काठमाडौं — श्रावण २१, २०७७।
काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको घटनाको वास्तविकता उजागर गर्दै हामीले समाचार प्रकाशन/प्रसारण गरेपछि देश–विदेशमा सनसनी बनेर फैलियो ।
सनसनीमात्रै फैलिएन, शिशुलाई देखाएर पैसा जम्मा गर्ने केयर होमकी सञ्चालकसँग पैसा फिर्ता लिन जानेको उत्तिकै भिड लागेको छ ।
कपनचौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालनपोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश–विदेशका मनकारीहरुले आ–आफ्नो खर्च कटौती गरेरै पैसा पठाए ।
शिशुका लागि भन्दै संसारभरका मानिस तँछाड–मछाड गरेर पैसा दिन ओइरिएपछि उनले मनग्गै रकम पनि जुटाइन् ।
तर, घटनाको वास्तविकता उदांगिएपछि भने अहिले सहयोगीहरु नै रकम फिर्ता लिन पुष्पा अधिकारीले सञ्चालन गर्दै आएको केयर बालगृहमा पुग्न थालेका छन् ।
घटनाको गाँठी कुरो थाहा नपाइ समाचार सम्प्रेषण गर्ने र घटनाबारे थप जानकारी दिन सञ्चारमाध्यमहरुको घुइँचो नै लाग्यो, बालगृहमा ।
भिड नियन्त्रणकै लागि बालगृहमा प्रहरी परिचालन गर्नुपर्नेसम्मको अवस्था आइपरेको छ ।
अबोध शिशुलाई कार्टुनमा फालिएको भन्ने नाटक मच्चन गरेको स्वीकारेकी बालगृहकी सञ्चालक अधिकारीले हाम्रो टोलीसमक्ष सहयोगस्वरुप प्राप्त रकम फिर्ता गर्न आफू तयार भएको बताइन् ।
समाचारको प्रभावस्वरुप काठमाडौंमात्र होइन, देश–विदेशबाट सहयोग गरेकाहरुले रकम फिर्ता लैजान थालिसकेका छन् ।
चार वर्षदेखि सञ्चालित उक्त बालगृहकाबारेमा जानकारी नै नभएका छिमेकीहरु पनि घटना उजागर भएपछि चकित भएको बताउँछन् ।
संस्थामा रहेका अरु बालबालिकालाई कतै लैजान नदिने र आफैंले पालनपोषण र हेरचाह गर्नेपनि पुष्पाले बताइन् ।
वैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी महिलाले जन्माएकी उक्त शिशुलार्ई देखाएर पैसा जम्मा गरिएको थियो । पछि भने उक्त महिलाले प्रहरीको रोहबरमा आफ्नो शिशु आफैंसँग लगेकी छिन् ।
यसको पछाडि शिशुको नाममा आएको सहयोग रकमको लेनादेना नमिलेर हो वा अरु नै केही भन्नेबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यद्यपि, पुष्पाको दाबीअनुसार शिशु महिलाले आफैं ल्याएको नभइ अरु कुनै महिलामार्फत् केन्द्रमा ल्याएको र शिशुकी आमालाई सहयोग गर्नकै लागि यो नाटक गरिएको थियो ।
एउटी अबोध शिशुलाई माध्यम बनाएर गरिएको यसखाले नाटक मञ्चनले समाजमा कस्तोसम्म प्रवृत्ति मौलाएको छ भन्ने दृष्यमात्र उजागर गरेको छैन, कानुन कार्यान्वयन गर्ने अधिकारीहरुलाई यस्ता घटना हुन नदिन सतर्कपनि गराएको छ ।
(ईमेज खबर)


