world
||Power News Asia||

आजको समाचार

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा

विश्व


नयाँदिल्ली — श्रावण २९, २०७७। 

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । हिन्दुस्तान टाइम्सले दिल्लीस्थित सैनिक अस्पताललाई उद्धृत गर्दै मुखर्जी कोमामा गएको उल्लेख गरेको छ ।

केही दिनदेखि अस्पतालमा उपचाररत मुखर्जीको 'भाइटल प्यारामिटर' भने स्थिर रअको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार नआएको र भेन्टिलेटरमै उपचार भएको पनि अस्पतालले जनाएको छ ।
पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच 'मुखर्जीको मृत्यु' भएको भन्ने अफवाहको परिवारले खण्डन गरेको छ । मुखर्जीको छोरी शर्मिष्ठा मुखर्जीले ट्वीट गर्दै भनेकी छिन्, 'मेरो बुवाबारे फैलाइएको हल्ला अफवाह हुन् । खासगरी मिडियालाई मलाई फोन नगर्न आग्रह गर्छु । अस्पतालबाट आउने सूचनाका लागि मैले फोन फ्रि राख्नुपर्ने हुन्छ ।'

त्यस्तै मुखर्जीका छोरा अभिजितले पनि ट्वीट गर्दै बुवा जीवितै रहेको बताएका छन् । 'मेरो बुवा प्रणव मुखर्जी जीवित हुनुहुन्छ । रक्तसञ्‍चारमा समस्या देखिएपछि उहाँको अवस्था स्थिर छ । केही सम्मानित पत्रकारबाटै सामाजिक सञ्‍जालमा अड्कलबाजी लगाउने र अफवाह फैलाउने कामबाट भारतका मिडिया फेक न्युजको फ्याक्ट्री बनिसकेको देखिन्छ,' अभिजितले ट्वीटमा लेखेका छन् ।

यसअघि अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको आफूलाई कोरोना पुष्टि भएको बताएका थिए । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका छन् । पूर्वराष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका थिए ।

भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

(एजेन्सी/कान्तिपुर दैनिक)

रुस कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक बनेको पुटिनको घोषणा

विश्व


एजेन्सी, २७ साउन । रुस कोरोना भ्याक्सिनको विकास गर्ने पहिलो मुलुक बनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वभरमा पहिलो भ्याक्सिन विकास गरी प्रयोगका लागि दर्ता समेत भएको जानकारी दिएका हुन् ।

रुसी समाचार संस्था तासका अनुसार पुटिनले आज उच्च अधिकारीहरुसँगको बैठकमा रुस कोरोना भ्याक्सिन विकास गरी प्रयोगका लागि दर्ता गर्ने पहिलो मुलुक भएको बताएका हुन् । उनले स्वास्थ्यमन्त्री मिखायल मुरास्कोले यसबारे वृस्तृत सुचना दिने बताएका छन् ।

तासले पुटिनको भनाई उदृत गर्दै भनेको छ, ‘जहाँसम्म मलाई थाहा छ आज विहान विश्वभरमा पहलिोपटक नोबल कोरोना भाइरस विरुद्धको भ्याक्सिन दर्ता भएको छ ।’

अब भ्याक्सिन सर्वप्रथम कोरोनाविरुद्धको अग्रिम मोर्चामा रहेका स्वास्थ्यकर्मी, सेना, शिक्षकलगायतमा शुरुमा प्रयोग गरिने पुटिनले बताएका छन् ।

मस्कोस्थित गामलियाले विकास गरेको भ्याक्सिन अनुमोदित भएसँगै यो सार्वजनिक प्रयोगमा आउने विश्वकै पहिलो कोरोना भ्याक्सिन भएको छ । रुसले रक्षा मन्त्रालयसँगको सहकार्यमा गामलियाको भ्याक्सिन परीक्षणमा सफल भएको दाबी गरेको थियो । तीन चरणको परीक्षणपछि भ्याक्सिनलाई अनुमोदनका लागि पठाइएको थियो । आगामी महिना रुसी जनतामा भ्याक्सिनको प्रयोग हुनेछ । रुसले आफ्ना जनताका लागि अक्टोबरमा भ्याक्सिन प्रयोगमा ल्याउने भएको छ ।

मत सर्वेक्षणमा नेता लुकाशेन्का निर्वाचित हुने देखाएपछि बेलारुस राजधानी मिन्स्कसहित विभिन्न शहरमा प्रदर्शन र भिडन्त

विश्व


काठमाडौं — श्रावण २६, २०७७। 

बेलारुसको सरकारी टेलिभिजनले मतदान पछि गरेको सर्वेक्षणमा नेता एलेक्जेन्डर लुकाशेन्का पुनः निर्वाचित हुने देखाएपछि राजधानी मिन्स्कसहित विभिन्न सहरमा प्रदर्शनकारी र दङ्गा प्रहरीबीच भिडन्त भएको छ ।

मिन्स्कमा सिटी सेन्टरबाट भिड हटाउन प्रहरीले स्टन ग्रिनेडहरू प्रयोग गरेको छ । भिडन्तमा केही प्रदर्शनकारीहरु घाइते भएका छन् ।

प्रदर्शनमा सञ्चारमाध्यमहरुलाई पनि प्रहरीले नियन्णमा लिएको छ । सरकारी टेलिभिजनको जनमत सर्वेक्षणले लुकाशेन्का करिब ८० प्रतिशत मतले विजयी भएको देखाएको छ ।

प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले आफूलाई सात प्रतिशत मात्र मत दिइएको देखाएको उक्त विवरणलाई आफूले नपत्याउने बताउनुभएको छ ।

आफुसंग बहुमत रहेको उहाँको दाबी छ । मे महिनामा चुनावी अभियान सुरु भएयता दुई हजारभन्दा बढी मानिस पक्राउ परेको मानवअधिकारवादी संस्थाले जनाएको छ । 

(एजेन्सी/ईमेज खबर)

श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्ष प्रधानमन्त्रीमा पुनः नियुक्त

विश्व


पूर्वराष्ट्रपति महिन्दा राजपाक्षले आफ्ना भाइ तथा वर्तमान राष्ट्रपति गोटाभया राजपाक्षसँग आइतबार प्रधानमन्त्री पदको शपथ लिएका हुन् ।

कोलम्बो — – श्रावण २६, २०७७। 

श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्ष प्रधानमन्त्रीमा पुनः नियुक्त भएका छन् । उनले राष्ट्रपति गोटाभया राजपाक्षसँग आइतबार प्रधानमन्त्री पदको शपथ लिएका हुन् । महिन्दा वर्तमान राष्ट्रपति गोटाभयाका दाइ हुन् ।

७४ वर्षीय महिन्दाले उत्तरी कोलम्बोस्थित ऐतिहासिक केलानिया बौद्ध मन्दिरमा आयोजित कार्यक्रममा भाइ गोटाभया राजपाक्षसँग शपथ लिएका हुन् । शपथलगत्तै दुवै दाजुभाइले राजमहा विहारमा प्रार्थना गरेका थिए ।
अगस्ट ५ मा भएको संसदीय चुनावमा आफ्नो दल श्रीलंका पोडुजना पेरामुना (एसएलपीपी) विजयी भएसँगै उनी पुनः प्रधानमन्त्री बनेका हुन् । २ सय २५ सदस्यीय संसद्मा राजपाक्ष नेतृत्वको गठबन्धनले दुई तिहाइ सिट जितेको छ । एसएलपीपी एक्लैको भने १ सय ४५ सिट छ ।

प्रमुख प्रतिपक्षी दल एसजेबी ५४ सिटमा सीमित भएको छ । तमिल अल्पसंख्यकलाई नेतृत्व गर्ने दल १० सिटमा विजयी भएको छ । त्यसैगरी अन्य १२ साना दलले १६ सिट जितेका छन् । श्रीलंकाको राजनीति पछिल्ला दुई दशक राजपाक्ष परिवारमा केन्द्रित छ । दुई तिहाइ मत ल्याएसँगै अब श्रीलंकाली राजनीतिमा उनीहरूको पकड थप बलियो हुने आकलन राजनीतिक विश्लेषकहरूको छ । चुनावी नतिजासँगै गोटाभया राजपाक्षले सन् २०१५ को संविधानले सीमित पारेका राष्ट्रपतीय अधिकार पुनःस्थापित गर्ने अनुमान लगाइएको छ । श्रीलंका सन् १९७८ देखि कार्यकारी राष्ट्रपतिद्वारा शासित रहिआएको थियो ।

तर सन् २०१५ मा भएको संवैधानिक सुधारअनुसार संसद् र प्रधानमन्त्रीलाई थप अधिकार दिइनुका साथै न्यायिक नियुक्ति, प्रहरी, सार्वजनिक सेवा र चुनावसम्बन्धी निर्णयको अधिकार स्वतन्त्र आयोगले गर्ने व्यवस्था गरिएको थियो । तर पछिल्लो ऐतिहासिक जितसँगै उक्त आयोगको भूमिका कमजोर हुने आकलन गरिएको छ । गोटाभया राजपाक्ष गत नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका हुन् । त्यसलगत्तै उनले आफ्ना दाइलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । संसदीय चुनावमा महिन्दाका छोरा नमल राजपाक्ष पनि विजयी भएका छन् ।

(एजेन्सी/कान्तिपुर दैनिक)

बुद्ध भारतीय नागरिक भएको भन्दै भारतीय विदेशमन्त्री जयशंकरले गरे आधारहीन दावी

विश्व


काठमाडौं — श्रावण २५, २०७७। 

काठमाडौं — श्रावण २५, २०७७। 

भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय नागरिक भएको दावी गरेका छन ।

हिजो भारतीय उद्योगीहरुको संस्था सि.आई.आई.ले आयोजना गरेको भर्चुएल कार्यक्रमलाई सम्बोधन गर्दै जयशंकरले बुद्धलाई महान भारतीय नागरिक भनेका हुन ।

भारतको इतिहासमा दुई जना महान भारतीय रहेको उल्लेख गर्दै उनले गौतम बुद्ध र महात्मा गान्धीलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ भने ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिंदा नेपालमा तीव्र विरोध भएको थियो । पछि नेपाल भ्रमणमा आएको बेलामा भने संसदलाई सम्बोधन गर्दै मोदीले नेपाल बुद्ध भूमि भएको बताएका थिए ।

दुई वर्षअघि संयुक्त राष्ट्रसंघको महासभामा मोदीले, भारतले विश्वलाई बुद्ध दिएको बताएका थिए ।

नेपालको लुम्विनीमा जन्मिएका गौतम बुद्धलाई कतिपय भारतीयहरुले भारतमा जन्मिएको दावी गर्दै आएका छन् । 

(एजेन्सी)

अमेरिका–चीन प्रविधि विवाद चरम बिन्दुमा, गुगलले बन्द गर्‍यो चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानल

विश्व


काठमाडौं— श्रावण २३, २०७७।

सर्च इञ्जिन गुगलले चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानललाई हटाइदिएको छ ।

दुस्प्रचार गरेको आरोपमा गुगलले २५ सय वटा चिनियाँ भिडियो च्यानल हटाएको हो । यी च्यानललाई अप्रिलदेखि जुनसम्म हटाइएको हो ।

चीनसँग सम्बन्धित समन्वयात्मक प्रभावसम्बन्धी अनुसन्धानको यो एक हिस्सा रहेको पनि कम्पनीले जनाएको छ ।

यस्ता च्यानलहरुले गैर राजनीतिक विषयवस्तु प्रशारण गरे पनि यसले अप्रत्यक्ष रुपमा राजनीतिक विषयवस्तुसँग जोडिने र दुष्प्रचार गरेको आरोप लगाइएको छ ।

विस्तृत विवरण नदिइए पनि अप्रिलमा एउटा दुष्प्रचार अभियानको सामाजिक सञ्जालमा पहिचान र मूल्यांकन गर्ने काम ग्राफिका कम्पनीले गरेको थियो ।

अमेरिकामा हुन लागेको आम चुनावअघि प्रविधिबारे अमेरिका र चीनबीच भएको तनावकै रुपमा यस प्रकरणलाई हेरिएको छ ।

बुधबार मात्र, ह्वाइट हाउसले चिनियाँ स्वामित्वका डिजिटल नेटवर्क, एप्लिकेशनलहरु टिकटक, म्यासेन्जर, विच्याटले खतरा निम्त्याउने भन्दै हटाउने प्रयास थालिएको जानकारी दिएको थियो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेश दिनुभएको हो ।

ट्रम्पको उक्त आदेशमा ‘अमेरिकाले हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न टिकटकका मालिकहरू विरूद्ध आक्रामक कारबाही गर्नुपर्नेछ’ उल्लेख छ।

विदेशीको स्वामित्वमा रहेको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भएको भन्दै नीति निर्माताले चासो व्यक्त गरेकाले ट्रम्पले त्यस्तो आदेश दिनुभएको हो ।

टिकटकलाई माइक्रोसफ्टलाई बेच्ने वा बन्द हुने दुई विकल्पसहित १५ सेप्टेम्बरसम्मको समय दिइएको छ ।

अमेरिकामा नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदैछ । यही बेला अमेरिका र चीनबीचको सम्बन्ध निकै तनावपूर्ण बनिरहेको समयमा चिनियाँ लगानीका प्रविधियुक्त व्यवसायहरु निशानामा पर्न थालेका छन् ।

(एजेन्सी)

बेरुतमा सरकार विरोधी प्रदर्शन, राजनीतिक परिवर्तनको माग

विश्व


काठमाडौं— श्रावण २३, २०७७।

लेबनानको राजधानी बेरुतमा सरकार विरोधी प्रदर्शन चर्किएको छ । गत मंगलवार भएको विध्वंशकारी विष्फोटपछि सरकार विरुद्धको असन्तुष्टी र आक्रोश सडकमा पोखिएको हो ।

प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ । कैंयौं प्रदर्शनकारीले लेबनानमा राजनीतिक परिवर्तनको समय आएको बताएका छन् ।

विष्फोटपछि लेबनानका एक जना सांसद र एक जना राजदुतले राजिनामा दिएर परिवर्तनको पक्षमा लाग्ने बताईसकेका छन् ।

घटनाको छानविनका लागि १६ जना सरकारी अधिकारी पक्राउ परेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले बेरुतको भ्रमण गरेलगत्तै सुरु भएको प्रदर्शनलाई अर्थपूर्ण मानिएको छ ।

म्याक्रोले बेरुतको पुर्ननिर्माणमा सघाउन फ्रान्स तयार रहेको जनाउँदै त्यस अघि सार्थक परिवर्तनको आवश्यकता औल्याउनुभएको थियो ।

उहाँले विष्फोटबारे अन्तराष्ट्रिय छानविन हुनुपर्नेमा समेत जोड दिनुभएको थियो । राजधानी बेरुतमा गत मंगलवार २७ सय ५० टन एमोनियन नाईट्रेट अवैध तरिकाले भण्डारण गरिएको गोदाममा विष्फोट हुँदा कम्तिमा १ सय ३७ जना मारिएका छन् ।

५ हजारभन्दा बढी घाईते भएका छन् भने ५० भन्दा बढी व्यक्तीहरु अझैपनि वेपत्ता छन् । विष्फोटले बेरुतको एउटा जिल्ला पूर्णरुपले ध्वस्त भएको छ । 

(ईमेज/एजेन्सी)

जर्मनीमा आधा सेकेन्डमा २ बिस्फोट, आवाज २७५ किमीसम्म सुनिएको थियोः चीनमा ३ सय भवन, १२ हजार कार ध्वस्त भएको थियो

विश्व


लेबनानको राजधानी बेरुतमा १ सय ३५ जनाको ज्यान लिएको बिस्फोटको  कारण अमोनियम नाइट्रेट हो जुन एक भण्डारमा पछिल्लो ६ वर्षदेखि जम्मा गरेर राखिएको थियो । यसै गोदाममा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटमा आगो लाग्यो र जोडदार गरिकाले बिस्फोट भयो । यो बिस्फोट यति भयानक थियो कि यसको आवाज २ सय ५० किलोमिटर टाढासम्म सुनियो । 

अमोनियम नाइट्रेट सबैभन्दा खतरनाक बिस्फोटक रसायन हो जुन विभिन्न कामका लागि प्रयोग गरिन्छ । तर साधारणतया यसको प्रयोग कि त खेतीमा कि त बम बनाउन लागि गरिन्छ । यदि यसमा थोरै मात्र पनि आगलागी भए यसमा जोडदार तरिकाले बिस्फोट हुन्छ । साथै नाइट्रोज अक्साइड र अमोनियाजस्ता खतरनाक ग्यास पनि निस्कन्छन् ।

 

लेबनानमा भएको यो बिस्फोटपछि उक्त भण्डारमा यतिधेरै अमोनियम नाइट्रेट कसरी जम्मा भयो र त्यसमा आगो कसरी लाग्यो भन्ने अनुसन्धान भइरहेको छ ।

 

यद्यपि, अमोनियम नाइट्रेटका कारण यति ठूलो बिस्फोट भएको यो पहिलो घटना भने होइन । यसअघि पनि थुप्रै घटना भइसकेको छन् । तिनै दुर्घटनामध्ये यस्ता ७ दुर्घटना छन् जो यति खतरनाक थिए कि जमिनमा भएको बिस्फोटले आकाशमा उडिरहेको विमानसमेत खसेको थियो ।

. २१ सेप्टेम्बर १९२१: ओपो, जर्मनी

कति खतरनाकः २७५ किमि टाढासम्म सुनेको थियो बिस्फोटको आवाज

सन् १९११ मा सुरु भएको यो प्लान्टमा अमोनियम नाइट्रेट र अमोनियम सल्फेटको साढे चार हजार टन मिक्सचर स्टोर गरेर राखिएको थियो । २१ सेप्टेम्बर बिहान करिब ७ बजेर ३२ मिनेटमा आधा सेकेन्डभित्र दुई शक्तिशाली बिस्फोट भए । यो बिस्फोटमा ४५० टनको फर्टिलाइजरमा बिस्फोट भएको थियो । यो बिस्फोट यति शक्तिशाली थियो कि यसले प्लान्टको भित्र नै ९० मिटर खाल्डो बनायो । यो खाल्डोको चौडाई १२५ मिटर र गहिरो १९ मिटर थियो ।

यो बिस्फोट यति शक्तिशाली थियो कि यसको आवाज म्यूनिखसम्म सुनिएको थियो । म्यूनिखको दुरी यो पलान्टभन्दा २ सय ७५ किमी थियो । यतिमात्रै होइन, यो बिस्फोटमा ओपोको ८० प्रतिशत भवन ध्वस्त भएको थियो जबकी साढे ६ हजार बढी मानिस घरबार बिहिन भएका थिए । २५ किमीको दायरमा रहेका घरको झ्याल फटे । बिस्फोटपछि ओपोका २० किमीको दायरको ट्राफिक रोकिएको थियो । बिस्फोटका कारण थुप्रै घरको छत उडेका थिए ।

त्यतिबेला उक्त घटनाले १७ लाख डलरको क्षती भएको थियो जुन अहिलेको हिसाबले २.५२ करोड डलर हुने थियो । बिस्फोट भएको ४८ घण्टाभित्र ५ सय शव भेटिएको थियो । पछि मृतकको संख्या ५ सय ६१ सम्म पुग्यो ।

बिस्फोटमा मारिएकाहरुको अन्तिम संस्कारमा जर्मनीका तत्कालीन राष्ट्रपति फ्रेडरिक एबर्ट र प्रधानमन्त्री ह्यूगो लेरचेनफेल्डसमेत ७० हजार जर्मन नागरिक समावेश भएका थिए ।

२. २९ अप्रिल १९४२ः टेसेंडेर्लो, बेल्जियम

कति खतरनाकः बिस्फोटमा ७० मिटर चौडा र २३ मिटर गहिरो खाल्डो बन्यो

त्यतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो । बेल्जियममा जर्मनीले कब्जा जमाएको थियो । बेल्जियमको टेसेंडेर्लोमा एउटा केमिकल फ्याक्ट्री थियो, जुन बन्द गरिएको थियो । तर पछि बेल्जियमको आत्मसमर्पणपश्चात्, यो कारखाना पुनः सुरु गरिएको थियो । २९ अप्रिलमा यो कारखानामा बिस्फोट भएको थियो ।

जुन दिन बिस्फोट भएको थियो त्यो दिन अन्य दिनको तुलनामा हल्का चिसो थियो र सबैजना आफ्नो काममा जाँदै थिए । बिहान ११ बजेर २७ मिनेटमा कारखानामा राखिएको १५० टन अमोनियम नाइट्रेट बिस्फोट भयो । निमेषभरमै सयौं मिटरको उचाईसम्म धुँवा मात्रै देखिएको थियो । बिस्फोटका कारण ८० मिटर चौडा र २३ मिटर गहिरो खाल्डो बनेको थियो ।

यो बिस्फोटमा १ सय ९० जना मारिएका थिए जबकी ९ सय जना घाइते भएका थिए । मारिएका १९० जनामध्ये ११९ जना कारखानामा काम गर्ने मजदुर थिए ।

३. १६ अप्रिल १९४७ः टेक्सास, अमेरिका

कति खतरनाकः दुई उडिरहेका विमान खसे, जहाज टुक्रा–टुक्रा भएर हावामा उड्न थाल्यो

दोस्रो विश्वयुद्धमा अमेरिकी सेना अमोनियम नाइट्रेटको प्रयोग बिस्फोटकको रुपमा गर्दथ्यो । पछि यसलाई फर्टिलाइजरको रुपमा प्रयोग गर्न थालियो । १६ अप्रिल १९४७ मा नेब्रास्का र लोवामा बनेको अमोनियम नाइट्रेट रेलमार्फत् टेक्सासा सिटी पुग्यो । त्यसपछि यसलाई जहाजमा लोड गरिँदै थियो । यो जहाजमा २३ सय टन अमोनियम नाइट्रेटका साथै सूर्ती र गोला–बारुद थिए ।

बिहान करिब ८ बजे कार्गोबाट धुँवा आइरहेको देखियो । आगो निभाउने कोसिस गरियो तर आगो निभ्न सकेको थिएन । ९ बजेर १२ मिनेटमा अमोनियम नाइट्रेट बिस्फोट भयो । यसले पोर्ट पूर्ण रुपमा ध्वस्त भयो । यो बिस्फोटपछि १५ फिट माथिसम्म धुँवा उठेको थियो जुन १६० किलोमिटर टाढाबाट पनि देखिएको थियो ।

यो बिस्फोट यति जोडदार थियो कि यसले जहाज स–सानो टुक्रा भएका थिए र हावामा उड्न थालेका थिए । यतिमात्रै होइन टेक्सास नजिकै उडान भरिरहेको दुई साना विमान पनि खसेका थिए । यो बिस्फोटले हजार बढी घर क्षतीग्रस्त भयो । दुई हजार व्यक्ति बेघर भएका थिए ।

यो बिस्फोटलाई अमेरिकाको इतिहासको सबैभन्दा खतरनाक औद्योगिक दुर्घटना मानिन्छ । यसमा ५ सय ८१ को ज्यान गएको थियो जबकी ५ हजारभन्दा बढी घाइते भएका थिए ।

४. १९ अप्रिल १९९५ः ओक्लाहोमा, अमेरिका

कति खतरनाकः २ टना अमोनियम नाइट्रेटले १६८ को ज्यान लियो

१९ अप्रिल १९९५ को बिहानीले ओक्लाहोमाका लागि निकै खराब खबर बोकेर आएको थियो । यसदिन पूर्व सैनिक टिमूथी म्याक्वेगले ओक्लाहोमा शहरमा एक सरकारी भवन बाहिर भाडामा लिएको ट्रक राखियो । उक्त ट्रकमा २ टन अमोनियम नाइट्रेट थियो । बिहान ९ बजे अघि नै म्याक्वेग ट्रक लिएर पुगेका थिए । केही बेरपछि म्याक्वेग ट्रकबाट बाहिर निस्किएर ढोका बन्द गरेर भाग्न सुरु गरे । के भइरहेको छ, कसैले बुझ्न सकेनन् । बिहान ठिक ९ बजेर २ मिनेटमा ट्रक बिस्फोट भयो ।

आँखा झिम्किएको भरमा नै भवनको एक तिहाई हिस्सा भग्नावशेषमा परिवर्तन भयो । वरिपरिका करिब ३ सय भवन क्षतीग्रस्त भउ । सयौं कारमा क्षती पुग्यो ।

उक्त हमलामा १ सय ६८ व्यक्तिको ज्यान गएको थियो जसमा १९ जना बालबालिका पनि समावेश थिए । सयौं घाइते भएका थिए । यो बिस्फोट सबैभन्दा खतरनाक आतंककारी हमलामा पर्छ ।

५. २२ अप्रिल २००४ः रयोंगचोंन, उत्तर कोरिया

कति खतरनाकः दुई रेल ठोक्किए, १८ सय ५० घर ध्वस्त भए

२२ अप्रिल २००४ मा उत्तर कोरियाको राजधानी प्योङयाङबाट ५० किमी टाढा रयोंगचोंन स्टेशनमा दुई रेल ठोक्किए । यी दुबै रेलमा बिस्फोटक सामग्री थिए । रेल ठोक्किएपछि खतरनाक बिस्फोट भयो ।

दुई दिनसम्म उत्तर कोरियाले यो बिस्फोटको कारणबारे जानकारी दिएन । बिस्फोटको ४८ घण्टापछि उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले अमोनियम नाइट्रेटका कारण बिस्फोट भएको जानकारी दियो । समाचार एजेन्सीका अनुसार कुनै एक रोलबाट अमोनियम नाइट्रेट लिक भएको र त्यसैले बिस्फोट भएको हो ।

उत्तर कोरियाले त उक्त बिस्फोटमा ज्यान गुमाउनेको संख्या ५४ मात्रै बताएको छ । तर घटनास्थलमा पुगेको रेडक्रसको समूहले बिस्फोटका कारण स्टेशन वरिपरिका १८ सय ५० घर ध्वस्त भएको जानकारी दिँदै १ सय ६० को मृत्यु भएको र ६ हजारभन्दा बढी घाइते भएको बताएको छ ।

६. १२ अगस्त २०१५ः तियानजिन, चीन

कति खतरनाकः ९ अर्ब डलरको क्षती, ३ सय बढी घर ध्वस्त

१२ अगस्त २०१५ मा चीनको तियानजिन शहरको बन्दरगाहमा एक कन्टेनरमा श्रृङ्खलाबद्ध बिस्फोट भए । पहिलो दुई बिस्फोट ३० सेकेन्ड भित्र भएको थियो । पहिलो बिस्फोट १२ अगस्ट राती करिब साढे ११ बजे भएको थियो र दोस्रो ३० सेकेन्ड भित्र ।

दोस्रो बिस्फोट असाध्यै खतरनाक थियो जसमा ८ सय टन अमोनियम नाइट्रेट बिस्फोट भएको थियो । यी दुई बिस्फोटका कारण भएको आगलागीले १५ अगस्टमा ८ स–साना बिस्फोट भएका थिए । यी बिस्फोटमा १ सय ७३ जनाका ज्यान गएको थियो र ७ सय ९७ घाइते भएा थिए ।

यो बिस्फोट यति शक्तिशाली थियो कि वरिपरिका ३ सय ४ भवन, १२ हजार ४ सय ३८ कार र ७ हजार ५ सय ३३ कन्टेनर पूर्ण रुपमा नष्ट भए । यी बिस्फोटका कारण त्यतिबेला ९ अर्ब डलरको क्षती भएको थियो ।

७. ४ अगस्त २०२०ः बेरुत, लेबनान

कति खतरनाकः ९ किलोमिटर टाढा बनेको एयरपोर्टको सिसासमेत फुटे

लेबनानको राजधानी बेरुतमा परमाणु बिस्फोटजस्तै दुई बिस्फोट भए । एक हल्का र दोस्रो यस्तो कि पूरा शहर थर्थरायो । हालसम्म प्राप्त जानकारी अनुसार बेरुत पोर्टमा ह्याङ्गरमा भण्डार गरेर राखिएको ३ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटमा यो बिस्फोट भयो ।

बिस्फोट यति शक्तिशाली थियो कि २५० किमी टाढासम्म यसको आवाज सुनिएको थियो । जबकी ९ किलोमिटर टाढा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको पेसेन्जर टर्मिनलको सीसा टुटे । यो बिस्फोटमा हालसम्म १ सय ३५ जनाको ज्यान गइसकेको छ भने ५ हजारभन्दा बढी घाइते भएका छन् । यो बिस्फोटमा ३ लाख व्यक्ति बेघर भएका छन् ।

कोभिड १९ विरुद्धको को भ्याक्सिनमा कुनै राजनीतिक दबाब नहुने फाउजीको आश्वासन

विश्व


काठमाडौँ — श्रावण २२, २०७७। 

अमेरिकाका संक्रमण रोग बशेषज्ञ डा.एन्थोनी फाउजीले अमेरिकी नियामक निकाय र बैज्ञानिहरुलाई कोभिड १९ विरुद्धको भ्याक्सिनमा कुनै राजनीतिक दबाब नहुने आश्वासन दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनका अघि नै खोप तयार गर्न बैज्ञानिकरुहलाई दबाब दिइरहेको बेला डा.फाउजीको यो भनाई सार्वजनिक भएको हो ।

सिएनएन संग कुरा गर्दै डा.फाउजीले सन् २०२१ को अन्त सम्ममा खोपको करौडौं डोज तयार हुने बताउँदै खोप बन्ने प्रक्रिया सकारात्मक सावित हुने प्रतिक्रिया दिनुभयो ।

कोेभिड १९ को महामारी अमेरिकामा जस्तै अन्य मुलकहरुमा नभएतापनि राष्ट्रपति ट्रम्प यो मान्न तयार नभएको प्रति भने डा. फाउजीको गुनासो छ ।

कोरोनाको महामारी झेल्न अमेरिकाले जति कुनै देशले पनि नसक्ने दाबी फाउजीको छ ।

अमेरिकामा कोरोनो भाइरसका कारण हालसम्म १ लाख ६१ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४९ लाख ७३ हजार नाघेको छ । 

(ईमेज खबर/एजेन्सी)

कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो, प्रत्येक १५ सेकेन्डमा एकको मृत्यु

विश्व


काठमाडौं — श्रावण २१, २०७७। 

कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ६ सय ४७ पुगेको छ ।

कोरोनाबाट अमेरिका, ब्राजिल, मेक्सिको, बेलायत र भारतमा सबैभन्दा बढी मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी एक लाख ५६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ४७ लाख ७१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २ हप्ताको तथ्यांक हेर्दा प्रत्येक २४ घण्टामा कोरोना भाइरसबाट करिब ५ हजार ९ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । त्यस्तै एक घण्टामा २ सय ४७ जना र प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु भएको देखिन्छ ।

पछिल्लो समय अमेरिका र ल्याटिन अमेरिकी देशहरु कोरोना भाइरसको इपिसेन्टर बनेका छन् । सुरुमा ल्याटिन अमेरिकी देशहरुमा संक्रमण कम भए पनि पछिल्लो समय ब्राजिललगायतका देशमा संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

हालसम्म विश्वभर संक्रमितको संख्या एक करोड ८५ लाख नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी निको भएका छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसविरुद्धको खोप निर्माणमा विभिन्न मुलुकले गरेका अनुसन्धानहरुमा आशा गर्ने ठाउँ भए पनि कहिले बन्छ भनेर भन्न नसकिने बताएको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस अडहानोम गेहब्रेयससले कोरोनाको खोप निर्माण ‘जादुको छडी’ नभएको बताएका छन् । उनले कोरोनाविरुद्धको खोप कहिल्यै नबन्ने सम्भावना पनि रहेको उल्लेख गर्दै मास्कको प्रयोग र सामाजिक दूरी भौतिक दूरी नै संक्रमण रोकथामको उत्तम विकल्प भएको बताएका छन् ।

(एजेन्सी/कान्तिपुर दैनिक)