world
||Power News Asia||

आजको समाचार

विच्याटका प्रयोगकर्ताले अमेरिकामा मुद्दा हाल्ने तयारी

विश्व


काठमाडौँ — भाद्र ८, २०७७। 

लस एन्जलस । चिनियाँ मेसेजिङ एप्लिकेसन विच्याटका केही अमेरिकी प्रयोगकर्ताहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् ।

विच्याटका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा विच्याटमाथि प्रतिबन्ध लगाउने सम्बन्धी एउटा कार्यकारी आदेशमा केही दिनअघि हस्ताक्षर गरेपछि विवाद उत्पन्न भएको हो ।

सान फ्रान्सिस्कोमा शुक्रबार अमेरिका विच्याट प्रयोगकर्ता एलायन्स र अन्य व्यक्तिहरु तर्फबाट सामूहिक निवेदन दिइएको छ । उनीहरुले विच्याट मार्फत चीनमा रहेका आफ्ना नातेदार, रोजगारी र अन्य कामका लागि प्रभावशाली सम्पर्क माध्यम रहेको बताएका छन् ।

निवेदकहरुले आफूहरु विच्याट वा यसको संचालक कम्पनी टेन्सेन्ट होल्डिङ्ससँग कुनै आबद्धता नरहेको पनि दाबी गरेका छन् ।

निवेदनमा उनीहरुले संघीय अदालतसमक्ष राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश रोक्न अनुरोध गरेका छन् । उनीहरुले ट्रम्पको आदेशबाट अमेरिकी प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रता र अन्य संविधान प्रदत्त अधिकारहरु उल्लंघन भएको बताएका छन् ।

निवेदक तर्फका वकील माइकल बाइनले चिनिया–अमेरिकी समुदायका लागि निकै महत्वपूर्ण रहेको विच्याटजस्तो मेसेजिङ एप्लिकेसन रोक्दा संविधानको पहिलो संशोधनको बर्खिलाफ हुने जिकिर गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले गत अगस्ट ६ तारिखमा विच्याट र टिकटकमाथि प्रतिबन्ध लगाउने गरी कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको थियो । उहाँले यी दुई एप्लिकेसनका कारण अमेरिकी राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रमा नै खतरा उत्पन्न हुने दाबी गर्नु भएको थियो । उक्त आदेशहरु आगामी सेप्टेम्बर २० देखि लागू हुनेछन् ।

एक अनुमान अनुसार अमेरिकामा विच्याटका दशौं लाख प्रयोगकर्ता रहेका छन् । राष्ट्रपतिको आदेशमा विच्याट र टिकटकलाई एप्पल र गूगलका एपस्टोरबाट पनि हटाउन भनिएको छ । यसबाट आम प्रयोगकर्तालाई अझ कठिन हुनेछ । 

(रासस/एपी)

फिलिपिन्सको जोलोमा दुई वटा बम विस्फोट : कम्तीमा ११ जनाको मृत्यु, ४० घाइते

विश्व


मनिला — भाद्र ८, २०७७। 

फिलिपिन्समा भएको दुई वटा छुट्टाछुट्टै बम विस्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । फिलिपिनो सञ्चारमाध्यमहरुका अनुसार फिलिपिन्सको दक्षिणी क्षेत्र सुलु प्रान्तको जोलो सहरमा गराइएको विस्फोटमा परी ६ जना सैनिक र ५ जना सर्वसाधारणको मृत्यु भएको हो । विस्फोटमा परी कम्तीमा ४० जना घाइते भएका छन् ।

राजधानी मनिलाबाट करिब एक हजार किलोमिटर टाढा रहेको जोलोको मुख्य सडकमा दिउँसो बम विस्फोट गराइएको हो । प्रारम्भिक रिपोर्टअनुसार घरमै बनाइएको बम मोटरसाइकलमा जडान गरेर विस्फोट गराइएको थियो । ज्वाइन्ट टास्क फोर्स, सुलुका प्रवक्ता रेक्स पेयोटका अनुसार विस्फोटबाट केही पसलहरु र सेनाको दुई वटा ट्रकमा क्षति पुगेको छ ।

पहिलो विस्फोट भएको केही बेरमै दोस्रो बम विस्फोट गराइएको जनाइएको छ । पहिलो विस्फोटमा परी ५ जना सैनिक र ४ जना सर्वसाधारणको मृत्यु भएको थियो । त्यस्तै दोस्रो विस्फोटमा परी एक जना सैनिक र आत्मघाती विस्फोट गराउने संदिग्ध महिलाको मृत्यु भएको फिलिपिनो सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विस्फोटको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन ।

सुलु प्रान्तमा इस्लामिक स्टेट(आईएस) सँग सम्बन्ध भएको भनिएको ‘अबु सैयफ’ समूहको प्रभाव रहेको बताइन्छ । उनीहरु गत वर्ष भएको विभिन्न बम विस्फोटका घटनामा संलग्न भएका थिए ।

यसअघि सन् २०१९ को जनवरी २७ मा जोलोमै एउटा चर्च अगाडि गराइएको बम विस्फोटमा परी २३ जनाको मृत्यु भएको थियो भने एक सयभन्दा बढी घाइते भएका थिए । त्यसको ५ महिनापछि इन्दानानको एउटा सैनिक क्याम्पनजिकै भएको विस्फोटमा ८ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

(कान्तिपुर दैनिक)

‘टिक टक’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध अदालतमा

विश्व


काठमाडौँ — भाद्र ७, २०७७। 

चिनियाँ भिडियो एप ‘टिक टक’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध अदालतमा अपिल गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा टिकटक प्रतिबन्ध गरेपछि कम्पनीले कानुनी उपचार खोजेको हो ।

राष्ट्रपतिको कार्यकारी आदेश विरुद्ध यसै साता न्यायिक सुनवाई सुरु हुने बताइएको छ ।

अमेरिकामा सेप्टेम्बर महिनाको मध्यदेखि टिकटकको संचालक कम्पनी ‘बाईट डान्स’ सँग कुनै कारोबार नगर्न ट्रम्पले आदेश जारी गर्नुभएको थियो ।

टिकटकले अमेरिकी नागरिकको गोप्य सूचनाहरु चिनिया सरकारलाई उपलब्ध गराउन सक्ने ट्रम्पको भनाई छ ।

तर टिकटकले भने ट्रम्पको आरोप अस्विकार गरेको छ । अमेरिकामा टिकटकका ८ करोड सक्रिय प्रयोगकर्ताहरु रहेका छन् ।

यसअघि अर्को चिनियाँ एप विच्याटले पनि कानुनी उपचारको बाटो खोजेको भियो ।

(एजेन्सी)

बिग्रिरहेको सम्बन्ध सुधार्न भारतको ‘खोप कूटनीति’

विश्व


कोरोना भाइरसविरूद्धको खोप आपूर्तिका लागि नेपाललगायत श्रीलंका, माल्दिभ्स, बंगलादेश र भुटानलाई प्राथमिकतामा राखेको भनाइ

नयाँदिल्ली — भाद्र ७, २०७७। 

केही महिनायता छिमेकीहरूसँग बिग्रिरहेको सम्बन्ध सुधार्न भारतले कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच खोप कूटनीतिलाई अघि बढाएको छ । एक वर्षयता भारतको नेपाललगायत श्रीलंका, माल्दिभ्स र बंगलादेशका साथै भुटानसँगको सम्बन्ध पनि सुमधुर बन्न सकेको छैन । चीनसँगको सम्बन्ध त इतिहासकै नाजुक अवस्थामा पुगेको छ ।

जुन दोस्रो साता गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा २० भन्दा बढी भारतीय सैनिकको ज्यान गएपछि दुई छिमेकीको सम्बन्ध निकै तिक्ततापूर्ण छ । पाकिस्तान त उसको स्थायी शत्रुका रूपमा छँदै छ । यस्तो पृष्ठभूमिमा भारतले निकट छिमेकीहरूसँगको सम्बन्ध सुधार्न आर्थिक एवं वित्तीय सहयोगसँगै खोप कूटनीतिलाई अघि सारेको हो । भारतले हालै मात्र माल्दिभ्स र बंगलादेशलगायत मुलुकलाई कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको प्रभाव कम गर्न ठूलो परिमाणमा आर्थिक र वित्तीय सहयोगको घोषणा गरेको छ । यसका साथै आफूले उत्पादन गर्ने कोभिड–१९ विरुद्धको खोपको आपूर्तिका लागि यी मुलुकका साथै भुटानलाई पहिलो प्राथमिकता राख्ने प्रतिबद्धतासमेत जनाएको छ ।

खोपको अनुसन्धान अन्तिम चरणमा पुगेको र विश्वकै ठूलो उत्पादक भएकाले पनि भारतले निकट छिमेकीहरूसँगको सम्बन्ध सुधार्न खोप कूटनीति अख्तियार गरेको सहजै बुझ्न सकिन्छ । हालै बंगलादेश भ्रमणका गएका भारतीय विदेश सचिव हर्षबर्धन शृगंलाले त भारतले आफूकहाँ उत्पादन हुने खोपको आपूर्तिमा बंगलादेश प्राथमिकतामा रहेको सार्वजनिक रूपमै बताउनुले पनि त्यसको पुष्टि हुन्छ । ‘भारतले विकास गर्ने खोपमा बंगलादेश सधैं नै हाम्रो प्राथमिकतामा पर्छ,’ शृगंलालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले लेखेका छन् ।

भारतले अघि बढाएको खोप कूटनीतिलाई अन्तर्राष्ट्रिय मामलाका जानकारहरू छिमेकीहरूसँगको सम्बन्ध सुधारमा सकारात्मक पहलका रूपमा लिन्छन् । दिल्लीस्थित थिंक ट्यांक ओआरएफकी सिनियर फेलो राजेश्वरी राजगोपालनले कोभिड–१९ को महामारीका बेला भारतको पछिल्लो प्रयास जनस्तरको सम्बन्ध प्रगाढ बनाउने नीतिअन्तर्गत भएको बताउँछिन् । ‘विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै जनस्तरको सम्बन्ध विकास गरेर छिमेकीहरूसँगको दूरी कम गर्न यसले अहम् भूमिका खेल्छ,’ उनले भनिन् ।

हाल भारतका आधा दर्जन कम्पनीले कोभिड–१९ विरुद्धको खोपको अनुसन्धान गरिरहेका छन् । तीमध्ये तीनवटा कम्पनीले त मानव परीक्षण गरिरहेका छन् । भारत सरकारले अगस्ट १५ भित्रै खोप ल्याइसक्ने घोषणा गरेको थियो । तर उक्त अवधिभित्र वैज्ञानिक मापदण्ड पूरा गर्ने विषयमा विज्ञ र वरिष्ठ चिकित्सकहरूले नै प्रश्न उठाएपछि सरकार पछि हटेको थियो । औषधि तथा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सामग्रीमा भारत विश्वकै प्रमुख उत्पादक मुलुकमध्येमा पर्छ । सबैभन्दा धेरै औषधि उत्पादक भारतमा विश्वकै ६० प्रतिशत खोप उत्पादन हुने गरेको छ ।

भारतको खोप कूटनीतिलाई भारतीय उपमहाद्वीपमा पछिल्लो समय बढ्दो चीनको प्रभाव रोक्ने प्रयासका रूपमा पनि हेरिएको छ । चीनले आफ्नो देशमा विकास गरेको खोपको मानव परीक्षणका लागि राखेको प्रस्तावलाई बंगलादेशले अस्वीकार गरिदिएको थियो । त्यसको केही दिनमै भारतीय विदेश सचिवले खोप दिने प्रतिबद्धता जनाउनुलाई पनि निकै अर्थपूर्ण ठानिएको छ । राजागोपालन पनि भारतका पछिल्ला कदम केही हदसम्म चीनको प्रभाव रोक्ने नीतिअन्तर्गत चालिएका स्विकार्छन् । तर भारतले विगतमा पनि प्राकृतिक विपद्का बेला छिमेकहरूलाई सहयोग गरेको उनको भनाइ छ । ‘चीनको प्रभाव रोक्न नीति पनि हो । तर भारतले विगतमा पनि आफ्नो गच्छेले भ्याएसम्म प्राकृतिक विपद्का बेला आफ्ना छिमेकी मात्र नभएर अन्य मुलुकलाई पनि मद्दत गरेको तथ्य पनि बिर्सन हुँदैन,’ राजागोपालनले भने ।

नेपालको पनि अनुरोध

कोभिड–१९ विरुद्धको खोप उत्पादन हुनासाथ पहिलो खेपमै उपलब्ध गराउन नेपालले पनि अनुरोध गरेको छ । दिल्लीस्थित दूतावास स्रोतका अनुसार त्यस्तो अनुरोध अनौपचारिक रूपमा गरिएको हो । ‘नेपालका तर्फबाट पनि अनौपचारिक रूपमा अनुरोध भइसकेको छ,’ दूतावासका एक उच्च अधिकारीले भने । तर, उनले कुन तहमा त्यस्तो अनुरोध भएको भन्नेचाहिँ खुलाएनन् ।

तर, नक्सा विवादका कारण दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेका बेला भारतले आफूले उत्पादन गरेको खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ला भन्नेमा अझै पनि संशय रहेको देखिन्छ । तर, दूतावासका अधिकारीहरू पछिल्लो समय दुई देशबीच संवाद सुरु भइसकेको अवस्थामा भारतले नेपाललाई पहिलो खेपमै खोप उपलब्ध गराउने विश्वास व्यक्त गर्छन् ।

साथै, उनीहरू नक्साका कारण दुई देशबीच अविश्वास चुलिएका बेलासमेत विगतमा औषधिलगायत अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकाले पनि विश्वस्त देखिन्छन् । हुन पनि तनावकै बीच पनि भारतले नेपाल सरकार र नेपाली सेनालाई विभिन्न खेपमा गरी अत्यावश्यक औषधि र स्वास्थ्य सामग्री एवं उपकरणहरू सहयोग गरेको थियो । त्यसो त भारतीय विदेश सचिव श्रृंगलाले पनि खोपको उत्पादन भएको खण्डमा भारतले आफ्ना निकट छिमेकी, मित्र, साझेदार र अन्य मुलुकलाई प्राथमिकता दिने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अगस्ट १५ मा भएको टेलिफोन कुराकानीमा पनि कोभिड–१९ विरुद्धको खोपको प्रसंग उठेको थियो । कुराकानीमा ओलीले मोदीलाई भारतको स्वतन्त्रता दिवसको शुभकामना दिँदै भारतमा भइरहेको कोभिड–१९ विरुद्धको खोपले चाँडै सफलता पाउने विश्वास व्यक्त गरेका थिए । दुई देशका प्रधानमन्त्रीबीचको उक्त वार्ताले सीमा विवादका कारण चार महिनादेखि कायम संवादहीनताको अवस्था तोडिएको थियो ।

(कान्तिपुर दैनिक)
 

विष दिइएको आशंका गरिएका नाभाल्नीलाई उपचार गर्न जर्मनी पठाउन रुस तयार

विश्व


काठमाडौँ — भाद्र ६, २०७७ । 

रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई उपचारको लागि जर्मनी पठाउन रुस तयार भएको छ ।

साईबेरियास्थित एक अस्पतालमा कोमामा रहेका नाभाल्नीको उपचार गरिरहेका रुसी चिकित्सकहरु उनलाई बर्लीन बठाउन तयार भएका हुन् ।

यसअघि तिनै चिकित्सकहरुले अनुमति नदिंदा हिजो नाभाल्नीलाई जर्मनी लैजाने प्रयास असफल भएको थियो ।

बिहिवार साईबेरियाको ओम्स्क शहरबाट मस्को आउनेक्रममा वेहोस भएका नाभाल्नीको स्वास्थ्य अवस्था गम्भिर छ ।

उनलाई विष दिइएको आशंका गरिएको छ । तर रुसी अनुसन्धानकर्ता र चिकित्सकहरुले नाभाल्नीको शरिरमा कुनै विषालु पदार्थ प्रमाणित नभएको बताईरहेका छन् ।

नाभाल्नीको परिवार भने रुसी सरकारको दावी मान्न तयार छैन । राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक नाभाल्नीलाई पुटिनले नैं आक्रमण गराएको उनीहरुको आरोप छ ।

जर्मनी लैजाँदा नाभाल्नीको शरिरमा विषको अवशेष प्रमाणित हुनसक्ने भएकोले समयमै रुस छाड्न नदिइएको उनीहरुको आरोप छ ।

नाभाल्नीलाई यसअघि मस्कोको एक कारागारमा रहेकमो बेला पनि विष दिईएको थियो ।

नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्ताले आफ्नो अपराध ढाकछोप गर्न चाहेको आरोप लगाउँदै आएका छन् ।

४४ वर्षका भ्रष्टाचार विरोधी अभियन्ता नाभाल्नी साईबेरियामा हुन लागेको स्थानिय चुनावअघि समर्थकहरुलाई सम्बोन गर्न त्यहाँ पुगेका थिए ।

(एजेन्सी)

इराकबाट अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

विश्व


वासिङ्टन — भाद्र ६, २०७७ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता व्यक्त गर्नु भएको छ । इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँग ह्वाइट हाउसमा बिहीबार भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले उक्त योजनाका बारेमा जानकारी गराउनु भएको हो ।

इराकमा पछिल्ला वर्षहरुमा इरान समर्थित अतिवादीहरुको प्रभाव बढ्न थालेको तथा इस्लामिक स्टेटका लडाकूहरु पुनः सक्रिय हुन थालेको भन्दै प्रधानमन्त्री मुस्तफाले राष्ट्रपति ट्रम्पसँग विचारविमर्श गर्नु भएको थियो । ह्वाइट हाउसमा प्रधानमन्त्री मुस्तफासँगको भेटमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामी इराक छाड्न व्यग्र छौं, र म त्यो दिनको प्रतिक्षामा छु ।”

ट्रम्पले भन्नुभयो, “हामी इराकमा थियौं र अब हामी छाड्दैछौं । हामी जतिसक्दो चाँडो इराकबाट बाहिरिने छौं र हामीबीचको सम्बन्ध जहिल्यै सुमधुर छ । हामीबीच ठूलै स्तरमा तेलसम्बन्धी सम्झौता हुँदैछ । हाम्रा तेल कम्पनीहरुले इराकमा ठूलो लगानी गर्दैछन् । हाम्रो विश्वासमा इराकीहरुले आफ्नो मुलुकको रक्षा आफैं गर्न सक्षम छन् ।”

अमेरिकी सेनाको फिर्तीको समयसीमाका बारेमा सोधिएको एक प्रश्नमा अमेरिकी विदेशमन्त्री माइप पोम्पेओले हाम्रो अभियान समाप्त भएलगत्तै हामी इराक छाड्छौं भन्नुभयो । उहाँले राष्ट्रपतिले इराकमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्न आदेश दिइसक्नु भएको छ, र त्यही अनुसार काम अघि बढिसकेको जानकारी दिनुभयो ।

इराकमा हाल पाँच हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् । गत महिना अमेरिकाका वरिष्ट सैनिक जनरलले इराकमा सानो संख्यामा अमेरिकी सैनिक तैनाथ रहने बताउनुभएको थियो । अमेरिकी केन्द्रीय कमान्डका कमान्डर जनरल फ्रान्क म्याकेन्जीले इराकी सरकारले अमेरिकी सेनाको उपस्थितिलाई स्वागत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अमेरिकी समर्थनप्राप्त इराकी प्रधानमन्त्री अल–काधिमी गत मे महिनामा देशको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । अमेरिका–इरानबीचको शत्रुतापूर्ण सम्बन्धका कारण काधिमीले दुबै देशसँगको सम्बन्धलाई सन्तुलनमा राख्न निकै ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ ।

इरानको कुनै सन्देश लिएर वासिङ्टन आउनुभएको थियो कि भन्ने प्रश्नमा इराकी प्रधानमन्त्री काधिमीले “आफू अमेरिका भ्रमणमा जाँदा हुलाकी भएर नजाने” बताउनुभएको छ ।

इराक र इरानबीच सांस्कृतिक र धार्मिक सम्बन्ध रहिआएको छ, र यसलाई अमेरिकाले मान्यता दिएको छ । तर इराकभित्र इरान समर्थित लडाकूको चलखेल रोक्न अमेरिकाले विगतदेखि नै प्रयत्न गरिरहेको छ ।

बुधबार नै अमेरिकी ऊर्जा मन्त्री डान ब्राउलेटले आठ अर्ब डलर बराबरको लगानी गर्न निजी क्षेत्रका अमेरिकी कम्पनीहरुसँग सम्झौता भएको बताउनुभएको थियो । उक्त सम्झौतामा इराकी इन्धन तथा विद्युत मन्त्री र पाँच वटा अमेरिकी कम्पनीबीच हस्ताक्षर भएको थियो । इराकमा लगानी गर्न इच्छुक निजी क्षेत्रका कम्पनीहरुमा हनीवेल, बेकर ह्युजेज, जिई, स्टेलार र चेभरोन रहेका समाचार आजको वीनेपालीले प्रकाशन गरेको छ ।

राष्ट्रपतीय चुनावमा ट्रम्पका प्रतिस्पर्धी बाइडेन

विश्व


अमेरिकाका पूर्वविदेशमन्त्री कोलिन पावेल, ओहायो राज्यका पूर्वगभर्नर जोन कासिचलगायत आधा दर्जन रिपब्लिकन नेताहरूले गरे बाइडेनलाई समर्थन

वासिङ्टन — भाद्र ४, २०७७। 

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । डेमोक्र्याटिक पार्टीको सम्मेलनले बाइडेनलाई औपचारिक रूपमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवार घोषित गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण भर्चुअल विधिबाट गरिएको सम्मेलनमा पार्टीका निर्वाचित प्रतिनिधिहरूले ७७ वर्षीय बाइडेनलाई उम्मेदवारका रूपमा अनुमोदन गरेका हुन् ।
बाइडेनलाई पूर्वराष्ट्रपतिहरू जिम्मी कार्टर र बिल क्लिन्टन तथा पूर्वविदेशमन्त्री कोलिन पावेलले समर्थन गरेका छन् । कार्टर र क्लिन्टन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति बनेका भए पनि पावेल रिपब्लिकन पार्टीको सरकार हुँदा विदेशमन्त्री थिए । पावेल जर्ज डब्लू बुस प्रशासनमा सन् २००१ देखि २००५ सम्म विदेशमन्त्री थिए ।

अमेरिकाको सर्बोच्च पदका लागि बाइडेनको यो तेस्रो प्रतिस्पर्धा हुनेछ । उनी सन् १९८८ र २००८ मा पनि राष्ट्रपतिका आकांक्षीका रूपमा देखिएका थिए । विभिन्न मत सर्वेक्षणहरूले उनी राष्ट्रपति ट्रम्पभन्दा केही अगाडि देखिएका छन् ।

डेमोक्र्याटिक पार्टीको सम्मेलनमा मंगलबार राति पूर्वराष्ट्रपति क्लिन्टनले सम्बोधन गरेका थिए । भिडियोमार्फत गरिएको सम्बोधनमा उनले वर्तमान राष्ट्रपति ट्रम्पको कडा आलोचना गरेका छन् । ट्रम्पले ओभल अफिसलाई ‘लथालिंग’ बनाएका क्लिन्टनको आरोप छ ।

अमेरिकाले विश्वको नेतृत्वको गरिरहेको डोनाल्ड ट्रम्पले दाबीप्रति लक्षित गर्दै भने, ‘यो समयमा ओभल अफिस नेतृत्वको केन्द्रका रूपमा रहनुपर्थ्यो । तर यो आँधीको केन्द्रका रूपमा रहेको छ । यो लथालिंग अवस्थामा छ ।’ प्रमुख औद्योगिक अर्थतन्त्रमा अमेरिकाको बेरोजगारी दर ३ गुणा बढेको क्लिन्टनको भनाइ छ ।

मंगलबार सम्मेलनमा सम्बोधन गर्ने नेताहरूले मतदाताहरूलाई रिझाउने प्रयास गरेका थिए । अमेरिकाका साथै अन्तर्राष्ट्रिय समस्या समाधान गर्न डेमोक्र्याटिक पार्टीको विकल्प नरहेको उनीहरूको दाबी थियो ।

अमेरिकी सेनाका पूर्वप्रमुख पावलले बाइडेनलाई समर्थन गर्ने घोषणा गरे । सैन्य सेवामा हुँदा सिकेका मूल्य र मान्यता बाइडेनले हालसम्म पनि बचाएका उनको भनाइ छ । त्यस्ता मान्यताहरू ‘पुनः स्थापित गर्न टड्कारो भएकाले’ आफू खुलेरै बाइडेनको पक्षमा लागेको पावलले बताए । उनले गत जुनमा राष्ट्रपति ट्रम्पलाई ‘ढटुवा’ को संज्ञा दिँदै बाइडनलाई समर्थन गर्ने जनाएका थिए । त्यसैगरी, रिपब्लिकन पार्टीका आधार दर्जन नेताहरूले पनि बाइडेनलाई समर्थन जनाएका छन् । ओहायो राज्यका पूर्वगभर्नर जोन कासिचले डेमोक्र्याटिक उम्मेदवार बाइडनलाई सघाउने घोषणा गरे । कासिच सन् २०११ देखि २०१९ सम्म ओहायोका गभर्नर थिए ।

बाराक ओबामाको सरकारमा विदेशमन्त्री रहेका जोन केरीले पनि सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पको आलोचना गरे ।

बाइडेनले विश्व बुझेका कारण राष्ट्रहरूलाई एक ठाउँ ल्याई जनुसुकै समस्याको समाधान गर्न सक्ने क्षमता रहेको केरीको भनाइ छ । उनले अमेरिकालाई हेरेर हाँस्ने नभई स्याहार गर्ने राष्ट्रपतिको खाँचो भएको बताए ।

राष्ट्रपति ट्रम्पले आफूसँग असन्तुष्ट रिपब्लिकन नेताहरूलाई ट्वीटरमा जवाफ फर्काएका छन् । उनले बाइडेनलाई ‘वामपन्थी अतिवादीहरूको कठपुतली’ भएको बताएका छन् । आफू पुनः निर्वाचित हुने र बाइडेनले पराजय भोग्ने ट्रम्पको दाबी छ ।

बिहीबारसम्म चल्ने डेमोक्र्याटिक पार्टीको सम्मेलनमा पूर्वराष्ट्रपति बाराक ओबामा, उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस तथा सन् २०१६ मा राष्ट्रपतीय चुनावमा पराजित उम्मेदवार हिलारी क्लिन्टनले सम्बोधन गर्नेछन् ।

पूर्वराष्ट्रपति ओबामाकी पत्नी मिसेल ओबामा र सिनेटर बर्नी स्यान्डर्सले सोमबार सम्बोधन गरेका थिए ।उनीहरूले ट्रम्पको कडा आलोचना गर्दै उनी अमेरिकी राष्ट्रपतिका लागि अनुपयुक्त भएको दाबी गरेका थिए । ‘डोनाल्ड ट्रम्प हाम्रो देशका लागि गलत राष्ट्रपति हुन्,’ सम्बोधनका क्रममा मिसेलले भनेकी थिइन् ।

(एजेन्सी/कान्तिपुर दैनिक) 

सेनाको कब्जामा रहेका मालीका राष्ट्रपतिद्वारा राजीनामा

विश्व


बामाको — भाद्र ४, २०७७।

अफ्रिकी देश मालीका राष्ट्रपति इब्राहिम बुबकार केयटालाई अपदस्थ गरेका सैनिकहरूले देशमा संक्रमणकालीन सरकार निर्माण गरी नयाँ चुनाव गराउने घोषणा गरेका छन् ।

सैनिकहरूको कब्जामा लिएपछि राष्ट्रपति केयटाले राजीनामाको घोषणा गरेका थिए । सरकार टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति केयटाले सरकार र संसद् पनि भंग गरेको जनाए । ‘म आफूलाई शक्तिमा राखिरहन रगत बगोस् भन्ने चाहन्नँ,’ सम्बोधनमा उनले भने ।
उनी र प्रधानमन्त्रीसहित अन्यलाई सैनिकहरूले गिरफ्तार गरी राजधानीनजिकैको एक छाउनीमा लगिएपछि उनको घोषणा सार्वजनिक भएको हो । देशलाई थप तहसनहस हुन नदिन आफूहरूले उक्त कार्य गर्नुपरेको विद्रोही सैनिकहरूका प्रवक्ताको भनाइ छ ।

सैनिक कर्नेल स्माइल वागले नयाँ माली निर्माणका लागि नागरिक समाज र राजनीतिक शक्तिहरू एक हुन आग्रहसमेत गरेका छन् । उनले सत्तामा रहने आफूरुको कुनै मनसाय नरहेको जनाए ।

समस्या समाधानका लागि संवादको अपिल गरे पनि प्रधानमन्त्री बुबु सिसे पनि पक्राउ परेका छन् । उनीहरूलाई मालीको राजधानी बामाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कटीस्थित मुख्य सैन्य शिविरमा राखिएको बीबीसीले उल्लेख गरेको छ ।

एक कनिष्ठ सैनिक अधिकारीले उच्च कमान्डरलाई नियन्त्रणमा लिएपछि विद्रोही सैनिकले राजधानीमा मार्च गरेका थिए । त्यसपछि मंगलबार दिउँसो राष्ट्रपति केयटाको निवासमा सैनिकले धावा बोलेर उनी र त्यहाँ रहेका प्रधानमन्त्रीलाई गिरफ्तार गरेका हुन् ।

पक्राउ गरिएकामा राष्ट्रपतिका छोरा, माथिल्लो सदनका सभामुख, विदेशमन्त्री र अर्थमन्त्री रहेको बताइएको छ । घटनाको नेतृत्व कटी सैनिक छाउनीका उपप्रमुख कर्णेल मलिक डिव र अर्का कमान्डर जनरल सादिओ कमारालगायतले गरेका जनाइएको छ ।

विद्रोहमा कति सैनिक सहभागी छन् र उनीहरूको माग के हो भन्ने स्पष्ट नभएको जनाइएको छ । सैनिक विद्रोहसंगै राजधानी लगायतका क्षेत्रमा प्रदर्शनहरू गरिएका छन् । कतिपय स्थानमा लुटपाट भएको बताइएको छ ।

राजधानीमा युवाहरूले सरकारी स्वामित्वको एक भवनमा आगो लगाइदिएका बीबीसीले जनाएको छ । मालीमा केही महिनादेखि राष्ट्रपतिको राजीनामा माग र्गै प्रदर्शन हुँदै आएको थियो । दोस्रो कार्यकालका लागि सन् २०१८ मा निर्वाचित केयटाको लोकप्रियता पछिल्लो समय निकै घटेको थियो । भ्रष्टाचार, ओरालो लागेको अर्थतन्त्र तथा असुरक्षाका कारण मानिसहरूमा चरम असन्तुष्टि छ । प्रदर्शनकारीहरूले त्यसको दोष राष्ट्रपतिमाथि लगाउँदै आएका थिए ।

घटनाको अफ्रिकी संघ, क्षेत्रीय नेताहरू, संयुक्त राष्ट्रसंघलगायतले भर्त्सना गरेका छन् । राष्ट्रसंघका महासचिवले घटनाको निन्दा गर्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई बिनासर्त मुक्त गर्न आग्रह गरेका छन् ।

(एजेन्सी/कान्तिपुर दैनिक)

भारतमा एकैदिन थपिए ६९ हजारभन्दा बढी कोरोना संक्रमित

विश्व


संक्रमितको संख्या २८ लाख नाघ्यो, ५३ हजार ८ सय ६६ जनाको मृत्यु

नयाँदिल्ली — भाद्र ४, २०७७।

भारतमा एकै दिन ६९ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ९ सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

योसँगै भारतमा कोरोना संक्रमितको संख्या २८ लाख नाघेको छ । बिहीबार बिहानसम्म भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या २८ लाख ३६ हजार ९ सय २५ पुगेको छ । संक्रमितमध्ये २० लाख ९६ हजार ६ सय ६४ जना निको भइसकेका जनाइएको छ । भाइरसका कारण भारतमा हालसम्म ५३ हजार ८ सय ६६जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयले अहिलेसम्म देशभरि ३ करोड १७ लाखभन्दा बढीमा भाइरस परीक्षण गरिएको जनाएको छ । संक्रमित संख्याका आधारमा भारत हाल विश्वकै तेस्रो स्थानमा छ । पछिल्लो समय भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत राज्यमा भाइरसको संक्रमण थप तीव्र बन्दै गएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा ५५ लाख २९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । कोरोनाले अमेरिकामा एक लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

दोस्रो प्रभावित ब्राजिलमा अहिलेसम्म कुल ३४ लाख ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ लाख ११ हजार १ सय जनाको मृत्यु भएको छ ।

विश्वविद्यालयका अनुसार भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २ करोड २४ लाखभन्दा बढी छ । बिहीबार बिहानसम्म कोरोनाका कारण ७ लाख ८७ हजारभन्दा बढीको ज्यान गइसकेको छ । 

(एजेन्सी/कान्तिपुर दैनिक) 

डोनाल्ड ट्रम्पविरुद्ध खनिए ओबामा, राष्ट्रपति पदलाई ‘रियालिटी शो’ बनाएको आरोप

विश्व


काठमाडौँ — भाद्र ४, २०७७।

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खनिएका छन् ।

प्रायः शान्त र शिष्ट स्वभावमा प्रस्तुत हुने गरेका ओबामा बुधबार आयोजित डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा भने ट्रम्प विरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत भए ।

राष्ट्रपति ट्रम्पले राष्ट्रपति पद र त्यसको जिम्मेवारीलाई ‘एक अर्को रियालिटी शो’ बनाएर ह्वाईट हाउसको मर्यादा र गरिमाकै खिल्ली उडाएको ओबामाको टिप्पणी छ ।

ट्रम्पमा क्षमता नभएकै कारण उनी राष्ट्रपतिको रुपमा परिपक्व हुन नसकेको ओबामाको ठहर छ ।

डेमोक्रेटीक सम्मेलनको तेस्रो रात कमला ह्यारिसले औपचारिक रुपमा उपराष्ट्रपतिको मनोनयन स्विकार्दैछिन् ।

सम्मेलनको अन्तिम दिन पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाईडेनले सम्बोधन गर्ने कार्यक्रम छ ।

बाईडेन र ह्यारिसको जोडीले नोभेम्बर ३ तारिखमा हुने राष्ट्रपति चुनावमा ट्रम्प र माईक पेन्सको जोडीसँग प्रतिस्पर्धा गर्दैछ ।

उता ओबामाको टिप्पणीलाई जवाफ फर्काउदै राष्ट्रपति ट्रम्पले ओबामाले ८ वर्षे शासनकालमा अमेरिकीहरुलाई त्रासमा छाडेकोले आफु राष्ट्रपतिमा निर्वाचित भएको तर्क गरेका छन् ।

(एजेन्सी)