lifestyle
||Power News Asia||

आजको समाचार

कोरोना कहरसंगै लकडाउनले डेटिङ र यौन सम्बन्धलाई कसरी र कति परिवर्तन गर्दैछ ?

जीवनशैली


काठमाडौं — श्रावण २६, २०७७। 

राम्रा दिनमा त डेटिङ गर्न मुश्किल हुन्छ भने अहिलेको यस्तो समयको कल्पना गर्नुहोस् त जब संसारको एक चौथाई जनसंख्या लकडाउनमा बस्नु परेको छ ।

चीनदेखि ब्रिटेनसम्म, स्पेनदेखि नेपालसम्म । हरेक स्थानमा मानिसहरुले सामाजिक दुरीको अभ्यास गर्नुपरिरहेको छ । साधारणतया कुनै चिने जानेका व्यक्ति भेट्दा हामी जस्तो व्यवहार गर्दथ्यौं, अहिले त्यसको ठिक विपरित गर्नुपरेको छ ।

यस्तोमा प्रश्न यो उठ्छ कि लकडाउनका कारण संसारभरी डेटिङ र सम्बन्धमा कस्तो असर परिरहेको छ ?

संसारका पाँच भिन्न शहरका पाँच व्यक्तिले बीबीसीसँग आ–आफ्नो डेटिङको कहानी साझा गरेका छन् ।

 

सोफी, २७ वर्ष, सांघाई, चीन

ऊहानमा लकडाउन हुनु एक हप्ताअघि मेरो प्रेमीसँग ब्रेकअप भएको थियो । त्यसपछि चीनका अन्य शहरमा पनि यस्तै प्रतिबन्ध लगाइयो । कसैलाई थाहा थिएन, यस्तो स्थिती आउनेछ । यो मेरा लागि थप मुश्किल रह्यो किनभने मैले एक्लै आफ्नो ब्रेकअपको पीडा भोग्नु परिरहेको थियो ।

यस्तोमा मैले डेटिङ एप्सको सहारा लिएँ । आफ्नो अपार्टमेन्टमा आफ्नो बिरालोसँग बसेर डेटिङ एपलाई दायाँ बायाँ सार्नु मेरो लागि मनोरञ्जनको साधन बन्यो ।

म घण्टौंसम्म पुरुषहरुसँग कुरा गर्छु । कसैलाई भेट्नु अघि यही गर्ने हो । किनभने सबै रेष्टुरेन्ट र सार्वजनिक स्थान बन्द छन् । यदि खोलिएका क्याफे भेट्यौं भने पनि हामीले जतिबेला पनि मास्क लगाएर बस्नुपर्छ । यसरी डेटिङ जानुको कुनै अर्थ छैन ।

यस्तो लागिरहेको छ कि तपाईं पूर्ण रुपमा एक्लै हुनुहुन्छ र कसैले पनि तपाईंको एकान्त भंग गर्न सक्दैन । यो सुरक्षित पनि हो तर थुप्रै पटक तपाईं कोही साथी भए ठाउँ जान चाहनुहुन्छ र उसलाई छुन चाहनुहुन्छ, महसुस गर्न चाहनुहुन्छ । यो त्यतिबेला झनै मुश्किल हुन्छ जब तपाईं ती व्यक्तिलाई चिन्नुहुन्छ र डेटिङमा हुनुहुन्छ । अनलाइन डेटिङमा त समस्या झन् बढ्छ, त्यो पनि कोरोनाभाइरसको समयमा ।

तपाईं एकदम अपरिचित व्यक्तिलाई कसरी भेट्नुहुन्छ ? जब तपाईंलाई आफूहरु दुबैजना कोरोनाभाइरस संक्रमणबाट मुक्त हुनुहुन्छ वा हुनुुहुन्नँ भन्ने थाहा छैन भने यस्तो गर्नु थप जोखिमयुक्त हुन्छ ।

म अब डेटिङ एप्सबाट ब्रेक लिइरहेको छु किनभने यसबाट केही हासिल भइरहेको जस्तो मलाई लाग्दैन । इमान्दारितापूर्वक भन्ने हो भने स्थिती अहिले नै सामान्य होला जस्तो मलाई लाग्दैन ।

 

जेरेमी कोहन, २८ वर्ष, ब्रूकलीन, अमेरिका

आफ्नो अपार्टमेन्टमा क्वारेन्टाइनमा बस्दा मैले आफूलाई व्यस्त राख्नका लागि वरिपरिको छतमा भएका व्यक्तिहरुको तस्बिर खिच्न सुरु गरेँ । मैले यस्ता तस्बिरमा आधारित फोटो सिरिज सुरु गरेँ ।

केही दिनअघि मैले एक युवतीलाई छतमा नुहाइरहेको देखेँ । म उनको ऊर्जाप्रति आकर्षित भएँ । म आफ्नो बालकनीमा गएँ र हातको इशाराले ‘हाय’ भनेँ । उनले पनि हातले इशारा गरिन् ।

मलाई त्यति नै बेला उनीप्रति कनेक्सन महसुस भयो र उनलाई सम्पर्क गर्ने मेरो इच्छा भयो । जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ नि । मैले ड्रोन लिएँ र आफ्नो फोन नम्बरसहित एउटा नोट लेखेँ । त्यसलाई ड्रोनमा टाँसे र उनको छतमा उतारेँ ।

एक घण्टापछि उनको टेक्स्ट मेसेज आयो र हामीबीच कुराकानी सुरु भयो । मैले उनलाई सोधेँ र उनको रुममेटको मद्दतले डेट प्लान गरेँ । तर यो डेट एकदम भिन्न थियो । उनी आफ्नो छतमा थिइन् र म आफ्नो छतमा तर दुबैजना एकै तरिकाले बसेका थियौं – एउटा सानो टेबल, वाइन र खाना । यो डेटको क्रममा हामी पूरा समय फेसटाइम भिडियो कलमा थियौं । हामी एक अर्कालाई देख्न सक्थ्यौं र एक–अर्कालाई इशारा पनि गर्न सक्थ्यौं ।

हाम्रो दोस्रो डेट पनि अनलाइन बबलमा भयो । म वास्तविकतामा लाइन क्रस नगरिकनै लाइन क्रस गरेर नजिक पुग्न चाहन्थेँ ।

मैले आफ्नो कहानी सोसल मिडियामा पोस्ट गरेँ र यो भाइरल भयो । हामीलाई थुप्रै अन्तर्वार्ताका लागि अनुरोध आउन थाल्यो । यसको चाँजोपाँजो मिलाउँदा मिलाउँदै हामी एकअर्काको झनै नजिक आयौं ।

यदि लकडाउन नभएको भए यो सम्भव थिएन । म एक शानदार व्यक्तिलाई भेटेर निकै खुसी छु । साधारणतया म पहल गर्ने किसिमको मान्छे होइन । तर म एउटा कोठामा बन्द भएका कारण मेरो सृजनशीलताले उनलाई अप्रोच गर्न प्रेरित गर्यो ।

 

क्लारेसी, ३५ वर्ष, किनसासा, डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआरसी)

कोभिड–१९ संक्रमण संसारभरीका लागि खतरा बन्नु अघि म कसैसँग क्याजुअल रिलेशनशिपमा थिएँ । हामी साधारणतया हरेक दिन एक–अर्कालाई भेट्थ्यौं तर म मानसिक रुपमा यो सम्बन्धमा त्यति सम्मिलत हुन चाहन्नथेँ । म यसलाई सुस्त गतीमा अघि बढाउन चाहन्थेँ । तर कसले सोचेको थियो होला र स्थिती यस्तो होला भनेर ।

यतिबेला डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा लकडाउन छैन तर म स्वास्थ्य क्षेत्रमा काम गर्छु । त्यसकारण यो भाइरसको खतरालाई गम्भीरताका साथ लिएकी छु । यो कुराले उनलाई पागल बनाइदिएको छ । मैले चार हप्ता अघि उनलाई भेट्न बन्द गरेँ । मैले उनलाई यसो गर्न जरुरी भएको भनेर सम्झाएँ तर उनलाई लाग्छ कि म उनीबाट टाढा हुन बहाना बनाइरहेकी छु ।

म उनको कमी महसुस गरिरहेको छु र मलाई पनि लाग्छ कि मैले आफ्नो जीवनमा उनलाई स्थायी रुपमा समावेश गर्ने एउटा मौका गुमाइरहेकी छु । उनले मेरो प्रतिक्षा गर्ने छैनन्, यो कुराले मलाई सताइरहेको छ । म शारीरिक अंतरंगको पनि कमी महसुस गरिरहेकी छु ।

हामी सबैलाई शारीरिक सम्बन्धको चाहना हुन्छ । यस्तोमा तपाईंले वैकल्पिक बाटो खोज्नुपर्ने हुन्छ । राम्रो कुरा यो हो कि मेरो भाइब्रेटर सधैं मेरो बेस्ट फ्रेन्ड साबित हुन्छ । मलाई लाग्छ कि मेरा प्रेमीलाई यो थाहा थियो त्यसकारण मलाई लाग्छ कि उनले आफ्नो तर्फबाट सम्पर्क स्थापित गर्ने बढी कोसिस गरेँ ।

यो स्थितीले मलाई दुःखी बनाएको छ र थुप्रै पटक एक्लो महसुस गराएको छ । अब मेरा प्रेमीले मसँग धेरै कुरा गर्दैनन् । मेरो मेसेजको जवाफ ढिला गरी दिन्छन् । म उनलाई र आफूलाई यो भाइरसबाट बचाउने कोसिस गरिरहेको छु तर मलाई लागिरहेको छ कि संकटको यो घडीमा हाम्रो सम्बन्ध पनि समाप्त हुनेछ ।

 

देबास्मिता, २४ वर्ष, नयाँ दिल्ली, भारत

मैले मेरा प्रेमीसँग तीन महिनाअघि डेटिङ सुरु गरेकी थिएँ । हामी एउटै शहरमा बस्छौं र यो कुराले मलाई ढुक्क बनाएको थियो । किनभने योभन्दा अघिका मेरा सबै लङ्ग डिस्टेन्स रिलेशनशिप थिए । म यो कुराले खुसी थिएँ कि म यस्ता व्यक्तिसँग छु जोसँग म धेरैभन्दा धेरै समय बिताउन सक्छु ।

हामी एउटै अफिसमा काम गर्छौं र दैनिक एक–अर्कालाई भेट्थ्यौं । सबैकुरा एकदम ठिकठाक चलिरहेको थियो तर हाम्रो सम्बन्धमा अचानक लकडाउन आयो र यो पनि लङ्ग डिस्टेन्स रिलेशनशिपमा परिवर्तन भयो । हामी अत्यधिक दुःखी छौं किनभने हामी मानिसक रुपमा यसका लागि तयार थिएनौं ।

अब हामी एकअर्कासँग दिनमा ६–७ पटक भिडियो कलमा कुरा गर्छौं । हामी एक–अर्कासँग कुरा गर्दागर्दै एउटा फिल्म हेर्छौं । धेरैपटक हामी एकै किसिमका खाना बनाउँछौं । मलाई क्विज खेल्न मनपर्छ त्यसकारण हामी धेरैभन्दा धेरै अनलाइन क्विज खेल्छौं । यी तरिकामार्फत् हामी एक–अर्कासँग टाढा भए पनि एकैसाथ हुने कोसिस गर्छौं । तर यसले हाम्रो तनाव र चिन्ता बढाएको छ । अब हामी एक–अर्कासँग धेरै बहस गर्न थालेका छौं । जब एक अर्कासँगै हुँदा कुरा गर्दथ्यौं स्थिती अलग हुन्थ्यो । त्यतिबेला सम्झाउन सजिलो हुन्थ्यो र बुझ्न पनि सजिलो हुन्छ ।

तर हामी यस्ता कुरामा अत्यधिक हाँस्छौं पनि  । यदि हामी यो संकटबाट निस्कन सक्यौं भने मानिसहरुलाई सम्बन्धको सुरुवातमा नै कति ठूलो चुनौतीको सामना गर्नुपरेको थियो भनेर बताउनेछौं । मलाई लाग्छ कि यस्तो गुर्न पनि विशेष हुनेछ ।

 

जूली, २४ वर्ष, एलिगन सिटी, फिलिपिन्स

म पछिल्लो दुई महिनादेखि टिन्डरमा छु । कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन लागू हुनुअघि म कुनै पुरुषसँग डेटमा जान्थेँ । हामीसँग पर्याप्त समय हुन्थ्यो त्यसकारण सबैकुरा गर्दथ्यो ।

अब मसँग समय नै समय छ तर म कसैलाई पनि भेट्न पाउँदिन । मेरो यौन जीवन निरश भएको छ । म कसैलाई पनि डेट गरिरहेको छैन । यो निराश गर्ने कुरा हो किनभने म आफ्नो शारीरिक इच्छा पूरा गर्नका लागि म केही पनि गर्न सक्दिनँ ।

यद्यपि, लकडाउनको क्रममा म डेटिङ एप्समा अत्यधिक सक्रिय छु । म पुरुषसँग कुरा गर्छु । हामी भिडियो कलमा कुरा गर्छौं र साइबर सेक्स पनि । यसमार्फत् हामी दुबैको यौन चाहना पूरा हुन्छ । यो सबै वास्तविक रुपमा हुँदैन तर हामीसँग योबाहेक विकल्प अरु के नै छ र ?

म यी पुरुषलाई भेट्न चाहन्छु तर यातायातका कुनै साधन छैनन् न घरबाट निस्कने अनुमती नै छ । मेरा त समस्या अझ धेरै छ किनभने म युनिभर्सिटीको डोरमेट्रीमा एक्लै बस्नु परिरहेको छ । यो समयमा सेक्स सम्बन्धको चाहना पनि धेरै नै महसुस भइरहेको छ । म हरेक दिन हस्तमैथुन गरिरहेकी छु । कहिले त दिनमा एकपटकभन्दा बढी । अब केही दिनसम्म यस्तै हुनसक्छ ।

(सोफीः अनुरोधमा परिवर्तन गरिएको नाम)
(एजेन्सी/ रातोपाटी)

यस्तो एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध

जीवनशैली


काठमाडौं — श्रावण २६, २०७७। 

सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन । त्यसैले जीवन जति संवेदनशील छ सम्बन्ध पनि  उत्तिकै छ । 

आजभोलि सम्बन्धहरु नाजुक बन्दै गइरहेका छन् । प्रविधि र विज्ञानको विकासले मानिसलाई अनावश्यक आवश्यकता र तनावतिर डोर्याइरहेको छ । मानिसहरु के कारणले सम्बन्धमा दरार आउँदै छ भन्ने कुरातर्फ कहिल्यै ध्यान दिदैँनन्  तर सम्बन्ध बिग्रिएकोमा भने गुनासो गर्दै हिँड्छन् । 

सम्बन्धमा तित्तता आउनुमा एक अर्काबीच हुने  संवाद मुख्य हुने एक अध्ययनले देखाएको छ । मानिसहरुको बोलीले उनीहरुको सोचाई दर्शाउँछ । उनीहरु जस्ता शब्दहरु प्रयोग गरिरहेका हुन्छन्, ती शब्दहरुले मानिसको सोच्ने क्षमता कस्तो छ भन्ने पत्ता लाग्ने अध्ययनमा उल्लेख छ र

क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले जुन सम्बन्धमा जोडीले ‘म’ सट्टा ‘हामी’ शब्द प्रयोग गर्छन् ती जोडीको सम्बन्ध निकै राम्रो भएको बताएको छ । ति मानिसहरु आफूलाई आफ्नो साथीको नजिक भएको महसुस गर्ने बताइन्छ ।
उक्त अनुसन्धानको लागि ३० वटा अध्ययन गरिएको थियो । जसमा ५ हजार प्रतियोगी सहभागी भएका थिए । अध्ययनपूर्व सहभागीहरुको व्यवहार, सम्बन्ध, खुशी साथै शारीरिक र मानसिक स्वास्थ्य स्थितिको विषयमा अध्ययन गरिएको थियो । 

अध्ययनले पार्टनरबीच हुने कुराकानीका क्रममा जो ‘हामी’ शब्दको प्रयोग गर्छन् ति व्यक्तिहरु निकै खुशी भएको पाइयो । वास्तवमा ‘हामी’ शब्दको प्रयोग गर्नेहरु एक–अर्काप्रति समर्पित हुने र हरेक पलमा साथ दिने गर्छन् । उनीहरु आफ्ना पार्टनरको ख्याल राख्ने गर्छन् । उनीहरु एक–अर्कालाई पाएकोमा खुशी महसुस गर्छन् र सम्बन्धमा सधैँ न्यायोपन ल्याइराख्छन् । 

(एजेन्सी)

श्रम दुःख होइन, यस्तो छ यसको मूल्य र महिमा

जीवनशैली


श्रम के हो ? हामी भन्छौं, श्रम गर्नु भनेको काम गर्नु हो । काम गर्नुलाई हामी ‘दुःख गर्नु’ भन्छौं । के त्यसो भए श्रमको अर्थ दुःख हो ?

श्रमको मर्म र महत्वलाई हामीले यसरी अपव्याख्या गर्नु ठिक होइन । सार्थक ढंगले गरिने कुनैपनि श्रमले मान्छेलाई सफलताको उचाईमा पुर्‍याउँछ । श्रमले बाँच्न सिकाउँछ । श्रमले जीवनको सार्थकता बुझाउँछ । श्रम गर्नु भनेको संघर्ष गर्नु पनि हो । संघर्षले नै जीवन सार्थक बनाउँछ । यसर्थ श्रम कुनै दुःख होइन । 

पूर्विय दर्शनमा भनिएको छ, ‘श्रम गर, फलको आशा नगर ।’ सार्थक ढंगले गरिएको कुनैपनि श्रमले नतिजा त दिन्छ नै । यद्यपी श्रम गरिरहँदा त्यसको नतिजाप्रति आशक्ति रहनु वा व्यग्र रहनु उचित होइन । श्रम गरेपछि त्यसले आवश्य सुख दिन्छ ।

बुद्ध दर्शनले पनि श्रमको मर्म र महिमा बताएको छ । सार्थक र सही श्रमलाई नै धर्मको अंश मानेको छ । अतः श्रमप्रति इमान्दार र अनुशासित रहन प्रेरित गरेको छ । यस किसिमको श्रमबाट सुख र शान्ति प्राप्त हुने बाटो देखाइएको छ ।

श्रम दुःख हो ?

वर्तमान समाजले श्रमको अपव्याख्या गर्दै गएको छ । श्रमलाई दुःख र श्रम गर्नेलाई ‘दुखी’ भन्ने गरेको छ । हाम्रो मनस्थिती नै यस्तो भएको छ कि, श्रमलाई हामी दुःख ठान्छौ । त्यही कारण आज हामी श्रम गर्नबाट पन्छिने गरेका छौ ।

हामीलाई श्रम गर्न आज लाज लाग्छ । श्रम गर्नु भनेको सानो हुनु भन्ने बुझाई छ । श्रम गर्दा दुःख हुन्छ भन्ने बुझाई छ । यही बुझाईको कारण आज श्रम र श्रम गर्नेलाई हामी हेय दृष्टिले हेरिरहेका छौ । जबकी श्रम नै सुखको सर्वोच्व स्रोत हो ।

खासगरी शारीरिक श्रम आज एक लाज लाग्ने कृतय भएको छ, यो लाजको विषय बनेको छ । श्रमप्रतिको यस्तै बुझाईमाथि कटाक्ष गर्दै एक पश्चिमी विचारकले भनेका थिए, ‘अब एक जमाना यस्तो पनि आउनेछ कि, मान्छेले आफ्नो प्रेम पनि कामदारलाई गर्न लगाउनेछन् ।’

श्रम र शरीरको सम्बन्ध

दार्शनिक ओशो भन्छन्, ‘सारा जीवनको जो शक्ति छ, त्यो गुमाइरहेका छौ । किनकी मानिसको शरीर, मानिसको प्राण कुनै विशिष्ठ श्रमका लागि निर्मित भएको हो ।’

श्रम मानसिक तथा शारीरिक दुबै किसिमको हुन्छ । हामी आज मानसिक श्रम गर्नेलाई उच्च र शारीरिक श्रम गर्नेलाई कमजोर ठान्ने गर्छौं । जबकी शारीरिक श्रम नै मानिसको चेतना र उर्जा जगाउने अनिवार्य स्रोत हुन् ।

श्रमको सन्दर्भमा एउटा घतलाग्दो कथा छ ।

अब्राहम लिंकन, जो अमेरिकी राष्ट्रपति थिए, उनी बिहान आफ्नो घरमा बसेर जुत्ता पालिश गरिरहेका थिए । त्यहीबेला उनका एक मित्र आइपुगे । मित्रले आश्चर्य मान्दै भने, ‘तिमी यो के गर्दैछौ, तिमी आफ्नो जुत्ता आफै पालिश गर्छौ ?’

लिंकनले भने, ‘तिमीले मलाई बडो चिन्तित बनाइदियौ । के तिमी आफ्नो जुत्ता अरुलाई पोलिश गर्न लगाउँछौ ?’

मित्रले गर्वसाथ भने, ‘हो, म यस्तो काम अरुलाई नै लगाउँछु ।’

तब लिंकनले दुःख मान्दै भने, ‘अर्काको जुत्ता पोलिश गरिदिनुभन्दा पनि खराब कुरा त अर्कालाई जुत्ता पोलिश गर्न लगाउनु हो ।’

यसको अर्थ के हो भने, जीवनको सोझो सम्बन्ध हामी गुमाउँदैछौ । जीवनसँग हाम्रो सोझो सम्बन्ध श्रमको समबन्ध हो । प्रकृतिसँग हाम्रो सोझो सम्बन्ध हाम्रो श्रमको सम्बन्ध हो । ओशो यसै भन्छन् ।

जब मानिस श्रमबाट टाढा हुन्छन्, तब उनीहरु जीवनबाट टाढा हुन्छन् ।

जीवन र श्रम समानार्थक हो । जीवन र श्रमले एकै अर्थ राख्छ । तर, अहिले हामी सुविधाभोगी हुने चक्करमा र सुखको खोजीमा श्रम त्याग्दैछौ । श्रम गर्नबाट पन्छिदैछौं ।

फ्रेण्ड्सका पूर्वखेलाडी महेश पन्थीको कोरोनाबाट मृत्यु

जीवनशैली


१७ वैशाख काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालका पूर्वफुटबल खेलाडीको अमेरिकामा मृत्यु भएको छ ।

ललितपुरको ए डिभिजन फ्रेण्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका मशेह पन्थीको कोरोना लागेर मृत्यु भएको हो । फ्रेण्ड्स क्लबलको यसको सामाजिक सञ्जालमा पोष्ट गर्दै पुष्टि गरेको छ ।

फ्रेण्ड्स क्लबले ग्रेट स्पोर्ट्स पर्सन गुमाएको भन्दै दु:ख व्यक्त गरेको छ । यस्तै फ्रेण्ड्स क्लबका अध्यक्ष राजीव पौडेलले पनि महेशको निधनमा दु:ख व्यक्त गरेका छन् ।

नेपालमा ललितपुर कुपन्डोल घरभएका पन्थी एक दशकदेखि अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका थिए । उनको परिवारमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन्।

कोरोनाका कारण नेपालमा अहिलेसम्म कसैको मृत्यु नभए पनि विदेशमा भने करिब ५० जना नेपालीको मृत्यु भइसकेको छ ।

 

यस्तो छ इरफान खानको जीवनकथा

जीवनशैली


‘मेरो दिमाग अक्सर मलाई भन्छ – ‘मलाई यो बिमार छ र म केही महिना वा एक/दुई वर्षपछि मर्नेछु ।’ म आफ्नो दिमागले भनेको कुरा पूरा खारेज गरेर त्यसतर्फ मोडिन सक्छु, जसमा मलाई जिन्दगीले जिउनका लागि बाटो खुला गरिदिएको छ । मलाई जिन्दगीले धेरै मौका दिइरहेको छ । मलाई थाहा छ कि चौतर्फी अन्धकारले घेरिएको बाटोमा म हिँड्दैछु । मैले देखेको छैन कि मलाई जिन्दगीले के दिइरहेको छ ?’

‘तपाईं सोच्न छाड्नुहोस्, योजना बनाउन छाड्नुहोस् । तब तपाईंले जिन्दगीको अर्को रुप अनुभूत गर्न पाउनुहुनेछ । यही कारण मलाई लाग्छ, मसँग अर्को कुनै शब्द छैन, सिवाय ‘धन्यवाद ।’ कुनै अर्को शब्द छैन । कुनै माग छैन । कुनै दोस्रो अनुरोध पनि छैन ।’

आफूलाई निकै घातक एवं दुर्लभ क्यान्सर भएको थाहा भएपछि भारतीय अभिनेता इरफान खानले लन्डनको एक अस्पतालबाट एसोसिएटेड प्रेससँग कुराकानी गर्दै यसै भनेका थिए । क्यान्सरको उपचारपछि उनी आफ्नो लयमा फर्कने सुरसार गरिरहँदा सर्वत्र खबर फैलियो – ‘इरफानको निधन भयो।’

व्यक्तिगत जीवन

इरफान खान बलिउडका उम्दा अभिनेता हुन् । उनले बलिउडमा जुन उचाइ लिएका छन्, त्यो आफैँमा लोभलाग्दो छ । बलिउड हुँदै हलिउडमा समेत ख्याती कमाएका उनी सन् १९६७ जनवरी ७ मा भारतको जयपुर, राजस्थानमा जन्मिएका थिए।

इरफानका पिता साहबजादा यासिन अली खान उद्यमी थिए । आमा गृहणी थिइन्। उनका दुई भाइ छन्, सलमान खान र इमरान खान। रुखसाना बेगम नामकी एक बहिनी छिन् ।

उनले राष्ट्रिय नाट्य विश्वविद्यालयबाट प्रशिक्षण लिएका थिए । सन् १९९५ मा इरफानले सुतपा सिकदरसँग विवाह गरे । सुतपा पनि राष्ट्रिय नाट्य विद्यालयमै आवद्ध थिइन् । उनीहरूको कोखबाट दुई छोराहरू जन्मिए, अयान खान र बबिल खान ।

कार्टुन बनाउँथे

करियरको पूवार्धमा इरफान खान कार्टुन बनाउँथे । स्थानीय अखबार दैनिक भास्कर र स्वदेशमा उनले कार्टुन बनाए ।

दिल्लीको श्रीधरणी आर्ट ग्यालरीमा आफ्नो चित्र प्रदर्शन गर्ने क्रममा उनी नवभारत टाइम्समा जोडिए । त्यसपछि उनी अरू थुप्रै मूलधारका पत्रिकामा कार्टुन बनाउन थाले ।

वरिष्ठ कार्टुनिस्टको चिनारी बनाइरहेकै बेला उनले एनडिटिभीमा आफ्नो ‘टक सो’ होस्ट गरे। यो सन् २००३ को कुरा हो ।

पछि एसियाई कार्टुन प्रदर्शनीमा पनि उनी भारतको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकमा कार्टुन देखाउन पुगेका थिए ।

त्यसबेला उनी करियरको सुरुवाती चरणमा थिए । उनी सडकमा थिए । दु:खपूर्ण जीवन थियो । ठिक त्यही बेला उनको जीवनमा एक युवती आइन्, सुतपा ।

तर, त्यसभन्दा अगाडि उनले अर्को दु:खको सामना गर्नुपर्‍यो, उनको बुबाको मृत्यु। त्यो मृत्युले घरको आयस्रोत सबै बन्द भयो । इरफानलाई घरबाट पैसा आउने बाटो बन्द भयो । यस्तै, दुखदायी क्षणमा उनले अभिनय सिके र  त्यसकै लागि निरन्तर डटिरहे । अन्तत: टेलिशृङ्खला हुँदै उनी फिल्मी दुनियाँमा छिरे ।

पहिलो फिल्म

इरफानले ‘सलाम बम्बे’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका हुन्। सन् १९६७ मा त्यसपछि उनी निरन्तर फिल्मी क्षेत्रमै तल्लिन रहे। यसबीचमा इरफानले हसिल, लाइफ इन ए..मेट्रो, पान सिंह तोमर, लन्च बक्स, जुरासिक वर्ल्ड, लाइफ अफ पाई जस्ता हलिउड, बलिउड फिल्ममा अभिनय गरे ।

इरफान खानसँग जोडिएको विवाद

इरफानले बकरा इदको विषयमा दिएको एक अभिव्यक्तिले विवादको रुप लिएको थियो । उनको अभिव्यक्तिलाई केही मुस्लिम संगठनले घोर विरोध जनाएका थिए । उनीहरूले भनेका थिए, ‘आफ्नो काममा ध्यान देऊ, धार्मिक रीति रिवाजमाथि बयान दिनु आवश्यक छैन ।’

त्यसको जवाफमा इरफानले ट्विट गर्दै भनेका थिए, ‘भगवान धन्यवाद ! म धार्मिक ठेकेदारद्वारा सञ्चालित देशमा बसेको छैन ।’

इरफान खानसँग जोडिएको रोचक कुरा

क्रिकेटर बन्न चाहन्थे

इरफान खान त्यसताका अभिनेता बन्ने सोचमा पुगेकै थिएनन् । खासमा उनी क्रिकेटर बन्न चाहन्थे । तर, उनको भाग्यमा अर्कै लेखिएको रहेछ । उनी क्रिकेटर बनेनन्, अभिनेता बने ।

आफ्नो नाममा ‘आर’

इरफान खान अंग्रेजीमा आफ्नो नाममा दुई वटा आर राखे, आइआरआरएफएएन । अर्थात् इरफान । कतिले भन्छन् कि, अंकज्योतिषको कारण इरफानले आफ्नो नाममा एक अर्को आर जोडेका हुन् । तर, इरफानलाई त्यसको साउन्ड राम्रो लागेकाले आर जोडिएको बताएका थिए ।

खान नामले हैरानी

इरफान खानले आफ्नो नामको पछाडि जोडिन आउने खानको कारण यदाकदा दु:ख झेलेका छन् । अमेरिकी विमानस्थलमा उनलाई कति पटक रोकेर सोधपुछ गरिएको थियो ।

ओस्कार विजेता फिल्ममा काम

इरफानले ‘स्लमडग मिलियनेयर र लाइफ अफ पाई’ फिल्ममा काम गरे । यी दुवै फिल्मले केही विधामा ओस्कार अवार्ड जितेको थियो ।

इरफानको सम्पति

इरफानले एउटा फिल्ममा अभिनय गरेबापत भारु १२ देखि १४ करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका थिए । उनको मुम्बईमा एक फ्ल्याट छ, जसमा उनी आफ्ना परिवारसँग बस्थे । त्यस फ्ल्याइटको मूल्य भारु करिब तीन करोड हो । इरफानसँग चारवटा गाडी थियो । उनीसँग करिब भारु ८० करोड बराबरको सम्पत्ति भएको बताइन्छ ।

जीवन जिउने कलाः खुसी, सन्तुष्ट, सफल र निरोगी जीवनको लागि

जीवनशैली


हामी सधै जीवन जिउने कुरा गर्छौं । जिउने कला सिक्छौं । यसरी जिउने, त्यसरी जिउने भन्दा भन्दै सबै समय गुज्रिएर जान्छ ।

जीवन कसरी जिउने ? यसको कुनै फर्मूला छैन । किनभने फरक बर्ग, बर्ण, भूगोल, संस्कृति, हावापानीले पनि मानिसको जिउने शैलीमा प्रभाव पार्छ । एउटा भूगोलमा जन्मिएका मानिसले जुन ढंगले जिउने अभ्यास गर्छ, अर्को गोलार्द्धका व्यक्तिले त्यसको हुबहु अनुशरण गर्न सक्दैन । त्यसैले जीवन यसरी जिउनुपर्छ भनेर सर्वमान्य फम्र्याट तयार गर्न सकिदैन ।

तर, जीवन जिउनु एक कला हो । जन्मिएपछि हामी बाँच्छौं । तर, कस्तो जीवन बाँच्छौं भन्ने कुरा हाम्रो कलाको कुरा हो । कसैले गुणस्तरिय जीवन बाँच्छन्, कसैले बेकारको जीवन बाँच्छ । एउटा भनाई छ, ‘जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन । तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ ।’

कसरी बाँच्ने ?

जन्म नै मृत्युको सुरुवात मानिन्छ । अर्थात जन्मिएपछि मृत्यु निश्चित छ । हामी जन्मदेखि मृत्युसम्म एउटा निश्चित अवधी बाँच्छौं । यही अवधीमा हामीले आफ्नो बाँच्ने कला सिक्न सक्छौं । सिकाउन सक्छौं ।

निश्चित अवधीका लागि जीवन लिएर आएका हामी खुसीसाथ, प्रेमपूर्वक, उमंगमय ढंगले बाँच्नुपर्ने हो । तर, हामीसँग यस्तो कला हुँदैन, जसले गर्दा क्रोध, लोभ, इष्र्या, प्रतिशोध, सत्रुता साँधेर कष्टकर जीवन बाँच्न पुग्छौं । त्यसैले त जीवनको मूल्य र मान्यतालाई बुझ्न जरुरी छ । जीवन के हो ? कसरी जिउने भन्ने कुरा हामी आफैबाट सिक्न सक्छौं, अरुबाट प्रेरणा लिन सक्छौं । जीवनलाई जति कलात्मक, रचनात्मक र मूल्यवान् बनाउन सक्छौं, उत्तिकै शानदार दिनहरु विताउन सक्छौं ।

आखिर समय त वितेर जान्छ नै । आज जुन क्षण हामीसँग छ, त्यो हिजो हुनेछ । यसरी हरेक क्षण हामीसँग रहने छैन । जतिबेला त्यो क्षण हामीसँग हुन्छ, किन रिस, द्वेष, लोभ, क्रोधमा फसेर विताउने ? पूर्खाको मार्गदर्शन

जीवन के हो ? जीवनलाई कसरी रचनात्मक बनाउने ? यस सम्बन्धमा हाम्रा पूर्खाहरुले आफ्नो जीवन-भोगाई सुनाउँदै आएका छन् ।

विभिन्न पौराणिक ग्रन्थ, ऋषिमुनीहरुले हामीलाई गुणस्तरिय जीवन विताउन उचित मार्गदर्शन गर्दै आएका छन् । यद्यपी यस्ता कुरालाई हामीले मनन गर्न सकेका छैनौ । त्यसैले त आज हामी ‘कसरी खुसी हुने ?’, ‘कसरी सुखी हुने ?’, ‘कठिन क्षणमा कसरी आफुलाई सम्हाल्ने ?’, ‘दाम्पत्य सुख कसरी पाइन्छ ?’, ‘कसरी स्वास्थ्य भइन्छ ?’ भनेर खोज्न थालेका छौं ।

मनको विकार त्यागौं

वास्तवमा जीवनलाई सुन्दर बनाउनका लागि अरु केही गर्न पर्दैन, मनको विकार त्याग गरे पुग्छ । हाम्रो मनभित्र अनेक विकार जमेर रहेको हुन्छ । त्यही विकार हो, जसले हामीलाई हास्न दिदैन । त्यही विकार हो, जसले हामीलाई खुसी हुन दिदैन । त्यही विकार हो, जसले हामीलाई उमंग दिदैन ।

हामीभित्र जमेर रहेको विकार हो, दम्भ, प्रतिसोध, इर्ष्या, मोह, वासना, लोभ, आलस्य आदि ।

यी कुराहरु नै हाम्रो प्रगतिका वाधक हुन् । जब हामी प्रगतिको कुरा गर्छौं, कसैले बाधा गर्छन् कि भनेर शसंकित रहन्छौं । हामी आफ्ना घर परिवार, आफन्त, छिमेकी र समाजका व्यक्तिहरुसँग भयभित रहन्छौं । हामीलाई लाग्छ, कतै उनीहरुले मलाई बाधा गर्ने त होइनन् ?

तर, बाधा हामीभित्रकै विकार तत्व हुन् । जब विकार त्याग्छौं, दुनियामा हाम्रा कोही सत्रु नै हुँदैनन् । दुनियामा हाम्रा प्रतिस्पर्धी नै हुँदैनन् ।

जसरी हामीभित्र विकार तत्व छन्, त्यसैगरी गुणहरु पनि छन् । हामीभित्र नै छ, खुसी, हामीभित्रै छ, करुणा, हामीभित्रै छ जाँगर, हामीभित्रै छ प्रेम, हामीभित्रै छ सद्भाव, हामीभित्रै छ संवेदना । यी यस्ता मानविय तत्व हुन्, जसले हाम्रो जीवनलाई रसिलो बनाउँछ ।

खुसी कहाँ पाइन्छ ?

हामी खुसी खोज्न अनेक वाहाना गछौर्ं । सिनेमाघर धाउँछौं । डिस्कोथेक पुग्छौं । घरमा भोजभत्तेर राख्छौं । मदिरापान गर्छौं । गाडी खोज्छौं, सुन खोज्छौं, घरजग्गा खोज्छौं । तर, सुख बाहिर होइन, हामीभित्रै छ । हामी आफै सुखका स्रोत हौ । तर, यो स्रोतलाई अवरोध पुर्‍याउने विकार तत्वलाई हटाउनुपर्छ । जब मनबाट लोभ, इर्ष्या, दम्भ जस्ता वाधक तत्वलाई हटाइन्छ, सुख त्यसै प्राप्त हुन्छ । हरेक समस्याभित्र अवसर पनि

अक्सर हामी समस्याको कारण दुखी हुन्छौं । यस्तो लाग्छ, हामीलाई चारतर्फ समस्याले घेरा हालेका छन् । कतिले यसबाट उन्मुक्ती पाउनका लागि आत्महत्याको बाटो रोज्छन् । मानौ, समस्या यस्तो भूत हो, जसले हामीलाई लखेटिरहन्छ । तर, त्यही समस्याले अवसर पनि लिएर आएका हुन्छन् । हरेक समस्याभित्र समधान मात्र हुँदैन, अवसर पनि हुन्छ । त्यसैले जुन कुरालाई हामी समस्या देख्छौं, असल मान्छेहरुले त्यहीभित्र अवसर खोज्छन् ।

भनिन्छ, हरेक समस्याको एउटै हल हो श्रम । अर्थात श्रम नै हरेक समस्याहरुको समधान हो । जब हामी सार्थक श्रम गर्छौं, त्यसले कुनैपनि समस्यालाई नजिक पर्न दिदैन । त्यसैले श्रमबाट हामी कहिले पनि विमुख हुनुहुँदैन ।

रोगको स्रोत हामी आफै

हामीलाई रोगले दुख दिन्छ । अहिले हामी कुनै न कुनै किसिमको रोगबाट पीडित छौं । रोगकै कारण हामीले भनेजस्तो खान पाएका छैनौं, भनेजस्तो गर्न पाएका छैनौं । तर, यी रोग हामीलाई कसले दिएको हो ? कुनै सत्रुले ? कुनै पराइले ? कुनै आफन्तले ?

हामीभित्र जुन रोग छ, त्यसको खास कारण हामी नै हौ । हिजोको दिनमा हामीले खाएका खराब खानपान, हामीले अंगालेका खराब जीवनशैलीले आज हामी रोगी भएका छौं ।

कसरी रोगमुक्त जीवन विताउने ?

प्रकृतिमा कति धेरै खानेकुरा छन्, जसले हामीलाई निरोगी र तन्दुरुस्त जीवन बाँच्न सघाउँछ । तर, त्यसलाई पन्छाउँदै हामी स्वादको पछाडि लाग्छौं । शरीरले यस्ता खानेकुरा थेग्न सक्दैन । भित्री अंगहरुको कार्य संचालनमा अवरोध पुग्छ । हामी रोगी हुन्छौं ।

हामी रोगी हुनुमा जसरी हाम्रो हात छ, उसैगरी रोगमुक्त हुनका लागि पनि हाम्रै प्रयास अनिवार्य छ । यदी हामी स्वस्थ्य जीवनयापन गर्ने हो, पोषिलो र स्वस्थ्यवर्द्धक खानेकुरा खाने हो भने, सक्रिय जीवन विताउने हो भने, सन्तुलित दिनचर्या पालना गर्ने हो भने हामी कसरी रोगी हुन्छौ ? जीवन अनमोल धन हो । जीवनभन्दा ठूलो अर्को धन छैन भन्ने हामी जान्दछौं । तर, जीवनलाई धरापमा राखेर भौतिक सुखको मोहमा दौडदा दौडदै हामी दुखको तलाउमा फस्न पुग्छौं ।

जीवनलाई सुखमय, सन्तुष्ट, स्वस्थ्य, सन्तुलित राख्नका लागि हामी आफैले प्रयास गर्नुपर्छ । यसका लागि जीवनको महत्व र मूल्यलाई बुझ्नुपर्छ ।

प्रेरणादायी भनाई, जसले हाम्रो जीवन बदल्न सक्छ

जीवनशैली


हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा हामीले सुनेर, बुझेर सिक्न सक्छौं ।
हुन त जीवनमा आफ्नै भोगाईबाट सिकेका कुरा बढी उपयोगी हुन्छ । तर, निश्चित अवधीका लागि बाँच्ने हामीले सबै कुरा भोग गरेर त्यसबाट हरेक कुराको निचोड निकाल्न सक्दैनौं । यसर्थ अरु व्यक्तिले भोगेका कुरा, जसबाट उनीहरुले केही सिके, त्यो हाम्रो निम्ति प्रेरणादायी हुनसक्छ । अतः यहाँ त्यस्तै प्रेरणादायी भनाईहरु पेश गरेका छौं, जो विभिन्न समयमा, विभिन्न विद्वानहरुले भनेका थिए ।

– त्यस्तो काम गर्नुहोस्, जो तपाईंलाई औधी रुची लाग्छ । तब तपाईंले एक दिन पनि कामको बोझ अनुभूत गर्नुहुने छैन । – सबैभन्दा गर्व गर्ने कुरा कहिल्यै पनि नलड्नु होइन । बरु जति पटक लडेपनि उठ्नु गर्वको कुरा हो ।

– हजार किलोमिटर यात्रा पनि केवल एक कदमबाट सुरु हुन्छ ।

– जब यो स्पष्ट हुन्छ कि, लक्ष्य प्राप्त गर्न संभव छैन । तब लक्ष्य बदल्ने होइन, बरु आफ्नो काम गर्ने तरिका बदल्नुहोस् ।

– एक निरासावादीले हरेक अवसरमा कठिनाई देख्छ र एक आशावादीले हरेक कठिनाईमा अवसर देख्छ ।

– जीत्नेवालाले कहिल्यै हार मान्दैनन् र हार मान्नेवालाले कहिल्यै जीत्दैनन् ।

– सफलतामा खुसी मनाउनु राम्रो हो तर त्योभन्दा बढी जरुरी हुन्छ आफ्नो सफलताबाट पाठ सिक्नु ।

– सबैभन्दा ठूलो जोखिम त केहीपनि जोखिम नलिनु हो ।

– जबसम्म तपाईं समुन्द्र किनार छाड्ने हिम्मत गर्नुहुन्न, तबसम्म समुन्द्र पार नै गर्न सक्नुहुन्न ।

– कुनैपनि धेरै कठिन छैन यदि त्यसलाई स-सनो कार्यमा विभाजन गर्नुभयो भने ।

– विपरित परिस्थितीमा कति मानिस टुट्छन् त, कतिले रेकर्ड तोड्छन् ।

– जुन व्यक्तिले जीवनमा केही गल्ती गरेकै छैनन् भने उसले केही नयाँ गर्ने प्रयास गरेकै छैनन् ।

– सत्य मार्गमा हिँड्ने कोही व्यक्ति दुई गल्ती गर्न सक्छन्, एक पुरा यात्रा तय नगर्ने, अर्को यसको सुरुवात नै नगर्ने ।

– जीवनको सही आनन्द लिनका लागि आर्थिक स्थिती होइन, मानििसक स्थिती सही हुनुपर्छ ।

– पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ । – कुनैपनि व्यक्तिको खराब कुरा गर्नु आम मानिसको प्रवृत्ति हो । तर खराब कुरामा राम्रो कुरा खोज्नु खास व्यक्तिको गुण हो ।

– इच्छा पुरा नहुँदा क्रोध बढ्छ । इच्छा पुरा भएपछि लोभ बढ्छ । त्यसैले जीवनलाई हरेक स्थितीमा धैर्य बनाइराख्नुपर्छ ।

– सानोतिनो कुरा मनमा राख्नाले ठूलो-ठूलो सम्बन्ध कमजोर हुनसक्छ ।

– मैले यो सिकें कि डर नहुनु बहादुरी होइन । बरु डरमाथि विजय प्राप्त गर्नु बहादुरी हो ।

– जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्म दिनु हो । हरेक समस्यासँग जुध्नुपर्छ । किनभने हरेक समस्याले अवसर पनि बोकेर आएको हुन्छ ।

– तपाईं यो नसोच्नुहोस् कि ‘मैले के गुमाएँ ?’ बरु यो सोच्नुहोस् कि तपाईंसँग त्यस्तो के छ, जो दुनियाँ खोज्न चाहन्छन् ।

– जीवनमा कठिनाई हामीलाई दुख दिनका लागि आएको हुँदैन । बरु यो त हामीभित्र लुकेको सामथ्र्य र शक्तिलाई बाहिर निकाल्न आएको हुन्छ ।

– पैसा तपाईंको सेवक हो, यदि त्यसलाई उपयोग गर्नु जन्नुभयो भने । पैसा तपाईको मालिक हो, यदि त्यसलाई प्रयोग गर्न जान्नु भएन भने ।