crimenews
||Power News Asia||

आजको समाचार

कुखुराको खोरमा गाँजाको भण्डार

शन्ती / सुरक्षा


काठमाडौँ, २२ जेठ । कालो धन्दा चलाउनेले प्रहरीको आँखा छल्न फिँजाएको जाल महोत्तरीमा उदाङ्गिएको छ । जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहामा एक लागुऔषध कारोबारीको यस्तै जाल प्रहरीले फेला पारेको हो ।

कुखुरापालन गरिएको घरमा झण्डै दुई क्विन्टल गाँजा पोका बनाएर राखेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बुधबार जानकारी दिएको हो । पहिलेदेखि नै सो बस्तीका लक्ष्मी चौधरी लागुऔषध गाँजाको ओसारपसार र कारोवारमा संलग्न छन् भन्ने सूचना पाएपछि त्यसको खोजीमा लागेको प्रहरीले १६ प्लाष्टिकका पोका र दुई बोरामा राखेर कुखुराको खोरमा थन्क्याइएको १८० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

गत मङ्गलबार राति प्रहरी निरीक्षक केदार बस्नेत नेतृत्वको प्रहरी टोलीले कुखुराको खोरमा गाँजा भण्डारण गरिएको पत्ता लगाएको हो । कारोवार सञ्चालन गर्दै आएका ५२ वर्षीय चौधरी भने फरार छन् । जिल्लामा पछिल्ला तीन वर्षयता यति धेरै परिमाणमा गाँजा फेला परेको यो पहिलो अवसर हो । भारतसँग सीमा जोडिएको एकडारा गाउँपालिका लागुऔषध गाँजाको सघन ओसारपसार हुने केन्द्रका रूपमा चिनिने गरिन्छ ।

यस गाउँपालिकाको अजमरपट्टी बस्ती एकदशक पहिलेसम्म संसारभरिकै गाँजा तस्करको उठबस हुने ठाउँका रूपमा चिनिन्थ्यो । तर गाँजाखेती र कारोवार नियन्त्रणमा प्रहरी सक्रियता बढ्दै गएपछि कारोवारीले नजिकका अन्य बस्तीलाई धन्दा चलाउन आश्रयस्थल बनाउँदै आएका छन् । जिल्लाका अन्य क्षेत्रमा पनि गाँजाखेती गरिएको भेट्टिए पनि धेरैजसो एकडारा गाउँपालिका क्षेत्रभित्रका बस्तीमा वर्षेनीजसो प्रहरीले गाँजा खेती नष्ट गर्दै आएको छ । (रासस)

१७ लाख रुपैयाँ घुस लिएपछि…

शन्ती / सुरक्षा


काठमाडौं, जेठ २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग भैरहवा रुपन्देहीका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले घुस लेनदेनको अभियोगमा नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तीर्थराज भण्डारी, सर्वेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका नासु धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि घुस लिएको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

सेवाग्राहीसँग १७ लाख रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा परेका उनीहरुलाई अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको आजको राजधानी दैनिकमा खवर छ ।

रुकुम घटना : वडाध्यक्ष र युवतीका बुबाआमासहित २० जनाविरुद्ध किटानी जाहेरी

शन्ती / सुरक्षा


शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।

दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएका हुन् । चौरजहारी–८ का टीकाराम सुनारको शव परीक्षण गरिएको छ भने अन्य दुई जनाको आज परीक्षण गरिने प्रजिअ पन्तले बताए । हराएका तीन जनाको खोजीकार्य भइरहेको जनाइएको छ । खोजीकार्यमा स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु संलग्न छन् । गोताखोरलगायत प्राविधिक स्रोत साधन नहुँदा बेपत्ताको खोजीमा समस्या भएको जिल्ला प्रहरी प्रमुख प्रनाउ श्रेष्ठले बताए ।

भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार र गोविन्द शाही, वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का सुनारको शव यसअघि नै फेला परिसकेको छ ।

घटनाको अनुसन्धानका लागि रुकुम प्रहरीले प्रहरी निरीक्षक कवि रोकालाई खटाएको छ । वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उपरीक्षक श्रेष्ठले बताए । “हत्या हो या भागदौडमा मृत्यु भएको हो अहिले नै भन्न सकिन्न, अनुसन्धानपछि यथार्थ विस्तारै खुल्छ”, उनले भने, “शव परीक्षण रिपोर्टले पनि अनुसन्धानमा सहयोग पुग्ला ।”

बलात्कारको आरोपमा पक्राउ

शन्ती / सुरक्षा


काठमाडौँ, १४ जेठ । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ ।

१९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले युवतीले लामो समयसम्म महिनावारी नभएको र पेट बढ्दै गएपछि गर्भ रहेको थाहा पाएको भन्दै प्रहरीमा उजुरी दिएको बताएका छन् ।

बलात्कारको आरोप लागेका पुरुष र युवती नाता सम्बन्धले दाजु बहिनी पर्ने र आरोपित पुरुषलाई जिल्ला अदलातबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । (रासस)

रूकुम घटनालाई तोडमोड गर्ने प्रयास

शन्ती / सुरक्षा


जाजरकोट, जेठ १४ । अन्तर्जातीय प्रेमका विषयमा जनप्रतिनिधिकै संलग्नतामा भएको रुकुम पश्चिमको घटनालाई तोडमोड गर्न खोजिएको आरोप पीडित पक्षले लगाएका छन्। चौरजहारी नगरपालिकाको सोतीमा गत शनिबार भएको घटनालाई रुकुमका जनप्रतिनिधिले तोडमोड गर्न खोजेको भन्दै पीडितले न्याय पाउनेमा आशंका व्यक्त गरेका छन्।

वडाध्यक्ष डम्बरबहादुर मल्लकै संलग्नतामा हत्याकाण्ड भएको र उनी पूर्वगृहमन्त्री जनार्दन शर्माको संरक्षणमा रहेकाले न्याय पाउनेमा पीडित परिवारले आशंका गरेका हुन्। सोतीका स्थानीय र केही जनप्रतिनिधिले नै लकडाउन उलंघन गर्दै हुल आएको र उमेर नपुगेकी केटीलाई जर्बजस्ती लिन खोजेकाले गाउँलेले नियन्त्रणमा लिने क्रममा भागदौड हुँदा भेरीमा खसेर ज्यान गएको बयान दिएका छन्। साथै उनीहरूले यो घटनालाई जातीयतासँग जोड्न नहुने भन्दै घटनालाई विषयान्तर गर्ने प्रयास गरिरहेको पीडितको भनाइ रहेको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।

रुकुम घटना, निष्पक्ष छानबिन होस्

शन्ती / सुरक्षा


काठमाडौँ, १३ जेठ । प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

दैलेखबाट संसद्मा प्रतिनिधित्व गरेकी सांसद विशुन्खेले प्रेस विज्ञप्ति जारी गरी रुकुमपश्चिम चौरजहारी–८ मा कुटपिटबाट जाजरकोटका नवराज विश्वकर्मा र रुकुम चौरजहारी–१ कै टीकाराम विश्वकर्माको मृत्यु भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाही गरी पीडित परिवारप्रति कानूनी राज्यको अनुभूति दिलाउन आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “यसरी नै जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै जाने हो भने संवैधानिक व्यवस्था भएको र संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्र भएको यो राष्ट्रले महङ्गो मूल्य चुकाउनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै जातीय छुवाछूतको सवाललाई शून्य सहनशीलता प्रभावकारीरूपमा कार्यान्वयन गरियोस् भनी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।” शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँगको नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीय गाउँलेको कुटाइबाट नवराज र टीकारामको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी नेपाल दलित मुक्ति सङ्गठनले पनि विज्ञप्ति जारी गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न, मृतक नवराज विक र टीकाराम विकलाई सांस्कृतिक शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष जोरदार माग गरेको छ । (रासस)

लकडाउनमा पार्किङ गरेको बसबाट टिभी चोर्ने ३ जना पक्राउ

शन्ती / सुरक्षा


लकडाउनको अवधिमा पार्किङ गरेका बसहरुबाट एलइडी टिभी र म्यूजिक प्लेयर चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङवेशीमा विभिन्न मितिमा पार्किङ गरी राखिएको धादिङ मण्डली यातायात प्रालिद्वारा संचालित बा ४ ख ७३८०, ना ४ ख २८९१, ना ६ ख ९१३० र लु २ ख १९५४ नंम्बरको बसहरुमा यात्रुहरुको मनोरञ्जनको लागि जडान गरिएको एलइडी टिभी तथा म्यूजिक प्लेयरहरु चोरी भएको थिए ।

चोरको खोजतलास गर्दै जाने क्रममा वैशाख १८ गते धादिङ कै सिद्धलेक गाउँपालिका–५ पोखरी स्थितबाट चोरी गरिएका एलइडी टिभी ६ थान, म्यूजिक प्लेयर ३ थान, स्पिकर २ थान, चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान सहित चोरी गर्ने अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले फेला परेको थियो ।

पक्राउ पर्नेमा धादिङ जिल्ला सिद्धलेक–५ बस्ने वर्ष २२ को अभिषेक श्रेष्ठ, सोही स्थान बस्ने वर्ष १९ का श्याम श्रेष्ठ र वर्ष २५ को अजय श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई फेला परेको सामानहरुसहित निजहरुलाई चोरी मुद्दामा धादिङ जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यस घटनामा १ जना व्यक्ति फरार रहेकोले फरार व्यक्तिको खोजतलास कार्य समेत भइरहेको प्रहरीको भनाइ छ । 

प्रहरीका नाममा सुसाइट नोट लेखेर आत्महत्या घटना : ओपितलाई हिरासतमा लिएर अनुसन्धान शुरु

शन्ती / सुरक्षा


बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिएको छ ।

तनहुँको व्यास नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा दवाडी जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत थिए ।

मृतक किसानले लेखेको सुसाइटनोट र परिवारले दिएको जाहेरीका आधारमा दवाडीलाई हिरासतमा लिइ अनुसन्धान शुरु गरिएको हो । जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै मृतक सम्झना किसानका बुबा खड्कबहादुर सार्कीले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी दिएका थिए ।

सार्कीले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि दवाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालिएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । दवाडीविरुद्व आत्महत्या दुरुत्साहनअन्र्तगत मुद्दा दायर गर्ने तयारी भएको प्रनि केसीले बताए ।

गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिता २०७६ ले आत्महत्या दुरुत्साहन गर्नेलाई समेत कारवाहीको व्यवस्था गरेको छ । आत्महत्या दुरुस्साहन मुद्दामा पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

सम्झना मङ्गलबार बिहान आफू बस्दै आएको कोठाको सिलिङमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । सम्झनाले जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई सम्बोधन गरी लेखेको सुसाइट नोटमा त्यहीँ कार्यरत प्रहरी जवान राकेश दवाडीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख छ ।

आत्महत्या गर्नुपूर्व सम्झनाले प्रहरी प्रमुखलाई सम्बोधन गरी लेखेको नोटमा दोषीमाथि आवश्यक छानबिन गरी कारवाही गर्न अनुरोध गरिएको छ । विसं २०७५ भदौ ५ गतेदेखि प्रहरी जवान दवाडीसँग चिनजान भई मायामा फस्दा बिचल्ली भई आत्महत्याको बाटो रोज्नुपरेको सुसाइट नोटमा उल्लेख छ ।

दवाडीविरुद्ध मुद्दा दर्ता भएर म्याद थप भएपछि परिवारले मृतक सम्झनाको शवलाई शुक्रबार दाहसंस्कार गरेका छन् ।

प्रहरीले उनीहरुको सम्बन्ध, मोबाइलमा भएका पछिल्ला संवादलगायत विषयमा अनुसन्धान थालेको छ । कानूनअनुसार, दोषी ठहर हुने अवस्था आए अदालतले उनलाई कारवाही तोक्ने र सोहीअनुसार हुने केसीले बताए ।

वासिङ्टनस्थित क्युबाली राजदूतावासमा गोली प्रहार

शन्ती / सुरक्षा


वासिङ्टन, १९ वैशाख (रासस–एएफपी) –– संयुक्तराज्य अमेरिकाको वासिङ्टनस्थित क्युबाली राजदूतावासमा बिहीबार राति एक व्यक्तिले गोली प्रहार गरेका छन् । अमेरिकी अधिकारीहरुले उक्त गोली प्रहारबाट दूतावासमा सामान्य क्षति भएको तर कुनै पनि व्यक्तिलाई चोटपटक नलागेको बताएका छन् ।

प्रहरीले गोली प्रहार गरेको आशंकामा टेक्सास राज्यको अब्रेका ४२ वर्षीय अलेक्जान्डर अलाजोलाई पक्राउ गरेको छ ।

वासिङ्टन महानगरीय प्रहरीका प्रवक्ता ह्युज क्यारिउले एक वक्तव्य जारी गर्दै प्रहरीले तत्कालै उक्त शंकास्पद व्यक्तिलाई गिरफ्तार गर्नुका साथै उनको साथबाट एक थान बन्दुक समेत बरामद गरिएको बताउनुभयो ।

उक्त गोली प्रहारको मनशाय भने अझै खुल्न बाँकी रहेको छ ।

स्थानीय संचार माध्यमहरुले ती व्यक्तिले दूतावासभित्र करिब ३० राउन्ड गोली प्रहार गरेका थिए । वासिङ्टनस्थित अडाम्स मोर्गनमा रहेको दूतावासको आसपास बार र रेष्टुराँहरु ठूलो संख्यामा रहेका र त्यहाँ मानिसको भिडभाड हुने गर्दछ । तर आजभोलि लकडाउनका कारण यो क्षेत्र सामान्यतया शान्त रहने गरेको छ ।

राजदूतावासले सार्वजनिक गरेका तस्वीरहरुमा गोलीले भवनका बाहिरी भित्ता, झ्यालमा प्वाल परेको देखिएको छ । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले क्युवाको हवानास्थित अमेरिकी कार्यवाहक राजदूत मारा टेकाजलाई विदेश मन्त्रालयमा आमन्त्रण गरेर क्युबाका तर्फबाट गोलीकाण्डको कडा शब्दमा भत्र्सना गर्नु भएको छ ।

कार्यबाहक राजदूत टेकाजले सार्वजनिक गर्नु भएको विज्ञप्तिमा वासिङ्टनस्थित क्युबाली दूतावासमा भएको घटनाप्रति कडा शब्दमा निन्दा गर्नु भएको छ ।

सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले क्युबाली राजदूतावासमा कार्यरत अमेरिकी कर्मचारीहरुमा सामूहिक गम्भीर स्वास्थ्य समस्या देखिएपछि अमेरिकामा रहेका १५ जना क्युबाली कुटनीतिज्ञहरुलाई देश निकाला गरेको थियो ।

ओबामा प्रशासनले क्युबाप्रति अमेरिकी नीतिमा परिवर्तन गर्न थाले पनि ट्रम्प प्रशासनले क्युबामाथि व्यापार र यात्रामा कडा प्रतिबन्धहरु पुनः लगाएको छ ।

कपिलबस्तुमा वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार

शन्ती / सुरक्षा


काठमाडौं – कपिलवस्तुको यशोधरा गाउँपालिका(८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि लक्षित गरेर गोली प्रहार भएको छ । शुक्रबार बिहान अज्ञात व्यक्तिले उनलाई लक्षित गरेर गोली चलाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार घटनामा संलग्न भएको आशंकामा एक जना स्थानीय पक्राउ परेका छन् । प्रहरीका अनुसार वडाध्यक्ष भने सकुशल छन्। घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।