sports
||Power News Asia||

आजको समाचार

सीपीएल क्रिकेट— सन्दीप लामिछाने आवद्ध जमैका तलावाजको विजयी सुरुवात

खेलकुद


काठमाडौँ — भाद्र ४, २०७७।  

क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्व टिम जमैका तलावाजले विजयी सुरुआत गरेको छ ।

गएराति भएको खेलमा जमैका तलावाजले सेन्ट लुसियालाई ५ विकेटले हरायो ।

सेन्ट लुसियाले दिएको १ सय ५९ रनको लक्ष्य जमैकाले १८ ओभर ५ बलमा पाँच विकेट गुमाएर पूरा ग¥यो ।

यसअघि ब्रायन लारा क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५८ रन जोडेको थियो ।

उसको लागि रोस्टन चेसले अर्धशतक प्रहार गर्दै ५२ रन जोडे । बलिङमा जमैकाका मुजिब उर रहमान र भिरास्वामी परमौलले २–२ विकेट लिए ।

सन्दीप लामिछानेले एक विकेट झारे । चार ओभर बलिङ गरेका सन्दीपले २३ रन खर्चेर एक विकेट लिएका हुन् ।

(ईमेज खबर)

बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको फाईनलमा, उपाधि भिडन्त पिएसजीसँग हुने

खेलकुद


काठमाडौँ — भाद्र ४, २०७७।  

फ्रान्सको ओलम्पिक लियोंलाई हराउँदै जर्मनीको बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

पोर्चुगलमा गएराति भएको दोस्रो सेमिफाईनल खेलमा बायर्नले लियोंलाई ३–० ले हरायो । बायर्नको जितमा सर्जी नाब्रीले दुई गोल तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

जितसँगै बायर्न म्युनिख ११ औं पटक युरोपको सर्वोच्च क्लब प्रतियोगिता च्याम्पियन्स लिगको फाईनलमा पुगेको हो । बायर्नले अहिलेसम्म ५ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

उ भन्दा बढी लिभरपुलले ६ पटक, एसि मिलानले ७ पटक तथा रियाल मड्रिडले १३ पटक यो उपाधि हात पारेका छन् ।

जारी सिजनको उपाधिका लागि बायर्नले अब फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी.) को सामना गर्नेछ ।

पहिलो सेमिफाईनल खेलमा जर्मनीको आर.बी लेप्जीगलाई पाखा लगाउँदै पिएसजी पहिलो पटक फाईनलमा पुगेको हो । 

(एजेन्सी)

लेप्जीगलाई हराउँदै पिएसजी युएफा च्याम्पियन्स लिगको फाईनलमा

खेलकुद


काठमाडौं — भाद्र ३, २०७७। 

जर्मनीको आर.बी लेप्जीगलाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एज.सी) युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

पोर्चुगलको लिस्बनमा गएराती भएको सेमिफाईनल खेलमा पिएसजी ३–० ले विजयी भयो । लेप्जीग विरुद्धको खेलमा पिएसजीलाई विजयी गराउन मार्कीनोज, एन्ज डि मारिया र हुँवा कबर्नाटले एक एक गोल गरे ।

फ्रेन्च क्लब पिएसजी युरोपियन च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको यो पहिलो अवसर हो ।

पिएसजीले अब उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रान्सको ओलम्पिक लियोंबिच आज हुने दोस्रो सेमिफाईनल विजेतासँग खेल्नेछ । 

(एजेन्सी)

मेसी चाहन्छन् बार्सिलोना छाड्न ?

खेलकुद


मेसीले बार्सिलोनाका उच्च व्यवस्थापनलाई नै आफ्नो मुख खोलेर क्लब छाड्ने मनसाय देखाएका छन् । यस्तोमा अब त्यस्तो दिन धेरै टाढा छैन, जति बेला पनि हाम्रो आँखाअगाडि विश्व फुटबलका सबैभन्दा ठूला खेलाडी स्थानान्तरण भएको देखिन सक्नेछ ।

म्याड्रिड — भाद्र २, २०७७।

लियोनल मेसी बार्सिलोना छाड्न चाहन्छन् । क्लबका सबै स्रोतले यस्तै भन्न थालेका छन् । यसका लागि के उनलाई दोष दिन सकिन्छ त ? यसको उत्तर भने सजिलो छैन । बार्सिलोनामा खराब व्यवस्थापन अब नयाँ रहेन ।

लगातारको यस्तै गलत कामको नतिजा त हो, युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना टिम बायर्न म्युनिकको हातबाट पराजित हुनु । त्यो पनि ८–२ को अन्तरमा । अहिले केही स्पेनी मिडियाले दाबीसँगै भन्न थालेका छन्, अब मेसी बार्सिलोनामा रहने छैनन् ।

यिनै स्पेनी मिडियाले नेयमर बार्सिलाना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भनेको थिए । सुरुमा त्यसलाई पनि पत्याउने थिएनन्, तर त्यस्तै भयो । अब यिनै मिडियाले नजिकको स्रोत प्रयोग गरेर मेसीबारे समाचार लेखिरहेका छन् । यो समाचार किन पनि सत्यता नजिक छ भने अर्को वर्षसम्म बार्सिलोना र मेसीबीचको अनुबन्ध सकिँदै छ । त्यसपछि त मेसी अर्को कुनै पनि क्लब जान स्वतन्त्र हुनेछन्, कुनै कानुनी झमेलाबिना नै ।

मेसीले बार्सिलोनाका उच्च व्यवस्थापनलाई नै आफ्नो मुख खोलेर क्लब छाड्ने मनसाय देखाएका छन् । यस्तोमा अब त्यस्तो दिन धेरै टाढा छैन, जति बेला पनि हाम्रो आँखाअगाडि विश्व फुटबलका सबैभन्दा ठूला खेलाडी स्थानान्तरण भएको देखिन सक्नेछ । मेसी अहिलेको पुस्ताका खेलाडीमध्ये सबैभन्दा उत्कृष्टमा गनिन्छन् । धेरैका लागि उनी सर्वकालीन महान् खेलाडीमध्ये एक हुन् । उनले आफ्नो व्यावसायिक खेलजीवनको सबै समय एउटै क्लबमा बिताएका छन् ।

अब यसैमा पूर्णविराम लाग्न लागेको छ । बार्सिलोना आफैंमा उत्तिकै ठूलो र सफल क्लब हो, तर उसले पनि मेसीलाई रोक्न केही गर्न नसक्ने स्थिति बन्दै छ । अनि के पनि तय छ भने विश्वका लगभग सबै क्लबले मेसी आफ्नो क्लबमा आऊन् भन्ने चाहना राख्नेछन् । फरक के मात्र हो भने उनको तलब खुसीले बेहोर्न सक्ने को हो भन्ने मात्र हो । पूरा घटनाक्रम सारमा भन्ने हो भने विश्वको सबैभन्दा ठूलो क्लब र यसका सबैभन्दा ठूला स्टार सबै जटिल मोडमा छन् ।

अहिलेसम्म जति पनि अनुमान बाहिर आए पनि एउटा तथ्य भने निश्चित छ । त्यो हो, सन् २०२०–२१ को सिजनको सुरुमा मेसी बार्सिलोनामै हुनेछन् । उनले बार्सिलोनामा बिताएको दुई दशक पनि हुनेछ । उनले साँच्चै बार्सिलोना छाड्न चाहे भने उनको गन्तव्य कुन क्लब हुनेछ त ? यसको उत्तर पनि सजिलो छैन तर सबैले अनुमान गर्न भने थालेका छन् । यसले अबको केही समय विश्व फुटबललाई आकर्षित गरिरहने तय छ ।

उनको सबैभन्दा बलियो गन्तव्य हुन सक्छ, म्यानचेस्टर सिटी । यसको एकमात्र ठोस कारण हो प्रशिक्षक पेप ग्वार्डिओला । सिटी आफैं युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि युरोपेली च्याम्पियन्स लिग जित्न चाहन्छ, अहिलेसम्म यो पर्खाइमै छ । ग्वार्डिओलाको इच्छा पनि यही हो, तर यसै सिजन पनि क्लबले धोका खाइसकेको छ । सिटीसँग सबथोक छ, भौतिक पूर्वाधारदेखि खर्च गर्नसक्ने क्षमता पनि । छैनन् त, खाली मेसीजस्ता खेलाडी । यी अर्जेन्टिनी खेलाडी ३३ वर्षका भइसके, अब उनले त्यत्तिकै राम्रो खेल्ने सम्भावना केही सिजनलाई मात्र हो । यस्तोमा क्लबले मेसीलाई किन्न वा अनुबन्ध गर्नु अगाडि धेरैपल्ट सोच्ने पनि छ । फेरि भन्नेहरू के पनि भन्छन् भने मेसीका लागि इंग्लिस प्रिमियर लिग ठीक छैन, यो लिगमा जसरी फुटबल खेलिन्छ, त्यो मेसी सुहाउँदो छैन । तथापि सिटी नै यस्तो एक क्लब हो, जसले मेसीको चर्को न चर्को तलब बेहोर्न सक्छ, किनभने ऊसँग अरबौं पैसा छ ।

अरबौं पैसा त पीएसजीमा पनि छ । त्यसैले यो फ्रान्सेली क्लब पनि मेसीलाई अनुबन्ध गर्न तयार हुन सक्नेछ । मेसी साँच्चै पेरिस आउन तयार भयो भने टिम त गज्जब नै बन्नेछ, नेयमर, केलियन एमबाप्पे अनि मेसी । यो त लगभग कुनै समय बार्सिलोनामा चम्केको नेयमर, स्वारेज र मेसीजस्तैको जोडी हो । तर पीएसजीलाई लिएर एउटा समस्या छ । पीएसजका ठूला नामका लागि रौनकता खाली च्याम्पियन्स लिगमात्र हो, फ्रान्सको घरेलु लिग अब्बल दर्जाको छैन ।

मेसीका लागि गन्तव्य अन्य दुई क्लब पनि हुनसक्छ, म्यानचेस्टर युनाइटेड र इन्टर मिलान । म्यानचेस्टर त विश्व फुटबलको सबैभन्दा ठूलो ब्रान्ड भयो नै । तर पछिल्लो समय म्यानचेस्टर केही ओरालो लागेको छ, त्यसैले मेसी आएमा म्यानचेस्टर फेरि पुरानै क्लब हुनसक्छ । अनि इन्टर मिलानका पनि ठूलाठूला आकांक्षा छन् । क्लबमा पैसा पनि छ । फेरि मेसीका सबैभन्दा ठूला प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो पनि इटालीमै छन् । उनी युभेन्ट्सका लागि खेलिरहेका छन् । दुवैको भेट इटालीमा भयो भने त्यो पनि त गज्जब हुनेछ ।

(एजेन्सी/कान्तिपुर दैनिक)

सन्दीपले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) आजदेखि शुरु हुँदै

खेलकुद


काठमाडौं — भाद्र २, २०७७। 

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) आजदेखि शुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः४५ बजेदेखि सिपिएल शुरु हुनेछ ।

सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्नु हुनेछ । सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ । सिपिएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताएका छन् ।

सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो जनाएका हुन् । नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए । यसबीच सन्दीपले दुई पटक पिसिआर परीक्षण गराएका थिए । नेपाल र टोबागोमा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उक्त रिपोर्टसँगै सन्दीपले सिपिएल खेल्ने बाटो खुला भएको हो ।

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सिपिएल खेलि सकेका छन् । सिपिएल भदौ २५ गतेसम्म चल्ने छ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् । सिपिएलमा कूल ३३ खेल हुने छन् ।

कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् । आज पहिलो खेल राति ७ः४५ बजे ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सबीच तथा अर्को खेल भोलि बिहान ३ः१५ बजे बारबाडोस र सेन्ट किट्सबीच हुनेछ ।

(रासस)

म्यान्चेस्टर युनाइटेडको युरोपा लिगको उपाधि जित्ने यात्रा टुंगियो

खेलकुद


काठमाडौं — भाद्र १, २०७७। 

इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडको युरोपा लिगको उपाधि जित्ने यात्रा टुंगिएको छ ।

गएराति भएको खेलमा सेभियाले म्यान्टेस्टरलाई २–१ गोलअन्तरले पराजित गरेसँगै म्यान्चेस्टरको उपाधिको यात्रा टुंगिएको हो ।

ब्रुना फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । मार्कुस रासफोर्डलाई डिएगो कार्लोसले फल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो ।

तर लिभरपुलका पूर्व विङ्गर फर्नान्डेज सुसोले २६ औै मिनेटमा खेल बराबरीमा ल्याए । ७८ औं मिनेटमा डी जोङले सेभियाका लागि विजयी गोल गरेका थिए ।

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडको यस सिजन समेत ठूलो उपाधि जित्ने सम्भावना सकिएको छ । उसले यस सिजनमात्र तीन प्रतियोगितामा सेमिफाइनलमा पराजित भएको छ ।

सेभियाले उपाधिका लागि अब सख्तर डोनेस्क र ईन्टर मिलानबीचको विजेतासँग खेल्नेछ । 

(एजेन्सी)

युएफा च्याम्पियन्स लिगमा एटलान्टालाई हराउँदै पिएसजी सेमिफाईनलमा प्रवेश

खेलकुद


काठमाडौँ — श्रावण २९, २०७७। 

इटालीको एटलान्टालाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा पुगेको छ ।

पोर्चुगलको लिस्बनमा गएराति भएको क्वाटरफाईनल खेलमा पिएसजी २–१ ले विजयी भयो । खेलको २६ औं मिनेटमा मारियो पासालिकले गोल गर्दै एटलान्टालाई अग्रता दिए ।

पराजयको निकट पुगेको पिएसजीले अन्तिम ३ मिनेटमा २ गोल गर्दै परिणाम उल्टायो । उसका लागि मार्किनोज र एरिक म्याक्सीम चोपो–मोटिङले एक एक गोल गरे ।

पिएसजीको पुनरागमनपछि एटलान्टाको च्याम्पियन्स लिगको शानदार यात्रामा पूर्णविराम लागेको छ ।

जितसँगै पिएसजी २५ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनलमा पुगेको हो ।

च्याम्पियन्स लिगको दोस्रो क्वाटरफाईनल खेलमा आज राती जर्मनीको आर.बी लेप्जीग र स्पेनको एथ्लेटिको मड्रिड भिड्नेछन् । 

(एजेन्सी)

बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा, चेल्सी र नापोली पराजित

खेलकुद


काठमाडौं — श्रावण २५, २०७७। 

स्पेनिस क्लब बार्सिलोना र जर्मनीको बायर्न म्युनिख युएफा च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेका छन् ।

गएराति भएको प्रि क्वाटरफाईनल दोस्रो लेगको खेलमा इटालीको नापोलीलाई ३–१ ले हराउँदै बार्सिलोना समग्रमा ४–१ को नतिजा सहित क्वाटरफाइनलमा पुगेको हो ।

नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । गएरातिको खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सी, क्लेमेन्ट लेन्गलेट र लुईस सुआरेजले एक एक गोल गरे ।

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वार्टरफाईनलमा अब जर्मन क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ ।

गएराति भएको अर्को खेलमा इंग्लिस क्लव चेल्सीलाई ४–१ ले स्तब्ध बनाउँदै बार्यन म्युनिख क्वाटरफाईनलमा पुगेको हो ।

पहिलो लेगमा ३–० ले पराजित भएको चेल्सी समग्रमा बायर्नसँग ७–१ को भारी अन्तरमा पराजित भयो ।

गएरातिको खेलमा बायर्नलाई विजयी गराउन रोबेर्ट लेवान्दोस्कीले दुई गोल गर्दा इभाँ पेरिसिक र कोरेन्टिन टोलिसोले एक एक गोल गरे ।

चेल्सीका ट्यामी अब्राहमले एक सान्तोना गोल फर्काए ।

 (ईमेज खबर/एजेन्सी)

बेल सिटीविरुद्ध खेल्न चाहँदैनन् — जिनेदिन जिदान

खेलकुद


म्यानचेस्टर — श्रावण २३, २०७७।

यो खेललाई धेरैले पेप ग्वार्डिओलाविरुद्ध जिनेदिन जिदानको भिडन्तका रूपमा व्याख्या गरिरहेका छन् । युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगको खेलका लागि रियल म्याड्रिड शुक्रबार म्यानचेस्टर सिटीको भ्रमणमा हुनेछ ।

पहिलो लेगमा सिटीले रियलविरुद्ध २–१ को अग्रता लिएको थियो । दोस्रो लेगमा सिटीलाई त्यो स्कोरलाई रक्षा गरे पुग्छ । तर खेल अगाडि भने सबैको नजर ग्यारेथथ बेललाई लिएर चलिरहेको हल्लामा टिकेको छ ।
जिदानले उनलाई टिममा राखेका छैनन् । जिदान र बेलबीच पछिल्लो समय राम्रो सम्बन्ध छैन । यसबारे धेरै चर्चा भएपछि जिदान स्वय‌ंले मिडियालाई भनेका छन्, बेल सिटीविरुद्ध खेल्न चाहँदैनन् ।

अर्कोतर्फ ग्वार्डिओलाको सिटीले यसपल्ट फरक युरोपेली सफलता चाखिसकेको छ भन्दा हुन्छ र त्यो हो, युरोपेली फुटबल महास‌ंघ (यूईएफ) ले लगाएको दुई वर्षको प्रतिबन्धबाट मुक्ति पाउनु ।

कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास)ले आफू अनुकुल निर्णय सुनाएपछि सिटी अझ बढी उत्साहित र अभिप्रेरित भएको हुनु पर्छ ।

यही कारणले हुन सक्छ, सिटीले आफ्नो क्लब इतिहासमै पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिग पनि जित्न सक्छ, भलै सिटी व्यवस्थापक ग्वार्डिओला मान्छन्, कानुनी प्रक्रियाका कुरा अब पुराना भए ।

बर्नाबाउमा भएको पहिलो लेगको खेलमा केभिन डे ब्रुनले पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । तर सिटीमा चोटग्रस्ट सर्जियो एगुरो हुने छैन् र यो दबाबको विषय हुन सक्छ ।

सन् २०१६ को सेमिफाइनलमा सिटी रियलकै हातबाट पराजित भएको थियो । फेरि रियल च्याम्पियन्स लिगको राजा क्लब हो, यसले यस्तो पछाडि रहेको स्थिति धेरै पल्ट उल्टाइसकेको छ ।

(कान्तिपुर दैनिक)

कार्डिफ सिटीलाई हराउँदै फुल्हम च्याम्पियनसिप प्ले अफको फाईनलमा

खेलकुद


काठमाडौं— श्रावण १६, २०७७।  

कार्डिफ सिटीलाई हराउँदै फुल्हम इंग्लीश च्याम्पियनसिप फुटबल प्ले–अफको फाईनलमा प्रवेश गरेको छ ।

इंग्लीश प्रिमियर डिभिजनमा उक्लिने होडमा रहेका यी दुई टोलीबीचको खेलमा फुल्हम समग्रमा ३–२ ले विजयी भएको हो ।

गएराति भएको सेमिफाईनल दोस्रो लिगको खेलमा कार्डिफ सिटीसंग २–१ ले पराजित भएपनि पहिलो लिगमा हात पारेको २–० को जित फुल्हमलाई फलाईनलमा पु्र्याउन पर्याप्त रह्यो ।

फुल्हमले प्ले अफको फाईनलमा भने अब ब्रेन्टफोर्डको सामना गर्नेछ । उक्त खेलको विजेता टोली इंग्लीश फुटबलको शिर्ष डिभिजन प्रिमियरसिपमा उक्लिनेछ ।

फुल्हम र ब्रेन्टफोर्ड दुबै टोली पश्चिम लण्डनका क्लबहरु हुन् । यी दुई क्लबका रंगशालाबिचको दुरी साँढे चार माईल मात्रै छ ।

च्याम्पियनसिपमा ब्रेन्टफोर्ड तेस्रो भएको थियो भने फुल्हम चौथो भएको थियो । लण्डनका यी दुई टोली प्ले अफ्को फाईनलमा पुग्दा वेल्सका दुई टोली स्वान्सी सिटी र कार्डिफ सिटी भने स्तब्ध भएका छन् ।

यो सिजन च्याम्पियनसिप विजेता लिड्स युनाईटेड र उपविजेता वेष्ट ब्रोम प्रिमियर डिभिजनमा उक्लिसकेका छन् ।

प्रिमियरसिपबाट नरिच सिटी, बर्नमाउथ र वाट्फोर्ड च्याम्पियनसिपमा झरेका छन् ।

(एजेन्सी)