वासिङटन— भाद्र ३, २०७७।
अमेरिकामा चुनाव नजिकिँदै गर्दा राष्ट्रपति डोनल्ड ट्रम्पमाथि विभिन्न टिप्पणी र आलोचना हुन थालेका छन् । हालै डेमोक्रेटिक पार्टीको अधिवेशनको क्रममा सिनेटर बर्नी स्यान्डर्सले ट्रम्पमाथि कडा आलोचना गरे । स्यान्डर्सले ट्रम्पलाई अमेरिकामा लोकतन्त्रका लागि नै खतरा व्यक्तिको रुपमा चित्रित गरे । यस्तै विज्ञानलाई ट्रम्पले गर्ने उपेक्षाले अर्थ व्यवस्था र अमेरिकीको जीवन नै जोखिममा पारेको उनको भनाइ थियो ।
सोमबार सुरु भएको चारदिने अधिवेशनमा डेमोक्रेटिकका प्रभावशाली नेताहरुले आफ्नो धारणा राखेका छन् । कोभिड १९ महामारीका बावजुद भर्चुअल रुपमा नेताहरु अधिवेशनमा सहभागी बनेका छन् । उक्त अधिवेशन आगामी नोभेम्बरमा हुने चुनावमा उम्मेदवारहरुको घोषणा गर्न आयोजना भएको हो ।
अधिवेशनकै क्रममा पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले ट्रम्प यस समयकै गलत राष्ट्रपति भएको टिप्पणी गरेकी थिइन् । डेमोक्रेटिकले राष्ट्रपतिको उम्मेदवारको रुपमा जोए बाइडेनलाई चयन गरिसकेको छ । जो पूर्व उपराष्ट्रपति पनि हुन् । यस्तै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस उम्मेदवार बनेकी छन् ।
सिनेटर स्यान्डर्सले अधिवेशनको क्रममा ट्रम्पले देशमा अधिनायकवादलाई बलियो बनाउँदै गरेको आरोप लगाएका थिए । ७७ वर्षीय स्यान्डर्स उम्मेदवार चयनको क्रममा पार्टीभित्र बाइडेनसँग हारेका थिए ।
स्यान्डर्सले अघि थपेका छन्, ‘राष्ट्रपति लोकतन्त्रका लागि खतरा मात्रै हैनन्, उनले विज्ञानलाई अस्वीकार गर्दै हाम्रो जीवन र स्वास्थ्यलाई जोखिममा धकेलेका छन् । ट्रम्पले महामारीमा हामीलाई जोगाउन खोज्ने चिकित्सक र वैज्ञानिकलाई आक्रमण गरेका छन्, जब कि, मास्क, गाउन र अन्य स्वास्थ्य सामग्री उत्पादनमा कडा कदम चाल्न स्वीकार गर्दैछन् ।’
स्यान्डर्सले ट्रम्पलाई पहिलो शताब्दिका शासक निरोसँग पनि तुलना गरे । जो इटालीको रोम सहर जलिरहेका बेला बाँसुरी बजाएर बसेका थिए भनिन्छ । ‘जब रोम जलिरहेको थियो, निरो बाँसुरी बजाइरहेका थिए । ट्रम्प चाहिँ गल्फ खेलेर बसिरहेका छन् । उनको कार्यले महामारीलाई प्रश्रय दियो । जसले गर्दा १ लाख ७० हजारको मृत्यु भयो, र राष्ट्र जनतालाई जोगाउन अझै तयार भइसकेको छैन,’ स्यान्डर्सले भने । यो खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।
काठमाडौं — भाद्र ३, २०७७।
पश्चिम अफ्रिकी मुलुक मालीमा सरकारी सेनाबाटै विद्रोह भएको छ ।
सरकारसँग असन्तुष्ट सैनिकहरुको एक समुहले राष्ट्रपति इब्राहिम बुबाकर केईटा र प्रधानमन्त्री बुबो सिस्सेलाई बन्दी बनाएका छन् ।
बागी सैनिकहरुले राजधानी बामाकोदेखि ११ किलोमिटरको दुरीमा रहेको एक सैनिक शिविरमा उनीहरुलाई राखेका छन् ।
राष्ट्रप्रमुखसहित अन्य शिर्ष अधिकारीहरुलाई नियन्त्रणमा लिनुअघि उनीहरुले कटी सैनिक अखडा आफ्नो कब्जामा लिएका थिए । सरकारी सेनाका कर्णेल मालिक डियाको नेतृत्वमा विद्रोह गरिएको हो ।
उनीहरुको मागबारे केही खुलाईएको छैन भने बागी सैनिकहरुसँग कति सेनाको साथ रहेको छ भन्नेबारे पनि अन्योल छ । मालीमा सेना र सरकारबिच लामो समयदेखि दुरी बढीरहेको थियो ।
सैनिकहरुलाई तलब र अन्य सेवा सुविधा र देशमा बढ्दो जिहादी समुहसँग राष्ट्रपतिको सम्बन्धलाई लिएर लगातार टिकाटिप्प्णीहरु भईरहेका थिए ।
यसैबिच अफ्रिकी राष्ट्रहरुको समुह ‘इकोवास’ले यो घटनालाई सैनिकबाटै गरिएको ‘कु’ को प्रयास भनेको छ ।
नियन्त्रणमा लिइएका राष्ट्रपति लगायत सम्पूर्णलाई तत्काल रिहा गर्नुपर्ने इकोवासको माग छ ।
परिस्थती साम्य नभएसम्म १५ सदस्यीय इकोवासका हरेक देशले मालीसँगको सिमा बन्द गरेका छन् भने आर्थिक कारेबार पनि रोक्ने जनाएका छन् ।
(एजेन्सी)
काठमाडौं — भाद्र २, २०७७।
नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नामा नाइजेरियाली सेनाले गरेको हवाइ हमलामा बोको हरामका धरै लडाकूहरु मारिएका छन् ।
सेनाका प्रवक्ता जो इन्जेले एक विज्ञप्ती निकालेर आतंककारी समूहका क्याम्पमा हमला गरेको जनाएका छन् ।
उक्त हमलामा आतंककारीहरुका सैन्य गतिविधि, बन्दोबस्तीका सामान तथा अन्य महत्वपूर्ण दस्तावेजहरु क्षतिग्रस्त भएको सरकारी सेनाको दावी छ ।
सेनाले नाइजेरियामा जारी हिंसा अन्त्यका लागि आतंकवादी र अन्य आपराधिक तत्वहरुको उन्मूलन गर्न आफ्नो प्रयासलाई निरन्तरता दिने जनाएको छ ।
सन् २००९ देखि विद्रोही समूह बोको हरामले उत्तरपूर्वी नाइजेरियामा इस्लामी राज्य स्थापना गर्न संघर्ष गरीरहेको छ ।
साथै अन्य देशहरुमा पनि आफ्ना सैय गतिविधिलाई बिस्तार गर्दै हमलाका श्रृंखलाहरु जारी राखेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
(एजेन्सी)
वासिङ्टन — भाद्र २, २०७७।
अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
आसन्न राष्ट्रपति निर्वाचनको सम्मुखमा राष्ट्रपतिका उम्मेदवारलाई परिचय गराउनेदेखि पार्टीको रणनीति बनाउन सम्मेलन आयोजना गरिएको हो ।
कोरोना भाइरसको महामारीका कारण डेमोक्रेटहरुको सबैभन्दा ठूलो सम्मेलन यसपटक भौतिक रप्मा हुन सकेको छैन र पूर्ण रुपमा भर्च्युअल रुपमा हुँदैछ ।
चार दिनसम्म चल्ने सम्मेलनले आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट जो बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गर्ने छ ।

जो बाइडेनले उपराष्ट्रपतिमा सिनेटर कमला ह्यारिसलाई चयन गरिसक्नुभएको छ । यस सम्मेलनले बाइडेन र ह्यारिस दुबैलाई पार्टीको औपचारिक उम्मेदवार घोषणा गर्नुका साथै पार्टी रणनीतिबारे विस्तृत योजना पनि बनाउने छ ।
सम्मेलनमा डेमोक्रेट पार्टीका शीर्ष नेताहरुले सम्बोधन मात्र गर्ने छैनन्, जो बाइडेनको पक्षमा एकै आवाज बनाएर निर्वाचनमा होमिने रणनीति बनाइएको छ ।
यसका साथै सम्मेलनका केही रिपब्लिकन नेताहरुले पनि सम्बोधन गर्ने जनाइएको छ ।
नोभेम्बर ३ मा हुने निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र माइक पेन्ससँग प्रतिस्पर्धाका लागि जो बाइडेन र कमला ह्यारिसले पूर्ण तयारी गरेका छन् ।
कोभिड–१९ का कारण यस वर्ष धेरैले हुलाकमार्फत् मतदान गर्नुपर्ने देखिएको छ भने राष्ट्रपति ट्रम्पले त्यसको विरोध गर्दै आएका छन् ।
(एजेन्सी)
वासिङटन, २ भाद्र ।
चुनावी अभियानमा व्यस्त अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जोडी यतिबेला अर्को एक फरक घटनाका कारण चर्चामा छन् । घटना सानै हो । र निजी पनि । यही आइतबार ट्रम्प र उनकी पत्नी मेलानिया एक कार्यक्रममा जाने क्रममा विमानबाट ओर्लँदै थिए । ओर्लँदै गर्दा मन्द हावाको सिरेटोले उनीहरुको कपाल र कपडा अव्यवस्थित बनाइदिएको थियो ।
हावाको झोक्काले मेलानियाको त कपालले पूरै अनुहार छोपिदिएको थियो । उनी दायाँ हातले कपाल मिलाउँदै वायाँ हातले ब्याग समातिरहेकी थिइन् । यस्तैमा ट्रम्पले उनको वायाँ हात समात्न खोजे । कोटको टाँक मिलाएर ट्रम्पले जब मेलानियाको हात समात्न खोज्दै थिए, मेलानियाले ट्रम्पको हात बिस्तारै हुत्याइदिइन् । एक पटक हैन, पटक पटक मेलानियाको हात समात्ने ट्रम्पको प्रयास विफल बन्यो ।
यस्तो रोचक दृश्य देखिने भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोबारे अनेक टिप्पणी हुन थालेको छ । खासमा मेलानियाले किन ट्रम्पको हात समात्न इन्कार गरेकी थिइन् । त्यसो त, ट्रम्पले मेलानियाको हात समात्न खोजेको र मेलानियाले इन्कार गरेको यो पहिलो पटक हैन ।
यसअघि २०१९ मा पनि उनीहरुको यस्तै भिडियो सार्वजनिक भएको थियो । ट्रम्प र मेलानिया सँगै उभिएर फोटो खिच्ने क्रममा ट्रम्पले हात समात्ने प्रयास गरेको र मेलानियाले इन्कार गरेको तस्बिरले यसै गरी सामाजिक सञ्जालमा चर्चा पाएको समाचार अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।
काठमाडौं — भाद्र २, २०७७।
चीनको क्यानसिनो बायोलोजिक्स इंक कम्पनीले कोभिड १९ को भ्याक्सिनकालागि प्याटेन्ट स्वीकृती पाएको छ। एडी५एनसीओभी (Ad5-nCOV) नामक भयक्सिनकालागि क्यानसिनोलाइ सो अनुमती दिइएको हो।
चीनबाट प्याटेन्ट पाउने यो पहिलो कोभिड १९ भ्याक्सिन भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उक्त प्याटेन्ट अगस्ट ११ मा जारी गरिएको थियो।
क्यानसिनोको भ्याक्सिनकालागि साउदी अरबीयाले तेश्रो चरणको परीक्षण सुरुवात गर्ने योजना बनाएको छ। क्यानसिनोले सो परीक्षण रसिया, ब्राजिल तथा चिलीमा पनि लन्च गर्ने विषयमा पनि छलफल गरेको छ।
सोमबार बिहान क्यानसिनोको हङकङको शेयर करिब १४ प्रतिशतले बढेको छ। कम्पनीको शांघाई शेयर भने मध्यान्नसम्ममा ६।६ प्रतिशतले वृद्धि भएको छ।
काठमाडौं — भाद्र १, २०७७।
महाराष्ट्रमा मात्रै २० हजारको मृत्यु
भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनको संख्या ५० हजार नाघेको छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ सय ४१ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५० हजार ९ सय २१ पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५७ हजार ९ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ६ सय ६३ पुगेको छ ।
कोरोना पुष्टि भएकामध्ये भारतमा निको हुनेको संख्या १९ लाख १९ हजारभन्दा बढी रहेको छ ।
कोरोना भाइरसबाट सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा संक्रमितको संख्या ५ लाख ९५ हजारभन्दा बढी नाघेको छ । महाराष्ट्रमा मात्रै कोरोनाबाट २० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा थप ११ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने थप २ सय ८८ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड १६ लाखभन्दा बढी नाघेको छ । त्यस्तै कोरोनाबाट अहिलेसम्म करिब ७ लाख ७५ हजारको मृत्यु भएको छ । कोरोना पुष्टि भएकामध्ये अहिलेसम्म एक करोड ३६ लाखभन्दा बढी निको भएका छन् ।
(कान्तिपुर दैनिक)
काठमाडौं — भाद्र १, २०७७।
अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।
अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतबार राति साढें १२ बजे शहरको अभोन्डेलमा गोली लागेर २१ वर्षीय एन्टोनियो ब्लेयरको ज्यान गएको थियो ।
शहरका अन्य भागमा गोली लागेका अरु तीन जनाको पनि युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
स्थानीय संचारमाध्यहरुले आपराधिक गिरोहबाट भएका यी घटनाहरु शहरका अलग अलग ठाउँमा भए पनि निकै डरलाग्दो देखिएको बताएका छन् ।
सहायक प्रहरी प्रमुख पल नुडिगेटले उक्त घटनाहरुका बारेमा अनुसन्धान भइरहेको बताउनुभएको छ । सिन्सिनाटीका प्रहरी प्रमुखले हिंसा नियन्त्रणका लागि पर्याप्त सहयोग गर्न स्थानीयवासीसँग आग्रह गर्नुभयो ।
प्रहरीले प्रभावित इलाकाहरुमा जनधनको सुरक्षाका लागि थप प्रहरी परिचालन गर्ने जनाएको छ । गैरकानुनी हातहतियार र शंकास्पद व्यक्तिका बारेमा निगरानी बढाउन प्रहरीले संघीय निकायहरुसँग आग्रह गरेको छ ।
सिन्सिनाटी नगरका मेयर जोन क्रान्लीले बन्दुकको भरमा हुने यस्ता हिंसाले निर्दोष आम मानिसको जीवन खतरामा पार्ने भएकाले नागरिक र प्रहरी दुबै मिलेर हिंसा नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ ।
(एजेन्सी)
नयाँदिल्ली — भाद्र १, २०७७।
भारतीय पूर्वक्रिकेटर चेतन चौहानको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । जुलाई १९ मा कोरोना पुष्टि भएका ७३ वर्षीय चौहानको आइतबार उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनको स्वास्थ्य अवस्था जटिल भएपछि करिब ३६ घण्टादेखि भेन्टिलेटरमा राखिएको थियो ।
सुरुमा लखनउस्थित अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गुरुग्रामस्थित मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । उनको मिर्गौलामा पनि समस्या देखिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
चौहान उत्तर प्रदेश सरकारमा सैनिक कल्याण, होमगार्ड तथा नागरिक सुरक्षामन्त्री पनि थिए । उनी उत्तर प्रदेशको अमरोहा क्षेत्रबाट दुई पटक लोकसभा सदस्यमा समेत निर्वाचित भएका थिए । कोरोना संक्रमणबाट उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको पनि मृत्यु भएको थियो ।
सन् १९६९ देखि १९८१ सम्म भारतीय क्रिकेट टिमबाट चौहानले ४० वटा टेस्ट म्याच र ७ वटा एकदिवसीय खेल खेलेका छन् । उनले टेस्टमा १६ अर्धशतकसहित २ हजार ८४ रन बनाएका छन् । चौहानले दुई दशकसम्म महाराष्ट्र र दिल्ली गरी रणजी ट्रफी खेलेका थिए ।
(कान्तिपुर दैनिक/ एजेन्सी)
नयाँदिल्ली — श्रावण २९, २०७७।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । हिन्दुस्तान टाइम्सले दिल्लीस्थित सैनिक अस्पताललाई उद्धृत गर्दै मुखर्जी कोमामा गएको उल्लेख गरेको छ ।
केही दिनदेखि अस्पतालमा उपचाररत मुखर्जीको 'भाइटल प्यारामिटर' भने स्थिर रअको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार नआएको र भेन्टिलेटरमै उपचार भएको पनि अस्पतालले जनाएको छ ।
पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैबीच 'मुखर्जीको मृत्यु' भएको भन्ने अफवाहको परिवारले खण्डन गरेको छ । मुखर्जीको छोरी शर्मिष्ठा मुखर्जीले ट्वीट गर्दै भनेकी छिन्, 'मेरो बुवाबारे फैलाइएको हल्ला अफवाह हुन् । खासगरी मिडियालाई मलाई फोन नगर्न आग्रह गर्छु । अस्पतालबाट आउने सूचनाका लागि मैले फोन फ्रि राख्नुपर्ने हुन्छ ।'
त्यस्तै मुखर्जीका छोरा अभिजितले पनि ट्वीट गर्दै बुवा जीवितै रहेको बताएका छन् । 'मेरो बुवा प्रणव मुखर्जी जीवित हुनुहुन्छ । रक्तसञ्चारमा समस्या देखिएपछि उहाँको अवस्था स्थिर छ । केही सम्मानित पत्रकारबाटै सामाजिक सञ्जालमा अड्कलबाजी लगाउने र अफवाह फैलाउने कामबाट भारतका मिडिया फेक न्युजको फ्याक्ट्री बनिसकेको देखिन्छ,' अभिजितले ट्वीटमा लेखेका छन् ।
यसअघि अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको आफूलाई कोरोना पुष्टि भएको बताएका थिए । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका छन् । पूर्वराष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका थिए ।
भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।
(एजेन्सी/कान्तिपुर दैनिक)