crimenews
||Power News Asia||

आजको समाचार

रौतहटमा दुई साताभित्र तीन जनाको हत्या, घटनाबारे प्रहरीले अझै कुनै प्रमाण फेला पारेन

शन्ती / सुरक्षा


रौतहट — भाद्र १५, २०७७ । 

रौतहटमा पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ । हिजो मात्रै एक महिलाको हत्या भएको छ ।

रौतहटको गढीमाई नगरपालिका–३ मुसरिया गाउँको बीचमा रहेको उखु खेतमा सोही स्थान निवासी ४० वर्षीया मिन्त्रा देवीको घाँटीमा शल बेरेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घरबाट घाँस काट्न बिहानै निस्केकी उनको शव साँझ मात्रै फेला परेको हो । शरीरको कम्मर मुनीको भागमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

यसअघि साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडिया स्थित सच फलफूल नर्सरीमा कार्यरत १७ वर्षिय निरञ्जन रामको घाँटी रेटी हत्या भएको थियो ।

त्यसैगरी भदौ ३ गते माधवनारायण नगरपालिका–२ खेसरैया स्थित हनुमान मन्दिरका पुजारीको पनि हत्या भएको थियो ।

पुजारी हत्यामा संलग्न रहेकाहरुलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

भदौ ११ गते रामको हत्या आरोपमा पक्राउ परेका सोही स्थानका विजय रामको भने इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा प्रहरीको निर्मम यातना र कुटपिटबाट घाइते भई नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको प्रहरीको यातनाले मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गर्दै आएका छन् । उनीहरुले घटनाको वास्तविकता पत्ता लगाइ दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

घटनापछि इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय जनकपुरमा तानिएका छन् ।

घटनाको छानविनका लागि गृह मन्त्रालयले उपसचिवको संयोजकत्वमा ३ सदस्यीय समितिसमेत गठन गरेको छ ।

(ईमेज खबर)

विप्लव समूहका नेता भुजेल र पौडेल रिहाः रिहाइलगत्तै फरार

शन्ती / सुरक्षा


रौतहट — भाद्र १५, २०७७ ।

नेत्रविक्रम चन्द(विप्लव) समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल आइतबार सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन् ।

सर्वोच्च अदालतको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर फरार भएको सप्तरी बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिनुभयो ।

बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले आइतबार अपराह्न ५ बजे रिहा गर्ने आदेश गरेबमोजिम उनीहरुलाई साँझ प्रहरी नियन्त्रणबाट मुक्त गरिए पनि फरार भएको र अहिले प्रहरीले चारैतिर खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै यही भदौ ४ गते मुद्दा चलाएको थियो ।

जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै उनीहरु पक्राउ थिए । सरकारले चन्द नेतृत्वको गतिविधिमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।

(रासस)

दुर्गा ट्रेडर्सका केराउ, चामल र भटमास बिक्रीमा रोक

शन्ती / सुरक्षा


काठमाडौँ — भाद्र १४, २०७७। 

कुलेश्वर क्षेत्रमा सञ्चालित जय माँ दुर्गा ट्रेडर्सबाट बिक्री गरेर ढुवानी तयार गरिएको ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास बिक्रीका लागि रोक लगाइएको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले उक्त खाद्य सामाग्री बिक्री गर्न रोक लगाएको हो ।

उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत नराखी २ सय सादा पहेँलो बोरामा बिक्रीका लागि राखिएको केराउ, उत्पादन मिति मेटिएका बालाजी प्याकेजिङका करिब १ सय बोरा आजतक ब्राण्डका चामल र क्यानडाबाट आयात गरिएको २० बोरा भटमासलगायतका सामानको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नविकरण भएको प्रमाणसहितका कागजात पेस नगरुञ्जेलका लागि बिक्रीमा प्रतिबन्ध लगाइएको हो ।

ट्रेडर्सले पिकअप गाडीमा राखेर यस्तै सामान बनेपाको एबीसी खाद्य स्टोरमा पठाउन लागेको थियो । खाद्य सामाग्रीमा हुनु पर्ने आधारभूत मापदण्ड नभएकोले अनुगमनकै क्रममा ती सामान ट्रेडर्सको गोदाममा फिर्ता गराइएको थियो ।

ट्रेडर्ससँगै आइतबार कुलेश्वर क्षेत्रका खाद्य थोक पसलहरुको अनुगमन गरिएको छ । त्यस क्रममा दाल, चामल, गेडागुडीको भण्डारण, खरिद बिक्री बिल, तौल, मूल्य, गोदामको अवस्था हेरिएको थियो । त्यस क्षेत्रका अधिकांश पसल बन्द अवस्थामा थिए । सम्पर्क गरेर आउने ग्राहकका लागि खोलिएका पसल आधा खोलिएका थिए । अनुगमन टोलीले खाद्यान्न ढुवानी गरेर आएका सवारीमा राखिएको सामानको गुणस्तर र सम्भावित चुवाहटको पनि अवलोकन गरेको थियो ।

अनुगमनपछि उपमेयर खड्गी श्रेष्ठले खाद्य गुणस्तरमा ध्यान पुर्‍याउन सकिएन भने रोगसँग लड्ने क्षमता घट्ने बताइन् । ‘हुन त गुणस्तरमा कहिल्यै पनि समस्या आउन दिनु हुँदैन,’ उनले भनिन्, ‘विषम परिस्थितिमा त झन् चनाखो हुनुपर्छ ।’ जटिल अवस्थामा जोखिम मोलेरै भएपनि सामाग्री ढुवानी गरेका कारण सहरी जीवन सरल भएको उनले थपिन् ।

महानगरका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले लेबल नटाँसिएका, टाँसे पनि अक्षर मेटिएका र नबुझिने, ढक–तराजु, पसलको दर्ता नविकरण अद्यावधिक नगरिएका, कर चुक्तालाई नियमति गर्न बाँकी भएको जस्ता समस्या धेरै जसोमा देखिएका बताउँदै यी सबैलाई कारबाहीको दायरामा ल्याउने दाबी गरे ।

सामानको लागत मूल्य एकिन नहुँदा अधिकतम मूल्यसम्ममा आइपुग्दा उपभोक्ताभन्दा बीचको तहले फाइदा उठाएको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले बताए । ‘उपभोक्ता अधिकारका कोणबाट यही प्रणालीमा समस्या छ,’ उनले भने, ‘बिल नै जारी नगरी खरिद बिक्री गर्दा व्यापारमा विकृति मौलायो ।’

(कान्तिपुर दैनिक)

पुजारी हत्यापछि वडाध्यक्ष नै फरार

शन्ती / सुरक्षा


आवरणमा सुराकी बनेका नरुल्लाहकाे धन्दा भित्रभित्रै आफ्नै अपराधकाे जालाे सञ्चालनमा देखिएपछि ६ वर्षअघि प्रहरीले प्रकाउ गर्न खाेजेकाे थियाे । भागेर बसेका उनी चुनाव उठेर वडाध्यक्ष बनेका थिए ।

काठमाडौँ, रौतहट — भाद्र १४, २०७७। 

रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते राति पौने ९ बजेतिर अज्ञात समूहले गोली हानी हत्या गर्‍यो । हत्यामा संलग्नको खोजी गर्ने क्रममा प्रहरीको
‘अनुसन्धान’ देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाहतिर सोझियो ।

श्रीराम साह
नरुल्लाह जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता हुन् । उनको करुनियामा घर छ । २०७४ को स्थानीय निर्वाचनमा उनले तत्कालीन संघीय समाजवादी पार्टीका तर्फबाट चुनाव जितेका थिए । प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसन्धान टोली वडाध्यक्ष नरुल्लाहको खोजीमा जुटे तर नरुल्लाह पुजारीको हत्या भएको दिनदेखि घरमा छैनन् । उनीसँगै अन्य तीन जना फरार रहेको प्रहरी स्रोत बताउँछ । उनी घटना भएकै दिन भागेर भारत पुगिसकेको प्रहरीको आशंका छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट र प्रदेश प्रहरी कार्यालय जनकपुर स्रोतका अनुसार नरुल्लाह चुनावअघिसम्म रौतहट प्रहरीको सुराकीमा पटकपटक प्रयोग भएका व्यक्ति हुन् । २०६४ सालबाटै प्रहरी अधिकारीहरूलाई प्रभावमा पारेर अपराध धन्दा चलाउने गरेका उनी पछिल्लोपटक हत्या आरोपमा खोजीमा परेपछि फरार छन् । पुजारीको हत्या हुनु केही साताअघि नरुल्लाह केही व्यक्तिका साथ मन्दिरनजिकै आएको अनुसन्धानमा संलग्न स्रोतले जानकारी दियो । त्यसबेला पुजारीसँग उनको भनाभन पनि भएको थियो ।

देवाही गोनाहीका मेयर धर्मेन्द्र पटेलले पनि वडाध्यक्ष नरुल्लाह सम्पर्कविहीन भएको बताए । ‘केही समयदेखि उहाँ सम्पर्कमा हुनुहुन्न, कोरोना संक्रमणका बेला जनप्रतिनिधि नै यसरी सम्पर्कविहीन हुनुले गम्भीर आशंका जन्माएको छ,’ उनले भने, ‘मैले धेरैपटक सम्पर्क गर्न खोजें तर हुन सकेको छैन । पुजारीको हत्यामा नरुल्लाहजीको पनि नाम जोडिएको भन्ने सुनेको छु ।’ मेयर पटेल जसपाका रौतहट जिल्ला संयोजक हुन् । हाल फरार रहेका उनी वडाध्यक्षबाहेक पार्टीको अन्य भूमिकामा नरहेको मेयर पटेलले बताए ।

जिल्लाभित्र हुने आपराधिक गतिविधिको प्रहरीमा सुराकी दिएपछि नरुल्लाह २०७० अघिसम्म चर्चामा थिए तर आवरणमा प्रहरी सुराकी बनेका उनको धन्दा भित्रभित्रै आफ्नै अपराधको जालो सञ्चालनमा देखिएपछि ६ वर्षअघि उनलाई प्रहरीले पक्राउ गर्न पनि खोज्यो । भागेर बसेका नरुल्लाहले पछि संघीय समाजवादीबाट चुनाव उठेर वडाध्यक्षमा जितेका थिए । चुनाव जित्नुमा पनि उनले प्रहरीसँगको सुराकी सम्बन्धलाई प्रयोग गरेको स्रोत बताउँछ ।

नरुल्लाहकै वडाका सदस्य कृष्णनन्दन यादवले दस दिनदेखि उनी सम्पर्कविहीन भएको बताए । ‘नरुल्लाहजीको फोन पनि लाग्दैन, वडामा कसैलाई जिम्मेवारी दिनुभएको छैन, हामीले सिफारिसको कागजमा हस्ताक्षर गर्न कैयौंपटक सम्पर्क गर्न खोज्यौं,’ उनले भने, ‘सम्पर्क हुन सकेको छैन । पुजारी हत्यामा नरुल्लाहजीको पनि नाम जोडिएको भन्ने सुनेका छौं ।’

प्रहरीले देशभर अपराध अनुसन्धान तथा नियन्त्रणका लागि घुमुवा प्रहरी खटाउँदै आएको छ । घुमुवासँगै प्रहरीले संदिग्ध व्यक्तिहरूलाई सुराकीका रूपमा परिचालन गर्छ । उनीहरूका गलत धन्दाले प्रहरी संगठन नै बदनाम हुने गरेको छ । पुजारी हत्यापछि फरार रहेका नरुल्लाह त्यसको पछिल्लो उदाहरण हुन् ।

घुमुवा र सुराकी परिचालनको मापदण्ड छैन
पछिल्लोपटक रौतहटमा प्रहरीले सुराकीमै परिचालन गरेका व्यक्तिबाट पुजारी मारिएको आशंकाले कस्ता व्यक्ति सुराकीमा खटिन्छन् भन्ने कुरा सतहमा ल्याइदिएको छ । वर्षौंदेखि सुराकी परिचालनसम्बन्धी निर्देशिका बन्नुपर्ने माग उठे पनि गृह मन्त्रालय यसमा मौन छ । गत वर्ष सुराकी र सादा पोसाकका प्रहरी परिचालनसम्बन्धी कार्यविधि बनाएर प्रहरी प्रधान कार्यालयले स्वीकृतिका लागि गृहमा पठाएको थियो । तर त्यो अहिलेसम्म पारित हुन नसकेको उच्च स्रोत बताउँछ । यस विषयमा निवर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली बोल्न चाहेनन् । तर उनले सुराकी र सादा पोसाकका सुरक्षाकर्मी परिचालनलाई व्यवस्थित बनाउन प्रहरी नेतृत्वलाई विश्वास गर्नुका साथै जवाफदेही बनाउनुपर्ने बताए ।

नेतृत्वले विश्वास गुमाए दण्डको भागीदार उही हुनुपर्ने उनको भनाइ छ । ज्ञवालीले घुमुवा र सुराकीलाई गम्भीर किसिमका अपराधमा मात्रै खटाउनुपर्ने र आर्थिक मामिलासँग जोडिएका विषयबाट टाढै राख्न आवश्यक रहेको बताए । ‘नेतृत्व सही र पारदर्शी भयो भने तलका प्रहरीले पदको दुरुपयोग अपराध गर्ने हिम्मत गर्दैनन्,’ ज्ञवालीले भने, ‘त्यसैले नेतृत्वलाई विश्वास, जवाफदेही र दण्डको भागीदार हुने कार्यविधि र मापदण्ड भए सुराकी र घुमुवाबाट सिर्जित बदनामीको अन्त्य हुन्छ ।’ आफू प्रदेश १ प्रहरी प्रमुख हुँदा केन्द्रबाट खटिएका घुमुवालाई सीमा क्षेत्र र आर्थिक मामिलासँग जोडिएका विषयमा प्रवेश नै नदिएको उनले स्पष्ट पारे ।

३० वर्षे प्रहरी सेवाको अधिकांश समय सादा पोसाकमा बसेर काम गर्ने युनिटमा बिताएका प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल अपराध अनुसन्धान तथा नियन्त्रणमा घुमुवा र सुराकी परिचालनको अवधारणा सही भए पनि त्यसलाई सञ्चालन गर्ने नेतृत्व गलत भइदिँदा सिंगो संयन्त्र नै बदनाम हुन पुगेको बताउँछन् । ‘घुमुवा र सुराकी परिचालनको अवधारणा अपराध अनुसन्धान र नियन्त्रणका लागि हो तर यहाँ आर्थिक संकलन र शक्ति आर्जन तथा विरोधी पक्षलाई सिध्याउने प्रयोजनमा यो शक्ति खर्च गरियो,’ पूर्वडीआईजी मल्ल भन्छन्, ‘एउटा व्यावसायिक र इमानदार अधिकृत कुनै युनिटमा जाँदा त्यही घुमुवा र सुराकी सही प्रयोजनमा परिचालन हुन्छन् भने बदनामीको छवि कमाएको अधिकृत गयो भने किन विवादमा तानिन्छ ?’

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले पनि सिभिल सुराकीसम्बन्धी व्यवस्था संस्थागत रूपमै आवश्यक भएको बताए । अहिले त्यस्तो प्रावधान संस्थागत वा कानुनी हैसियतमा नभएको उनको भनाइ छ । खासगरी सहरी सीमावर्ती क्षेत्रमा सरुवा भएर जाने प्रहरी नेतृत्वको छवि व्यावसायिक चरित्रको हुनुपर्ने उनको भनाइ छ । मल्ल सुराकीका रूपमा परिचालित सर्वसाधारण अपराधकै भेषमा खटिने हुँदा त्यसप्रति खटाउने प्रहरी नेतृत्व चनाखो र सतर्क हुन आवश्यक भएको बताउँछन् ।

२०६६ देखि २०६८ सम्म रौतहट प्रहरी प्रमुख भएर बसेका अर्का पूर्वडीआईजी पीताम्बर अधिकारी सुराकी र घुमुवाका आपराधिक चरित्र र व्यवहारका कारण सिंगो प्रहरी संगठन बदनाम हुन पुगेको स्विकार्छन् । ‘सुराकीका रूपमा सम्पर्कमा आउने व्यक्तिको बाहिर एउटा र भित्र अर्कै रूप हुने हुँदा त्यसप्रति नेतृत्वमा बसेका अधिकारीले ख्याल गर्नुपर्छ, बदनामी वा व्यावसायिक चरित्र कुन रोज्ने, त्यहींबाट झल्किन्छ,’ उनले भने, ‘यसका लागि प्रहरी नेतृत्वबाटै चरित्र सुधार गर्न आवश्यक छ ।’

व्यक्तिपिच्छेका घुमुवा
नेपाल प्रहरीमा विशेष किसिमका अपराध अनुसन्धान तथा नियन्त्रणमा काम गर्ने दर्जनौं युनिट छन् । केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो, साइबर ब्युरो, लागूऔषध अनुसन्धान ब्युरो, उपत्यकाको महानगरीय अपराध महाशाखाजस्ता युनिटको चरित्र नै सादा पोसाकमा परिचालन हुनु हो ।

यी युनिटका कामकारबाही पनि सुराकी र हुलिया परिवर्तन गरेर खटिने किसिमका छन् । यसबाहेक हरेक जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा काम गर्ने अधिकांशलाई सादा पोसाकमै खटिने गरी प्रहरीले कार्यविधि नै जारी गर्‍यो । तर यी युनिटबाहेक प्रहरी महानिरीक्षकदेखि महानगरीय कार्यालय, प्रदेश, संघीय इकाई, जिल्ला, वृत्त/प्रभाग तथा वडा कार्यालय प्रमुखले मनपरी रूपमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्दै आएका छन् । आवरणमा सूचना संकलन र मातहत जनशक्तिका कामकारबाहीको निगरानीका लागि संयन्त्र परिचालन गर्नुपरेको दाबी प्रहरीको छ ।

तर यसको खास उद्देश्य आर्थिक आर्जनमा जोडिएको छ । सादा पोसाकका सुरक्षाकर्मी तस्करी, चोरीसिकार र अन्य जघन्य अपराधमा मुछिने गरेका छन् । लागूऔषध, जालीनोट, सुन तस्करी, सीमा अपराध, जबर्जस्ती असुलीलगायतका धन्दामा पटकपटक घुमुवा प्रहरी मुछिँदै आएका छन् । प्रहरी प्रवक्ता कुवेर कडायतले व्यावसायिक चरित्र र पदीय मर्यादाविपरीत काम गर्ने सादा पोसाक वा अन्य प्रहरी जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइएको बताउँछन् । ‘पदको दुरुपयोग गर्ने अधिकार कसैलाई छैन, जो–जसले दुरुपयोग गरेको छ वा अपराधमा संलग्न छ, ऊ कारबाहीको भागीदार हुनैपर्छ, भएका पनि छन् ।’

अपराधमा सुराकी
महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले २०७६ पुस १७ गते उपत्यकामा कार्यरत २५ घुमुवा प्रहरीलाई फिर्ता बोलाए । त्यसको कारण थियो, घुमुवाका नाममा आपराधिक समूहसँग मिलेर असुली गरेको । सूचना संकलनका लागि खटाइएका केही घुमुवाहरू पदको दुरुपयोग गरी आपराधिक धन्दामा संलग्न भएको देखिएपछि सबैलाई एकैपटक फिर्ता बोलाएर अपरेसनल काममा खटाइएको थियो ।

गएको साउन १३ गते सुन्धाराको सुनचाँदी तस्करी प्रकरणमा दरबारमार्ग वृत्तका दुई घुमुवा प्रहरी बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठ आपराधिक समूहसँग मिलेर लुटपाटमै जोडिएपछि पक्राउ परे । भारत गुजरात घर भई काठमाडौंमा बस्दै आएका देवानसिंह पटेल र कौशल पटेलसँग मिलेर घुमुवा प्रहरीले सुन लुटपाटको योजना बनाएका थिए । कौशल प्रहरीको सुराकीको भूमिकामा थिए । २०६० सालपछि प्रहरीको सुराकी बनेर आफ्ना विरोधी तह लगाउन सक्रिय बनेका बारा प्रस्टोकाका अल्ताफ भनिने इल्ताफ हुसेन अन्सारी पछि कुख्यात जालीनोट तस्कर बनेर झुल्किए । इल्ताफ बारा, पर्सा, रौतहटलगायत सीमावर्ती जिल्लामा बसेर त्यहाँ सरुवा भएर जाने अधिकांश प्रहरीको विश्वासिलो सुराकीमा पनि दरिए ।

उनै इल्ताफ जालीनोट कारोबारीका रूपमा पछि सक्रिय बने । उनलाई सुराकी परिचालन गर्ने केही उच्च प्रहरी अधिकारीहरू पनि जालीनोट कारोबारमै शंकाको घेरामा छन् । त्यति मात्र होइन, २०७० असार २३ गते कोटेश्वरबाट ३५ केजी सुन बरामद भयो । सुन बरामदसँगै तस्कर र प्रहरीबीच कमिसन विवाद छताछुल्ल बन्यो । ‘३५ केजी सुन काण्ड’ का रूपमा चिनिएको त्यस घटनामा ‘सुराकी कमिसन’ नमिलेकै कारण राज्यले दिने प्रोत्साहन भत्ता कटौती हुन पुग्यो । त्यसअघि जति तस्करीको सामान बरामद गरे पनि सुराकीले १५ प्रतिशत र अनुसन्धान गर्नेले १० प्रतिशत भत्ता पाउँथे । त्यही काण्डले उक्त व्यवस्था संशोधन गरी जति सामान बरामद गरे पनि १० लाख वा १५ प्रतिशतमा जुन कम हुन आउँछ, त्यति मात्रै दिने व्यवस्था ल्याइयो ।

२०७४ फागुन १८ गते ३३ केजी सुन काण्डमा सनम शाक्यको हत्या भयो । जुन ३ केजी सुन काण्डका रूपमा अझै चर्चामा छ । घुमुवा प्रहरी र त्यसमार्फत सूचना संकलनमा सहयोगीका रूपमा देखिएका व्यक्ति अपराध धन्दामा कसरी मुछिन्छन् भन्ने यी केही तथ्य हुन् ।

(कान्तिपुर दैनिक)

सैनिक मुख्यालय परिसरमा एक सैनिकद्वारा गोली हानी आत्महत्या

शन्ती / सुरक्षा


काठमाडौँ — भाद्र १४, २०७७। 

सुन्धरास्थित नेपाली सेनाको मुख्यालय परिसरमा एक सैनिकले आफैसँग भएको राइफल प्रयोग गरी एक राउन्ड गोली चलाएर आत्महत्या गरेका छन् । आइतबार बिहान ३ बजे सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा रहेका एक सिपाही दर्जाका जवानले आफ्नै ड्युटी बस्दा प्रयोग गरिने राइफल प्रयोग गरी आत्महत्या गरेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

‘त्यसपछि हाम्रो सैनिक प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान गर्ने, शवको पोष्टमार्टम गर्ने र उसको नजिकको परिवारहरुलाई बोलाएर काम गर्ने सेनाको स्थायी कार्यविधि अनुसार काम भइरहेको छ,’ उनले भने, ‘अनुसन्धान भएपछि बाँकी विवरण आउला ।’

उनी तनहुँ जिल्लाको रानीपोखरी निवासी हुन् ।

(कान्तिपुर दैनिक)

बलात्कार आरोपित वडाअध्यक्ष पुर्पपक्षका लागि थुनामा

शन्ती / सुरक्षा


गोरखा — भाद्र १२, २०७७। 

बालिका बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका एक वडाअध्यक्ष बिहीबारलाई कारागार चलान गरिएको छ। गाउँकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका–४ का अध्यक्ष ठाकुरकान्त रानाभाटलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत गोरखाको थुनछेक आदेशले पुर्पक्षका थुनामा राख्ने आदेश गरेको श्रेस्तेदार विनोद अधिकारीले जानकारी दिए। आफैँ अध्यक्ष रहेको अमरज्योति माविको कक्षा नौ मा पढ्ने बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि उनलाई प्रहरीले साउन १६ गते पक्राउ गरेको थियो।

रानाभाट तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित वडा अध्यक्ष हुन्। उनलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिएको समाजवादी पार्टीको गाउँ कमिटिले जनाएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

सुशान्तको पिताद्वारा रियामाथि विष खुवाएको आरोप

शन्ती / सुरक्षा


एजेन्सी, ११ भाद्र । सुशान्त सिंह राजपुतको केसमा उनका परिवारले रिया चक्रवर्तीमाथि विभिन्न आरोप लगाउदै आएका छन् । सुशान्तका पिता केके सिंले त झन खुलेर नै रियामाथि आरोप लगाइरहेका छन् । केके सिंहले रियाले सुशान्तलाई लामो समयदेखि विष पिलाउदै आएको र उनी नै सुशान्तको हत्यारा भएको गम्भीर आरोप लगाएका छन् । उनले रिया र उनका सहयोगीहरुलाई छिट्टै गिरफ्तार गर्न पनि आग्रह गरेका छन् ।

यसअघि सुशान्तका पिताका वकिलले रियाले सुशान्तलाई प्रतिबन्धित औषधी दिएको शंका गरेका थिए । उनले जानकारी बिना प्रतिबन्धित ड्रग्स दिएकी हुन् ताकि उनको दिमाग आफुले नियन्त्रण गरेर मनमानी गरेको समेत आरोप लगाएका थिए ।

वकिलले सुशान्तका परिवार औषधीमा झुक्किएको बताएका छन् । सुशान्तले खाएको औषधी डाक्टरले परामर्श अनुसार दिएको परिवारलाई लागेको तर त्यो नभई सुशान्तलाई जानकारी नदिई रियाले औषधी चलाएको गम्भीर आरोप लगाएका थिए । कडा औषधी खुवाँउदा सामान्य अवस्थामा नरहने भएकोले उस्ले जे गर्न चाहान्छ त्यो गर्न दिइएको समेत भनेका थिए ।

सीबीआईले भर्खर मात्र सुशान्तको फ्ल्याटमा बस्ने साथी सिद्धार्थ पिठानीसँग सोधपुछ गरेको छ । सिद्धार्थसँग सुशान्तको बारेमा लगातार ६ घन्टासम्म सोधपुछ गरेको थियो । १४ जुनमा सुशान्त मृत भेटिएका थिए । उक्त समयमा फ्ल्याटमा पिठानी, रसोइया नीरज सिंह र घरेलु सहायक दीपेश सावंत थिए ।

कोरोनाले न्यायमा धक्का

शन्ती / सुरक्षा


काठमाडौँ — भाद्र ९, २०७७। 

कोभिड–१९ महामारीले न्यायिक कामकारबाही ठप्प छ। जसले गर्दा न्याय सुधारका रणनीतिक योजनामा गम्भीर धक्का लागेको छ। न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना गत वर्ष साउनदेखि लागू गरिएको थियो।

न्यायिक जनआस्था अभिवृद्धि, न्यायमा पहुँच, मुद्दा तथा अदालत व्यवस्थापन, गुणस्तरीय न्याय, प्रविधियुक्त अदालतलगायत लक्ष्य थिए। मुख्य र सहायक रणनीति तय गरी योजना कार्यान्वयनमा गएका बेला कोरोना महामारीको चपेटामा परेको हो।

योजना बृहत् रहेकाले ५ वर्षका लागि ४६ अर्ब रुपैयाँ बजेट प्रक्षेपण गरिएको थियो। यो रकम नियमित बजेटबाहेकको हो। ५ अर्ब २२ करोड विनियोजन भई कार्यक्रम अघि बढाइएको थियो।

फैसला कार्यान्वयन, बक्यौता मुद्दा र छिटो न्यायका लागि सूचना प्रविधि विस्तारमा केन्द्रित भइरहेकै बेला कोरोनाले विकराल रुप लिएपछि सबै कार्यक्रम स्थगित रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

कोरोना संक्रमितलाई लगाइने खोप कालोबजारी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

शन्ती / सुरक्षा


काठमाडौँ — भाद्र ८, २०७७। 

कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेशिभिर नामक इन्जेक्सन (खोप)को कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मी र एक भारतीय नागरिक गरी २ जनालाई पक्राउ गरेको छ।

वीरगन्जका विभिन्न अस्पतालमा काम गर्दै आएका स्वास्थ्यकर्मी ताहिर अन्सारी र भारत रक्सौलका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

कोरोना संक्रमितका परिवारजनलाई रेम्डेशिभिर नामक इन्जेक्सन बढी मुल्यमा बिक्री गरेको सुचनाका आधारमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

अन्सारीलाई शनिबार राति नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले दिएको बयानका आधारमा रक्सौलका एक पुरुषलाई वीरगन्जको इनर्वाबाट आइतबार साँझ नियन्त्रणमा लिएको कुवँरले बताए। उनीहरुको साथबाट ९ भाइल रेम्डेशिभिर इन्जेक्सन पनि बरामद गरिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

औषधी खरिद गर्ने ओम्नीको मागलाई सर्वोच्चद्वारा अस्वीकार

शन्ती / सुरक्षा


काठमाडौँ — भाद्र ७, २०७७। 

कोरोना भाइरसको महामारी फैलिएसँगै औषधीजन्य पदार्थ खरिद गर्न ठेक्का पाएको ओम्नी ग्रुपले पुनः सो कार्य गर्नका लागि सरकारलाई आदेश दिन गरेको मागलाई सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ ।

ओम्नी ग्रुपले बैंक जमानतका रूपमा राखेको ५ लाख १६ हजार ९ सय २२ अमेरिकी डलर जफत गर्न र सो ग्रुपलाई कालोसूचीमा राख्ने कार्यलाई प्रक्रिया अगाडि बढाउन पनि सरकारलाई बाटो खुलेको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले ओम्नीको मागबमोजिम औषधी खरिद गर्नका लागि अन्तरिम आदेश दिन नसकिने उल्लेख गरेको छ । गत बिहीबार भएको सो आदेश शुक्रबार मात्र लिखितरूपमा आएको थियो । आदेशमा जमानतबापत बैंकमा राखिएको रकम जफत गर्ने कार्यलाई पनि रोक लगाउन नसकिने उल्लेख गरिएको छ । ओम्नीलाई कालोसूचीमा राख्ने कार्यलाई पनि हाल रोक लगाउन नसकिने आदेशमा जनाइएको छ ।

आदेशमा भनिएको छ– ‘अन्तरिम आदेश माग भएको सम्बन्धमा विचार गर्दा करारको अन्त्य भइसकेको र रिट निवेदक स्वयंले मध्यस्थ नियुक्तिको प्रक्रिया शुरू गरेको भनी उल्लेख गरेको हुँदा अन्तरिम आदेश जारी गरिरहनु परेन । आदेशमा भएको यही वाक्यले ओम्नीको मागलाई अन्तरिम आदेशबाट कार्यान्वयन हुन नसक्ने भएको सर्वोच्चका एक कर्मचारीले बताएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।