sports
||Power News Asia||

आजको समाचार

बार्सिलोनामाथि मेसीको ‘बमसेल’ अब कानुनी युद्धमा

खेलकुद


फुटबलमा भाग्यले कति बेला कस्तो कोल्टे फेर्छ, थाहा नै हुन्न । बार्सिलोनामा अहिले एकपछि अर्को उथलपुथल भइरहेको छ । लियोनल मेसीले बार्सिलोना छोड्न चाहेका छन् ।

बार्सिलोना — भाद्र ११, २०७७।

जतिबेला ६ पटकका बालोन डे’अर विजेता लियोनल मेसीले बार्सिलोनालाई मंगलबार राति फ्याक्समार्फत भने, ‘अब म क्लब छोड्न चाहन्छु ।’ यो क्याटलन क्लबमाथि ‘बमसेल’ नै रह्यो । मेसीको इच्छा छोड्ने मात्र थिएन, उनी बिनामूल्य जानेक्रममा थिए ।

यस्तोमा अब मेसी र बार्सिलोनाको भिडन्त कानुनी युद्धमा परिवर्तन हुने भएको छ । अब कानुनी लडाइँ हुनेछ, दुई पक्षबीच रहेको अनुबन्धमा किनबेचको चर्को मूल्य अझै कायम छ कि समाप्त भइसक्यो ?

मेसीले बार्सिलोनाका लागि चारपल्ट च्याम्पियन्स लिग जिते । उनी क्लब इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । यी अर्जेन्टिनी खेलाडी चाहन्छन्, अनुबन्ध तत्काल खारेज होस् । अनुबन्धको एक बुँदामा भनिएको छ, खेलाडीले चाहेमा क्लब छोड्न सक्छन् । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिकको हातबाट ८–२ ले पराजित भएपछि खेलाडी र क्लबबीचको सम्बन्ध अझ कमजोर हुन थालेको थियो । त्यसयता प्रशिक्षक क्विक सेटिन बर्खास्तगीमा परे । रोनाल्ड कोम्यान उनको स्थानमा आइसके ।

कोम्यानले नै अबदेखि बार्सिलोनामा मेसीको स्थान विशेष नहुने बताएपछि स्थिति प्रतिकूल हुन सुरु भएको हो । बार्सिलोनाले सन् २००७ यता कुनै पनि उपाधि जित्न नसकेको सिजन यसपालि हो । यी ३३ वर्षीय खेलाडीले बार्सिलोना छाड्ने के निर्णय गरे, क्लबका वर्तमान अध्यक्ष जोसेप मारिया बार्टोमेउको विरोधमा क्याम्प नोउ बाहिर समर्थकले प्रदर्शन पनि गरिसकेका छन् । बार्सिलोनाका लागि पछिल्लो दशक सबैभन्दा सफल समय रहेको छ । यो समयका सबैभन्दा प्रमुख र निर्णायक खेलाडी मेसी नै रहेका छन् ।

ती समर्थकले भनिरहेका छन्, ‘मेसी कुनै पनि हालतमा बार्सिलोनामै रहनुपर्छ ।’ बार्सिलोनाले अहिलेसम्म औपचारिक रूपमा मेसीको नयाँ चाललाई लिएर प्रतिक्रिया दिएको छैन । तर क्लबले के बुझेको छ भने मेसीले आफू खुसी क्लब छाड्ने सक्ने बुँदाको औचित्य जुनमा नै सकिसकेको छ । त्यसैले सन् २०२१ सम्म कायम रहेको अनुबन्ध नसकिएसम्म मेसी बार्सिलोनामै रहनुपर्छ । स्पेनी खेल दैनिक मार्काले लेखेको छ, ‘सैद्धान्तिक रूपमा यो बुँदा जुन १० मै खारेज भइसकेको छ ।’

तर कोरोना भाइरस संक्रमणको महामारीका बेला फुटबल अवरुद्ध भएको स्थितिमा खेलाडीले यसलाई अलग्गै किसिमले व्याख्या गर्न सक्छन् । यसबाहेक मेसी र बार्सिलोनाबीचको अनुबन्धमा उनलाई कुनै क्लबले किन्न चाहेमा कम्तीमा ७० करोड युरो तिर्नुपर्ने उल्लेख छ । क्लब मान्छ भने अब लागू हुने भनेको यही हो । मार्काले अगाडि लेखेको छ, ‘अब बार्सिलोनामा मेसीको भविष्य के हुनेछ भन्ने सबै सम्भावना यही कानुनी अप्ठ्यारोमा अडिएको छ ।’

सन् २००४ मा मेसीले १७ वर्षको उमेरमा बार्सिलोनाका लागि डेब्यु गरेका थिए । त्यसयता उनले कीर्तिमानी ६ सय ३४ गोल गरिसकेका छन् । मेसीले बार्सिलोना छोड्न चाहेपछि उनको नयाँ गन्तव्य कहाँ हुनेछ, त्यसबारे चर्चा सुरु भइसकेको छ । सबैको पहिलो अनुमान हो, मेसी जान सक्ने भनेको इंग्लिस प्रिमियर लिगमा हो । त्यसमा पनि म्यानचेस्टर सिटीमा । पहिलो कारण त पेप ग्वार्डिओला नै भए किनभने उनी बार्सिलोनाको प्रशिक्षक छँदाको समय मेसीका लागि स्वर्णिम मानिन्छ ।

फेरि सिटी नै यस्तो क्लब हो, जसले मेसीको मोटो न मोटो तलब बेहोर्न सक्छ । अर्को इंग्लिस क्लबले पनि मेसीलाई अनुबन्ध गर्न इच्छुक देखिएको छ । इंग्ल्यान्डबाहिर केही क्लब यस्ता पनि छन्, जसले मेसीलाई अनुबन्ध गर्न सक्छन् र यसमा सबैभन्दा अगाडि रहेको छ, पेरिस सेन्ट जर्मेन (पीएसजी) । इटालीको इन्टर मिलान पनि मेसीलाई अनुबन्ध गर्न सक्ने क्लब मानिएको छ । यसबीच समाचार के पनि आइरहेको छ भने बार्सिलोना कुनै प्रकारको कानुनी झमेलामा फस्न चाहँदैन ।

किनभने यस्तो भएमा यसले नयाँ सिजन क्लबको प्रदर्शनमा फरक पार्ने अनुमान छ । बरु उसले नयाँ प्रस्ताव के ल्याउन लागेको छ भने जुन क्लबले मेसीका लागि २० करोड पाउन्ड तिर्नेछ, क्लब आफ्ना स्टार खेलाडीलाई छाड्न तयार हुनेछ । स्पेनी मिडियाका अनुसार कानुनी लडाइँ सुरु भयो भने त्यसको निर्णय जता पनि जान सक्नेछ । त्यसअनुसार बार्सिलोनाले चर्को मूल्य पाउन पनि सक्छ या मूल्य शून्य पनि हुन सक्नेछ । बार्सिलोना जोखिम नउठाउने मनसायमा पनि पुगेको छ ।

(एजेन्सी/कान्तिपुर दैनिक)

सीपीएलमा सन्दीपको अर्को उच्च प्रदर्शन, तर जमैका पराजित

खेलकुद


काठमाडौँ — भाद्र ११, २०७७।

क्यारेबियन प्रियिमर लिग (सीपीएल) मा जमैका तलाबाजका लागि नेपाली स्पिनर सन्दीप लामिछानेले फेरि एकपल्ट उच्च प्रदर्शन गरेका छन् । तर उनको टिम भने बारबाडोज ट्रिडेन्ट्सको हातबाट ३६ रनले पराजित रह्यो ।

नेपाली समयअनुसार बिहीबार बिहानको खेलमा पहिले ब्याटिङ गरेको बारबाडोजले ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । त्यसमा केली मेयर्सले सर्वाधिक ८५ रन बनाए ।

सन्दीपले ४ ओभर बलिङ गर्ने क्रममा अनुशासित प्रदर्शन गरे । उनले १६ रन दिएर २ विकेट लिए । उनको बलिङमा एक मात्र चौका प्रहार भएको थियो र १३ डट बल राख्न पनि सफल रहे । उनले रसिद खान र एस्ली नर्सको विकेट लिए ।

जवाफमा जमैकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । त्यसमा सन्दीपले ४ रनको योगदान दिए र नटआउट रहे । जमैकाले अहिलेसम्म ५ खेल खेलेकोमा २ मा विजयी रहेको छ भने ३ मा पराजित रहेको छ ।

(कान्तिपुर दैनिक)

जेलबाट छुटे ब्राजिलका पूर्व फुटबल खेलाडी रोनाल्डिन्हो

खेलकुद


असुनसियन — भाद्र ९, २०७७। 

ब्राजिलका पूर्व फुटबल खेलाडी रोनाल्डिन्हो सोमबार जेलबाट छुटेका छन् । जाली पासपोर्टको आरोपमा उनले पाँच महिला जेलमा बिताए । पाराग्वेली न्यायाधीशले उनलाई जेलमु्क्त गर्ने फैसला सुनाएका हुन् ।

न्यायाधीश गुस्टाभो आमरिलाले रोनाल्डिन्होसँगै उनको दाजु रोबर्टो डे एसिस मोरेरालाई पनि जेलमुक्त गर्ने फैसला गरेका हुन् । दुवै दाजुभाइ एक महिना जेलमै बसेयता होटलमा प्रहरी नियन्त्रणमा बसिरहेका थिए ।

अब ब्राजिलका लागि विश्वकप विजेता ४० वर्षीय रोनाल्डिन्हो आफ्नो घर फर्कन अथवा कुनै अर्को देश जान स्वतन्त्र हुनेछन् । एक वर्षका लागि उनले आफ्नो स्थायी ठेगाना परिवर्तन गर्ने हो भने पाराग्वेली प्रहरीलाई खबर भने गर्नु पर्नेछ ।

(कान्तिपुर दैनिक)

‘लियोनल मेसी मिस्टर बार्सिलोना’

खेलकुद


लिस्बन — भाद्र ९, २०७७। 

पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टचेलले बार्सिलोनाका लियोनल मेसी आएमा स्वागत गरिने बताएका छन् । तर उनले अर्जेन्टिनी फरवार्ड बार्सिलोनामै रहने आशा गरेका छन् । टचेलको टोली आइतबार राति च्याम्पिन्यस लिगको फाइनलमा बायर्न म्युनिकको हातबाट १–० ले पराजित भएको थियो ।

‘कुन चाहिँ प्रशिक्षकले मेसी आउन खोजेमा हुँदैन भन्छन् र,’ टचेलले भने, ‘मलाई लाग्छ मेसीले आफ्नो खेलजीवन बार्सिलोनामै टुंग्याउनेछन् । उनी मिस्टर बार्सिलोना हुन् ।’ बार्यनको हातबाट अघिल्लो साता च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोना ८–२ ले पराजित भएपछि मेसीले क्याटलन क्लब छाड्न चाहेको सञ्चारमाध्यमले जनाएका थिए ।
तर ३३ वर्षे मेसीले नोउ क्याम्प कहिल्लै छाड्न नखोजेको बताइएको छ । मेसी बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् । उनले ७ सय ३१ खेलमा ६ सय ३४ गोल गर्दै बार्सिलोनालाई ४ च्याम्पियन्स लिग, १० ला लिगा उपाधि दिलाउन ठूलो योगदान गरेका छन् । यसबाहेक उनले ६ पटक बालोन डी‘ओर अवार्ड पनि जितेका छन् ।

विश्व फुटबलमा कतारी लगानीको पीएसजी पनि एक क्लब हो । मेसीको बार्सिलोनासँग ७० करोड युरोको ‘बाइआउट क्लज’ रहेको छ, जुन पीएसजी जस्ता आर्थिक हैसियत भएका क्लबले मात्र बेहोर्न सक्छन् । ‘यस्तो समयमा ट्रान्सफरको कुरा नगर्ने हामीले निर्णय गरेका छौं,’ टचेलले भने, ‘अरू कुनै दिन बसेर यस बारेमा छलफल गरौंला । यो टोलीको हैसियतलाई कायम राख्न हामीले धेरै गर्नु छ ।’

पीएसजीले पछिल्लो ८ वर्षमा ७ पटक फ्रेन्च लिग जितेको थियो । तर युरोपका प्रतियोगितामा कतार स्पोर्ट्सको लगानीले सफलता दिलाइरहेको छैन । सन् २०११ मा कतारीले पीएसजीको स्वामित्व लिएको थियो । नेयमर र केलियन एमबाप्पेका लागि ४० करोड युरोभन्दा बढी खर्च गरे पनि टोली यसअघि च्याम्पियन्स लिगमा क्वाटरफाइनलभन्दा माथि उठ्न सकेको थिएन ।

एमबाप्पे र नेयमर दुवै बायर्नमाथि दबाब बनाउन असफल रहेका थिए । तर नेयमरले जसरी खेले त्यसमा टचेल गर्व गर्छन् । नेयमरले अनौठो शक्ति लगाएर खेलेको र एङ्कलको चोटबाट आए पनि एमबाप्पे जादुगर भएको उनी जनाउँछन् ।

आउँदो सत्रमा पीएसजीको ट्रान्सफरबारे उनले भने, ‘हामीले यो यात्रामा धेरै खेलाडी गुमाउँदै छौं । थिएगो सिल्भा र इरिक म्याक्सिम चोउपो मोटिङलाई अब हामी गुमाउँदै छौं ।’ दुवैका पीएसजीसँगको सम्बन्ध सकिएको छ । सिल्भा फ्री ट्रान्सफरमा चेल्सी जाँदैछन् । टचेलले अगाडि भने, ‘हामीले अब ट्रान्सफर विन्डोको सदुपयोग गर्दै टोलीलाई अझ फराकिलो बनाउनुपर्छ । त्यसै पनि कुनै ब्रेक नभएकाले यो यात्रा निकै चुनौतीपूर्ण छ । हामीले बलिया टोलीको निर्माण गर्नुपर्ने हुन्छ ।’

पीएसजी शनिबार फ्रेन्च लिगको आफ्नो पहिलो खेलमा लेन्सको सामना गर्दैछ । कोभिड–१९ महामारीका कारण २०१९–२० को सिजन १ सय ६७ दिन रोकिएर शुक्रबारबाट नयाँ सिजन सुरु भइसकेको छ ।

(बीबीसी)

सन्दीपको उत्कृष्ट इकोनोमी बलिङ

खेलकुद


काठमाडौँ — भाद्र ८, २०७७। 

सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा फेरि उत्कृष्ट बलिङ गरेका छन् । त्यस बाबजुद पनि उनको टोली जमैका तलावाज लगातार दोस्रो खेलमा पराजित हुन पुगेको छ । गुयना अमाजोन वारियर्सले शनिबार जमैकालाई १४ रनले पराजित गर्‍यो ।

सन्दीप र अर्का दक्षिण एसियाली खेलाडी अफगानिस्तानका मुजिब उर रहमानले कसिलो बलिङ गर्दै माथिल्लोक्रम धराशायी बनाएपछि गुयना १९.१ ओभरमा १ सय १८ रनमा अलआउट भयो । तर दक्षिण अफ्रिकी अफ ब्रेक बलर क्रिस ग्रिनले स्पिन दबादबा भएको खेलमा पनि आफूलाई अब्बल साबित गरेपछि जमैकाले ७ विकेट गुमाई १ सय ४ रनमात्र बनाउन सक्यो ।

गुयनाले ५ ओभरमा ५५ रन जोडेर सानदार सुरुआत गरेको थियो । तर रहमान र सन्दीपले सानदार बलिङ गर्दै जमैकालाई खेलमा फर्कार्एका थिए । छैटौं ओभरमा बलिङमा आएका रहमानले लगातार बलमा ब्रान्डन किङलाई २९ र सिमरोन हेटमरलाई बोल्ड गरेका थिए । उनले आफ्नो अर्को ओभरमा निकोलस पुरनलाई ४ रनमा आउट गरे । यसबीचमा एन्ड्रयु रसेलले चन्द्रपाल हेमराजलाई २१ रनमा आउट गरे ।

त्यसपछि सन्दीप चम्किएका थिए । उनले आफ्नो लगातार चार ओभरको स्पेलमा ८ रन खर्चेर २ विकेट लिए । ट्वान्टी–२० मा सन्दीपको यो सबैभन्दा किफायती बलिङ प्रदर्शन हो । गत वर्ष उनले पाकिस्तान सुपर लिगमा लाहोर कान्दर्सबाट खेल्दै दुबईमा क्वेटा ग्लाडिएटर्सविरुद्ध ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिएका थिए । विकेटको हिसाबमा सन्दीपको त्यो अहिलेसम्मकै उत्कृष्ट बलिङ हो ।

ट्रिनिडाडको ब्रायन लारा रंगशालामा पहिलो ओभरमा उनले ३ रनमात्र दिए र दोस्रो ओभरमा सन्दीपले सेरफेन रदरफोर्डलाई ६ रनमा आउट गरे । अफ स्टम्प बाहिरको गुगली बल हान्न खोज्दा रदरफोर्डले रहमानलाई सामान्य क्याच दिन पुगे । गुयनाका कप्तान ग्रिनलाई २ रनमा बोल्ड गरेर सन्दीपले आफ्नो दोस्रो विकेट लिएका थिए । क्रस गरेर खेल्न खोज्दा ग्रिनको लेग स्टम्प सन्दीपले उडाइदिए ।

सन्दीपले बुधबार सेन्ट लुइस जोउक्स र त्यसको भोलिपल्ट ट्रिबागो राइट नाइडर्ससँग १–१ विकेट लिएका थिए । जमैकाले सेन्ट लुइसलाई ५ विकेटले पराजित गरेको थियो भने ट्रिबागोसँग ७ विकेटको हार बेहोरेको थियो ।

स्टार अलराउन्डर रसेलको सानदार प्रयासका बावजुद जमैका शनिबार लो स्कोरिङ खेलमा पनि लक्ष्य भेट्न असफल रह्यो । इनिङ्सको पहिलो बलमै चाडविक वाल्टनलाई एलबीडब्लू आउट गरेका ग्रिनले सुरुआतमै २ विकेट लिएपछि जमैकाले ४ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । कप्तान रोभमान पावेलले २३ रन बनाए । सातौं नम्बरमा ब्याटिङमा आएका रसेलले ३७ बलमा ४ चौका र ५ छक्कासहित ५२ रन बनाए पनि त्यो जमैकालाई पर्याप्त भएन । अन्तिम ओभरमा २२ रन बनाउनुपर्ने स्थिति जमैकाले पार गर्न सकेन ।

(कान्तिपुर दैनिक)

बायर्नको ऐतिहासिक यात्रा : लिग, कप र च्याम्पियन्स लिग

खेलकुद


काठमाडौँ — भाद्र ८, २०७७। 

बायर्न म्युनिकले यो सिजन तय गरेको यात्रालाई के मात्र भन्ने ? ऐतिहासिक, सनसनीपूर्ण अथवा रोमाञ्चक । सायद एक शब्दमा बयान गर्दा यसका लागि ‘अद्वितीय’ प्रयोग गर्नु ठीक हुनेछ, किनभने यस्तो उपलब्धि विरलै मात्र दोहरिएर आउने गर्छ ।

त्यसैले यसलाई कोशेढुंगा प्रदर्शन भन्दा पनि हुनेछ । कारोना भाइरस संक्रमणको महामारीबीच बायर्नले जर्मन बुन्डेसलिगा मात्र जितेन्, उसलाई जर्मन कप मात्र जितेर पनि पुगेन, अब त यो क्लब युरोपेली च्याम्पियन पनि भएको छ ।
युरोपेली च्याम्पियन्स लिग उपाधिका लागि बार्यनले आइतबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हरायो । यो खेल जर्मन लिग विजेताविरुद्ध फ्रान्सेली च्याम्पियनको थियो । स्कोर भयो, १–० । यही स्कोरले पनि देखाउँदा फाइनल जस्तो अपेक्षित थियो, त्यति साह्रो भएन । धेरै अपेक्षा गरिएको खेल प्राय: यस्तै हुने गर्छ । तर यसमा बायर्नलाई चिन्ता नै किन हुनु पर्छ र ? एक मात्र निर्णायक गोल गर्ने खेलाडी थिए, किंग्सली कोमन ।

उनले ५९ औं मिनेटमा गोल गरे । संयोग कस्तो भने उनी फ्रान्सेली खेलाडी थिए, अझ कुनै समय पीएसजीकै खेलाडी । तिनकै गोलले क्लब स्थापनाको ५० वर्षमा पीएसजी च्याम्पियन्स लिगको उपाधि जित्न असफल रह्यो, टिम उपाधिको नजिक त पुगेको थियो, तर अन्त्यमा देखियो, टिम अझै यसबाट टाढा छ । च्याम्पियन्स लिग जस्तो प्रतियोगितामा इतिहासले पनि धेरै फरक पार्छ । बार्यन मबजुत इतिहास बोकेको क्लब हो र यसले जितेको च्याम्पियन्स लिग उपाधिको संख्या पनि अब ६ पुगेको छ ।

एक समय सबैलाई लागेको थियो, यसपल्टको च्याम्पियन्स लिग हुने छैन, जताततै महामारीको स्थिति थियो । तर जति बेला प्रतियोगिताले यसपल्ट पूर्णविराम पाएको छ, सबैलाई लागेको छ, बायर्न उपाधिका लागि पूरापूर हकदार छ । सायद यसपल्ट यो जत्तिको यो उपाधि जित्ने हक लागेको टिम अरू छैन । घरेलु लिग र कप जित्नु, अनि च्याम्पियन्स लिग पनि जित्नुले बायर्न वास्तवमै कति बलियो छ भनेर प्रस्ट देखाएको छ । यो कमै मात्र सुन्न पाइने ‘ट्रेबल’ उपलब्धि हो ।

उपाधिसम्मको यात्रामा बायर्नले केही अन्य दुर्लभ उपलब्धि पनि हात पारे, जस्तो फाइनलसँगै बायर्नले यसपल्टको प्रतियोगितामा लगभग सबै खेल जित्न सफल रह्यो । बराबरी समेत खेलेन । यसमध्ये एक खेल त त्यही बार्सिलोनाविरुद्धको पनि रह्यो, ८–२ को जित । क्लबको यो यात्राको धेरै श्रेय प्रशिक्षक हान्सी फ्लिकलाई पनि जान्छ । नोभेम्बरमा मात्र उनले क्लबको जिम्मा पाएका थिए । त्यस अगाडि बायर्नले निको कोभाचलाई बर्खास्त गरेको थियो ।

प्रशिक्षक हान्सी के आए, बायर्नमा राम्रा दिन पनि फर्के । यी प्रशिक्षक फेरि उत्तिकै भलादमी पनि छन् । उनले यो सफलताको श्रेय पनि लिन चाहेनन र भनेका छन्, ‘खेलाडी छन् त हामी पनि छौं ।’ उनी के मान्छन् भने अहिलेको बायर्न म्युनिक टिम वास्तवमै बलियो छ । यो टिम युवा पनि छ । तर टिमका यस्ता केही प्रमु्ख पुराना खेलाडी पनि छन्, जसले टिमलाई मज्जाले अगाडि बढाइरहेका छ, जस्तो, गोलरक्षक म्यानुएल नोयादेखि रोबर्ट लेवनडोस्की र थोमस मुलर । उनकै भाषामा मुख्य कुरा, बायर्न युरोपेली च्याम्पियन हुन पूरा हकदार छ ।

(कान्तिपुर दैनिक)

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ

खेलकुद


काठमाडौँ — भाद्र ७, २०७७। 

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्नुभएको छ ।

शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिनुभयो ।

उहाँले निकै किफायती बलिङ गर्नुभयो । यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो ।

सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिनुभयो । उहाँले शेरफेन रदरफोर्डलाई छ रनमा तथा क्रिस ग्रिनलाई दुई रनमा पभेलियन फर्काउनुभयो ।

नवौँ ओभरमा बलिङ गर्न आउनुभएका सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन दिनुभयो । त्यसपछि ११औँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्र्नुभएका उहाँले सो ओभरको दोस्रो बलमा गुयानाका रदरफोर्डलाई मुजिब उर रहमानद्वारा क्याच आउट गराउनुभयो ।

सो ओभरमा उहाँले विपक्षी टोलीलाई मात्र एक रन दिनुभयो । यस्तै सन्दीपले खेलको १३औँ ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गर्दै तीन रन खर्चिनुभयो ।

खेलको १५औँ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गर्नुभएका उहाँले सो ओभरको चौथो बलमा क्रिस ग्रिनलाई आउट गर्नुभयो । उक्त ओभरमा सन्दीपले दुई रन मात्र खर्चिनुभयो ।

टस जितेर जमैकाले फिल्डिङ गर्ने निर्णय गरेपछि गुयानाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो ।

एक सय २० रनको विजय लक्ष्य पछ्याउने क्रममा जमैकाले सात विकेटको नोक्सानीमा १०७ रन बनाउन सक्यो । गुयानाका लागि ब्रान्डन किङले सर्वाधिक २९, चन्द्रपल हेमराजले २१, रस टेलरले २१ तथा नविन उल हकले १४ रन बनाउनुभयो ।

बलिङतर्फ जमैकाका मुजिब उर रहमान र कार्लोस वार्थवेटले तीन÷तीन तथा आन्द्रे रसेलले एक विकेट लिनुभयो ।

विजय लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि आन्द्रे रसेलले अविजित ५२, रोभमन पावेलले २३ र आशिफ अलीले १४ रन बनाए । सन्दीपले आजको खेलमा ब्याटिङ समेत गर्नुभयो ।

खेलको १६औँ ओभरमा जमैकाका लागि ब्याटिङ गर्न आउनुभएका सन्दीपले मात्र तीन बल खेल्न सक्नुभयो । उहाँले कुनै रन भने बनाउन सक्नुभएन ।

सन्दीपले हालसम्म तीन खेलमा चार विकेट लिनुभएको छ । उहाँले भदौ ३ गते सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा चार ओभरमा २३ रन खर्चेर एक विकेट लिनुभएको थियो ।

यस्तै भदौ ५ गते ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा सन्दीपले चार ओभरमा ३० रन दिँदै एक विकेट लिनुभएको थियो ।

सन्दीपको टोली जमैकाले सेन्ट लुसियासितको खेल पाँचविकेटले जितेको थियो भने ट्रिनबागोसँगको खेल सात विकेटले गुमाएको थियो । गुयानासितको खेल हारेसँगै जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा झरेको छ ।

सन्दीप तेस्रो पटक सिपिएल खेल्दै हुनुहुन्छ । उहाँले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रियाट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्नुभएको थियो ।

यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । 

(रासस)

पीएसजीविरुद्ध बायर्न — को कस्ता छन् ?

खेलकुद


लिस्बन — भाद्र ७, २०७७। 

आज आइतबार युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनल छ । यो सिजनको प्रतियोगिताले अस्वाभाविक अन्त्य लिँदै छ । कोरोना भाइरस संक्रमणको महामारीबीच यसपल्ट प्रतियोगिता नै पूरा नहोला भन्ने डर थियो । तर फरक ढाँचामा खेलाएर भए पनि फाइनलका रुपमा अब एकमात्र खेल बाँकी छ ।

उपाधिका भिडन्तमा छन्, तिनै पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिक । यी दुई टिमबीचको फाइनल पक्कै पनि ‘हेभिवेट’ भिडन्त हो, ‘ब्लकबस्टर’ फाइनल हो अनि यसलाई फुटबलको भाषामा हेर्नलाई ‘र्‍याल चुहाउन’ लायक खेल पनि भन्न सकिन्छ ।

निकै अनौठो मान्न मिल्ने युरोपेली क्लब फुटबलको सिजनले आइतबार अन्ततः पूर्णविराम लिँदै छ । अवसर छ, युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनल । उपाधि भिडन्तमा ओर्लिंदै छन्, पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिक । पीएसजी फ्रान्सेली च्याम्पियन हो भने बायर्न जर्मनीको । एक प्रकारले यो फ्रान्सविरुद्ध जर्मनी पनि हो । र, स्टाडियो डा लुइजमा हुने फाइनल जित्ने टिमका लागि यो विश्वकपको उपाधिभन्दा कम हुने छैन, सके त्यो भन्दा पनि बढी ।

फाइनलको नतिजा निर्धारण गर्न सक्ने पाँच तत्त्व यस प्रकार हुन सक्छन् :

१. दुवै टिम गज्जब लयमा छन्
पछिल्लो समय आ–आफ्नो घरेलु लिगमा पीएसजी र बायर्नका लागि चुनौती पेस गर्ने टिम नै छैनन् भन्दा हुन्छ । यो दुवै देशको घरेलु लिगको एक खास प्रवृत्ति पनि हो । यसको कारण यी दुई

गज्जब लयमा रहनु पनि हो अनि यसको पनि भित्री कारण दुवै टिम उत्तिकै बलियो हुनु हो । फ्रान्समा कोरोना भाइरस संक्रमणको महामारीबीच लिग रोकिँदा पीएसजी १२ अंकले अगाडि थियो । लिग स्थगित गरेर पीएसजीलाई विजेता पनि घोषित गरियो ।

यो पीएसजीले लिग वानको उपाधि जितेको पछिल्लो आठ वर्षमा सातौंपल्ट हो । बायर्नको प्रदर्शन पनि कम्तीको रहेन । जर्मन बुन्डेसलिगामा बायर्नले लिग जित्दा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डमाथि १३ अंकको अग्रता कायम राखेको थियो । बायर्नले घरमा लिग जितेको यो लगातार आठौंपल्ट हो । अहिले बायर्नले सबैखाले प्रतियोगिता जोडेर पछिल्ला खेलमा २८ जित र एक बराबरी निकालेको छ । के यो उत्कृष्ट प्रदर्शनको प्रमाण होइन र ?

फाइनलसम्मको यात्रा त बायर्नका लागि अझ आरामदायी रह्यो । अझ भनौं उत्कृष्ट रह्यो । अथवा यसलाई सबैले चर्चा गरेको विषय रह्यो भन्दा पनि हुन्छ । यसपल्टको च्याम्पियन्स लिगमा बायर्नले १० खेल खेलेको छ । यसक्रममा गरेको गोलसंख्या छ, ४२ । अविश्वसनीय छ नि यो । त्यसमा बार्सिलोनामाथि क्वाटरफाइनलमा प्राप्त ८–२ को जित न कसैले बिर्सन सकेको छ, न त यसले ल्याउने तरंग चाँडै रोकिने छ । यही चरणमा बरू पीएसजीले एटलान्टालाई हराउन केही संघर्ष गर्नुपरेको थियो ।

२. दुवैको आक्रमण अब्बल दर्जाको
बायर्नको आक्रमण टिकेको छ, विश्वकै सबैभन्दा अचुक मान्न मिल्ने खेलाडी रोबर्ट लेवान्डोवस्कीमा । उनलाई विश्व फुटबलले पाएको सबैभन्दा उत्कृष्ट नम्बर ९ मानिएको छ । यी पोलिस स्ट्राइकरले यो सिजन ५५ गोल गरिसकेका छन् । उनले साँच्चै यति धेरै गोल कसरी गरे त, ताजुब मान्नुपर्छ । यत्तिको गोल यो सिजन युरोपमा कोही पनि खेलाडीले गर्न सकेको छैन अनि उनलाई आक्रमणमा साथ दिने अर्का दुर्ई बेजोड खेलाडी छन्, थोमस मुलर र सर्ज जेनाब्री ।

जेनाब्री पनि आफ्नो खेलजीवनको मधुमासमा छन् भन्दा हुन्छ । यसपल्टको च्याम्पियन्स लिगमा मात्रै यी जर्मन खेलाडी ९ गोल गरिसकेका छन् । सेमिफाइनलमा लियोनविरुद्ध त उनी अझ पो तिखारिएको देखिए । पीएसजीसँग भने नेयमर छन् । उनी उत्कृष्ट खेलाडी हुन् । यसमा शंका छैन, तर उनले कति बेला कस्तो खेल्ने हुन्, त्यो भने निश्चित हुन्न । उनी साँच्चै राम्रा खेलाडी हुँदैन थिए त यी नेयमर विश्वकै सबैभन्दा महँगा हुने थिएनन् ।

यी २८ वर्षीय ब्राजिली खेलाडी जुनसुकै मूल्यमा पनि च्याम्पियन्स लिग जित्न चाहन्छन् । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जत्तिको खेलाडी हो भनेर सबैले भने पनि आखिरमा नेयमरले यो मैदानमै प्रमाणित गर्न सकेका छैनन् । त्यसैले उनमा उम्लिएर पोखिन लागेको जत्तिको जोस हुनेछ । त्यसो त उनले सन् २०१५ मा पनि च्याम्पियन्स लिग सफलताको स्वाद चाखिसकेका छन्, तर फरक परिस्थितिमा । र, उनलाई सहयोग गर्ने मुख्य खेलाडी हुनेछन्, केलियन एमबाप्पे । नेयमर र एमबाप्पे बायर्नका लागि घातक हुन सक्छन् ।

३. दुवैको डिफेन्स कमजोर छ
आक्रमण गर्दा यी दुई टिम जहाँ निकै राम्रो भन्न मिल्ने खालका छन् । त्यहीं यी दुवै टिमको डिफेन्स भने त्यसको छेउछाउ छैन । अझ भनौं, कमजोर नै छ । दुवै टिमसँग आँखा चिम्लेर विश्वास गर्न सकिने डिफेन्स छैन । बायर्नले लियोनमाथि प्राप्त जित एक प्रकारले आरामदायी त रह्यो, तर अर्को प्रकारले विश्लेषण गर्दा बायर्न धन्न–धन्न जोगिएको हो, खराब डिफेन्सका कारण । लियोनले गोल गर्न नसकेको मात्र हो, नत्र उसले बायर्नको रक्षापंक्तिमा कसरी प्वाल पार्न सकिन्छ, त्यो त देखाएकै हो ।

चोटमुक्त हुँदै जेरोमी बोएटिङ बायर्नको सेन्टर ब्याकमा फर्कने निश्चितजस्तै छ । तर यो डिफेन्सलाई नेयमर र एमबाप्पेले मज्जाले तोड्न सक्छन् । बरु पीएसजीको डिफेन्स तुलनात्मक रूपमा केही ठीक छ । यो टिमको राम्रो पक्ष के हो भने डिफेन्सका चार खेलाडीसम्म पुग्न अगाडि मिडफिल्डमै मारक्विन्हो र एन्डेर हेरेरालाई पन्छाउनुपर्छ । सेन्टर ब्याकमा प्रेस्नेल किमपेम्बे र थियागो सिल्भाले मोर्चा सम्हाल्ने छ । प्रश्न सिल्भाको उमेरलाई लिएर हुनेछ किनभने उनी ३५ वर्ष भइसके । यो त केही ढल्केको उमेर हो नि फुटबलमा ।

४. युवा खेलाडी निर्णायक
पीएसजीसँग एमबाप्पेका रूपमा त्यस्ता खेलाडी छन्, जसले धेरथोक फरक पार्न सक्छन् । उनी भर्खर २१ वर्षका भए, तर उनले यही उमेरमा च्याम्पियन्स लिग जित्न सक्छन्, जुन मेसी र रोनाल्डो दुवैले सकेका थिएनन् । उनका लागि यो प्रेरणाको तत्त्व हुनेछ । साँच्चै पीएसजीले च्याम्पियन्स लिग जितेमा उनले दुर्लभ इतिहास आत्मसात् गर्नेछन् र यो हो, विश्वकप र च्याम्पियन्स लिग जितेका खेलाडीको सूचीमा प्रवेश । यो सूची फेरि लामो पनि छैन ।

दबाब बढी हुने खेलमा एमबाप्पेले राम्रो खेलेको प्रमाण पनि । बायर्नले यही पृष्ठभूमिमा आफूसँग अल्फान्सो छ भनेर दाबी गर्न सक्छ । उनी भर्खर किशोर उमेरमै छन्, तर यी फुलब्याकले आफ्नो उमेरभन्दा धेरै गुणा बढी खेल देखाइसकेका छन् । उनलाई विश्व फुटबलकै उत्कृष्ट लेफ्टब्याक भन्न सुरु भएको छ । च्याम्पियन्स लिगको फाइनल खेल्ने उनी पहिलो क्यानडेली खेलाडी हुने हुनेछन् । यो पनि त उनका लागि उत्तिकै प्रेरणादायी तत्त्व हुनेछ ।

५. इतिहास भने बायर्नको पक्षमा
बायर्न छैटौं च्याम्पियन्स लिग उपाधिको अभियानमा छ । बायर्नले दसौंपल्ट च्याम्पियन्स लिगको फाइनल खेल्दैछ । उसले सन् २०१३ मा अन्तिम पटक यो प्रतियोगिताको उपाधि जितेको थियो । पीएसजीले भने पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेल्दैछ । रमाइलो के भने दुई टिमबीचको ‘हेड टु हेड’ लाई आधार मान्ने हो भने यसमा पीएसजी नै अगाडि छ ।

बायर्नमाथि पीएसजीले ५ स्पष्ट जित निकालेको इतिहास छ । सायद, इतिहास फाइनलमा बायर्नको पक्षमा हुनेछ ।

(कान्तिपुर दैनिक)

इन्टरलाई हराउँदै सेभियाले जित्यो छैटौं पटक युरोपा लिगको उपाधि

खेलकुद


कोलोन — भाद्र ६, २०७७ । 

युरोपा लिगको ‘किङ’ मानिने सेभियाले इन्टर मिलानलाई हराउँदै छैटौं पटक च्याम्पियन बनेको छ । शुक्रबार राति कोलोनमा भएको फाइनलमा सेभियाले इन्टरमाथि ३–२ को रोमाञ्चक जित हात पाऱ्यो ।

सेभियाका डिफेन्डर डिएगो कार्लोसले रोमेलु लुकाकुलाई फल गरेपछि इन्टरले खेलको सुरुवातमै पेनाल्टी पाएको थियो । लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई खेलको ५औं मिनेटमै अग्रता दिलाएका थिए । यसक्रममा उनले यस सिजनमा आफ्नो गोल संख्या ३४ पुऱ्याएका छन् ।
खेलको १२औं मिनेटमा जिसस नाभास र ३३औं मिनेटमा इभर बानेगाको हेडिङलाई गोलमा परिणत गर्दै सेभियाका लागि लुक डी जोङले गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमै ३५औं मिनेटमा इन्टर मिलानका डिएगो गोडिनले खेललाई २–२ मा पुऱ्याए ।

खेल सकिन १६ मिनेट अगाडि डिएगो कार्लोसको ‘ओभर–हेड’ प्रहार रोमेलु लुकाकुबाट डिफ्लेक्ट हुँदै निर्णायक गोलमा परिणत भएको थियो । लुकाकुको आत्मघाती गोलपछि भने इन्टरको युरोपेली उपाधिका लागि १० वर्षको प्रतीक्षा कायम रह्यो ।

यस्तै नौ वर्षयता इन्टरले कुनै उपाधि जित्न सकेको छैन । सेभियाले युरोपा लिगको इतिहासमा फाइनल खेलेको यो छैटौं पल्ट हो र उसले कुनै पनि अवसरमा हार बेहोर्नु परेको छैन । सेभियाले सन् २०१४–२०१६ बीच लगातार तीन पल्ट युरोपाकप जितेको थियो । अहिले उपाधि जितेको सेभिया टिम भने नयाँ हो ।

प्रशिक्षक जुलेन लोपेटेगुईले टिम सम्हालेयता सेभियाले पहिलो पटक उपाधि जितेको हो । फेब्रुअरीयता सेभिया लगातार २१ वटा खेलमा अपराजित रहेको छ ।

(एजेन्सी/कान्तिपुर दैनिक)
 

विकेट लिए पनि सन्दीपको टोली पराजित

खेलकुद


काठमाडौँ, ५ भदौ: क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उनको टोली जमैका तलावाज भने पराजित भएको छ । ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिन सफल भए । उक्त खेलमा ट्रिनबागो नाइट राइडर्स विजयी भयो । ट्रिनबागोले सन्दीपको जमैकालाई ७ विकेटले हराएको हो ।

आजको खेलमा पनि सन्दीपले पुरै चार ओभर बलिङ गरे । उनले ३० रन खर्चेर एक विकेट लिए । नवौँ ओभरमा बलिङ गर्न आएका सन्दीपले पहिलो ओभरमा मात्र २ रन खर्चिए । त्यसपछि ११औं ओभरमा बलिङ गर्दै उनले ११ रन दिनुका साथै एक विकेट लिए । उनले ११औँ ओभरको पाँचौँ बलमा ट्रिनबागोका मुख्य खेलाडी सुनिल नराईनलाई पवेलियन फर्काए । नराईन ५३ रनमा आउट भए । यस्तै खेलको १३औं ओभरमा सन्दीपले ७ रन खर्चिनुभयो । सन्दीपले १५औं ओभरमा १० रन दिए ।

ब्रायन लारा मैदानमा टस हारेर ब्याटिङ गरेको सन्दीपको टोली जमैकाले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । एक सय ३६ रनको लक्ष्य १८ दशमलव एक ओभरमा ट्रनबागोले तीन विकेट गुमाएर पूरा ग¥यो । उसको जीतमा सुनील नराईनले ५३ र कोलीन मुन्रोले अविजित ४९ रनको योगदान दिए । बलिङतर्फ जमैकाका सन्दीपसँगै फिडेल एडवार्ड र मुजिब उर रहमानले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो । उसका लागि ग्लेन फिलिप्स्ले ४२ बलमा ५८ रनको अर्धशतकीको पारी खेले । यस्तै आन्द्रे रसेलले २६ बलमा २५ रन, आसिफ अलिले १६ बलमा २२ रन तथा रमाल लेविसले अविजित रहँदै १६ बलमा १५ रन बनाए । बलिङतर्फ ट्रिनबागोका लागि अलि खान र जेडेन सिल्सले दुई दुई विकेट लिए । पराजयसँगै सन्दीपको टोली जमैका अंक तालिकाको चौथो स्थानमा झरेको छ ।

यसअघि सन्दीपले पहिलो खेलमा सेन्ट लुसियाविरुद्ध चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिएका थिए । उक्त खेलमा उनको टोेली जमैका ५ विकेटले विजयी भएको थियो । अब जमैकाले तेस्रो खेल आइतबार दिउँसो गुयाना अमेजन वारियर्सविरुद्ध खेल्ने छ ।-रासस/File Photo