world
||Power News Asia||

आजको समाचार

कतारमा संक्रमितबाट बच्‍न मोबाइल एप

विश्व


काठमाडौं — भाद्र १५, २०७७ । 

कतारमा घरबाहिर निस्किएको कोरोना भाइरस संक्रमितबारे जानकारी दिन मोबाइल एप प्रयोगमा ल्याइएको छ । ‘ऐतेराज एप’ को प्रयोगले भाइरस नियन्त्रणमा ठूलो मद्दत पुगेको कतारको दाबी छ ।

कतार सरकारका अनुसार भाइरस संक्रमित व्यक्ति स्वस्थ मानिस नजिक आए सतर्क रहन सन्देश दिन्ने गर्छ । एप डाउनलोड गरी आफ्नो स्वास्थ्य अवस्थाबारे विवरण अद्यावधिक गरेपछि यस्तो सन्देश आउने गर्छ । कोरोना भाइरस समुदायमा फैलिन नदिन यस्तो एप बनाइएको सरकारको भनाइ छ । एप कार्यान्वयनमा आएसँगै कतार हरेक दिन संक्रमितको संख्या घट्दो छ । कतारमा आइतबार १ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजका अनुसार सबै आप्रवासी र नागरिकका लागि ऐतेराज एपको प्रयोग अनिवार्य गरिएको छ । ‘यो एप डाउनलोड गरेपछि चारथरीको बारकोड आउँछ । स्वाब लिइएको व्यक्तिबारे जानकारी दिन खैरो, पोजिटिभ भए रातो, आइसोलेसनमा बसेको भए पहेँलो र नेगेटिभ देखिएको भए हरियो रङको बारकोड मोबाइलमा आउँछ,’ उनले भने, ‘त्यसअनुसार आफूले व्यवहार हुन्छ ।’

पोजिटिभ देखिएर ४३ दिनपछि निको भएका करिमबक्स मियाँले यो व्यवस्थाले आफूलाई मानसिक रूपमा दरिलो बनाएको बताए । ‘यहाँ परिचयपत्र हेर्दैन । मोबाइलमा ऐतेराज छ कि छैन हेर्छ । हरेक व्यक्तिसँग अनिवार्य रूपमा ऐतेराज हुनैपर्छ,’ उनले भने, ‘हरियो रङ हुनैपर्ने मान्यता विकास हुँदा निकै सहज भएको छ ।’

उनले यस्तै प्रविधिको प्रयोगले बिनालकडाउन कोरोनासँग जुध्न कतार सफल भएको वताए । ‘जहाँ कोरोनाको संक्रमण ज्यादा देखियो । त्यो क्षेत्रलाई केही समय सिल गरेको छ । रेस्टुरेन्टबाट खाना लैजान पाइएको छ । निर्माण क्षेत्र एक दिन बन्द गरिएन,’ उनले भने । पछिल्लो समय भाइरसको संक्रमण नियन्त्रण उन्मुख भएसँगै कतारले भदौ १६ देखि सबै खालको जमघाट खोल्ने तयारी गरेको छ ।

उच्चस्तरीय संकट व्यवस्थापन समितिको पूर्वनिर्धारत तयारीअनुसार विवाह समारोह, मस्जिदमा प्रार्थना, व्यावसायिक भेला, सेमिनार, कर्न्सट, वस–रेल सेवा, नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । ‘हरेक दिन पोजिटिभको संख्या घटिरहेको छ । उच्च तहमा संक्रमण फैलिएको थियो । त्यसको जालोलाई तोड्न सकियो,’ समितिले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली जनसम्पर्क समिति, कतारका पूर्वसभापति विमल सुवेदीले कतारमा उकुसमुकुसको वातावरण सकिएको बताए । ‘एक समय यस्तो आयो कि हरेक दिनै डरैडरमा बित्यो । के गर्ने, के नगर्ने भन्नेमा चिन्तित थियौं । रोजगारीको अवसर के हुन्छ भन्ने अनिश्चिय थियो,’ उनले भने, ‘यी सबै चिन्ता दूर भयो । कतारले साँच्चिकै कोरोना नियन्त्रणमा आफूलाई अब्बल देखायो ।’

(कान्तिपुर दैनिक)

इब्रु टिमटिक : जसले न्यायका लागि भोकै लडेको २३८औं दिनमा प्राण त्यागिन्

विश्व


यस वर्ष टर्कीमा भोकहड्ताल बसेका ३ संगीतकर्मीसहित ४ जनाको मृत्यु भएको छ ।

काठमाडौं — भाद्र १५, २०७७ । 

आफू र केही साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणका लागि लड्दालड्दै कुर्दिस–टर्किस मानवअधिकारवादी वकिल इब्रु टिम्टिकको मृत्यु भएको छ ।

आफू र साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणको माग गर्दै भोकहडतालमा बसेकी टिमटिकको अगस्ट २७ मा मृत्यु भएको हो । भोकहडताल बसेको २३८औं दिनमा उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

४२ वर्षीया टिमटिक, टर्की सरकारको आलोचना गरेकै आरोपमा जेल सजाय भोगिरहेका व्यक्तिहरुको मुद्दा लड्ने १८ जना वकिलहरुको समूहकी एक सदस्य थिइन् । जसलाई सन् २०१७ को सेप्टेम्बरमा पक्राउ गरिएको थियो । भोकहड्तालका कारण टिमटिक निकै दुब्लाएकी थिइन् । मृत्यु हुने बेला उनको शरीरको तौल मात्रै ३० किलो भएको उनका साथीहरुले बताएका छन् ।

टिमटिक र उनका साथी आयटाक उन्साललाई इस्तानबुलको सिलिव्री जेलमा राखिएको थियो । स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि उनीहरुलाई अस्पताल सारिएको थियो । गत फेब्रुअरीमा उनीहरुले जेलमै भोकहड्ताल सुरु गरेका थिए ।

टर्कीको प्रतिपक्षी पार्टी पिपुल्स डेमोक्रेटिक पार्टीका सांसद गारो पेलानले ‘सत्तामा रहेका तानाशाहहरुले टिमटिकको हत्या’ गरेको आरोप लगाएका छन् । टिमटिकको मृत्युपछि उनको समर्थनमा टर्कीमा विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । ‘इब्रु टिमटिक अमर छिन्’ भन्दै उनको समर्थनमा धेरै ठाउँमा प्रदर्शन भइरहेको छ ।

गत अक्टोबरमा टर्कीको पुनरावेदन अदालतले टिमटिकसहित १८ जनालाई तल्लो अदालतले सुनाएको लामो जेल सजायको फैसललाई सदर गरेको थियो । उनीहरुलाई प्रतिबन्धित माक्र्सवादी संगठनमा आबद्ध भएको आरोपमा मुद्दा चलाइएको थियो । टिमटिक र अन्य १७ जना वकिललाई क्रान्तिकारी जनमुक्ति पार्टी फ्रन्ट(डीएचकेपीसी) सँग आबद्ध भएको आरोप लागेको थियो । उक्त संगठनलाई टर्की, अमेरिका र युरोपेली युनियनले आतंकवादी संगठनको संज्ञा दिएका थिए ।

टिमटिकलाई १३ वर्ष ६ महिना र उन्साललाई १० वर्षभन्दा बढी जेल सजाय सुनाइएको थियो । वकिलहरुको समूहले भने आफूहरुमाथि लगाइएको मुद्दामा अदालतले विश्वसनीय प्रक्रिया नचालेको भन्दै पुनरावेदन अदालत गएका थिए । तर पुनरावेदनले तल्लो अदालतको फैसलालाई नै सदर गरिदिएको थियो ।

यसै वर्ष वामपन्थी विचारधारामा आस्था राख्ने लोक ब्यान्डका दुई जना संगीतकारको पनि भोकहड्तालकै क्रममा मृत्यु भएको थियो । गत अप्रिल ३ मा सांगीतिक समूह ‘ग्रुप योरम’ २८ वर्षीया गायिका हेलिन बोलेकको भोकहड्तालका क्रममा मृत्यु भएको थियो । प्रतिरोधि गीत गाएकै आरोपमा उनीहरुको सांगीतिक समूहलाई प्रतिबन्ध लगाइएको थियो । भोकहड्तालका क्रममा उनको २८८औं दिनमा उनको मृत्यु भएको थियो । त्यस्तै उक्त समूहकै सदस्य इब्राहिम गोकेकको पनि गत मेमा भोकहड्ताल बसेको ३२३औं दिनमा मृत्यु भएको थियो ।

त्यस्तै गत अप्रिलमै अर्का संगीतकार मुस्तफा कोकाकको पनि भोकहड्तालकै क्रममा मृत्यु भएको थियो । भोकहड्ताल सुरु गरेको २९७औं दिनमा उनको मृत्यु भएको थियो ।

टर्कीमा मानवअधिकार हननका घटना बढ्दो

टर्कीमा सरकारको आलोचना गर्ने विभिन्न समूहका हजारौं व्यक्तिलाई आतंकवादी मुद्दामा जेलमा राखिएको मानवअधिकारीवादी संस्थाहरुले बताएका छन् । कुर्दिस्तान वर्कर्स पार्टी, फेतुल्लाह गुलेन मुभमेन्टगायतलाई टर्कीमा प्रतिब्न्ध लगाइएको छ । सन् २०१६ मा यी समूहले टर्कीमा सत्ता पल्टाउन ‘कु’ को प्रयास गरेको सरकारले आरोप लगाउँदै आएको छ ।

ह्युमन राइट्स वाचाका अनुसार पछिल्ला ४ वर्षमा टर्कीमा मानवअधिकार हननका घट्ना निकै बढेको छ । राष्ट्रपति रेचेप तैय्यप एर्दोआन नेतृत्वको सरकारलाई प्रजातान्त्रिक पद्धतिलाई लत्याउँदै तानाशाही प्रवृत्तिमा शासन चलाइरहेको आरोप लाग्दै आएको छ ।

टर्कीमा पछिल्लो समय न्यायपालिकामाथि कार्यकारी नियन्त्रण राजनीतिक प्रभाव बढाउँदै लगिएको छ । जसले गर्दा अदालतले बिना प्रमाण विभिन्न व्यक्तिलाई आपराधिक गतिविधिमा संलग्न भएको भन्दै दोषी ठहर गर्दै आएको ह्युमन राइट्स वाचले जनाएको छ । सरकारको आलोचना गर्ने पत्रकार, प्रतिपक्ष दलका नेता कार्यकर्ता, अभियन्त्रा र मानवअधिकारकर्मीहरु यसको निसानामा पर्दै आएका छन् ।

(कान्तिपुर दैनिक)

लद्दाखमा चिनियाँ सेनाले सहमति उल्लंघन गर्‍यो : भारतीय सेना

विश्व


विवाद समाधानका लागि ब्रिगेड कमान्डर तहमा छलफल जारी

काठमाडौं — भाद्र १५, २०७७ । 

चीन र भारतीय सेनाबीच सीमावर्ती इलाका लद्दाखमा पुन: तनाव सिर्जना भएको छ । भारतीय सेनाले सीमामा चिनियाँ सेनाले उक्साहटपूर्ण क्रियाकलापलाई बढावा दिएको बताएको छ ।

भारतीय सेनाका जनसम्पर्क अधिकृत कर्णेल अमन आनन्दले विज्ञप्ति जारी गर्दै अगस्ट २९ को राति चिनियाँ सेनाले दुई देशबीच भएको सहमति उल्लंघन गर्दै सैन्य गतिविधि अघि बढाएको उल्लेख गरेका छन् ।

भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा चीनको जनमुक्ति सेना (पीएलए)ले उक्साउने खालका गतिविधि गरेको र भारतीय सेनाले रोकेको उल्लेख गरिएको छ । भारतीय सेनाले विवादको समाधानका लागि ब्रिगेड कमान्डरको तहमा छलफल भइरहेको पनि जानकारी दिएको छ ।

भारतीय सेनाले यसअघि दुई देशबीचका सैनिक अधिकारीबीच भएको सहमति उल्लंघन गरिएको आरोप लगाएको छ ।

भारतीय मिडियाहरूले सरकारी स्रोतको हवाला दिँदै दुवै देशका सेनाबीच झडप भएको उल्लेख गरेका छन् । चीनको सेनाले भारतीय क्षेत्रमा आएर बस्न खोज्दा झडप भएको उनीहरूले लेखेका छन् । दुई देशका सेनाबीच भएको झडपमा कुनै मानवीय क्षति नभएको भारतीय सेनालाई उल्लेख गर्दै सञ्‍चारमाध्यमले उल्लेख गरिरहेका छन् । चीनको पक्षबाट यस विषयमा कुनै जानकारी सार्वजनिक भएको छैन ।

यसअघि असार पहिलो हप्ता भएको भारतीय र चीनका सेनाबीच भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

त्यसपछि दुवै देशका सेना र विदेशमन्त्रीस्तरीय छलफलपछि दुवै देशले सीमामा एक अर्कालाई असर पुग्ने खालका गतिविधि रोक्ने सहमति भएको थियो ।

(कान्तिपुर दैनिक)

जर्मनीमा कोरोना नियन्त्रणमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध सयौँ मानिस सडकमा

विश्व


काठमाडौँ — भाद्र १४, २०७७। 

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लगाइएको प्रतिबन्धका बाबजुदमा जर्मनीमा सयौँ मानिस सडकमा उत्रिएका छन् ।

कोरोना रोकथामका नाममा सरकारले अव्यवहारिक प्रतिबन्ध कायमै गरेको भन्दै जर्मनीको राजधानी बर्लिनमा दुई समूहले आयोजना गरेको प्रदर्शनमा ६८ हजारभन्दा बढी मानिस सहभागी भएको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीहरुले सरकारले लगाएको प्रतिबन्धहरु खारेज हुनुपर्ने माग गरेका छन् । कोरोना महामारी बढिरहेका बेला प्रदर्शन भएपछि प्रहरीले त्यसलाई रोक्ने प्रयत्न गरेको थियो । सो क्रममा झडपसमेत भएको छ ।

झडपमा प्रहरीले ३ सयभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । जर्मन अखबार डाएचे वेलेका अनुसार विरोध प्रदर्शनमा भएका झडपमा केही प्रहरी घाइते पनि भएका छन् ।

सुरूवाती चरणमा कोरोना भाइरसको नियन्त्रणका लागि लगाइएको लकडाउन केही खुकुलो बनाइएलगत्तै संक्रमण फैलिन थालेपछि जर्मनीमा फेरि कडाइ गरिएपछि सर्वसाधारण सडकमा उत्रिएका हुन् ।

-रेडियो एनआरएन/Photo Source: Aljazeera

वुहानका विद्यालय मंगलबारदेखि खुल्ने

विश्व


वुहान — भाद्र १४, २०७७। 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सुरु भएको चीनको वुहान राज्यका सम्पूर्ण विद्यालयमा मंगलबारदेखि पठनपाठन पुनः सञ्चालन हुने भएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार वुहानका २ हजार ८ सय ४२ विद्यालयमा पढाइ सुरु गर्न लागिएको हो । भाइरसको संक्रमण फैलिएसँगै वुहानका करिब १४ लाख विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका थिए । वुहानका विश्वविद्यालय भने शुक्रबारदेखि नै खुलिसकेका छन् ।

भाइरस नियन्त्रणमा आएसँगै विद्यालय खोल्न लागिएको भए पनि अधिकारीहरूले अनावश्यक भेला वा सम्मेलन नगर्न तथा आवश्यक सुरक्षाका उपाय अपनाउन निर्देशन दिइएको जनाएका छन् । सूचना नगरिएका विदेशी विद्यार्थी तथा शिक्षकलाई भने विद्यालय जान रोक लगाइएको छ ।

कोरोना भाइरसका कारण वुहानमा ३ हजार ८ सय ६९ जनाको ज्यान गएको थियो । यो चीनमा भाइरसका कारण मृत्यु हुनेको ८० प्रतिशतभन्दा बढी हो । गत अप्रिलदेखि सामान्य अवस्थामा फर्केको वुहानमा त्यसयता संक्रमित भेटिएका छैनन् ।

(कान्तिपुर दैनिक)

भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजार सङ्क्रमित

विश्व


काठमाडौँ — भाद्र १२, २०७७। 

भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा एक हजार ५७ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ६१ हजार ५२९ पुगेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म झण्डै ३४ लाख मानिस सङ्क्रमित भएका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार देशभरी अहिलेसम्म ३३ लाख ८७ हजार ५०१ जना सङ्क्रमित भएका हुन् ।

कुल सङ्क्रमित मध्ये सात लाख ४२ हजार २३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २५ लाख ८३ हजार ९४८ जना सङ्क्रमणमुक्त भएका छन् ।

सवैभन्दा धेरै सङ्क्रमितहरु रहेको महाराष्ट्र प्रदेशमा सङ्क्रमितहरुको संख्या एक लाख ७८ हजार ५६१ पुगेको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित रहेको आन्ध्र प्रदेशमा अहिले ९४ हजार २०९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । 

(एजेन्सी/इमेज खबर)

जापानी प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा

विश्व


'जनमतको कदर गर्दै राजीनामा दिएको हुँ'

टोक्यो — भाद्र १२, २०७७।

जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको बताएका छन् । 

जापानी सञ्‍जारमाध्यम एनएचकेका अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको बताइएको छ ।

आबेले आफूलाई १३ वर्षदेखि अल्सरेटिभ कोलाइटिसको समस्या देखिएको आबेले पत्रकार सम्मेलनमा बताए । ८ वर्षसम्म आफूलाई यो रोगले नसताए पनि यस वर्ष जुनमा गरिएको परीक्षणपछि भने आफूलाई समस्या देखिएको उनले बताए । आफूले अहिले औषधि लिइरहेको पनि बताए ।

आफूले नागरिकको जनमतको कदर गर्दै राजीनामा दिएको पनि आबेले स्पष्ट पारेका छन् । अब आफूले स्वास्थ्यलाई मध्यनजर गर्दै राजीनामा दिनुपरेको पनि उनले बताए । कोरोना महामारीका कारण सिर्जित समस्यालाई नयाँ नेतृत्वले समाधान गर्ने पनि उनको भनाई थियो । जनसमर्थन हुँदाहुँदै र कार्यकाल एक वर्ष बाँकी रहँदै राजीनामा दिनु परेकोमा उनले जापानी नागरिकसमक्ष माफी मागेका छन् ।

आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदैछ । आबेको राजीनामापछि उपप्रधान तथा अर्थमन्त्री तारो आसोले कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

आबेको राजीनामासँगै सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी) मा नेतृत्वका लागि खिचातानी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कोरोना महामारी नियन्त्रण तथा रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेको निकै आलोचना भइरहेको थियो । साथै पार्टीका सदस्यहरु विभिन्न काण्डमा मुछिएपछि पनि उनी समस्यामा परेका थिए ।

कोरोना महामारीका कारण जापानको अर्थतन्त्र इतिहासमै सबैभन्दा कमजोर भएको छ । केही दिनअघि प्रधानमन्त्री आबेले अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जापानमा अहिलेसम्म करिब ६६ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । जापनमा कोरोनाबाट अहिलेसम्म एक हजार २ सय ४१ जनाको मृत्यु भएको छ ।

दिल्लीमा भएको हिंसामा प्रहरीले मानवअधिकारको गम्भीर उल्लंघन गरेको एमनेष्टिको आरोप

विश्व


नयाँदिल्ली — भाद्र १२, २०७७। 

एमनेष्टि इन्टरनेशनलले भारतको राजधानी नयाँ दिल्लीमा गत फेब्रुअरीमा भएको धार्मिक दंगाका क्रममा गम्भीर मानवअधिकारको उल्लंघन भएको आरोप लगाएको छ ।

हिंसा नियन्त्रण गर्ने बहानामा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर चरम यातनासमेत दिएको आरोप लगाएको छ ।

भारतमा नागरिकतासम्बन्धी विवादास्पद कानुनी व्यवस्थाको विरोधमा हिन्दु र मुसलमान समुदायबीच भएको हिंसामा ४० जनाको मृत्यु भएको थियो ।

एमनेष्टीको प्रतिवेदन सार्वजनिक भएपछि दिल्ली प्रहरीले कुनै प्रतिक्रिया भने जनाएको छैन ।

मुसलमान समुदायमाथि आक्रमण र उनीहरुका सम्पतिमा आगजनी तथा तोडफोड भएपनि प्रहरीले त्यसलाई रोक्ने प्रयाससमेत नगरेको एमनेष्टिको प्रतिवेदनमा उल्लेख छ ।

उक्त कानुनको विरोधमा हिन्दु र मुसलमान समुदायबीच जातीय र धार्मिक हिंसा भएपनि दिल्ली प्रहरीले नियन्त्रण भन्दा पनि हिंसालाई थप प्रोत्साहन गरेको एमनेष्टिको ठहर छ ।

उक्त हिंसामा दुवै तर्फ क्षति भएपनि मुसलमान समुदाय नै बढी आक्रमणको निशानामा परेको प्रतिवेदनमा उल्लेख छ ।

उक्त घटनामा मुसलमान समुदायलाई असान्दर्भिक रुपमा आक्रमण र हिंसात्मक गतिविधिमा संलग्न गराइएको एमनेष्टिको दावी छ ।

उक्त हिंसामा हिन्दुहरुको तुलनामा मुसलमान समुदायको हताहतीको संख्या झण्डै तीन गुणा बढी देखिएको बीबीसीले उल्लेख गरेको छ ।

गत वर्ष भारतमा नागरिकता संशोधन विधेयक आएसँगै धार्मिक दंगा भएको हो ।

(एजेन्सी)v

राजसंस्थाको आलोचनापछि फेसबुक समूह बन्द

विश्व


काठमाडौँ — भाद्र १०, २०७७।

थाइल्यान्ड सरकारले राजसंस्थाको आलोचना गरेको विषयमा कानुनी कारबाही गर्ने बताएपछि फेसबुकले एउटा समूहलाई थाइल्यान्डमा हेर्न नमिल्ने बनाइदिएको छ ।

दसौं लाख सदस्य रहेको ‘रोयलिस्ट मार्केटप्लेस’ समूहले पछिल्ला दिनमा निरन्तर राजसंस्थाको आलोचना गर्दै आएको थियो । थाई सरकारको दबाबविरुद्ध फेसबुकले कानुनी उपचार खोज्ने बताएको छ । थाइल्यान्डमा हालैका दिनमा लोकतन्त्र पक्षधरहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
राजसंस्थामा समेत समयानुकूल सुधार हुनुपर्ने अभूतपूर्व माग उनीहरुको छ । विद्यमान कानुनअनुसार थाइल्यान्डमा राजसंस्थाको आलोचना गर्न पाइँदैन । उक्त समूह विदेशबाट हेर्न नमिल्ने भए पनि सोमबार साँझदेखि थाइल्यान्डमा बन्द गरिएको हो ।

(कान्तिपुर दैनिक)

राष्ट्रपतिको उम्मेदवारमा ट्रम्पलाई अघि सार्ने रिपब्लिकन पार्टीको निर्णय

विश्व


वासिङ्गटन — भाद्र ९, २०७७। 

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उम्मेदवारीलाई रिपब्लिकन पार्टीले औपचारिकता दिने भएको छ ।

रिपब्लिकन पार्टीको चार दिने भेलाले ट्रम्पको उम्मेदवारीलाई औपाचारिकता दिने भएको हो ।

रिपब्लीकन पार्टीको यो सम्मेलन राष्ट्रपति ट्रम्पका लागि विशेष महत्वको रहने छ, किनभने पछिल्लो पटक गरिएका राष्ट्रव्यापी र राज्यस्तरका चुनावी मतसर्वेक्षणले राष्ट्रपतिलाई डेमोक्र्याट पार्टीका उम्मेदवार जोन बाइडेनको तुलनामा कमजोर स्थितिमा देखाएका छन् ।

ट्रम्पले भने आफनो पकड बलियो रहेको भन्दै आफनो जीत सुनिश्चित भएको दाबी दोहोर्याउँदै आउनु भएको छ ।

फक्स न्युजलाइ अन्तवार्ता दिने क्रममा ट्रम्पले अमेरिकी जनताको आफूलाई पुर्ण साथ र सहयोग रहने बिश्वास ब्यक्त गर्नुभएको छ ।

विश्लेषकहरुका अनुसार राष्ट्रपति ट्रम्पका लागि आगामी चुनाव जनमतसंग्रह सरह हुनेछ ।

उहाँले यसअघि अघि सार्नु भएका कैयौं नीतिको कार्यान्वयन नभएको र कोरोनाका सम्बन्धमा ठोस योजना अघि नसार्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको, अर्थतन्त्र शिथिल बनेको तथा मानिसहरु बेरोजगार बनेको स्थिति छ ।

यसबाहेक देशभित्र कानुन व्यवस्थामा सुधार नहुँदा अश्वेत र सीमान्तकृत नागरिकहरुका ठुल्ठूला जुलुस देशव्यापी बनेका छन् ।

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनको प्रचार प्रसार भने कोभिडका कारण खुम्च्याईएको छ । 

(एजेन्सी)