काठमाडौं - समय, सम्बन्ध र आर्थिक हैसियतसँगै मानिसको सोच र व्यवहारमा आउने परिवर्तनलाई विषयवस्तु बनाइएको नयाँ नेपाली गीत “मन फेरियो” सार्वजनिक भएको छ। चर्चित सर्जक कृष्ण क्षेत्री “नेपाली मान्छे” का मार्मिक तथा यथार्थपरक शब्द, अनन्त अजय को भावपूर्ण स्वर तथा साहस शाक्य को संगीत र संगीत संयोजनमा गीत तयार भएको हो।
गीतले संघर्षका दिनमा साथ दिएका सम्बन्धहरू सफलता, समय र परिस्थितिसँगै कसरी बदलिन सक्छन् भन्ने यथार्थलाई संवेदनशील ढङ्गले प्रस्तुत गरेको छ। सम्बन्धको मूल्य, त्याग, अपनत्व र बदलिँदो मानवीय मनोभावलाई गीतले भावनात्मक रूपमा उजागर गरेको छ। गीतका शब्दकार कृष्ण क्षेत्री “नेपाली मान्छे” पश्चिम नवलपरासीका स्थापित सर्जक तथा व्यवसायी हुन्। फर्निचर, इलेक्ट्रोनिक्स तथा होटल व्यवसायमा सक्रिय क्षेत्री नेपाली गीतसङ्गीत क्षेत्रमा समेत निरन्तर योगदान दिँदै आएका छन्। उनको चर्चित गीत “जलाएर मुटु” ले व्यापक लोकप्रियता हासिल गरेको थियो। उनी गौतम बुद्ध म्युजिक अवार्ड २०८१ मा उत्कृष्ट शब्दतर्फ सम्मानितसमेत भइसकेका छन्।
यसअघि क्षेत्रीकै शब्द तथा संगीतमा गायक राज सिग्देल को स्वर रहेको “गन्तव्य” गीतले समेत चर्चा पाएको थियो। उक्त गीत Raj Sigdel YouTube Channel मार्फत सार्वजनिक गरिएको थियो। त्यसबाहेक उनका विभिन्न सिर्जनाहरू विभिन्न फुटकर एल्बममा समेत समावेश छन्। “पूर्णिमा” एल्बममा गायक खेम थापा को स्वरमा रहेको “जब तिमी रिसाएर गयौ” लाई समेत आफ्नो समयको चर्चित गीतका रूपमा लिइन्छ।
गीतका गायक अनन्त अजय नेपाली गीतसङ्गीत क्षेत्रमा उदाउँदै गरेका प्रतिभाशाली गायक हुन्। हालसम्म करिब एक दर्जन गीतमा स्वर दिइसकेका अजय विशेषगरी भावनात्मक गहिराइ र सशक्त शब्द भएका गीत गाउन रुचाउँछन्। पछिल्लो समय उनी आफ्नै सांगीतिक पहिचान निर्माण गर्ने क्रममा छन्।
त्यस्तै, गीतका संगीतकार तथा संगीत संयोजक साहस शाक्य नेपाली संगीत क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय छन्। आधुनिक गीत, भजन, ध्यान संगीतलगायत विभिन्न सांगीतिक विधामा काम गर्दै आएका शाक्यको नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान रहँदै आएको छ।
गीतको म्युजिक भिडियो भूपेन चौधरी ले निर्देशन गरेका हुन्। The Content Nepal को प्रस्तुति रहेको भिडियोमा चर्चित मोडल तथा टिकटकर्स अवि मल्ल, मनिषा भण्डारी, अमर सिरिस, प्रिया क्षेत्री लगायत स्वयं गीतकार कृष्ण क्षेत्री “नेपाली मान्छे” को समेत अभिनय रहेको छ।
गन्तव्य एग्रो भिलेज रिसोर्ट, खुर्सानीबारी को दोस्रो प्रस्तुतिका रूपमा आएको उक्त भिडियोमा गीतको भावअनुसार सम्बन्ध, संघर्ष र बदलिँदो परिस्थितिको कथालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ। भावनात्मक कथा, सशक्त अभिनय, मिठासपूर्ण गायन र प्रभावशाली संगीत संयोजनका कारण “मन फेरियो” ले नेपाली गीतसङ्गीतका श्रोतामाझ विशेष प्रभाव पार्ने अपेक्षा गरिएको छ।
