entertainment
||Power News Asia||

आजको समाचार

‘सतीदेवी’ प्रति संचारमन्त्री शर्माको चासो

मनोरञ्जन


काठमाडौं – संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्म ‘सतिदेवी’बारे चासो लिँदै मुलुकमा यस्ता खालका मौलिक र यथार्थपरक फिल्म बन्नुपर्ने बताएकी छन् । मन्त्री शर्मा र फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुवेदीबीच फिल्मलाई लिएर मन्त्रालयमा कुराकानी भएको थियो ।

भेटबारे जानकारी दिँदै निर्देशक सुवेदीले घरेलु फिल्मको विकास, विस्तार र श्रीवृद्धिका लागि मौलिक कथावस्तुमा फिल्म बन्नुपर्ने कुरामा मन्त्रीले जोड दिएको बताए । मन्त्री शर्माले यो फिल्म नारीप्रधान र मौलिक कथामा बनेको सुनेर आफू हेर्न उत्साहित भएको समेत बताएकी थिइन् ।

निर्देशक सुवेदीले फिल्मबारे मन्त्रीलाई जानकारी गराउँदै नेपालीपन बोकेका यस्ता फिल्मलाई राज्यले सहयोग गर्नुपर्ने आवश्यकता उल्लेख गरेका थिए । जवाफमा मन्त्री शर्माले आफू सँधै नेपाली फिल्मको गुणस्तर र व्यवसायिक विकासको पक्षमा उभिएको बताउँदै चाँडै चलचित्र ऐन ल्याउन लागिपरेको बताएकी थिइन् ।

फिल्म अभिव्यक्तिको बलियो माध्यम भएकाले मुलुकको कला, भाषा, संस्कृतिको विकास र प्रवद्र्धनमा यसले प्रभावकारी भूमिका निर्वाह गर्ने र यसतर्फ फिल्मकर्मी लाग्नुपर्ने उनको धारणा थियो । मन्त्रीले आफ्नो फिल्मप्रति देखाएको अभिरुचिप्रति आफू उत्साहित रहेको सुवेदीले बताए ।

दोश्रो रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० भव्य रुपमा सम्पन्न

मनोरञ्जन


काठमाडौं – कनका सुन्दरी फिल्मसद्धारा आयोजित दोश्रो रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० भव्य रुपमा सम्पन्न भएको छ । कनका सुन्दरी फिल्मसका अध्यक्ष संगीतकार पदम बहादुर रोकायाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । चर्चित कार्यक्रम संचालक दिनेश डिसीद्धारा संचालित उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले कनका सुन्दरी फिल्मसले कर्णाली मात्रै नभई समग्र नेपालको कला सँस्कृतिको जगेर्ना गर्न र राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरसम्म पुर्याउनको लागि महत्वपुर्ण भुमिका खेलेको भन्द्रै प्रसंशा समेत गरेका थिए । देशले रारा ताललाई मात्रै प्रचार प्रसार गर्ने होे भने पनि अथाह सम्भावना बोकोको कर्णाली देशकै महत्वपुर्ण पर्यटकिय नगरी बन्नसक्ने कार्यक्रमका प्रमुख अतिथि घिमिरेले बताए ।

कार्यक्रममा प्रथम देउडा गायक स्वर्गीय महाशंकर देबकोटाको नामबाट महाशंकर राष्ट्रिय प्रतिभा पुरस्कार २०८० बाट वरिष्ठ देउडा गायिका श्री सेतु खड्कालाई नगद सहित सम्मान प्रदान गरिएको थियो भने संगीतकर्मी सम्मान बरिष्ठ संगीतकार राजकुमार बगर, समाजसेवी सम्मान संस्थाका प्रमुख सल्लाहकार श्री रतननाथ योगी, पत्रकारिता सम्मान रंगपत्रकार गीता अधिकारी र कलासंगीत सम्मान साँस्कृतिक समाजका अध्यक्ष रामप्रसाद अवस्थीलाई प्रदान गरिएको थियो । उक्त अवार्ड कार्यक्रममा बरिष्ठ गायक प्रेमनाथ अधिकारी, बरिष्ठ डेउडा गायक नन्दकृष्ण जोशी, बरिष्ठ गायिका सेतु खड्का, गायक रुद्र शेखर शर्मा, गायिका रोशनी रसाईली लगायतका निर्णायक टिम रहेको थिए । कार्यक्रममा तिमी सागर बोलको गीतबाटगीतकार टेक तामाङ, फर्क प्यारीबाट गायक जय सिं कुमाई, दोधारमा छु बोलको गीतबाट मोडल सुजन बमलाई पपुलर अवार्ड प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय भावको गीतबाट अजय पल सिंहले छोरो नेपाल बोलको गीतबाट अवार्ड प्राप्त गरेका थिए भने उत्कृष्ट गीतबाट निश्चल दवाडी र शम्भु कुँवरले माइली बोलको गीतबाट पाएका थिए । त्यसै गरी आधुनिक/पप गीतकार पद्मा लिङ्खा मगर अम्मली पो भए, आधुनिक/पप गीतकार रोहित घिमिरे सान्बाबु आधुनिक/पप संगीतकार राम कुमार रिमाल पुरा भयो सपना, आधुनिक/पप गायक डेविट शंकर सधै यस्तै मिठा कुरा, आधुनिक/पप गायिका निता आचार्य मनको धोको, आधुनिक/पप नवगायन निमा शेर्पा भन आज, आधुनिक/पप मोडल पुरुष पुष्प खड्का अम्मली पो भए, आधुनिक/पप महिला मोडल बर्षा शिवाकोटी पानी दरर, आधुनिक/पप नवमोडल महिला पवित्रा शाँखी जुम्ला, आधुनिक/पप नवमोडल पुरुष अंशु बर्मा सुन चाँदी २, आधुनिक/पप म्यूजिक भिडियो निर्देशक डि.वी खड्का सधै यस्तै मिठा कुरा बाट प्राप्त गरेका थिए भने लोकदोहोरी विधातर्फवाट शब्द रचना लोकदोहोरी याम प्रसाद निउरे तिम्रो घरबार, लोकदोहोरी लय डा. शिव सुवेदी दुःख टर्या छैन, लोकदोहोरी गायक कुमार कार्की मनको चाहाना, लोकदोहोरी गायिका पूर्णकला वि.सी. ले माइली बोलको गीतबाट प्राप्त गरिन् । त्यस्तै मोडल पुरुष लोकदोहोरी सागर लम्साल वैनी ज्यू दाजै ज्यू, मोडल महिला लोकदोहोरी एन जेड सालु आँखैमा बस्छौकी माया, नव मोडल लोकदोहोरी गणेश भट्ट मैसाप, लोकदोहोरी म्यूजिक भिडियो निर्देशक मिलन श्रेष्ठ मनमा तिमी, छायाङ्कार विरेन्द्र भट्ट नपार दोधारमा, सम्पादक अमृत चापागाई म त मर्छु होला, एरेन्जर बिशाल निरौला किन मरिन म–२, श्रृङ्गार विमला तामाङ्ग सकम्बरी, अडियो मिक्सिङ्ग मनोज परियार भिर माउरीबाट प्राप्त गरेका थिए । त्यसैगरी उक्त समारोहमा भाषाभाषी विधातर्फ गायक सागर एस वाइबा केप्पा योङ योङ, भाषाभाषी गायिका कृष्णा सिराडी बास घुघुती, गायिका दिपा रोकाय सालीभिना, नव प्रतिभा गायन जुरि अवार्डबाट गायिका पशुपति खनाल सँगै लैजा मलाईबाट अवार्ड प्राप्त गरिन् । त्यसै गरी लाइभ दोहोरी गायकबाट छत्र शाहीले अवार्ड प्राप्त गर्दा पुनम तुल्स्यान म तिम्रो यादमा, सागर मैनाली तिम्रो मायाले मेरो मायालाइ, रेशम कुमार बि.क योमन र बद्री शाह नेपाल भन्दामाथी कोही छैनबाट जुरी अवार्ड प्राप्त गरेका थिए ।

देशकै सबै भन्दा ठुलो सुन्दरताल राराको नामबाट आयोजना हुदै आएको रारा म्युजिक अवार्डमा दार्चुलाको छलिया देखी डोटीको हुड्क्यौली र जुम्ला तथा मुगुका स्थानिय साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिनुका साथै श्रीयन्त्र एजुकेशन फाउन्डेशनको सामुहिक प्रस्तुती रहेको थियो ।

आफ्नो चरित्रले दर्शकलाई ‘कनेक्ट’ गर्छ भन्नेमा अभिनेता अग्रहरि विश्वस्त

मनोरञ्जन


काठमाडौं - यही फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजर र ट्रेलरमा अभिनेता प्रमोद अग्रहरिको चरित्रप्रति आम दर्शकको ध्यान केन्द्रित भइरहेको छ । आफूले अभिनय गरेका हरेक फिल्ममा भिलेन चरित्रमा देखिँदै आएका प्रमोदले यो फिल्ममा ‘त्रिपाठी’ चरित्रमा आफ्नो भिलेन लुक्स दर्शकलाई देखाउँदैछन् ।

ट्रेलरमा समावेश अग्रहरिले बोलेको ‘म आज् स्वयम्, म अन्त्य स्वयम्, जनम हुँ म, मरण स्वयम्, निर्माता हुँ, संघार स्वयम्’ संवाद दर्शकहरूले औधी मन पराएका छन् । प्रमोदका अनुसार फिल्मको ‘त्रिपाठी’ चरित्र बाहुबली जस्तै हो । अर्थात् सबै कुरा उसकै अन्डरमा छ । उसको आफ्नै सञ्जाल छ र उसको इसारा बिना समाजको केही कुरा पनि वरपर चल्दैन ।

‘मैले गरेका कतिपय क्यारेक्टर आफ्ना लागि दमदार नै लाग्छन् । फरक चाहिँ त्यो क्यारेक्टर कसरी बाँचिरहेको छ भन्ने मात्र हो । किनकी हरेक फिल्ममा मेरो चरित्र फरक परिवेश र फरक शैलीको हुन्छ’, प्रमोद भन्छन् ।

प्रमोद परासीका हुन् । फिल्मको ट्रेलरले मधेसकै कथा देखाएको छ । प्रमोदको बुझाईमा उनले ‘अगस्त्य च्याप्टर १’को जस्तै कथा परासीमा देखेका छैनन् । ‘यस्तो कथा मैले अन्य ठाउँमा देखेको छु, भारतमा पनि देखेको छु । मैले त्यो देखेको क्यारेक्टरलाई मात्र फिल्ममा उतारेको हुँ । पहिरन, लुक्स उनीहरुबाटै लिएको हो’, प्रमोद खुल्छन् ।

प्रमोदले ‘त्रिपाठी’ क्यारेक्टरका लागि राम्रै तयारी गर्नुपरेको रहेछ । ‘क्यारेक्टर भनेको एउटा बच्चा जन्माउनु जस्तै हो नि । त्यसकारण पहिरनदेखि सबै कुरा जुटाउन तयारी गरियो । मुख्य कुरा विचार हो, शारीरिक रुपमा देखिनु भन्दा पनि चरित्रको विचारको तयारी ठूलो कुरा हो । सबैभन्दा पावरफूल त आन्तरिक रुपमा के चलिरहेको छ भन्ने हो नि । जुन एउटा क्यारेक्टरका लागि महत्वपूर्ण हुन्छ । आँखाले देखेका कुरालाई कसरी प्रस्तुत गर्ने भन्ने अर्को तयारी नै हो’, प्रमोद भन्छन्, ‘म पुषदेखि नै त्यो क्यारेक्टरमै थिएँ । संवाददेखि सबे कुराहरुको तयारी गरिएको थियो ।’

आफ्नो चरित्रले दर्शकलाई ‘कनेक्ट’ गर्छन् भन्ने कुरामा प्रमोद ढुक्क छन् । ‘ट्रेलर हेर्दै मेरो संवादले धेरैलाई छोइसकेको छ । सामाजिक सञ्जाल होस् या युट्युबमा आएका प्रतिक्रियाबाट नै ती कुरा थाहा पाइसकेको छु । दर्शकले मेरो क्यारेक्टरको बारेमा कुरा गरिरहनुभएको मैले सुनेको छु । किनभने हामीले बनाउने क्यारेक्टर भनेको हाम्रै वरपर समाजमा देखिने क्यारेक्टर नै हुन्’, उनी भन्छन् ।

प्रमोद आफ्ना हरेक चरित्र आफ्ना लागि चुनौतिपूर्ण ठान्छन् । ‘मेरो चरित्र मेरै लागि चुनौतिपूर्ण हुन्छ । त्यसो हुँदा मैले अरुको चरित्रसँग किन चुनौति मान्ने रु यो फिल्ममा रहेका बाँकी ६,७ जना कलाकारबीच एकापसमा राम्रै सहकार्य भयो । मलाई लाग्छ यो फिल्ममा एउटा राम्रो काम भएको छ’, उनी भन्छन् ।

प्रमोद आफ्नो चरित्रका लागि शतप्रतिशत तयारी गरेको दाबी गर्छन् । ‘फिल्मको वर्कसप भएको थिएन, दुई चारपटक स्क्रिप्ट पढें । बीचमा बुवा बित्नुभएपछि घर आउनुपर्यो । उहाँको काम सकेर पछि फिल्म युनिटसँग जोडिएँ । फिल्मको स्क्रिप्ट पढिरहँदा आफ्नो क्यारेक्टरबाट के आउनेवाला छ भन्ने मलाई थाहा थियो, त्यही अनुसार तयारी गरें’, प्रमोद भन्छन् ।

प्रमोदको अनुभवमा फिल्मको भिलेन समाजका लागि भिलेन देखिए पनि ऊ आफ्नो लागि भने हिरो नै हो । ‘उसले गरेको क्रियाकलापले कसैलाई असर पर्दा ऊ भिलेन हुन्छ । तर मैले गरिरहेको कुरा त आफ्ना लागि राम्रै हुन्छ नि । मेरो क्यारेक्टर समाजका लागि पोजेटिभ छ या नेगेटिभ छ भन्ने दर्शकको हेराईमा भर पर्छ । अगस्त्य च्याप्टर १ हेरेर निस्कँदा दर्शकले यो कुरा पक्कै सम्झनुहुन्छ’, उनी भन्छन् ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो फिल्ममा प्रमोदका अलावा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ । फिल्म यही शुक्रबार अर्थात् १८ गतेबाट नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ ।

 ‘अजम्बरी नाता’ को भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाडौँ। स्वरुप राज आचार्यको स्वरमा रहेको नयाँ गीत ‘अजम्बरी नाता’ को भिडियो सार्वजनिक गरिएको छ। दुर्गा निधि कौडाल (नवराज) को शब्द रचना रहेको गीतमा सुर्य दयालुको संगीत तथा संगीत संयोजन रहेको छ। सुबास जि।सी।को निर्देशन रहेको भिडियोमा शिल्पा पोखरेल,बिष्णु सदा शंकर,बद्री पुडासैनी,अनिता श्रेष्ठ र दिनेश शदा शंकरको अभिनय रहेको छ।

रेशम दर्लामीले छायाँकन गरेको भिडियोको सम्पादन पवित्रा जि.सी.ले गरेकी हुन्। किरण रानाको सहायक निर्देशन रहेको भिडियोको पोस्ट प्रोडक्सन सुबास फिल्म्समा भएको हो । प्रेम बिछोडको कथामा बनेको भिडियोलाई निर्देशक सुबासले कलात्मक रुपमा प्रस्तुत गरेका छन्।

युवा निर्देशक सुबास जि सि को निर्देशनमा तयार भएको भिडियोमा शिल्पा पोख्रेल र बिस्णु सदा शंकरको अनस्कृन रोमान्स हेर्न सकिन्छ । पहिलो पटक काम गर्न गाह्रो हुन्छ भन्ने सुनेको थिएँ तर त्यो सबै निर्देशकमा भर पर्ने रहेछ । निर्देशक आफ्नो नजिकको मित्र भएकोले मलाइ कुनै गाह्रो महसुस भएन भन्दै पहिलो पल्ट पर्दामा देखा परेका नव कलाकार बिष्णुले सुनाए। उर्मिला शदा शंकर र दिनेश शदा शंकरको लगानी रहेको भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भजन शिरोमणि भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाईयो

मनोरञ्जन


काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् ।  आचार्यको पार्थिव शरीरलाई मंगलबार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । अन्तिम श्रद्धाञ्जली गीतसङ्गीत क्षेत्रका हस्ती, कलाकर्मी लगायतको उपस्थिति रहेको छ ।

आचार्यको सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि बिमारी रहेका थिए । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् । स्वरसम्राट नारायण गोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । 


मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत उनका गीत लोकप्रिय छन् । अन्तिम श्रद्धाञ्जलीपछि उनको  पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । आचार्य गायक सत्यराज र स्वरूपराज आचार्यका पिता हुन्  ।

ज्योति फिल्मस् म्युजिक अवार्ड २०८० को पाँचौ संस्करण सम्पन्न

मनोरञ्जन


काठमाडौं – रोयल मुभिज प्रालि र सिन्धुपाल्चोक सेवा समाजको संयुक्त आयोजनामा ज्योति फिल्मस् म्युजिक अवार्ड २०८० को पाँचौ संस्करण केही समय पहिले दुबईमा सम्पन्न भएको थियो । बिबिध कारणले दुबईमा उपस्थित हुन असमर्थ रहेका कलाकारहरुलाई शनिबार नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरि अवार्ड तथा सम्मान प्रदान गरेको छ ।

कार्यक्रममा आयोजक संस्थाले दुबईमा संकलन गरेको तीस हजार नगद रुकुमका भूकम्प पिडितहरुको लागि सहयोग गरेको छ । सिन्धुपाल्चोक सेवा समाजका प्रकाश पुरी, कल्पना के. सी. र रोयल मुभिज प्रालिले उक्त रकम उपलब्ध गराएको हो ।  नमोबुध्द नगरपालिकाका मेयर कुन्साङ लामाको प्रमुख आतिथ्यता र आयोजक संस्थाका अध्यक्ष निरेन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अवार्ड तथा सम्मान पाउनु हुनेहरुमाः
पावर्ती कार्की– काठे गायिका, 
रामसुन्दर थामी – काठे नव गायक,
 रमला पाख्रिन तामाङ्ग– पप गायिका,
 पक राना मगर – गीतकार ‘प्रोत्साहन’,
 सुमन बि.टी.– लोकदोहोरी नव गायक,
 तेज मान तामाङ्ग –भाषाभाषी ‘मेन्दोमाया गीतका’),
 अरुण कुमार गिरी र विकाश बिश्वकर्मालाई
–कला सम्मान, चन्द्र कुमार दोङ्ग 
– बिशेष सम्मान, सानुकाजी श्रेष्ठ 
– पत्रकारिता सम्मान, शिवराम भण्डारी
– संचारकर्मी सम्मान, चन्द्रमणी गौतम
– संचारकर्मी सम्मान, दिनेश भण्डारी 
– मोफसल पत्रकार सम्मान, नवराज हुँमागाँई 
– पत्रकार सम्मान, हनुमान यस्माली ‘सुदिप’
– कला सम्मान, हरि शरण फुयाल
– ब्यबसायी सम्मान, जयराज भट्ट 
– कला सम्मान, सूर्य तामाङ्ख 
– कला सम्मान, तारकेश्वर लोक खैँजडि भजन समुह 
– कदर–पत्र, राजन चौलागाँई ‘खैराँते’ 
– कला सम्मान, रमेश श्रेष्ठ 
– कला सम्मान, सुष्मा तयामि

फेसन डिजाईनर रहेका छन् भने अवार्ड बिजेताहरुः
अमृत चापागाँई – भिडियो सम्पादक,
अमृत पुडासैनी – काठे नव मोडल पुरुष, 
बिजय पुन – लोकदोहोरी मोडल, 
बिक्रम गौतम – मेकअप आर्टिस,
बिनोद सुन्दास – भिडियो निर्देशक,
गणेश सेञ्चुरी – लोकदोहोरी गायक,
गंगा राम राई – भिडिया छायाँकार,
कल्पना पराजुली – लोकदोहोरी गायिका ‘जुरी’,
भ्याली कोल्ड स्टोर – सम्मान पत्र,
करिष्मा ढकाल – मोडल महिला,
कृष्ण दोङ्ग तामाङ्ग – भाषभाषी ‘सेलो पप गायक’,
एलिना चौहान – आधुनिक गायिका,
कृष्ण रसाल – नृत्य निर्देशक रहेका छन् । त्यसैगरी निर्णायकहरुमा अर्जुन पाण्डे, गिता भट्टराई, राजु शर्मा,
उत्साह घिमिरे रहेका थिए ।

चौथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन खुला

मनोरञ्जन


काठमाडौं -चौथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन खुला गरिएको छ । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को चौथो संस्करण आयोजना हुने भएको हो । आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले एक विज्ञप्ति जारी गर्दै अवार्डको लागि आवेदन खुल्ला गरेको जानकारी दिएको छ ।

राष्ट्रिय भावका गीतसँगै पप, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको अवार्डका लागि यही फागुन १३ गतेबाट आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभएको छ ।

अवार्डका अध्यक्ष गणेश सुवेदीका अनुसार २०८० वैशाख एक गतेदेखि चैत्र मसान्तसम्म (एक वर्षभित्रमा) बजारमा आएका गीत, संगीतका स्रष्टा एवं प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ ।

गीत तथा सिर्जनाहरू दर्ता गर्नका लागि आवेदनको अन्तिम म्याद चैत मसान्तसम्म तोकिएको छ । अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याउनु भएका एकजना विशिष्ट व्यक्तिलाई दीर्घ साधना सम्मान प्रदान गरिनेछ । गीतसंगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने संगीतकर्मी र सञ्चारकर्मी पत्रकारलाई समेत अवार्डमा सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव बैशाखमा हुने

मनोरञ्जन


काठमाडौँ- सेलिब्रेटी नेपालको आयोजनामा हुने तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव  (NERUFF) आगामी वैशाख महिना रामेछाप नगरपालिकामा आयोजना हुने भएको छ । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । महोत्सवमा सहभागीता जनाउन चाहनेहरुको लागी दर्ता पनी खुल्ला गरिएको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

पर्यटन प्रबर्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ आयोजना हुने यो महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरुको सहभागीता रहनेछ ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्मलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रबर्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो । महोत्सव पहिलो बर्ष गोरखा जिल्लाको लाप्राकमा र दोश्रो पटक काभ्रे जिल्लाको भकुन्डेबेसीमा सम्पन्न भएको थियो। तेश्रो संस्करणको जागरुक युवा क्लब रामेछापले स्थानीय ब्यबस्थापन गर्नेछ भने कार्यक्रम संयोजक चलचित्र निर्देशक कमल एक्चै मगर रहेका छन्।

‘सुगुप’ को विषेश प्रदर्शनी, ‘सुगुप’ लिम्बु कला, संस्कृति र संस्कारको बिषयमा कोसेढुंगा सावित हुने दर्शकहरुको प्रतिक्रिया

मनोरञ्जन


काठमाडौं-चलचित्र ‘सुगुप’ को १२ गते शनिबार बिग मुभिज सिनेमाज सिटी सेन्टर, कमलपोखरीमा विशेष प्रदर्शन गरियो । बिग मुभिजको दुईवटै हलमा दर्शकको खचाखच भिडका कारण ब्यवस्थापन मिलाउन निर्माणपक्षलाई हम्मेहम्मे परेको थियो  भने सिट नपाएर भुईमा नै बसेर सुगुप हेर्ने दर्शकहरुको संख्या पनि उल्लेखनीय रहेको कारण फागुन १७ गते पनि सुगुपको पुनः प्रदर्शन हुने भएको छ ।

‘सुगुप’ हेरिसकेकपछि अधिकांस दर्शकले ‘सुगुप’ लिम्बु कला, संस्कृति र संस्कारको बिषयमा कोसेढुंगा सावित हुने प्रतिक्रिया दिएका थिए । किराँत याक्थुङ चुम्लुङ काठमाण्डौ, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा बिशेष प्रदर्शन भएको हो ।

लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बुले जानकारी गराउनु भयो । चलचित्र ‘सुगुप’मा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतका कालाकारहरुको अभिनय रहेको छ । प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बु, निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशक कमल राई, द्वन्द निर्देशन किशोर सम्बाहाङ्फेको रहेको छ ।

भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रको निर्देशन लोकेन साँबा लिम्बुको रहेको छ ।

१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आयोजना हुँदै

मनोरञ्जन


काठमाडौं -  नेपाली लोक सँस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यले एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” हुने भएको छ । यस मेला काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा यही फागुन १९ गते समुद्घाटन हुने भएको छ ।

पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सँस्कृतीको आधार भन्ने मुल नारा सहित आयोजना गर्न लागिएकोे यस मेला फागुन २१ गते दाङ, घोराही, फागुन २३ गते पोखरा, फागुन २५ गते बसन्तपुर दरबार क्षेत्र काठमाडौं, फागुन २६ गते लालिगुरास नेशनल एकेडेमी, मनमैजु, काठमाडौंमा सम्पन्न हुने कुरा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) ले जानकारी गराएका छन् ।

यस सस्थाले हाल सम्म ७५ भन्दा बढी राष्ट्रहरुमा नेपाली मौलिक कला संस्कृतीलाई प्रस्तुत गरी प्रचार प्रसार गरी थप टेवा पुराउने कार्य गरेको अध्यक्ष कोईरालाले दाबी गरे । एभरेष्ट नेपाल कल्चरल ग्रुपले बि.सं. २०५९ सालमा “प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” सम्पन्न गरेको थियो । “११ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” भब्य रुपमा सम्पन्न गरेको जानकारी गराउदै हालै आयोजना गर्न लागिएको “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” लाई पनि सभ्य र भब्य रुपमा सम्पन्न गराईदिन अध्यक्ष कोईरालाले अनुरोध गरेका छन् ।

“१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” मा बिभिन्न ११ राष्ट्रका ३५० भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने कुरा फागुन १० गते काठमाडौं स्थित होटल यलो पगोडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) को अध्यक्षता रहेको थियो भने चलचित्र निर्देशक एबं बरिष्ठ गायक नारायण रायमाझी, बरिष्ठ गायक दुर्गा रायमाझी, यसै संस्था कि महासचिव शितल आचार्य लगायत अन्य बिशिष्ट ब्यक्तिहरुको बिशेष आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन गायक चन्द्र शर्माले गरेका थिए ।

बिभिन्न राष्ट्रका कलाकारहरुलाई आउन जान र बस्न खाना यही संस्थाले ब्यहोर्ने कुरा आयोजक पक्षले जानकारी गराएको छ । “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” मा मुख्य आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुप रहने छ भने अन्य संघ संस्थाहरु स्थानिय आयोजक रहने कुरा पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

“१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” मा कार्यक्रम संयोजकको रुपमा अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) स्वयम् रहने र चर्चित गायक चन्द्र शर्मा कार्यक्रम निर्देशक, बरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी नृत्य बिभागको संयोजक, चर्चित मोडल एबं कोरियोग्राफर कृष्ण रसाल ईभेन्ट म्यानेजरको रुपमा रहने कुरा आयोजक पक्षले जानकारी गराएको छ । फागुन २१ गते दाङ, घोराहीमा सम्पन्न हुने यस मेलामा दाङ जिल्ला उधोग बाणिज्य संघ स्थानिय आयोजकको रुपमा रहने कुरा दाङ जिल्ला उधोग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी गराए ।