हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सिक्किममा भव्य रूपमा सम्पन्न

PNA

वरिष्ठ स्रष्टा अमर वान्तु र हरि ढुंगेल दीर्घसाधना सम्मानित

|
|


सिक्किम (भारत), नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ को छैटौं संस्करण भारतको सिक्किमस्थित पर्यटकीय नगर राभाङ्लामा भव्य रूपमा सम्पन्न भएको छ।

‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित सम्पन्न समारोहमा नेपाल, सिक्किम तथा भारतका विभिन्न स्थानबाट साहित्यकार, कलाकार, संगीतकर्मी, सञ्चारकर्मी, समाजसेवी र सांस्कृतिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सिक्किम वेभ्स मिडिया र सिक्किम अनलाइन न्यूज मिडियाको सहकार्यमा आयोजित कार्यक्रममा सिक्किमका माननीय विधायक रिक्साल दोर्जे भुटिया प्रमुख संरक्षकका रूपमा सहभागी हुनुभएको थियो। समारोहसँगै आयोजित सांगीतिक कार्यक्रममा नेपाली संगीतका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।

समारोहको मुख्य आकर्षणका रूपमा नेपाली भाषा, साहित्य र समाजमा दीर्घकालीन योगदान पुर्‍याएका नेपालका वरिष्ठ साहित्यकार अमर वान्तु तथा सिक्किमका साहित्यकार हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड–२०२६’ अन्तर्गत ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो।

यस वर्ष गीत, संगीत, साहित्य, अभिनय, मोडलिङ, समाजसेवा तथा सञ्चारलगायत विभिन्न विधामा उत्कृष्ट योगदानका आधारमा दर्जनौं स्रष्टा तथा कलाकार सम्मानित भएका छन्। नवगीत, आधुनिक गीत, लोक–पप, युगल गायन, निर्देशन, गीतकार, संगीतकार, मोडलिङ, कोरियोग्राफी, सम्पादन र राइजिङ स्टारसहितका विभिन्न विधामा अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

अवार्ड समारोहसँगै आयोजित सांगीतिक कार्यक्रममा तारावीर पाण्डे, अशोक दर्जी, शंकर थापा ‘स्माइल’, सारिका घिमिरे, षड्ज सम्बाहाम्फे, सुमन बी.टी., प्रकाशजंग कार्की, सुन्दर राई, विनोद दनुवार, रमेश पाठक, पवित्रा गुरुङ र अनिश योञ्जनलगायतका कलाकारहरूले आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए। नृत्यतर्फ पवित्रा आचार्य, शिला गजुरेलसहितका कलाकारहरूको सांस्कृतिक प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो।

समारोहमा साहित्यकार अमर वान्तुडा. विलोल पोखरेलले कविता वाचन गर्दै नेपाली साहित्यको समकालीन प्रवृत्ति र सिर्जनात्मक यात्राबारे आफ्ना रचना प्रस्तुत गरेका थिए।

यस अवसरमा साहित्यकार अमर बानियाँ ‘लोहोरो’, अभिनेत्री सृजना कार्की, चित्रकार टिकामाया गुरुङ, गायक अशोक दर्जी, बालगायक रिहान सुब्बा, सञ्चारकर्मी अक्कल कुँवर, स्वस्तिका पन्थी, निर्माता डेनिभ पुन, चलचित्र निर्माता केवल तामाङ, मोडल शिला गजुरेल, गायक सुन्दर राईलगायत नेपाल र सिक्किमका विभिन्न क्षेत्रका स्रष्टा, सञ्चारकर्मी, कलाकार तथा समाजसेवीलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो।

अवार्डका मुख्य निर्णायक वरिष्ठ संगीतकार राजु सिंह रहनुभएको थियो भने निर्णायक सदस्यमा सुनिल गिरी, सन्दीप पौड्याल, रमेश पाठक र वीरेन्द्र भाट ‘विपिन’ रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अवार्डका अध्यक्ष गणेश सुवेदीले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले हिमालयन इन्टरनेशनल अवार्डलाई निरन्तरता दिइएको बताउनुभयो। उहाँले विश्वभर रहेका नेपाली भाषी स्रष्टालाई एउटै मञ्चमा जोड्ने अभियानलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम संयोजक गीता अधिकारीका अनुसार विभिन्न कारणले सिक्किममा उपस्थित हुन नसक्नुभएका सम्मानित स्रष्टा तथा कलाकारलाई निकट भविष्यमै काठमाडौंमा विशेष समारोह आयोजना गरी अवार्ड तथा सम्मान प्रदान गरिनेछ।

आयोजकका अनुसार यसअघि अवार्डको पाँचौं संस्करण थाइल्यान्डको बैंककमा सम्पन्न भएको थियो। सिक्किममा सम्पन्न छैटौं संस्करणले नेपाल र भारतका नेपाली भाषी समुदायबीच साहित्य, संगीत, कला र संस्कृतिको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपाली भाषाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।