा गरे। संगीतकार तथा गायक श्रेष्ठले भने आफूले कुनै व्यावसायिक लाभका लागि नभई अग्रज स्रष्टाप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले यस्ता सिर्जना गरिरहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले नेपाली गजल गायनको प्रवर्द्धनमा सन्तोष श्रेष्ठको सक्रियता र समर्पण उल्लेखनीय रहेको भन्दै उनको प्रयासको सराहना गरे।
अनाम मण्डलीद्वारा आयोजित कार्यक्रमको सभापतित्व प्रभाती किरणले गरेका थिए भने कार्यक्रम सञ्चालन रूपक अलङ्कारले गरेका थिए।

