गहिरो निद्राका लागि पहिलो सर्त हो, मनमा शान्ति । मनलाई कसरी शान्त तुल्याउने त रु मन त चञ्चल छ । मन भोको छ, मन लोभी छ, मन इष्र्यालु छ । पर्याप्त धन दौलतले, सुख सुविधाले मन शान्त हुँदैन । मनलाई शान्त तुल्याउने भनेको आफुले आफैसँग चित्त बुझाउने हो । यसको सरल विधी चाहि योग, प्राणायाम, ध्यान हो ।
ध्यान विधीबाट हामी मनलाई शान्त तुल्याउन सक्छौं । आध्यात्मिक चेतले पनि मनलाई वशमा राख्न सकिन्छ । मनमा सकारात्मक भाव पैदा हुनुपर्छ । सकारात्मक, कृतज्ञ र प्रफुल्ल भएपछि मन स्थिर हुन्छ । मन स्थिर भएपछि हामी गहिरो निद्रामा पुग्न सक्छौं ।
यसैगरी समुचित श्रम पनि आवश्यक छ । हामी निस्क्रिय बस्छौं वा ऐश आरममा मात्र रुची राख्छौं भने पनि हामीलाई गहिरो निद्रा लाग्दैन । शरीर भनेकै समूचित श्रम गर्नका लागि हो । जब हामी श्रम गर्छौं, शरीरले विश्रामको खोजी गर्छ । त्यही बेला हामी गहिरो निद्रा पाउन सक्छौं ।
खानपानले समेत निद्रामा असर गर्छ । हामीलाई के लाग्छ भने मदिरापान गरेपछि निद्रा लाग्छ । तर, यसले क्षणिक निद्रा लागेपनि यो गहिरो हुँदैन । मदिरापान गर्नु पनि निद्रा विथोल्नु हो । त्यसैगरी धेरै मसेलेदार वा शरीरले सजिलै नपचाउने खानाले पनि निद्रा विथोलिन्छ ।
सात्विक खानपान, सकारात्मक सोंच, सरल जीवनशैली आवश्यक छ, गहिरो निद्राको लागि ।
१. गहिरो निद्रा पाउनका लागि मूख्यतः मानसिक रुपमा स्वस्थ्य हुनु आवश्यक छ । सुत्नुअघि मनमा कुरा खेलाउने, चिन्ता लिने जस्ता काम गर्नु हुँदैन ।
२. सुतेको बेला आयव्यायको हिसाब लगाउने, पारिवारिक समस्यामा घोत्लिने, नकारात्मक बिचारहरु ल्याउने जस्ता कुराले पनि निद्रा विथोलिन्छ । त्यसैले सुत्नुअघि यस्ता विकारयुक्त विचारहरु मनमा ल्याउन हुँदैन ।
३. सुत्नुअघि त्यस्ता कुराहरु सोच्नु हुँदैन, जसले मनलाई दुखित तुल्याउँछ । अक्सर मानिस ओछ्यानमा पल्टिएर मनमा अनेक कुरा खेलाउन थाल्छन्, विगतका गल्तीहरु सम्झन्छन्, भविष्यका बारेमा कल्पन्छन् । यसले पनि निन्द्रा विथोल्छ । यस्ता कुराहरु सोचेर केहि फाइदा छैन । दिनमा शरीर सक्रिय भएको बेला यस्तो काम गर्नुपर्छ, जसले आफुलाई सन्तुष्ट तुल्याउँछ ।
४. सुत्नुअघि मनलाई स्थिर, खुसी र सन्तुष्ट राख्नुपर्छ । भविष्यको कुरा सोचेर वा विगतका गल्तीहरुमा पछुतो गरेर केहि उपलव्धी छैन भन्ने कुरा बुझ्नुपर्छ ।
५. सुत्नुअघि धेरै खानेकुरा खानु ठीक होइन । यसले पेट भद्दा हुन्छ र राम्ररी निन्द्रा लाग्दैन । अधिक पानी वा झोलयुक्त पदार्थ सेवन गर्दा पनि पिसाब लाग्छ, जसले निद्रा विथोलिदिन्छ । सुत्नुअघि हल्का एवं सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ ।
६. सुत्ने र उठ्ने समय तालिका नियमित हुनुपर्छ । निश्चित समय तालिकामा सुत्ने अभ्यास गरिएको छ भने त्यही समयमा निद्रा लाग्छ ।
७. शारीरिक रुपमा निस्क्रिय हुँदा पनि राम्ररी निद्रा लाग्दैन । त्यसैले दिनमा शारीरिक रुपमा सक्रिय रहनुपर्छ । त्यस्तै व्यायाम गर्नुपर्छ, हिँडडुल गर्नुपर्छ, सानोतिनो घरायसी काम गर्नुपर्छ ।
८.सुत्नुअघि हल्का खानेकुरा सेवन गर्ने, केहि क्षण हिँडडुल गर्ने, हल्का व्यायाम गर्ने, प्रणायाम गर्ने, ध्यान गर्ने जस्ता सिलसिलाबद्ध क्रियाले पनि गहिरो निद्रा लाग्छ ।
९. ओछ्यान सजिलो हुनुपर्छ । साथै सुत्ने कोठाको वातावरण प्रतिकुल हुनुहुँदैन । राती चर्को ध्वनी आउने, हल्लीखल्ली हुने जस्ता कुराले पनि निद्रा विथोलिन्छ ।
१०. सुत्नुअघि चाखलाग्दो पुस्तक पढ्नुहोस् । मधुरो संगीत सुन्नुहोस् । यसले ध्यान अन्यत्र भंग हुँदैन र निद्रा लाग्छ ।
केहि घरेलु विधी
राम्रो निद्रा पाउनका लागि केहि घरेलु औषधीले पनि उपयोगी हुन्छ । तर, पूर्ण रुपमा यसमै निर्भर हुनुहुदैन । स्वस्थ्य दिनचर्यासँगै घरेलु विधी अपनाएपछि गहिरो निद्रा पाउन सकिन्छ ।
-काचो प्याजको सेवन गर्नुपर्छ ।
– पुदिनाको पात पानीमा उमालेर उक्त पानी सेवन गर्नुपर्छ ।
-सुत्नुअघि मनतातो दुध पिउनुपर्छ ।



