दुर्गादेवी–पुण्य निरौला र चेतन कार्कीको स्मृतिमा पुरस्कार तथा सम्मान अर्पण, आशान्त शर्मा देखि शारदा गिरीसम्म सम्मानित
काठमाडौं - कला र सिर्जनाको यात्रा केवल पर्दामा देखिने दृश्यहरूको कथा होइन, त्यसको पछाडि दशकौँसम्म निरन्तर बगेको साधना, संघर्ष र समर्पणको इतिहास पनि हुन्छ। यही इतिहासलाई सम्झने र नेपाली कला तथा चलचित्र क्षेत्रमा योगदान पुर्याएका स्रष्टालाई सम्मान गर्ने उद्देश्यसहित परिवर्तन नेपालले २०८२ सालको विशेष सम्मान तथा पुरस्कार समारोह आयोजना गरेको छ।
काठमाडौंमा आइतबार आयोजित समारोहमा नेपाली चलचित्र, रंगमञ्च, टेलिफिल्म, पत्रकारिता तथा ललितकलाका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तित्वलाई दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार तथा परिवर्तन सम्मान प्रदान गरियो।
समारोहमा कलाकार शारदा गिरी, निर्देशक–कलाकार विश्वदीप घिमिरे, सञ्चारकर्मी कृष्ण भट्टराई, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली, ललितकलाकार देवेन्द्र थुम्केली, छायाँकार वीरेन्द्रप्रसाद भट्ट, सञ्चारकर्मी सविता पोखरेल तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दिनेश डिसीलगायत सम्मानित भए।
नेपाली चलचित्र तथा टेलिफिल्ममा करिब चार दशकदेखि निरन्तर सक्रिय कलाकार शारदा गिरीका लागि यो सम्मान उनको लामो कलाकारिता यात्राको कदर मात्र होइन, नेपाली पर्दामा उनले छोडेको पहिचानको सम्मान पनि हो। त्यस्तै, नेपाली रंगमञ्च, चलचित्र तथा टेलिफिल्ममा विगत अढाई दशकभन्दा बढी समयदेखि निर्देशन र अभिनय गर्दै आएका विश्वदीप घिमिरे पनि दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार–२०८२ बाट सम्मानित भए। वि.सं. २०७३ सालमा स्थापना गरिएको यस पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ।
परिवर्तन नेपालले आफ्ना दिवंगत माता–पिता दुर्गादेवी तथा पुण्य निरौलाको स्मृतिमा स्थापना गरेको यो पुरस्कार नेपाली कला क्षेत्रमा निरन्तर योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको छ।
नेपाली चलचित्र पत्रकारितामा तीन दशकभन्दा लामो समयदेखि सक्रिय कृष्ण भट्टराईलाई यस वर्षको चेतन कार्की स्मृति पुरस्कार प्रदान गरियो। चलचित्र क्षेत्रको विकास, विस्तार तथा चलचित्रकर्मीको पेशागत उत्थानका विषयलाई पत्रकारितामार्फत निरन्तर उठाउँदै आएका भट्टराई हाल कलाकर्मी डटकमका प्रधान सम्पादक तथा प्रकाशकका रूपमा कार्यरत छन्।
वि.सं. २०७९ सालमा स्थापना गरिएको यो पुरस्कार वरिष्ठ चलचित्रकर्मी तथा संस्कृतिविद् चेतन कार्कीको स्मृतिमा प्रदान गरिँदै आएको छ। चलचित्र पत्रकारितालाई केवल समाचार लेखनमा सीमित नराखी नेपाली चलचित्र क्षेत्रको विकास र पेशाकर्मीका सवाललाई निरन्तर सार्वजनिक बहसमा ल्याउने योगदानको कदरस्वरूप भट्टराईलाई सम्मान गरिएको हो।
परिवर्तन नेपालको यात्रासँग जोडिएका कलाकारलाई ‘परिवर्तनकर्मी विशेष सम्मान’
परिवर्तन नेपालको सम्मान सूचीमा यसपटक नेपाली चलचित्रका लोकप्रिय कलाकारहरूको नाम पनि विशेष रूपमा जोडियो। आफ्नो कलाकारिता यात्राको प्रारम्भिक चरणमा परिवर्तन नेपालसँग आबद्ध रहेका अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली तथा ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई ‘परिवर्तनकर्मी विशेष सम्मान’ प्रदान गरियो। यी कलाकारहरूको प्रारम्भिक सिर्जनात्मक यात्रासँग परिवर्तन नेपालको सम्बन्ध रहेको स्मरण गर्दै संस्थाले उनीहरूको योगदानलाई विशेष रूपमा सम्मान गरेको हो।
चलचित्र पर्दामा देखिने कलाकार मात्र होइन, पर्दापछाडि बसेर चलचित्रलाई जीवन्त बनाउने प्राविधिक तथा सञ्चारकर्मीलाई समेत समारोहले सम्झिएको छ। चलचित्रमा छायाँकारका रूपमा लामो समयदेखि सक्रिय रहँदै प्राविधिकहरूको पेशागत हकहितका लागि प्रतिबद्ध वीरेन्द्रप्रसाद भट्टलाई परिवर्तन पत्रकारिता सम्मान प्रदान गरियो।
त्यस्तै, गीत–संगीत पत्रकारिता तथा संगीत क्षेत्रको प्रवर्द्धनका लागि पत्रकारिता र अवार्ड कार्यक्रममार्फत सक्रिय रहँदै आएकी सविता पोखरेल पनि सोही सम्मानबाट सम्मानित भइन्। चलचित्र क्षेत्रको संस्थागत विकासमा योगदान पुर्याएका चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दिनेश डिसीलाई पनि परिवर्तन विशेष सम्मान प्रदान गरिएको थियो।
नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दको सभापतित्वमा सम्पन्न समारोहमा वरिष्ठ कलाकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। समारोहमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, टीका पहारी, भुवन चन्द, चैत्यदेवी, शिव श्रेष्ठ, धिरेन शाक्य, नेपाल सरकारका सचिव मुकुन्दप्रसाद निरौला, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष माननीय विपिनराज निरौला, परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला तथा उपाध्यक्ष एवं संगीतकार सन्तोष श्रेष्ठलगायतले सम्मानित व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मान अर्पण गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले पितृपक्षको समय पारेर आफ्ना दिवंगत माता–पिता दुर्गादेवी तथा पुण्य निरौला र वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको स्मृतिमा कार्यक्रम आयोजना गरिएको बताए।
वरिष्ठ कलाकार टीका पहारीले नेपाली कलाकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने संस्कारले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्ने धारणा व्यक्त गरे। त्यस्तै, सचिव मुकुन्दप्रसाद निरौलाले चलचित्रले नेपालको कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै यस क्षेत्रमा सक्रिय व्यक्तित्वलाई सम्मान गर्ने कार्यलाई महत्वपूर्ण पहलका रूपमा व्याख्या गरे।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले पूर्व प्रशासक तथा साहित्यकार पुण्य निरौला र संस्कृतिविद् तथा चलचित्रकर्मी चेतन कार्कीको योगदानबारे चर्चा गर्दै उनीहरूको सिर्जनात्मक तथा सामाजिक यात्रालाई स्मरण गरे।
सम्मानित व्यक्तित्वहरूको तर्फबाट धारणा राख्दै ललितकला कलाकार देवेन्द्र थुम्केलीले परिवर्तन नेपालप्रति आभार व्यक्त गरे। कलाकारलाई सम्मान गर्नु भनेको एउटा व्यक्तिको उपलब्धिलाई मात्र सम्मान गर्नु नभई नेपाली कला क्षेत्रको यात्रामा योगदान दिएका पुस्ताहरूलाई सम्झनु पनि हो भन्ने भाव समारोहमा देखिन्थ्यो। परिवर्तन नेपालका उपाध्यक्ष तथा संगीतकार सन्तोष श्रेष्ठले नेपाली कलाकार तथा स्रष्टालाई सम्मान र पुरस्कृत गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।
वि.सं. २०५३ सालमा स्थापना भएको परिवर्तन नेपालले आफ्नो स्थापनाकालदेखि नै नेपाली कला, चलचित्र, साहित्य तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ। संस्थाको यो अभियान पुरस्कार वितरणमा मात्र सीमित नभई नेपाली कला क्षेत्रको इतिहास, अग्रजको योगदान र नयाँ पुस्ताबीचको सम्बन्धलाई जोड्ने प्रयासका रूपमा पनि स्थापित हुँदै आएको छ।
यसपटकको समारोहले पनि यही परम्परालाई निरन्तरता दिएको छ-पछाडि फर्केर आफ्ना अग्रजलाई सम्झने र अगाडि बढिरहेका पुस्तालाई सिर्जनाको बाटोमा थप ऊर्जा दिने।
कार्यक्रमको सञ्चालन चलचित्र निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेलले गरेका थिए।
समारोहमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, अभिनेता कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, अभिनेत्री चैत्यदेवी, चलचित्र संघका कार्यवाहक अध्यक्ष गोपालकाजी कायस्थ, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, उपाध्यक्ष रघुनाथ, साहित्यकार राधेश्याम लेकाली, मुरारी सिग्देल, कलाकार काली सेढाई, दिनेश कार्की, मनिष श्रेष्ठ, भीमा मैनाली, जेबी डिसी, रोहित कार्की, लक्ष्मण चौलागाईं, पुकार भट्टराईलगायत चलचित्र तथा कला क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो।
