विपत्तिका कारण १३औँ छायाँछवि तीज म्युजिक अवार्ड स्थगित, नतिजा सार्वजनिक

PNA


|
|


काठमाडौं -छायाँछवि क्रियशनको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको छायाँछवि तीज म्युजिक अवार्डको १३औँ संस्करण यस वर्ष मुलुकमा उत्पन्न विपद्का कारण तत्काल आयोजना गर्न नसकिए पनि अवार्डको निरन्तरता भने कायम राखिएको छ।

नेपाली चलचित्र, गीत–संगीत तथा मनोरञ्जनका विभिन्न विधामा लामो समयदेखि सक्रिय रहँदै आएको छायाँछवि क्रियशनले मूलतः नेपाली चलचित्र तथा संगीत क्षेत्रको विकास, प्रवद्र्धन र सर्जकको सम्मानका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।

यतिबेला देशमा प्राकृतिक विपत्तिका कारण आम नेपाली शोक र संवेदनाको अवस्थामा रहेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। अकस्मात् आएको विपत्तिले धेरै परिवारलाई प्रभावित बनाएको छ भने बाढीले दिएको पीडाको घाउ अझै आलो नै रहेको छ।

यस्तो मानवीय संवेदनाको घडीमा नियमित रूपमा आयोजना हुँदै आएको छायाँछवि तीज म्युजिक अवार्डको १३औँ संस्करण तत्काल आयोजना गर्न उपयुक्त नदेखिएकाले कार्यक्रम स्थगित गरिएको अवार्डका अध्यक्ष शान्तिप्रियले बताएका छन्।

“छायाँछवि तीज म्युजिक अवार्ड हरेक वर्ष आयोजना हुँदै आएको हाम्रो नियमित कार्यक्रम हो। तर अहिलेको परिस्थिति सामान्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने अनुकूल छैन। आम नेपालीको मानसिक अवस्था पीडामा रहेको समयमा हामी पनि उत्सव मनाउने अवस्थामा छैनौँ,” अध्यक्ष शान्तिप्रियले भने, “यस वर्ष तत्काल अवार्ड कार्यक्रम आयोजना गर्न नसके पनि यसको निरन्तरता भने रोकिएको छैन।”

छायाँछवि तीज म्युजिक अवार्डको १३औँ संस्करणको नतिजा भने सार्वजनिक गरिएको छ। सार्वजनिक नतिजामा उत्कृष्ट ठहरिएका सर्जक तथा सिर्जनालाई केही समयपछि छुट्टै कार्यक्रम आयोजना गरी अवार्ड तथा सम्मान प्रदान गरिने अवार्डकी संयोजक **कृष्णा आचार्य ‘रोशनी’**ले बताएकी छन्।

“परिस्थितिका कारण अहिले अवार्ड समारोह आयोजना गर्न नसके पनि अवार्डको नतिजा सार्वजनिक गरेका छौँ। पुरस्कृत सर्जक तथा सिर्जनालाई अनुकूल समयमा छुट्टै कार्यक्रममार्फत अवार्ड तथा सम्मान प्रदान गरिनेछ,” संयोजक आचार्यले बताइन्।

१३औँ छायाँछवि तीज म्युजिक अवार्डको नतिजा

१. सर्वोत्कृष्ट तीज गीत मिक्सिङ
प्रकाश मिश्र — छम छम नाचीदेउ

२. सर्वोत्कृष्ट तीज गीत एरेञ्जर
विपिन आचार्य — छमछमी नाचौँ न

३. सर्वोत्कृष्ट तीज गीत मोडल नवप्रतिभा
आशा कार्की — मेरो माया जुनीभरिलाई

४. सर्वोत्कृष्ट तीज गीत मोडल पुरुष
सुमन सागर जङ्ग केसी — मेरो माया जुनीभरिलाई

५. सर्वोत्कृष्ट तीज गीत मोडल महिला
झरना रिसाल — माइतीघरको आँगन

६. सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
गम्भीर विष्ट — लाली लपक्कै

७. सर्वोत्कृष्ट तीज गीत शब्द
दीपक शर्मा — नौरती फूली

८. सर्वोत्कृष्ट तीज गीत लय
मनु पन्त — जन्मेर हुर्केको घर

९. सर्वोत्कृष्ट मौलिक तीज गीत लय
शंकर थापा ‘स्माइल’ — रानीहार

१०. सर्वोत्कृष्ट दोहोरी तीज गीत गायिका
निशा सुनार — लाली लपक्कै

११. सर्वोत्कृष्ट दोहोरी तीज गीत गायक
प्रकाश सपूत — लाली लपक्कै

१२. सर्वोत्कृष्ट तीज गीत गायिका
सरिता भारती — भिजायो फरिया बर्खैले

१३. सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका
गंगा गौतम — नक्कल पार्ने बानी

१४. सर्वोत्कृष्ट तीज गीत
‘एक वर्षमा एकचोटी’ — अञ्जु श्रेष्ठ

१५. सर्वोत्कृष्ट तीज गीत जुरी
रश्मी पाण्डे — ह्विस्की फोरिन्छ

Related Post