काठमाडौं - परिवर्तन नेपाल र आलोकनगर समुदायको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा आवश्यक परेका बिरामीका लागि रगतको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
मीनभवनस्थित प्रिमियर कलेज, आलोकनगरमा आयोजित कार्यक्रममा करिब ५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्यसम्बन्धी परामर्श सेवा लिएका थिए। स्वास्थ्य परीक्षणसँगै सोही अवसरमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
कार्यक्रम काठमाडौं महानगरपालिका–३१ का वडा अध्यक्ष सरोज ढकालको प्रमुख आतिथ्य तथा आलोकनगर समुदायका अध्यक्ष ध्रुव पोखरेलको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रममा बागमती प्रदेशका सांसद सुरजचन्द्र लामिछाने, चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दिनेश डी.सी., कलाकार संघका अध्यक्ष उत्तम के.सी., कलाकार पुजना प्रधानलगायत कलाकार, चलचित्रकर्मी, समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
चलचित्र निर्देशक जनक दीप पराजुलीको संयोजकत्वमा आयोजित कार्यक्रमले समुदायस्तरमा स्वास्थ्यसम्बन्धी सचेतना विस्तार गर्नुका साथै रक्त अभावका कारण उपचारमा समस्या भोग्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न सहयोग पुर्याउने आयोजकको विश्वास छ।
कार्यक्रममा परिवर्तन नेपालका अध्यक्ष तथा कलाकार मोहन निरौलाले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि समुदाय केन्द्रित सामाजिक, स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने काठमाडौं महानगरपालिका–३१, सशस्त्र प्रहरी बल नयाँ बानेश्वर, एभरेस्ट हस्पिटल तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नयाँ बानेश्वरप्रति परिवर्तन नेपालका महासचिव देवेन्द्र पाण्डेले आभार तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो।
स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वलाई एउटै अभियानमार्फत अघि बढाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रमले समुदायमा सहकार्य, सहयोग र सामाजिक सेवाको भावना थप बलियो बनाउन योगदान पुर्याएको आयोजकको भनाइ छ।
