लोकदोहोरीको नयाँ यात्रामा ‘लोक दोहोरी च्याम्पियन’

PNA

मौलिक लोकसंगीतको संरक्षणसँगै नयाँ प्रतिभालाई राष्ट्रिय मञ्च दिने लक्ष्य

|
|


काठमाडौं - नेपाली माटोको सुगन्ध, गाउँघरको जीवनशैली, प्रेम-विरहका कथा र पुस्तौँदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको मौलिक लोकसंस्कृतिको एउटा महत्वपूर्ण पहिचान हो-लोकदोहोरी। यही मौलिक सांगीतिक परम्परालाई नयाँ पुस्ताको आवाजसँग जोड्दै नेपाली लोकदोहोरी क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यसहित बहुप्रतीक्षित पारिवारिक रियालिटी शो ‘लोक दोहोरी च्याम्पियन’ प्रसारणमा आएको छ।

रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको ‘लोक दोहोरी च्याम्पियन’ इमेज टेलिभिजनबाट यही असोज १७ गतेदेखि राति ९ बजे प्रसारणमा आएको हो। हरेक शनिबार र आइतबार राति ९ बजे देखी १०: ३० बजेसम्म प्रसारण हुने कार्यक्रमले नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणसँगै देशका विभिन्न भूगोलमा लुकेर रहेका प्रतिभालाई ठूलो मञ्च प्रदान गर्ने लक्ष्य लिएको छ।

 ‘लोक दोहोरी च्याम्पियन’लाई केवल प्रतिस्पर्धात्मक सांगीतिक कार्यक्रमका रूपमा मात्र हेरिएको छैन। यो नेपाली मौलिक लोकदोहोरीको वर्तमान अवस्थालाई नयाँ पुस्तासँग जोड्ने र प्रतिभालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने उद्देश्यले अघि बढाइएको सांगीतिक अभियानका रूपमा निर्माण गरिएको आयोजकको भनाइ छ।

गाउँका चौतारीदेखि शहरका रंगमञ्चसम्म फैलिएको लोकदोहोरीको मौलिक स्वादलाई आधुनिक पुस्ताको प्रस्तुति र ऊर्जासँग जोड्दै कार्यक्रमले नयाँ पुस्ताका गायक–गायिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनेछ।

लोकदोहोरीका स्थापित कलाकार तथा सर्जकहरूबाट नयाँ प्रतिभाले सिक्ने र प्रतिस्पर्धामार्फत आफ्नो क्षमता प्रमाणित गर्ने वातावरण तयार पार्नु कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष हो।

‘लोक दोहोरी च्याम्पियन’को निर्देशन माधवराज खरेलले गरेका छन्। नेपाली चलचित्र, टेलिभिजन तथा मनोरञ्जन क्षेत्रमा आफ्नो सिर्जनात्मक शैलीका लागि परिचित खरेलले कार्यक्रमलाई मनोरञ्जनसँगै नेपाली मौलिकताको भावनासँग जोड्ने प्रयास गरेका छन्। कार्यक्रमको निर्णायक मण्डलमा नेपाली लोकदोहोरीका स्थापित नामहरू पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन्।

लोकदोहोरीको सिर्जना, गायन तथा प्रस्तुति क्षेत्रमा लामो अनुभव बोकेका यी निर्णायकको उपस्थितिले प्रतियोगिताको मूल्यांकनलाई थप विश्वसनीय र कलात्मक बनाउने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन दिनेश काफ्ले र इप्सल सञ्ज्यालले गरिरहेका छन्।

‘लोक दोहोरी च्याम्पियन’को मूल उद्देश्य प्रतिभालाई केवल प्रतिस्पर्धामा उतार्नु मात्र नभई उनीहरूको मौलिक क्षमता पहिचान गर्नु पनि रहेको आयोजकले जनाएको छ।

लोकदोहोरी नेपाली समाजको जीवन, संस्कार, भावना र भोगाइसँग जोडिएको सांगीतिक विधा भएकाले यसको संरक्षण केवल पुराना सिर्जनालाई जोगाएर सम्भव नहुने आयोजकको बुझाइ छ। त्यसका लागि नयाँ पुस्ताको आवाज, नयाँ पुस्ताको प्रस्तुति र नयाँ पुस्ताको सिर्जनात्मक ऊर्जालाई लोकदोहोरीसँग जोड्न आवश्यक रहेको कार्यक्रमको अवधारणाले जोड दिएको छ।

त्यसैले ‘लोक दोहोरी च्याम्पियन’ले मौलिक लोकदोहोरीको जरा जोगाउँदै नयाँ पुस्ताका प्रतिभालाई राष्ट्रिय मञ्चमा स्थापित गर्ने लक्ष्य बोकेको छ।

‘लोक दोहोरी च्याम्पियन’लाई दर्शकमाझ पुर्‍याउन विभिन्न क्षेत्रका प्रतिष्ठित संस्थाहरूले सहकार्य गरेका छन्। कार्यक्रमको डिजिटल पार्टनर म्युजिक नेपाल रहेको छ भने भोटिङ पार्टनर खल्ती बाइ आईएमई रहेको छ। त्यस्तै, हस्पिटालिटी पार्टनर प्यासिफिक हस्पिटालिटी र ओपल ग्लोबल, फर्निचर पार्टनर गुण फर्निचर, स्कुल पार्टनर नेरिक एकेडेमी, स्टुडियो पार्टनर जिनो स्टुडियो तथा ब्यान्ड पार्टनर हाम्रो मौलिक ब्याण्ड रहेका छन्। यी सहकार्यले कार्यक्रमलाई उत्पादनदेखि डिजिटल पहुँच र दर्शक सहभागितासम्म विभिन्न आयाममा बलियो बनाउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार ‘लोक दोहोरी च्याम्पियन’ नयाँ प्रतिभा, मौलिक लोकदोहोरी र नेपालको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण प्रयास हो। आयोजकको भनाइमा, “यो केवल एउटा कार्यक्रम होइन, मुटु र माटोको सुगन्ध बोकेको लोकदोहोरीलाई नयाँ पुस्ताको आवाजसँग जोड्ने हाम्रो सपना हो।”

यही भावनालाई आत्मसात् गर्दै कार्यक्रमले देशका विभिन्न क्षेत्र र समुदायमा रहेका लोकदोहोरी प्रतिभालाई खोज्ने, उनीहरूलाई ठूलो मञ्च दिने र नेपाली लोकसंगीतको मूलधारमा स्थापित गराउने लक्ष्य लिएको छ। लोकदोहोरीको परम्परागत स्वादलाई जोगाउँदै नयाँ पुस्ताको सिर्जनशीलता र प्रविधिसँग जोड्ने प्रयासका रूपमा ‘लोक दोहोरी च्याम्पियन’को यात्रालाई हेरिएको छ।

‘लोक दोहोरी च्याम्पियन’को इमेज टेलिभिजनमा हरेक शनिबार र आइतबार राति ९ बजे देखी १०: ३० बजेसम्म भैरहेको छ। नेपालका विभिन्न भूगोल, समुदाय र सांगीतिक पृष्ठभूमिबाट आएका प्रतिभाहरूलाई एउटै मञ्चमा उभ्याउँदै अघि बढ्ने यो यात्राले आगामी दिनमा नेपाली लोकदोहोरी क्षेत्रलाई नयाँ प्रतिभा र नयाँ आवाज दिने अपेक्षा गरिएको छ।

माटोको कथा, मुटुको भावना र नेपालीपनको संगीत बोकेको लोकदोहोरीलाई नयाँ पुस्ताको आवाजसँग जोड्ने अभियान-‘लोक दोहोरी च्याम्पियन’ अब टेलिभिजनको पर्दामा सुरु भएको छ।

यो यात्रा एउटा रियालिटी शोको यात्रा मात्र होइन, नेपाली लोकदोहोरीको मौलिकता, प्रतिभा र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने साझा सांगीतिक अभियान बन्ने लक्ष्यसहित अघि बढेको छ।