काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सिर्जित संवेदनशील क्षणमा असंलग्न आन्दोलनमा संलग्न संगठन (नाम) का १ सय २० मुलुकले आफ्नो संख्यात्मक र नैतिक बललाई प्रयोग गर्नुपर्ने बताएका छन् ।
नामको भर्चुअल शिखर सम्मेलनलाई सोमबार सिंहदरबारबाट सम्बोधन गर्दै उनले मानव अहिले खतरामा रहेको र देख्न नसकिने एउटै शत्रुसँग लडिरहेको बताए ।
‘कोभिड–१९ विरुद्ध सहकार्य’ भन्ने नाराका साथ आयोजना गरिएको शिखर सम्मेलनको अध्यक्षता अजरबैजानका राष्ट्रपति तथा नामका अध्यक्ष इल्हाम अलियेभले गरेका थिए । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भाइरसले मानवको क्षमता परीक्षण गर्नुका साथै जोखिमलाई पनि उजागर गरिदिएको बताएका थिए । ‘विश्व व्यापार र यातायात अवरुद्ध भएका छन् । व्यापार खस्किएको छ । जागिर हराएका छन् । शिक्षा प्रणाली अवरुद्ध भएको छ । लाखौं गरिबीमा धकेलिँदै छन् । दिगो विकासको लक्ष्यलाई अझ गाह्रो पर्ने देखिएको छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए ।
ओलीले यो परिस्थितिमा मान्छेको जीवनलाई नै बचाउन सरकारको ठूलो भूमिका हुने बताए । ‘हामी आर्थिक घाटालाई फर्काउन सक्छौं । प्रविधिको पुन: आविष्कार गर्न सक्छौं । समृद्ध समाज निर्माण गर्न सक्छौं । तर मान्छेको जीवनलाई फिर्ता ल्याउन सक्दैनौं । यो भनेको मानव पुँजी, क्षमता, विज्ञता र सोचलाई गुमाउनु हो,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
मान्छेको जीवनलाई सबैभन्दा बढी ध्यान दिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालमा सरकारले गरेको गतिविधिका कारण हालसम्म कसैले पनि कोभिड–१९ को संक्रमणको कारण जीवन गुमाउन नपरेको जानकारी दिएका थिए । ओलीले अहिलेको अवस्थामा संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै ती संस्थालाई थप मजबुत बनाउनुपर्ने सल्लाह दिए ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ लाई परास्त गर्न नाम एकबद्ध हुनुपर्ने सल्लाह दिए । उनले त्यसका लागि बहुपक्षीय र विश्वव्यापी रूपमा सहकार्य जरुरी रहेको बताए ।


