काठमाडौं — श्रावण २१, २०७७।
कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ६ सय ४७ पुगेको छ ।
कोरोनाबाट अमेरिका, ब्राजिल, मेक्सिको, बेलायत र भारतमा सबैभन्दा बढी मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी एक लाख ५६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ४७ लाख ७१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २ हप्ताको तथ्यांक हेर्दा प्रत्येक २४ घण्टामा कोरोना भाइरसबाट करिब ५ हजार ९ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । त्यस्तै एक घण्टामा २ सय ४७ जना र प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु भएको देखिन्छ ।
पछिल्लो समय अमेरिका र ल्याटिन अमेरिकी देशहरु कोरोना भाइरसको इपिसेन्टर बनेका छन् । सुरुमा ल्याटिन अमेरिकी देशहरुमा संक्रमण कम भए पनि पछिल्लो समय ब्राजिललगायतका देशमा संक्रमण तीव्र गतिमा बढिरहेको छ ।
हालसम्म विश्वभर संक्रमितको संख्या एक करोड ८५ लाख नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी निको भएका छन् ।
यसैबीच विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसविरुद्धको खोप निर्माणमा विभिन्न मुलुकले गरेका अनुसन्धानहरुमा आशा गर्ने ठाउँ भए पनि कहिले बन्छ भनेर भन्न नसकिने बताएको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस अडहानोम गेहब्रेयससले कोरोनाको खोप निर्माण ‘जादुको छडी’ नभएको बताएका छन् । उनले कोरोनाविरुद्धको खोप कहिल्यै नबन्ने सम्भावना पनि रहेको उल्लेख गर्दै मास्कको प्रयोग र सामाजिक दूरी भौतिक दूरी नै संक्रमण रोकथामको उत्तम विकल्प भएको बताएका छन् ।
(एजेन्सी/कान्तिपुर दैनिक)
काठमाडौं — श्रावण २१, २०७७।
पाकिस्तानले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेको छ । पाकिस्तानको मन्त्रिपरिषदबाट पास गरिएको नयाँ नक्सामा जम्मू, कश्मीर, लद्दाख र जूनागढ़ पाकिस्तानमा समेटिएको छ ।
मंगलबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसबारे जानकारी दिँदै मन्त्रिपरिषदको यो निर्णयलाई विपक्षी पार्टी र कश्मिरी (पाकिस्तान प्रशासित कश्मीर) नेतृत्वले समेत स्वागत गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री खानले भारतले गत साल अगस्ट ५ मा कश्मीरमा जे गैरकानुनी कदम उठायो पाकिस्तानको अहिलेको राजनितिक नक्शाले त्यसलाई नकार्ने बताउनुहुन्छ ।
अब पाकिस्तानको स्कूल, कलेज, सरकारी कार्यालयमा मंगलबार जारी गरेको नयाँ आधिकारिक नक्शा हुनेछ ।
भारतले भने पाकिस्तानले जारी गरेको नक्शाको कुनै वैधता नभएको प्रतिक्रिया दिएको छ ।
(एजेन्सी)
काठमाडौं— श्रावण १६, २०७७।
अफगानिस्तानको लोगार प्रान्तमा आत्माघाती कार बम विष्फोटमा परि १७ जनाको मृत्यु भएको छ ।
लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक आत्माघाति चालकले कार बम विष्फोट गराएका जनाईएको छ ।
पुली आलम बजारमा मुस्लिमहरुको महान पर्व इदको लागि किनमेलमा व्यस्त सर्वसाधारणकामाझ विष्फोट गराईदा २१ जना घाइते भएका छन् ।
आजदेखि तीन दिनसम्म इदका लागि तालिवान विद्रोहीले युद्धविराम घोषणा गरेकै दिन शक्तिशाली विष्फोट भएको हो ।
अमेरिकाको सक्रियतामा अफ्गान सरकारसँग शान्ति वार्ताको तयारीमा रहेको तालिवानले भने विष्फोटमा आफ्नो संलग्नता नरहेको बताईसकेको छ ।
अर्को शक्तिशाली आतंकवादी समुह इस्लामिक स्टेटले भने अहिलेसम्म केही प्रतिक्रिया जनाएको छैन ।
(एजेन्सी)
लन्डन — श्रावण १५, २०७७।
‘मानिसमा पाइएको भाइरसको मात्र अध्ययन गरेर हुँदैन, जीवजन्तुमा भेटिने भाइरसको पनि अध्ययन गर्नुपर्छ’
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस दशकौंदेखि चमेरोका शरीरमा रहेको हुन सक्ने बेलायती एक अध्ययनले संकेत गरेको छ । बेलायतमा गरिएको एक अध्ययनमा ४० देखि ७० वर्ष अघिदेखि चमेरोमा कोरोना भाइरस(कोभिड–१९) देखिएको हुन सक्ने बताइएको छ ।
त्यही भाइरस अहिले मानिससम्म पुगेको अध्ययनकर्ताहरुले बताएका छन् । वैज्ञानिकहरुको यो शोधसँगै कोरोना भाइरसका बारेमा चर्चा गरिएको ‘कन्स्पिरेसी थियरी’ पनि फितलो देखिएको छ । यो भाइरस ल्याबमा तयार पारिएको हो भन्ने एकखाले तर्कलाई यो अध्ययनले निराधार देखाएको छ ।
ग्लासगो विश्वविद्यालयका प्राध्यापक डेभिड रोर्बटसनले नेचर माइक्रोबायोलोजी जर्नलमा यससम्बन्धी शोधपत्र प्रकाशित गरेका हुन् । उनका अनुसार अहिलेको विश्वव्यापी महामारी सार्स–कोभ २ भाइरस आनुवंशिक रुपले चमेरोमा पाइने भाइरससँग निकै नजिक रहेको छ ।
समयक्रमसँगै चमेरोमा पाइने भाइरस सार्स–कोभ २ छुट्टिएको पनि प्राध्यापक रोबर्टसनले बताएका छन् । ‘यसको अर्थ यो हो कि, मानिसमा देखिएको कोरोना भाइरस केही समय पहिलेदेखि नै अस्तित्वमा थियो । तर हामीलाई अहिलेसम्म थाहा छैन कि कहिले र कसरी यो भाइरस मान्छेमा प्रवेश गऱ्यो,’ बीबीसीसँगको कुराकानीमा उनले भने, ‘यदि हामीले यसलाई चमेरोमा पाइने आम भाइरसको रुप मान्ने हो भने, हामीले यसबारेमा अझै अध्ययन र निगरानी गर्नुपर्नेछ ।’
भविष्यमा महामारी फैलनबाट रोक्नका लागि मानिसमा पाइएको भाइरस मात्रै होइन, चमेरोमा पाइने भाइरसका बारेमा पनि अध्ययन गर्नुपर्ने उनी बताउँछन् । यदि दशकौंदेखि यो भाइरस अस्तित्वमा रहेको भए अन्य जीवमा पनि उक्त भाइरस भेटिने सम्भावना रहेको उनको दाबी छ ।
यस अनुसन्धानका लागि शोधकर्ताहरुले कोभिड–१९ बाट बिरामी बनाउने सार्स–कोभ २ (Sars-CoV-2) भाइरसको जेनेटिक कोड र यसैसँग मिल्दोजुुल्दो चमेरोमा पाइने भाइरस RATG-13 भाइरससँग तुलना गरिएको थियो । शोधका क्रममा दुवैका पूर्वज एकै पाइएको र विकासक्रमसँगै फरक हुँदै गएको प्राध्यापक रोबर्टसन बताउँछन् ।
रिडिङ विश्वविद्यालयका प्राध्यापक मार्क पेजल पनि उक्त अध्ययनले कोरोना भाइरसको अस्तित्व ४० देखि ७० वर्ष अघिदेखि नै रहेको हुन सक्ने बताउँछन् । ‘जनावरबाट मानिसमा हुने संक्रमणको दायरा कति ठूलो छ भन्ने कुरा यो अनुसन्धानले जनाउँछ । मानिसलाई रोगी बनाउने थुप्रै भाइरस जनावरको शरीमा रहेको हुन पनि सक्छ, जुन हामीलाई थाहै छैन,’ प्राध्यापक पेजलले भने । अनुसन्धानकर्ताहरुले अनुसार एउटा जनवारबाट अर्को जनावरमा भाइरस फैलिएको हुनसक्ने र जंगली जनावरको अवैध कारोबार गर्ने क्रममा मानिसमा सरेको हुनसक्ने बताएका छन् ।
यसअघि सुरुमा अनुसन्धानकर्ताहरुले चमेरो हुँदै कुनै समुद्री जीवमार्फत मानिसमा कोरोना भाइरसको सरेको हुनसक्ने बताएका थिए । तरपछि केही अनुसन्धानकर्ताहरुले भने चमेरोबाट कोभिड–१९ फैलिएको आरोप निराधार र गलत भएको बताएका थिए । दक्षिण एसियाका ६४ जना कायरेप्टेरोलोजिस्ट(चमेरोको अध्ययन गर्ने) हरुले कोभिड–१९ चमेरोबाट फैलिएको कुरा सत्य नभएको दाबी गरेका थिए । केही अध्ययनकर्ता भने चमेरोमा पनि उक्त भाइरस अन्य कुनै जीवबाट सरेको हुनसक्ने सम्भावना रहेको बताउँछन् ।
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर ६ लाख ६७ हजारभन्दा बढीको मृत्यु भएको छ । बिहीबार दिउँसोसम्म कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या एक करोड ७० लाख नाघेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये करिब एक करोड निको भएका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै एक लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा हालसम्म संक्रमित हुनेको संख्या ४४ लाख नाघेको छ भने संक्रमण पुष्टि भएकामध्ये झन्डै १४ लाख निको भएका छन् ।
(कान्तिपुर दैनिक)
एजेन्सी, २४ जेठ । भारत र चीन दुवै देशको सैन्य उपस्थिति सिमा क्षेत्रमा बाक्लो भएको छ । यसलाई कतिपयले युद्धको कालो बादल भनेका छन् । स्थिति असामान्य बन्दै गएको छ । दुवै देशले स्थल र हवाई सैनिक गस्ती सिमा क्षेत्रमा बढाएका छन । यस्तो अवस्थाबीच दुवै देशले वार्ताबाट समाधान निकाल्दैछन् ।
अहिले नेपाली समय अनुसार विहान पौने नौं बजे दुवै देशका लेफ्टिनेन्ट जनरल स्तरीय वार्ता हुँदैछ । तीन तारे जर्नेल तहमा हुने वार्तामा लदाख क्षेत्रमा कमाण्ड गर्ने दुवै देशका ब्रिगेडियर जनरल पनि सहभागी हुनेछन् । सैन्य तहमा वार्ता हुनुलाई अर्थपूर्ण मानिएको छ । विश्वले यो वार्तालाई ध्यानपूर्वक हेरिरहेको छ ।
भारतका तर्फबाट तीन तारे जर्नेल जनरल हरिन्द्र सिंहले वार्ताको नेतृत्व गर्ने जनाइएको छ । उनी सैनिक हेलिकोप्टरबाट लदाखको वार्तास्थल पुग्नेछन् । उनका चिनियाँ समकक्षी गाडीबाट वार्ता स्थल पुग्ने जनाइएको छ ।
यसअघि हिजो भारत र चीन दुवै देशका राजदुतहरुले भिडियो कन्फरेन्समार्फत् शान्तिपूर्ण वार्ताबाट मतभेद अन्त गर्ने सहमति गरेका थिए । उनीहरुले विवाद बढ्न नदिनेमा जोड दिएका थिए ।
लाइन अफ एक्चुअल कन्ट्रोल भनिने भारत र चीनबीचको सिमामा पछिल्लो समय तनाव बढ्दै जाँदा सैन्य तहमा वार्ता हुन लागेको हो ।
लदाखमा चीनले सैन्य बल बढाएको छ । भारतले पनि सैनिक उपस्थिति बढाएको छ । यसले दुवै देशबीच टकरावको स्थिति बनेको थियो ।
भारतले लदाखमा पूर्वाधार विकास तिव्र पारेपछि चीनले सैन्य उपस्थिति बढाएको हो । सिक्किम, उत्तराखण्ड र लदाखमा भारत र चीनबीच विवाद छ । विवाद चर्कंदै जाँदा युद्धको खतरा समेत भएको थियो । यसअघि भारत र चीनबीच सिमा विवाद समाधानका लागि दश पटक वार्ता भइसकेको छ । तर, समस्याको समाधान निस्किएको छैन ।-File Photo: Agency
वासिङटन डिसि, जेठ २० । मेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन्।
प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको हत्यालाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला उनले यस्तो बताएका हुन्।
टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले भने, ‘दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो गर्छु।’
टेलिभिजनमार्फत् सम्बोधन गरेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मीसाथ पैदल गएका थिए। उक्त गिर्जाघरमा प्रदर्शनका क्रममा क्षति पुगेको थियो।
ह्वाइट हाउसबाहिर प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको थियो।ट्रम्पले देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई आह्वान गरेका छन्।
भिडिओ सम्मेलनमा ट्रम्पले दशकौंमा भएको एकदमै खराब अशान्त अवस्थाका माझ गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको बताएका हुन्।
यसैबीच, न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोमोले हिंसा हुन नदिन भन्दै न्यूयोर्कमा राति ११ बजेबाट कर्फ्यू लाग्ने घोषणा गरेका छन्।
बीबीसीका अनुसार फ्लोइडको हत्याका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन्।
स्पेनको बार्सिलोनाबाहेक ब्रिटेन र बर्लिनस्थित अमेरिकी दूतावासबाहिर पनि मानिसहरूले प्रहरीको दमनलाई लिएर विरोध प्रदर्शन गरिरहेका छन्।
एजेन्सी, १३ जेठ । कोरोना भाइरसले आँखाको दृष्टि क्षमता कमजोर भएका केसहरु खुलेका छन् । जसमध्ये बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि हुन् ।
जोनसनले कोरोना भाइरसको संक्रमणपछि आफ्नो दृष्टि क्षमता कमजोर भएको खुलासा गरेका छन् । उनले पहिलोपटक दृष्टि सहजताका लागि चश्मा पहिरिएका छन् ।
चश्मा लगाएका जोनसनले भने, ‘म पहिलोपटक चश्मा पहिरिदैछु । मलाई लाग्छ यो समस्या कोरोना भाइरससँग सम्बन्धित छ ।’
गत महिना जोनसनले कोरोना भाइरसको संक्रमणपछि एक हप्ता अस्पताल भर्ना हुनुपरेको थियो । उनले आफू मृत्युको नजिक पुगेर फर्किएको समेत बताएका थिए ।-File Photo: Agency
२५ मे १९५५ मा कञ्चनजङ्गा हिमालमा पहिलो मानव पाइला पुगेको थियो । ब्रिटिस आरोही चाल्र्स इभान्सको नेतृत्वमा जो ब्राउन र जर्ज ब्यान्ड पनि शिखरमा पुगे । भोलिपल्ट उनीहरुलाई पछ्याउँदै नोरम्यान हार्डी र टोनी स्टे«यथर पनि आइपुगे ।
सगरमाथामा मानव पाइला पुगेको दुई वर्षपछि यो आरोहण सम्भव भएको थियो । २९ मे, १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा चढेका थिए । सन् १८५२ मा सगरमाथालाई विश्वको सर्वोच्च शिखर घोषणा गर्नुअघि नेपाल र सिक्किमको सीमामा पर्ने कञ्चनजङ्गालाई नै सर्वोच्च हिमाल मानिन्थ्यों । तर विभिन्न अध्ययन र ग्रेट ट्रिगोनोमेट्रिकल सर्वेक्षणपछि सन् १८४९ सम्म सगरमाथा नै विश्वको सर्वोच्च शिखर हो भन्ने निष्कर्षमा विज्ञहरु पुगे । सन् १९५६ मा कञ्चनजङ्गालाई विश्वको तेस्रो अग्लो हिमाल भनेर औपचारिक रुपमै घोषणा गरियो ।
पृथ्वीका सर्वाधिक १० अग्ला हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित कञ्चनजङ्गा, लोत्से, मकालु, चो यु, धौलाागिरी, मनास्लु र अन्नपूर्ण नेपालमा पर्छन् । विश्वको दोस्रो ठूलो शिखर के टु पाकिस्तान–चीन सीमामा पर्छ भने नवौँ अग्लो शिखर नान्गा पर्वत भारतमा पर्छ ।
महत्त्वपूर्ण घटनाक्रम
सन् १९६१ – अमेरिकी राष्ट्रपति जोन अफ केन्नडीद्वारा अन्तरिक्ष अभियानको सुरुवातका लागि लाखौँ डलर घोषणा, वर्ष १९७० सम्म चन्द्रमामा पुग्ने लक्ष्य ।
सन् १९६३ – अफ्रिकी देशलाई एकजुट गर्ने लक्ष्यसहित ३२ देशद्वारा अफ्रिकी संघ गठन ।
सन् १९९८– परमाणु परीक्षण गरेको भारतलाई प्रतिबन्ध लगाउनका लागि युरोपेली युनियनअन्तर्गतका देशहरु सहमत ।
सन् २०१३– जापानका ८० वर्षीय युइशिरो मिडराद्वारा ८० वर्षको उमेरमा सगरमाथा आरोहण ।
न्यूयोर्क, जेठ १२ । पछिल्ला १४ दिनमा ब्राजिल यात्रा गरेका विदेशी नागरिकहरूलाई अमेरिकाले आफ्नो देश छिर्नमा प्रतिबन्ध लगाएको छ।तीन लाख ६० हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएसँगै उक्त दक्षिण अमेरिकी देश हालै विश्वको दोस्रो ठूलो केन्द्र बनेको छ।त्यहाँ २२ हजार भन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन्।यस्तो प्रतिबन्धलाई ह्वाइटहाउसकी एकजना प्रवक्ताले अमेरिकामा नयाँ सङ्क्रमण नभित्र्याउने कार्य सुनिश्चित गर्ने उपाय बताइन्।दुई देशबीचको व्यापारमा भने यस प्रतिबन्धले असर नगर्ने बताइएको छ।प्रतिबन्धले अमेरिकी नागरिक, उनीहरूका श्रीमानरश्रीमती, अभिभावक, कानुनी संरक्षक, अमेरिकी नागरिकका सन्तान वा कानुनी रूपमा स्थायी आवासीय अनुमति भएका र २१ वर्ष मुनिका तिनका धेरैजसो दाजुभाइ एवं दिदीबहिनीहरूलाई भने रोक्नेछैन।
यसअघि आइतवार ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्टो ब्राइनले यसैगरी अन्य देशहरूलाई समेत पालैपालो हेरिने बताएका थिए। बीबीसीका अनुसार अमेरिकामा अहिले सबैभन्दा धेरै १६ लाखभन्दा बढी सङ्क्रमित पुष्टि हुनुका साथै झण्डै एक लाख मानिसहरूले ज्यान गुमाएका छन्। यसअघि नै चीन, इरान, युरोपको सेन्जेन क्षेत्र, ब्रिटेन र रिपब्लिक अफ आयरल्याण्ड भ्रमण गर्नेहरूलाई अमेरिकामा प्रतिबन्ध लगाइएको छ। क्यानडा र अमेरिकाले समेत हालै दुई देशको सीमामा अत्यावश्यक बाहेकका यात्राका लागि जारी बन्द लम्ब्याउने सहमति गरेका छन्। ब्राजिलले हालै पुष्टि भएका भाइरस सङ्क्रमितको सङ्ख्याका आधारमा रूसलाई उछिनेको थियो। तर राष्ट्रपति जइर बोल्सोनारोले भने बारम्बार भाइरसले उत्पन्न गराएको जोखिमलाई नकार्दै आएका छन्।
एजेन्सी, ११ जेठ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रमुख सल्लाहकार पत्नीसँग ४२० किमि यात्रा गरेपछि विवादमा परेका छन् । बेलायतमा लकडाउन भइरहँदा डोमिनिक कुमिङ्सले पत्नीसँग उक्त यात्रा गरेका थिए ।
आफ्ना बाबुआमासँगै बस्न भन्दै डोमिनिकले उक्त यात्रा गरेको उल्लेख छ । बेलायतमा पारिवारिक भेटघाटका लागि यात्रा गर्न बन्देज लगाइएको छ । तर, डोमिनिकले यात्रा गरेको द गार्जियन र डेली मिरर पत्रिकाले खुलासा गरेका छन् ।
प्रधानमन्त्रीकै सल्लाहकारले लकडाउन उल्लंघन गरेको भन्दै हटाउन दबाब परेको छ । उनको पद धरापमा परेको छ । विपक्षीय दलहरुले लकडाउन नियम उल्लंघन गरेको भन्दै बेलायती जनताका लागि र प्रधानमन्त्रीका सल्लाहकारका लागि फरक नियम हुन नहुने भनेका छन् ।-Photo Source: AFP