काठमाडौं– नेपाली गीत–सङ्गीतका दुई स्थापित स्वर कन्हैया सिंह परियार र अञ्जना गुरुङ फेरि एकपटक नयाँ सांगीतिक प्रस्तुति लिएर श्रोतामाझ आएका छन्। वरिष्ठ गायक कन्हैया सिंह परियार र ‘स्वर माधुरी’ अञ्जना गुरुङको स्वरमा सजिएको प्रेमिल गीत ‘फोटो खिचौँ न’ सार्वजनिक भएको छ।
सुमधुर स्वर, प्रेमिल भाव र मनोरञ्जनात्मक कथानक समेटिएको गीतको भिडियो कन्हैया सिंहको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। लामो समयदेखि नेपाली सङ्गीतमा सहकार्य गर्दै आएको कन्हैया–अञ्जना जोडीको पुनरागमनले गीत–सङ्गीतप्रेमी श्रोताका लागि नयाँ सांगीतिक स्वाद थपेको छ।
कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत, निशान निष्कर्षको शब्द रचना तथा राजु कार्कीको सङ्गीत संयोजनमा तयार भएको गीतमा दिल समर्पण र सरमान श्रील्वागुन सङ्गीत सञ्चयक तथा प्रकाश मिश्र सङ्गीत सम्पादकका रूपमा जोडिएका छन्। गीत काठमाडौंस्थित अकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको हो।
स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशनमा तयार भएको भिडियोमा अभिषेक खड्का, लक्ष्मी थापा मगरसँगै गायकद्वय कन्हैया सिंह परियार र अञ्जना गुरुङको अभिनय रहेको छ। करण चैसिरले छायांकन गरेको भिडियोमा दीपक विष्टले दृश्य सम्पादन तथा कलरिङ गरेका छन्।
गीतको भावअनुसार निर्माण गरिएको भिडियोमा प्रेम, सम्बन्ध र रमाइला क्षणहरूलाई कथानकमार्फत प्रस्तुत गरिएको छ। गीतको सुमधुर धुनसँगै कलाकारहरूको अभिनय र भिडियोको प्रस्तुतिले ‘फोटो खिचौँ न’लाई मनोरञ्जनात्मक तथा श्रवण–दृश्य दुवै हिसाबले आकर्षक बनाएको निर्माण पक्षको भनाइ छ।
नेपाली गीत–सङ्गीतको क्षेत्रमा झण्डै तीन दशकदेखि सक्रिय कन्हैया सिंह परियार गायक तथा सङ्गीतकारका रूपमा परिचित छन्। त्यस्तै, अञ्जना गुरुङ सुगम सङ्गीत तथा चलचित्र सङ्गीत क्षेत्रमा स्थापित गायिकाका रूपमा परिचित छन्। लामो समयदेखि सहकार्य गर्दै आएको यो जोडीले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ। अञ्जना गुरुङलाई गत वर्ष मिलापले ‘स्वर माधुरी’ उपाधिसहित सम्मानसमेत गरेको थियो।
कन्हैया र अञ्जनाको सांगीतिक सहकार्य गीतमा मात्र सीमित छैन। नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्याएका स्रष्टा तथा कलाकारलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूले ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’समेत प्रदान गर्दै आएका छन्।
यस पुरस्कारबाट गायिका चन्द्रकला शाह (२०७८), गीतकार विश्व बल्लभ (२०७९), वाद्यवादक कृष्ण गन्धर्व (२०८०), लोकगायक रेशम थापा (२०८१) र गायक कमल विक ‘निर्मोही’ (२०८२) सम्मानित तथा पुरस्कृत भइसकेका छन्।
यसरी, आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएको कन्हैया–अञ्जना जोडीले ‘फोटो खिचौँ न’मार्फत केवल नयाँ गीत सार्वजनिक गरेको छैन, नेपाली श्रोतामाझ आफ्नो पुरानो सांगीतिक आत्मीयतालाई नयाँ पुस्ताको स्वादसँग जोड्ने प्रयाससमेत गरेको छ।
