crimenews
||Power News Asia||

आजको समाचार

काठमाडौंबाट फरार ‘सुन तस्कर’ इल्ताफ बाराबाट पक्राउ

शन्ती / सुरक्षा


काठमाडौँ — श्रावण २९, २०७७। 

साउन १३ गते काठमाडौंबाट फरार भएका ‘सुन तस्कर’ इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ परेका छन् । सुनले लेपन गरेको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन  तथा दुई थान पेस्तोलसहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परे पनि उनी फरार थिए ।

अन्सारीसँगै फरार रहेका भारतको गुजरातका सञ्जय पटेल भने अझै पक्राउ परेका छैनन् । १३ गते बिहान सुन्धाराबाट प्रहरीको घुमुवा टोलीले पिछा गरेपछि अन्सारी, पटेल, निलेश सखियालगायतको गिरोहले भारत लैजान लागेको सुनचाँदी त्यहीँ छाडेर भागेका थिए । त्यसको भोलिपल्ट मुख्य आरोपी निलेश सखिया, उनका सहयोगी विजय पटेल, कौशल पटेल र देवानसिंह पटेललाई पक्राउ परेका थिए । कौशलबाहेक तीन जना पूर्वी नवलपरासीको दुम्कीबासबाट पक्राउ परेका थिए ।
त्यसपछि प्रहरीले फरार अन्य व्यक्तिको खोजी कार्य जारी राखेको थियो । सोही अभियोगमा प्रहरीका दुई घुमुवा प्रशन्न श्रेष्ठ, बहादुरसिंह कठायत र सुन लुकाउन सघाउने बागबजारका मोबाइल पसल सञ्चालक उमेश श्रेष्ठ पक्राउ परिसकेका छन् ।

चाँदीमा सुनको लेपन लगाउने न्युरोडका कालिगढ मनिष मल्लिकलाई भने सोधपुछ गरेर छाडिएको थियो । सुनचाँदी तस्करीमा संलग्न हुनुअघि अन्सारी नक्कली भारतीय नोटको कारोबारमा पक्राउ परेर कैद भुक्तानपछि छुटेका थिए । भारतीय नागरिक निलेश सखियाले उनै अन्सारीमाफर्त सुन तस्करीको सञ्जाल विस्तार गरेका थिए ।

सखिया भारतीय चलचित्र निर्माता पनि हुन् । उनले पछिल्लो पटक सन् २०१९ मा ‘पेनाल्टी’ नामक चलचित्र बनाएका थिए । प्रहरीलाई दिएको बयानअनुसार सखियाले चलचित्र निर्माणमा नोक्सान बेहोरेपछि सुन तस्करीमा हात हालेका थिए ।

त्यसदिन काठमाडौंबाट बरामद गरिएको सुनचाँदी अन्सारीले वीरगन्जसम्म पुऱ्याइदिने र त्यहाँबाट सखिया आफैले गुजरात लिएर जाने तयारीमा रहेको प्रहरी स्रोतले बताएको छ ।

उनीहरुले गुजरातलगायत भारतका विभिन्न स्थानमा सक्कली सुन भन्दै जलप लगाएको पहेँलो धातु दिएर ठगी गर्ने योजना पनि खुलेको छ ।

यसैबीच बाराबाट पक्राउ परेका अन्सारीलाई लिन महानगरी अपराध महाशाखाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । प्रहरी निरीक्षकको नेतृत्वमा बिहीबार बिहान महाशाखाले अन्सारीलाई लिन टोली पठाएको हो । महाशाखाकै सूचनाका आधारमा बारा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साउन १३ गते सुन्धाराबाट फरार हुँदा प्रयोग गरिएको अन्सारीको बा ६ च ५५१९ नम्बरको स्कार्पियो साउन १४ गते ललितपुरको नखिपोट क्षेत्रबाट प्रहरीले बरामद गरेको थियो ।

(कान्तिपुर दैनिक)

इन्जिनीयर साह धादिङको धुनिबेँसीबाट रङ्गेहात पक्राउ

शन्ती / सुरक्षा


काठमाडौं — श्रावण २६, २०७७। 

नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौँ आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको आयोगले सोमबार जनाएको छ । 

(रासस)

कोरोना सङ्क्रमणको जोखिमका समयमा पनि ठूला सुपरमार्केटमा ठगी– भाटभटेनीको दालमा ढुंगा, तरकारी भित्रभित्रै कुहिएको

शन्ती / सुरक्षा


काठमाडौं – श्रावण २६, २०७७। 

कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर ठगिरहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

विभागले प्रत्येक दिन गरेको अनुगमनको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

गतचैत ११ गते कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी लागू गरिएपछिको अवधिमा भाटभटेनीका दुई वटा शाखा कारवाहीमा परेको विभागले जनाएको हो । यस अवधिमा भाटभटेनीको नक्साल र अनामनगर शाखा कारवाहीमा परेका हुन् ।

भाटभटेनी सुपरमार्केटले उपभोक्ताबाट नयाँ तरिकाबाट बढी पैसा असुल्ने गरेको छ । भाटभटेनीले सहुलियत दरमा सामान बिक्री गर्ने गरेको दाबी गरे पनि उपभोक्ताबाट पैसा लिई फिर्ता गर्ने बेलामा भीडभाडको मौका छोपी कम दिएर ठग्ने नयाँ शैली उपयोग गरेको बानेश्वरका पीडित उपभोक्ता राजेन्द्र कार्कीले बताउनुभयो । अनामनगर शाखाले सामान किनेपछि पैसा फिर्ता गर्दा भीडभाडको मौका छोपी रु ९० कम फिर्ता दिएको उहाँले जानकारी दिनुभयो ।

भाटभटेनी सुपरमार्केटबाट सामान लिई बिल तिरेर फर्कने बेलामा काउन्टरमा भीड भएको मौका छोपी दिनुपर्ने भन्दा कम पैसा फिर्ता गरिएको उहाँले सुनाउनुभयो । कोरोनाका कारण भीडभाडमा नबसौँ भनी भाटभटेनीमा माइकिङ भइरहेको हुन्छ ।

भाटभटेनीबाट पैसा फिर्ता लिई फर्केर बाहिर आई हेर्दा कम भेटिने गरेको पीडित उपभोक्ताको गुनासो छ । सिसीटिभी क्यामेरासमेत जडान गरिएको भनिएको भाटभटेनीमा यस विषयमा गुनासो गर्दा पनि सुनुवाइ नहुने गरेको उपभोक्ता उहाँको गुनासो छ ।

भाटभटेनीको अनामनगर शाखाका व्यवस्थापक अजय लामा उपभोक्तालाई दिनुपर्नेभन्दा कम पैसा दिइएको उजुरीका आधारमा सिसीटिभीको फुटेज परीक्षण गर्दा कमजोरी भएको भेटिएको स्वीकार गर्नुहुन्छ ।

कम पैसा फिर्ता दिने कर्मचारीलाई आइन्दा गल्ती दोहो¥याए कारवाही गर्ने चेतावनी दिइएको पनि उहाँले सुनाउनुभयो ।

ठूलो सुपरमार्केट भएर पनि भाटभटेनीमा गुणस्तरीय सामान नपाइएको चुच्चेपाटीकी डोल्मा शेर्पाले गुनासो गर्नुभयो । भाटभटेनीबाट ल्याएको तरकारी भित्रभित्र कुहिएको हुने गरेको उहाँको भनाइ छ ।

भाटभटेनी आफैँले प्याकिङ गरेको दालको पोकाभित्र प्रसस्त ढुङ्गा भेटिने गरेको पनि उपभोक्ताको दुःखेसो छ । यस्ता सुपरमार्केटलाई पारदर्शीरुपमा गुणस्तरीय सामान बिक्री गराउन निरन्तर बजार अनुगमन गरिनुपर्ने माग पनि उपभोक्ताले गरेका छन् ।

उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेल ठूला सुपरमार्केटमा बजार अनुगमन औपचारिकतामा मात्र सीमित हुने गरेको सुनाउनुहुन्छ । यस्ता सुपरमार्केटमा जोडिएका राजनीतिक व्यक्तित्वका कारण पनि विभाग अनुगमनका लागि हच्कने गरेको उहाँको आरोप छ ।

लाखौँ उपभोक्ता पुग्ने र सबै खाले सामान राखिएका यस्ता बजारको नियमित अनुगमन गर्ने गरी जनशक्तिको व्यवस्थापन हुन नसकेको उपभोक्ता हितमा कार्यरत संस्थाको भनाइ छ ।

गतचैत ११ गतेदेखि बन्दाबन्दी शुरु भएलगत्तै भाटभटेनीको मुख्य सुपरमार्केट नक्सालमा विभागले गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्री गरेको भेटिएको जनाउँदै कारवाही गरेको थियो ।

केही समय अघि भाटभटेनीको अनामनगर शाखा पनि मिति नाघेको सामान भेटिएको भनी कारवाहीमा परेको विभागका प्रवक्ता रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

“अनुगमनका क्रममा गल्ती भेटिएपछि भाटभटेनीका अधिकारी भूल भयो, छुट भयो, झुक्कियो, बिर्सियो भन्नेजस्ता जवाफ दिएर उम्कने गरेका छन्, यसो भन्दैमा गरेको गल्तीबाट बचाउन सकिँदैन, कर्मचारीलाई दोष दिएर सुपरमार्केटका अधिकारीले कारवाहीबाट उम्कन खोज्छन्”, उहाँले भन्नुभयो ।

यस सम्बन्धमा प्रतिक्रियाका लागि भाटभटेनीको मुख्य शाखा नक्सालका अधिकारीसँग प्रतिक्रियाका सम्पर्क गर्दा अधिकारी एकापसमा पन्छिए । भाटभटेनीका उपत्यकाका अनामनगर, नक्साल, महाराजगञ्ज, त्रिपुरेश्वर, पाटन, सातदोबाटो, कोटेश्वर, भक्तपुर, बौद्ध र कलङ्कीमा गरी १० स्थानमा शाखा छन् ।

यसैगरी उपत्यका बाहिर धरान, विराटनगर, बुटवल, नारायणघाट, पोखरा, भैरहवा र नेपालगञ्ज गरी सात स्थानमा शाखा छन् । भाटभटेनीका देशभर १७ स्थानमा आफ्नै भव्य भवनसहित शाखा स्थापना भएका छन् ।

(रासस)

गोंगबुमा सुटकेस भित्र शव— टाउको र खुट्टा सुटकेस बाहिरै

शन्ती / सुरक्षा


काठमाडौं — श्रावण २५, २०७७। 

काठमाडौंको गोंगबुमा सुटकेसमा हालेर फालिएको अवस्थामा फेला परेको शव र घट्नाका बारेमा प्रहरीले सुक्ष्म अध्ययन सुरु गरेको छ ।

गोंगबु चोकबाट गणेशथान जाने बाटोमा टाउको विनाको शव सुटकेसमा फालिएको अवस्थामा फेला परेको हो । शव टुक्रा भएको अवस्था भेटिएको बताइएको छ ।

टाउको र खुट्टा बिनाको शव सुटकेशमा फेला परेपछि कुकुरको सहायतामा शव फेला परेको केही स्थानबाट सय मिटर अगाडी फेला पारको हो ।

आइतबार बिहान करिब ३ बजेतिर दुई अज्ञात व्यक्ति सोही स्थानमा देखा परेको यद्यपी शव फालिएको भनेपछि मात्रै थाहा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

महानगरीय परिसर काठमाडौं, अपराध अनुसन्धान महाशाखा र स्थानीय प्रहरीको टोलीले घटनाको अनुसन्धान गरिरहेका छन् ।

फेला परेको शव अन्दाजी ४५ बर्षीय व्यक्तिको भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाबारे छानविन गरिरहेको छ ।

शवको पहिचान गर्न समस्या भइरहेको छ । कसैले हत्या गरेर शव फालेको अनुमान पनि गरिएको छ ।

 (ईमेज खबर)

कुरुप मानसिकता र एसिड आक्रमण — अभिषेक शर्मा

शन्ती / सुरक्षा


काठमाडौं — श्रावण २३, २०७७।

प्रकृति आफैमा सुन्दर छ, अनि त्यतिनै प्यारा र सुन्दर छन प्रकृतिका अदभुत सिर्जना ।  यहाँ आफ्नो भौतिक अस्तित्व हुनु त्यो पनि सर्वश्रेष्ठ , विवेकशिल मान्छेको रुपमा त्यो सुन्दरता मध्येकै सबैभन्दा सुन्दर आयाम हो। यहि अस्तित्व छ र न जीवन, जगत, प्रकृतिलाई भोग्ने, बुझ्ने, सिक्ने अवसर मिल्छ । महत्वाकांक्षा, प्रगतिशील विचार, खोज, दर्शन, आविष्कारको माध्यमबाट त्यो सुन्दरतामा केही थप योगदान हामिले पुर्यायौं पनि, तर सङ सङै हाम्रो अस्तित्वलाई नै लज्जित बनाउने र प्रश्न चिन्ह उब्जाउने गरि केही कुरुप बनाउन पनि जिम्मेवार बन्यौं। यसले हामिलाइ हामि आफैले भनेजस्तो 'विवेकशिल' बन्नबाट रोकिरहेको अनुभुती गर्छौं। 

मानवता र मानव सभ्यताको विकासले उत्तर आधुनिकतामा पुर्याएको समाजमा विद्यमान दरिद्र मानसिकता, हत्या, हिंसा, बलात्कार लगायतका जघन्य अपराधहरु यस्ता छन कि यसले हामिलाइ पुर्णरुपमा सर्वश्रेष्ठ भन्न र बन्न एकपटक सोच्न बाध्य बनाउछ। यिनै अपराधहरुको पराकाष्ठा को नमुनामा एक: "एसिड अट्याक" हो । पछिल्लो समय निकै चर्चामा रहेको यो  विषय सामान्य घटना जस्तै बन्दै गइरहेको छ जुन अत्यन्तै असामान्य हो। 

"एसिड अट्याक" अर्थात अपराधीक नियतले वा क्षणिक रिसलाइ नियन्त्रण गर्न नसक्नाले कसैको शरिरको विभिन्न अंग , विशेषगरी अनुहार, हात, टाउको लगायतका भागमा गरिने एसिडको आक्रमण ।  एसिडको प्राकृतिक गुणका कारण  यसको शिकार हुने जो कोहिले पनि अत्यन्तै पिडा, पोलाइ र दुखाइको सामना गर्नुपर्छ जस्लाइ हामी कसैले बोलेर, लेखेर  सायद व्यक्त गर्न  सक्दैनौं । त्यति मात्र होइन, यसले दीर्घकालीन रुपमा छालामा र शारीरिक आवरणमा नकारात्मक प्रभाव पार्छ र पुर्ण रुपमा बिगार्छ पनि । समग्रमा शारीरिक, मानसिक, सामाजिक रुपमा विभिन्न समस्या निम्त्याउछ। 

यसका कारण विविध हुन सक्छन। मुख्यत: क्षणिक रिस माथीको नियन्त्रण गुमाउदा अनि कसैको शारीरिक रुप नै बिगार्दिने योजनाबद्ध नियतले गरिने यो अपराध नेपालमा पनि मौलाउदै छ। तथ्यांकका अनुसार पछिल्लो ७ वर्ष यता नेपालमा १८ महिला र ४ पुरुषलाई एसिड आक्रमण भएको देखिन्छ। त्यसमा अधिकांश आक्रमण बदला लिन, प्रेम प्रस्ताव अस्विकार गरेर , अनुहारको रुप बिगार्न, दाइजो नल्याएको निहुँमा गरेको पाइन्छ । यस कारण पनि होला, यो अपराधलाई लैङ्िगकता सङ जोडेर हेर्ने गरिन्छ । यस अपराधलाई नेपालको सन्दर्भमा लैङ्िगकता सङ जोड्नु सहि पनि छ किनकी अधिकांश घटनामा महिलालाइ नै निशाना बनाइएको छ। यसैको सेरोफेरोमा रहेर हामी चर्चा गर्दैछौं । तर यसको मतलब, पुरुषहरु यसबाट पुर्ण रुपमा सुरक्षित छन भन्ने भने होइन। 

सामाजिक, नैतिक, कानुनी रुपमा  र मानवताकै हिसाब पनि अपराधको रुपमा रहेको यस कुकार्यको विरुद्ध कानुनी प्रावधान नभएको पनि होइन, तर पनि यसरी घट्दै गैरहेको यस घटनाले एकपटक हामी सबैलाइ गहिरिएर सोच्न बाध्य बनाइदिएको छ। नेपालको वर्तमान कानुन {मुलुकी अपराध संहिताको दफा १९३(२)} अनुसार आक्रमण र असरको प्रकृति हेरेर अनुहार कुरुप बनाएको खण्डमा दोषीलाई ५ देखि ८ वर्षसम्म कैद र एक लाख रुपैया देखि पाँच लाख रुपैया सम्म जरिवानाको व्यवस्था गरिएको छ । यसबाहेक अन्य अंगमा असर पुर्याएको खण्डमा सोही अनुसारको सजाय तोकिएको छ ।

यस प्रकारको अमानवीय कार्यमा संलग्न अपराधीको दरिद्र मानसिकता बाट बच्न  हामी पनि केही सजग र सचेत हुन जरुरी छ। यो समाज जहाँ हामी बाहिरी रुप, छालाको रङ, शरीरको बनोटलाई सुन्दरताको मापदण्डका रुपमा लिने गरिन्छ- त्यहा अपराधी नियत भएका हरुले शारीरिक सुन्दरता नष्ट गरेर जीवन बर्बाद गरिदिन्छु भन्ने निम्न स्तरको मानसिकता बोकेर यस प्रकारका कार्य गर्छन । 

कुनै पनि अपराधलाई समाजबाट पुर्ण रुपमा निर्मुल पार्न निकै चुनौतीको विषय हो । तर यस्लाइ जति हुन्छ न्यूनीकरण गर्दै लैजानुतर्फ हामी अग्रसर हुनु आवश्यक छ। सरकारले कानुनी राज्यको  प्रत्याभूति गराउन यसबारे कडा नियम बनाउनुपर्छ भन्दै हामी धेरैले भन्ने गर्छौं। यो सहि पनि छ, तर सरकार र राज्यलाइ उत्तरदायी बन्न सिकाउने हामिले पनि केहि सहयोग गर्ने कि? मैले पनि केहि सहयोग गर्ने कि? भन्ने कुरा बारे चासो राख्नु उत्तिकै आवश्यक छ। सुन्दर समाज निर्माणको आधारशिला आफ्नो कर्तव्यको बोध हुनु हो। त्यसैले हामी आफ्नो स्थानबाट प्रभाककारी भुमिका खेल्न जरुरि देखिन्छ। 

कसैले प्रेम प्रस्ताव अस्विकार गर्छ भने मैले आफुलाइ उसको स्तर वा उ भन्दा माथीको योग्य व्यक्ती बन्न तिर ध्यान दिनुपर्छ र लाग्नुपर्छ  न कि कसैको सुन्दर जिवनमाथी खेलबाड गर्ने अपराध।हरेकको स्वतन्त्रता सङ बाच्न पाउने र आफ्नो जिवनको महत्त्वपुर्ण निर्णय आफै लिन पाउने अधिकार उसले प्रयोग गरेकै भरमा उ माथी आक्रमण गर्न हामी अगि सर्छौं भने कति निच र तुच्छ स्तरको छौं भन्ने प्रमाणित हुन्छ । यसबाहेक पनि एसिड जन्य पदार्थको बिक्री -वितरणलाई कडाइ गरिनुपर्छ । सामन्य रुपमा उपलब्ध हुने Sulphuric, Nitric जस्ता खतरनाक एसिडका कारण घटना बढ्न जान्छ तसर्थ यसको बिक्री - वितरणका लागि केही मापदण्ड बनाइनुपर्छ । विशेष गरि यसको असर, अपराधको सजाय र यसलाई निम्त्याउने कारणहरु बारे जनस्तरमा चेतना फैलाइनु आवश्यक छ। एसिड आक्रमणको सिकार हुने व्यक्ती कुरुप बन्दैन, त्यो तुच्छ र निच नियत बोक्ने अपराधीक मानसिकता कुरुप हो ।

एकातिर एसिड आक्रमण हुनै नदिन के गर्न सकिन्छ भन्ने र अर्को तिर आक्रमण भैसकेको खण्डमा सम्बन्धित व्यक्तिको दैनिकि कसरी सहज बनाउने भन्ने यी दुई विषय नै महत्त्वपूर्ण छन् । यो कुनै एक- दुई व्यक्ति सङ मात्र नभएर समग्रमा सम्पुर्ण मानव जातिसङै प्रत्यक्ष सम्बन्धित विषय हो । 

यदि कोहि व्यक्ती एसिड आक्रमणको शिकार हुन्छ भने त्यसपछिको समय उसका लागि कठिन बन्न पुग्छ। त्यो दुखाइ र त्यसपछिको उपचार पनि संबेदनसिल विषय हुन। धेरैजसो घटनामा त व्यक्ती पुर्ण रुपमा ठिक हुनपनि सक्दैन। त्यसैले यस किसिमका घटना घट्न नदिन हामी एक हुनु आवश्यक छ । यदि कोइ दुर्भाग्यवश यसको सिकार हुन्छ भने त्यो भौतिक दुखाइ र पीडा त हामी चाहेर पनि बाड्न सक्दैनौं तर पनि उसलाइ सहजताको अनुभुति गराउन सक्छौं । 

सामन्य व्यक्तिलाइ जसरी माया-प्रेम-सद्भाव दिएर, बाहिर शरिरमा केही समस्या भएपनी उच्च मनोबलका साथ अगाडि बढ्ने हो भने शारीरिक रुपले अर्थ राख्दैन भन्ने बोध गराउनुपर्छ। एसिड आक्रमण भएका व्यक्तिमा शारीरिक रुपमा मात्र नभएर मानसिक रुपमा पनि गहिरो चोट पुग्न सक्छ। तर  समाजमा यस्ता दिदी-बहिनी हरु पनि हुनुहुन्छ जो एसिड आक्रमण को शिकार भैसकेपछि पनि उच्च मनोबलका साथ बाच्न सकिन्छ भन्ने दृष्टान्त बन्नुभएको छ।  सबैभन्दा पहिला त छालाको रङ र वर्ण ले सुन्दरताको निर्धारण गर्ने होइन भनेर हामी आफैले बुझ्न जरुरी छ। हाम्रो मानसपटलमा यो नपरोस कि कसैको रूपमा प्रहार गर्दैमा उ बर्बाद भयो र मैले जिते भनेर। 

अनि यता सायद कानुनी रुपबाट पनि  नियतवश यस किसिमको कार्यमा लाग्ने जो कोहिलाइ - सोही अपराध सजायको रुपमा दिलाइनुपर्छ जसबाट उस्ले बुझोस त्यो पीडा र दुखाइ अनि अन्यका लागि पनि उदाहरण बनोस। कुनैपनी रुपमा एउटा यस्तो उदाहरण पस्कनु पर्छ जस्ले अर्को पटक कुनै व्यक्तिले यो अपराध गर्ने आंट नगरोस। चेतना र चेतावनीबाट यसलाइ नियन्त्रण गर्न सकिएन र जघन्य अपराध मौलाइरहयो भने अन्तिम विकल्पका रुपमा सशक्त भएर उभिनु जरुरी छ । अझ भन्ने हो भने यसमा ढिलाइ गरिनुहुदैन ताकी अर्को कोइ निर्दोष फेरि शिकार बन्नु नपरोस। 

अन्ततः मानवतालाइ लज्जित गर्ने गरि कसैको जीवन बर्बाद गर्न होइन, आफुलाइ योग्य र स्वाभिमानी बनाउन अग्रसर बनौं । पुरुषार्थ र साहसको प्रतीक कसैको जीवन माथी खेलबाड गरिदैन, उसलाइ सुरक्षा र आत्मीयताको अनुभुती गराइन्छ। 

बलात्कारको आरोपमा वडासचिव पक्राउ

शन्ती / सुरक्षा


काठमाडौँ — श्रावण २२, २०७७। 

कैलालीको भजनी नगरपालिका वडा नम्बर–४ का सचिव सुमनकुमार चौधरी बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

एक महिलाको उजुरीपछि ती वडासचिवलाई प्रहरीले बुधबार भजनी नगरपालिका–४, खैलाडबाट पक्रेको हो ।

आफूलाई बलात्कार गरेको भन्दै महिलाले चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा साउन १८ गते उजुरी दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय भजनीको टोलीले नियन्त्रणमा लिएर चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताउनुभयो ।

साउन ५ गते घटना भएको भएपनि स्थानीयस्तरमै मिलाउने प्रयास गरिएको र त्यस कार्यमा जनप्रतिनिधि नै संलग्न रहेको आरोप छ ।

महिलालाई इलाका प्रहरी कार्यालय भजनीमा उजुरी दर्ता नगर्न दबाब दिएपछि उनले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछिमात्र घटना सार्वजनिक भएको हो ।

पक्राउ परेका चौधरी कैलालीकै टीकापुर नगरपालिका वडा नम्बर–६ का स्थायी बासिन्दा हुन् ।

(ईमेज खबर)

घटनाको वास्तविकता उजागर भएपछि कार्टुनमा शिशु फालेर पैसा जम्मा गर्ने केयर होममा रकम फिर्ता माग्नेको लर्को

शन्ती / सुरक्षा


काठमाडौं — श्रावण २१, २०७७। 

काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको घटनाको वास्तविकता उजागर गर्दै हामीले समाचार प्रकाशन/प्रसारण गरेपछि देश–विदेशमा सनसनी बनेर फैलियो ।

सनसनीमात्रै फैलिएन, शिशुलाई देखाएर पैसा जम्मा गर्ने केयर होमकी सञ्चालकसँग पैसा फिर्ता लिन जानेको उत्तिकै भिड लागेको छ ।

कपनचौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालनपोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश–विदेशका मनकारीहरुले आ–आफ्नो खर्च कटौती गरेरै पैसा पठाए ।

शिशुका लागि भन्दै संसारभरका मानिस तँछाड–मछाड गरेर पैसा दिन ओइरिएपछि उनले मनग्गै रकम पनि जुटाइन् ।

तर, घटनाको वास्तविकता उदांगिएपछि भने अहिले सहयोगीहरु नै रकम फिर्ता लिन पुष्पा अधिकारीले सञ्चालन गर्दै आएको केयर बालगृहमा पुग्न थालेका छन् ।

घटनाको गाँठी कुरो थाहा नपाइ समाचार सम्प्रेषण गर्ने र घटनाबारे थप जानकारी दिन सञ्चारमाध्यमहरुको घुइँचो नै लाग्यो, बालगृहमा ।

भिड नियन्त्रणकै लागि बालगृहमा प्रहरी परिचालन गर्नुपर्नेसम्मको अवस्था आइपरेको छ ।

अबोध शिशुलाई कार्टुनमा फालिएको भन्ने नाटक मच्चन गरेको स्वीकारेकी बालगृहकी सञ्चालक अधिकारीले हाम्रो टोलीसमक्ष सहयोगस्वरुप प्राप्त रकम फिर्ता गर्न आफू तयार भएको बताइन् ।

समाचारको प्रभावस्वरुप काठमाडौंमात्र होइन, देश–विदेशबाट सहयोग गरेकाहरुले रकम फिर्ता लैजान थालिसकेका छन् ।

चार वर्षदेखि सञ्चालित उक्त बालगृहकाबारेमा जानकारी नै नभएका छिमेकीहरु पनि घटना उजागर भएपछि चकित भएको बताउँछन् ।

संस्थामा रहेका अरु बालबालिकालाई कतै लैजान नदिने र आफैंले पालनपोषण र हेरचाह गर्नेपनि पुष्पाले बताइन् ।

वैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी महिलाले जन्माएकी उक्त शिशुलार्ई देखाएर पैसा जम्मा गरिएको थियो । पछि भने उक्त महिलाले प्रहरीको रोहबरमा आफ्नो शिशु आफैंसँग लगेकी छिन् ।

यसको पछाडि शिशुको नाममा आएको सहयोग रकमको लेनादेना नमिलेर हो वा अरु नै केही भन्नेबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यद्यपि, पुष्पाको दाबीअनुसार शिशु महिलाले आफैं ल्याएको नभइ अरु कुनै महिलामार्फत् केन्द्रमा ल्याएको र शिशुकी आमालाई सहयोग गर्नकै लागि यो नाटक गरिएको थियो ।

एउटी अबोध शिशुलाई माध्यम बनाएर गरिएको यसखाले नाटक मञ्चनले समाजमा कस्तोसम्म प्रवृत्ति मौलाएको छ भन्ने दृष्यमात्र उजागर गरेको छैन, कानुन कार्यान्वयन गर्ने अधिकारीहरुलाई यस्ता घटना हुन नदिन सतर्कपनि गराएको छ ।

(ईमेज खबर)

निर्मला प्रकरण - एसएसपी विष्टसहित आठै प्रहरीलाई सफाई

शन्ती / सुरक्षा


काठमाडौं — श्रावण १५, २०७७।  

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा यातना र प्रमाण नष्टको आरोप लागेका प्रहरी अधिकारीहरुलाई अदालतले सफाई दिएको छ । जिल्ला अदालत कञ्चनपुरले बिहीबार तत्कालीन एसपी दिल्लीराज विष्टसहित आठैजना प्रहरी अधिकारीहरुलाई सफाइ दिएको हो । 

न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले खडक विष्ट वादी रहेको यातना कसुरमा तत्कालीन एसपी दिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरिक्षक एकेन्द्र खड्कालाई निर्दोश ठहर्‍याएको हो । निर्मलाकी आमा दुर्गादेवी पन्त वादी रहेको सार्वजनिक न्यायविरुद्धको कसुरमा यी चारसहित प्रहरी निरिक्षक जगदीशप्रसाद भट्ट, सईद्वय रामसिंह धामी र हरिसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदले सफाई पाएको जिल्ला अदालतका श्रेष्तेदार यदुराज शर्माले बताए ।

प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिप विष्टका दाई खडक विष्टले यतनासम्बन्धी र निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुरमा जिल्ला अदालतमा जाहेरी दिएका थिए । यसअघि जिल्ला अदालतले आठैजना प्रहरीलाई धरौटीमा छाडेको थियो ।

(कान्तिपुर दैनिक)

चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

शन्ती / सुरक्षा


काठमाडौँ, २२ जेठ । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो । केसीसहित थप दुई युवासमेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजन केसी र खिलराज गिरी रहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार राति वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी चौकीमा तोडफोड गरी क्षति पु¥याएको थियो । त्यसपछि वडाध्यक्ष केसीसहित दुवै युवा फरार थिए । प्रहरीले फरार वडाध्यक्ष र दुई युवालाई मुसिकोट १३ को टोड्के भन्ने ठाउँबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ तीनै जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा १० दिनको म्याद थप गरिएको प्रनाउ केसीको भनाइ छ । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उनले बताएका छन् । (रासस)

कुखुराको खोरमा गाँजाको भण्डार

शन्ती / सुरक्षा


काठमाडौँ, २२ जेठ । कालो धन्दा चलाउनेले प्रहरीको आँखा छल्न फिँजाएको जाल महोत्तरीमा उदाङ्गिएको छ । जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहामा एक लागुऔषध कारोबारीको यस्तै जाल प्रहरीले फेला पारेको हो ।

कुखुरापालन गरिएको घरमा झण्डै दुई क्विन्टल गाँजा पोका बनाएर राखेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बुधबार जानकारी दिएको हो । पहिलेदेखि नै सो बस्तीका लक्ष्मी चौधरी लागुऔषध गाँजाको ओसारपसार र कारोवारमा संलग्न छन् भन्ने सूचना पाएपछि त्यसको खोजीमा लागेको प्रहरीले १६ प्लाष्टिकका पोका र दुई बोरामा राखेर कुखुराको खोरमा थन्क्याइएको १८० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

गत मङ्गलबार राति प्रहरी निरीक्षक केदार बस्नेत नेतृत्वको प्रहरी टोलीले कुखुराको खोरमा गाँजा भण्डारण गरिएको पत्ता लगाएको हो । कारोवार सञ्चालन गर्दै आएका ५२ वर्षीय चौधरी भने फरार छन् । जिल्लामा पछिल्ला तीन वर्षयता यति धेरै परिमाणमा गाँजा फेला परेको यो पहिलो अवसर हो । भारतसँग सीमा जोडिएको एकडारा गाउँपालिका लागुऔषध गाँजाको सघन ओसारपसार हुने केन्द्रका रूपमा चिनिने गरिन्छ ।

यस गाउँपालिकाको अजमरपट्टी बस्ती एकदशक पहिलेसम्म संसारभरिकै गाँजा तस्करको उठबस हुने ठाउँका रूपमा चिनिन्थ्यो । तर गाँजाखेती र कारोवार नियन्त्रणमा प्रहरी सक्रियता बढ्दै गएपछि कारोवारीले नजिकका अन्य बस्तीलाई धन्दा चलाउन आश्रयस्थल बनाउँदै आएका छन् । जिल्लाका अन्य क्षेत्रमा पनि गाँजाखेती गरिएको भेट्टिए पनि धेरैजसो एकडारा गाउँपालिका क्षेत्रभित्रका बस्तीमा वर्षेनीजसो प्रहरीले गाँजा खेती नष्ट गर्दै आएको छ । (रासस)