काठमाडौँ — भाद्र १६, २०७७।
डा.किशोर बञ्जाडे कपिलवस्तु अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुनुहुन्छ । जब हटस्पट बन्ने गरी कपिलवस्तुमा कोरोना सङ्क्रमण फैलियो, उहाँ बिरामीको सेवामा भिड्नुभयो । सङ्क्रमितको सेवा गरिरहेकै बेला साउन २४ गते उहाँ आफैँ पनि सङ्क्रमित हुनुभयो । यो खबर उहाँको परिवार, स्थानीय समाज र अस्पतालका लागि अप्रत्याशित थियो तर उहाँ विचलित हुनुभएन ।
डा. बञ्जाडेको अहिलेको दैनिकी बिरामीको उपचार सँगसँगै आफ्नो अनुभव बाँड्ने, मनोबल बढाउने र सङ्क्रमितको ज्यान जोगाउने नयाँ अभियानमा केन्द्रित छ । उहाँको पछिल्लो अभियान हो, सङ्क्रमितको प्लाज्मा थेरापी उपचारका लागि सङ्क्रमित भई निको भएकाको रगत सङ्कलन । सोमबार कपिलवस्तु अस्पतालमा त्यस्तै गजबको माहौल थियो । डा. बञ्जाडेसहित अस्पतालका १६ जना पूर्वसङ्क्रमित स्वास्थ्यकर्मीले रक्तदान गर्नुभयो । यस्तो रक्तदान सङ्क्रमितहरूको ज्यान जोगाउने एउटा नयाँ उपचार विधि प्लाज्मा थेरापीका लागि थियो ।
“धेरै मानिस सङ्क्रमणबाट छट्पटिइरहेका बेला जीवन रक्षा गर्नु हाम्रो कर्तव्य हो,” डा। बञ्जाडेले भन्नुभयो, “पूर्वसङ्क्रमितको रगतले कसैको ज्यान बच्छ भने हामी किन अघि नसर्ने रु”
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डा। साजन श्रेष्ठलाई पनि बिरामीको उपचार गर्दागर्दै सङ्क्रमण भयो । सङ्क्रमणमुक्त भएलगत्तै उहाँले कोरोना सङ्क्रमित रुपन्देहीकी एक गम्भीर बिरामीको प्लाज्मा थेरापीका लागि रगत दिनुभयो । प्रदेश ५ मा यो नै पहिलो अभ्यास थियो, प्लाज्मा रक्तदान र प्लाज्मा थेरापीको ।
अर्का साहसी चिकित्सकको नाम हो– उमाशङ्करप्रसाद चौधरी । प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा। चौधरीको दैनिकी कोरोनाविरुद्ध सचेतना र सूचना प्रवाहमा बित्छ । दिनहुँ प्रदेश सरकारका तर्फबाट कोरोनाबारे आधिकारिक सूचना बाँड्ने उहाँ पनि सङ्क्रमित हुनुभयो । आइसोलेसनमा उपचाररत उहाँले अहिले अरू सङ्क्रमितलाई उच्च मनोबलका सन्देश प्रवाह गर्नुहुन्छ ।
लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल उपमहानगरपालिकाको सहकार्यमा बुटवलमा सञ्चालित कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापा रातदिन बिरामीको सेवामा खटिनुहुन्छ । प्रदेशको पहिलो कोरोना अस्पतालमा उहाँको दैनिकी पनि जोखिमविरुद्ध केन्द्रित छ ।
सोमबार कपिलवस्तु अस्पतालमा प्लाज्मा रगत दान गर्नेमा तीन जना चिकित्सक र अरू सोही अस्पतालका पूर्वसङ्क्रमित १६ जना स्वास्थ्यकर्मी तथा कर्मचारी हुनुहुन्थ्यो । तीन डाक्टर हुनुहन्थ्यो, डा. बञ्जाडे, डा. पुनम लामा र डा. अमूल्य पाठक ।
सङ्क्रमित स्टाफ नर्स आयुष्मा अर्यालसहित नर्सिङ इञ्चार्ज लीला शर्मा लगायतले रक्तदान गर्नुभयो । यस्तो कार्यक्रममा प्लाज्मा थेरापी संयोजक डा. सम्राट पराजुली, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ का संयोजक डा. प्रशान्त आचार्य लगायतको सहजीकरण थियो । यो त्यही अस्पताल हो, जहाँ कार्यरत चिकित्सकसहित सबै २४ जना सङ्क्रमित हुनुभएको थियो । अरू मुक्त भए पनि अझै दुई जनाको उपचार भइरहेको छ ।
प्रदेश ५ मा प्लाज्मा उपचारको थालनी बुटवलको कोरोना विशेष अस्थायी अस्पतालबाट सुरु भएको हो । अहिले बाँकेको नेपालगञ्जमा पनि त्यस्तो अभ्यास सुरु भएको छ । बुटवलमा भएको पहिलो प्लाज्मा थेरापी उपचारमा डा. राजेन्द्र खनाल, डा. सुदर्शन थापा लगायतका चिकित्सक संलग्न हुनुहुन्थ्यो । अस्पताल स्रोतका अनुसार थेरापीअघि नै बिरामीको अवस्था अति गम्भीर रहेकाले उहाँको ज्यान भने बच्न सकेन ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। खनालका भनाइमा यस्तो उपचार थेरापीका लागि पूर्वसङ्क्रमितको रगत चाहिन्छ तर त्यस्तो रक्तदान गर्न सबैलाई चेतना भइसकेको छैन ।
कोरोना अति नयाँ विषय थियो । यसबारे डाक्टर, नर्स लगायतलाई विशेष प्रशिक्षण, तालिम दिन पाइएकै थिएन, प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले भन्नुभयो, “तर पनि उहाँहरूको भूमिका उच्च प्रशंसनीय छ । हामी सन्तुष्ट छौँ । सबैले उहाँहरूको सम्मान गर्दै मनोबल बढाउनुपर्दछ ।”
अरूको सेवा गर्दा आफैँ जोखिममा परेका यस्ता पात्रको सूची लामै छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार यो प्रदेशमा मात्रै चिकित्सकसहित झन्डै चार सय स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यो प्रदेशका चार कोरोना विशेष अस्पताल र कोरोना प्रयोगशालामा मात्रै पनि चार सय जना कार्यरत छन् ।
मन्त्रालयका सूचना अधिकारी डा। युवराज पौडेलका अनुसार सङ्क्रमित भए पनि स्वास्थ्यकर्मीहरूको मनोबल उच्च छ । बरु उहाँहरूले सङ्क्रमणको अनुभवसँगै बाँकी सङ्क्रमितको जीवन रक्षामा रक्तदानदेखि अनेक अभियान गरिरहनुभएको खबर आजको गोरखापत्रले छापेको छ ।
काठमाडौं — भाद्र १५, २०७७ ।
उपत्यकाको समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्राविधिक सहयोग लिएर यो साताभित्र तालिम सकाएर अर्को साताबाट समुदायमा परीक्षण (सेरो प्रिभिलेन्स अध्ययन) अघि बढाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
‘उपत्यकामा ट्राभल हिस्ट्री नभएका संक्रमित देखिएको र महिला संक्रमित प्रतिशत बढेको हुनाले संक्रमण समुदायमा फैलिएको हो कि भन्न सकिन्छ, समुदायको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गर्न लागेका हौं,’ ईडीसीडीका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने ।
संक्रमितको संख्या बढेकाले समुदायस्तरमा सेरो प्रिभिलेन्स अध्ययन गर्न मन्त्रालयलाई आफूहरूले सुझाव दिएको सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । ‘यो अध्ययनले काठमाडौं उपत्यकाको कुल जनसंख्यामा कति संक्रमण भएछ, कति प्रतिशतको मृत्यु भयो भन्ने थाहा हुन्छ । त्यसैले हामीले यही सुझाव दिएका हौं,’ उनले भने, ‘यो अध्ययनको नतिजाबाट योजना बनाउन पनि सहज हुन्छ ।’ यो अध्ययनमा तोकिएको क्षेत्रका सर्वसाधारणको रगत निकालेर संक्रमण भएको छ कि छैन भनेर परीक्षण गरिन्छ । पीसीआर गर्दा तत्काल कोरोना भएको मात्रै थाहा हुन्छ तर, कोरोना लागेर निको भइसकेको हो भने थाहा हुँदैन । समुदायमा एन्टिबडी परीक्षण गर्नका लागि ‘र्यान्डम स्याम्पलिङ’ का आधारमा कुल जनसंख्याको निश्चित प्रतिशत छानिन्छ ।
‘सबैको परीक्षण गर्न सकिँदैन । निश्चित ठाउँमा गएर नमुना लिएर अध्ययन गरिन्छ,’ बाँस्तोलाले भने । समुदायका धेरै व्यक्तिको परीक्षण गर्ने र अवस्था पत्ता लगाउने उपयुक्त विधि एन्टिबडी परीक्षण भएको उनले बताए । ईडीसीडीका निर्देशक डा. पाण्डेले एन्टिबडी सेरोलोजिकल टेस्ट विश्वसनीय र भरपर्दो हुने भएकाले समुदायमा ठूलो समूहको परीक्षण हुने बताए । एन्टिबडी परीक्षणमा शरीरमा कोरोना भाइरस संक्रमण छ भने त्यसविरुद्ध शरीरले उत्पादन गरेको भाइरसप्रतिरोधी प्रोटिन भए/नभएको हेरिन्छ ।
सेरो प्रिभिलेन्स अध्ययनका क्रममा परीक्षण गर्दा ‘इम्युनोग्लोब्युलिन–एम’ (आईजीएम) वा ‘इम्युनोग्लोब्युलिन–जी’ (आईजीजी) रगतमा भए/नभएको हेरिन्छ । आईजीएम शरीरमा संक्रमण भएको थोरैमा पनि तीन दिनपछि मात्रै उत्पादन सुरु हुन्छ । संक्रमण भएको केही सातापछि (थोरैमा पनि दुई साता) आईजीएमको स्थानमा शरीरले आईजीजी निकाल्न थाल्छ ।
सामान्य रूपमा बुझ्दा शरीरमा आईजीएम देखिनु भनेको संक्रमणको सुरुवाती अवस्था हो भने आईजीजी देखिए संक्रमण भएर पनि त्यसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता विकास भएको भन्ने बुझिन्छ । दुवै देखिनु भने शरीर संक्रमणमुक्त भई नसकेको अवस्था हो । सेरो प्रिभेलेन्समा आईजीजी वा आईजीएम छुट्याएर परीक्षण गरिन्न । जुनसुकै एन्टीबडी भए पनि परीक्षणमा देखिने भए रिपोर्टको नतिजा राम्रो आउने विज्ञहरू बताउँछन् । ईडीसीडीका जनस्वास्थ्यविज्ञ उत्तमकुमार कोइरालाले उपत्यकामा संक्रमितमध्ये ट्राभल हिस्ट्री भएका संक्रमित मुस्किलले १० प्रतिशत मात्रै छन् ।
संक्रमित महिलाको संख्या ३० प्रतिशत हाराहारी रहेको उनले बताए । ‘सुरुमा महिला संक्रमितको संख्या १० देखि १५ प्रतिशत हाराहारी मात्रै हुन्थ्यो । यो तथ्यले पनि संक्रमण समुदायमा गइसकेको अनुमान गर्न लगाउन सकिन्छ,’ उनले भने ।
उपत्यकामा आइतबारसम्म संक्रमितको संख्या ५ हजार ४ सय २६ पुगेको छ । आइतबार अहिलेसम्मकै सबैभन्दा बढी ४ सय २९ जनालाई कोरोना पुष्टि भयो । काठमाडौंमा ४ हजार ३ सय ३२, भक्तपुरमा ४ सय ७६ र ललितपुरमा ६ सय १८ जनालाई संक्रमण भइसकेको छ । एउटै परिवारका १४ जनासम्म संक्रमित भएका छन् ।
(कान्तिपुर दैनिक)
चितवन — भाद्र १५, २०७७ ।
चितवनमा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका – ८ मा रहेको सल्यानी टोलमा रहेको पोखरीमा माछा चोर्न गएका युवाको करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।
चुडामणी शर्मासहितका पाँच जनाले संचालन गर्दै आएको पोखरीमा माछा चोर्न गएका स्थानीय नवराज दराई र निरबहादुर रानामगरको करेन्ट लागेर मृत्यु भएको हो ।
उनीहरूको साथमा माछा मार्न प्रयोग हुने जाली पनि भेटिएको प्रहरीले जनाएको छ । मृतकलाई हातमा विद्युत् तार समेत जोडिएको अवस्थामा भेटिएको बताइएको छ ।
उनीहरू दुवैको उमेर करिब ३५ वर्ष छ । माछा चोरी हुनेक्रम बढेपछि सञ्चालकले विद्युतीय तार लगाएर रातको समयमा करेन्ट छाड्ने गरेको प्रहरीको दावी छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
(ईमेज खबर)
कालिकोट — भाद्र १५, २०७७ ।
तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको छ ।
घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए ।
पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको इन्सपेक्टर यक्षराज जोशीले जानकारी दिनुभयो ।
शाही परिवारको घर शुभकालिका गाउँपालिका मुंग्रा भए पनि नाग्ममा पसल थियो । यसैगरी अर्को एक परिवारका तीन सदस्यको पनि सोही पहिरोमा परेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको मृत्यु भएको छ ।
यसैगरी तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।
सदरमुकामबाट दुर्गम क्षेत्रमा रहेकाले घटनास्थलमै मृतकहरुको पोष्टमार्टम गरिने कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिनुभयो ।
यस्तै सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि सोही पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
(ईमेज खबर)
गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलको संयोजनमा बोधिसत्व विहारले राजधानीका विभिन्न स्थानमा अप्ठेरोमा परेका परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी, विहारअन्तर्गत 'नेपाल लकडाउन फुड च्यारिटी'का संयोजक शान्त शर्मा र गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी अविरल सहितको टोलीले आज आज काठमाडौंको बालाजुस्थित अपाङ्ग आश्रमसँगै लामबगर शिव मन्दिर, शान्तिटोल, मनमैजु लोकतान्त्रिक चोक र ललितपुरको हरिसिद्धिका लकडाउनका कारण समस्यामा परेका दर्जनौं परिवारलाई कुल ६२५ किलो चामल, ७५ किलो दाल, ७५ किलो गेडागुडी, 69 किलो पिठो,५० लिटर तेल, ५ किलो मसला र १० किलो चिनी सहयोग गरेको हो । योसँगै टोलीले निषेधाज्ञा अवधिभर आवश्यक पर्दा थप सहयाेग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
पहलकर्ता गन्तव्य नेपालका अध्यक्ष तथा समाजसेवी अधिकारीले आफ्नो पहलमा यसै साता पुरानो गुह्येश्वरीस्थित इप्सा नेपाल र गोकर्णस्थित संयुक्त अपाङ्ग आवास केन्द्रलाई नगद, खाद्यान्न र ट्वाइलेट बाथरुम निर्माण गरिदिनेसम्मको सहयोग गरेको स्मरण गर्दै अपाङ्ग तथा विपन्न वर्गको सेवामा निरन्तर सहयोग जारी राख्ने बताए ।
बोधिसत्व विहार मानवसेवामा समर्पित बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय संस्था हो । कोरोना महामारीसँगै नेपालमा लकडाउन सुरु भएलगत्तै 'नेपाल लकडाउन फुड च्यारिटी' सञ्चालन गरेको बोधिसत्व विहारले अहिलेसम्म ७ लाखभन्दा बढीलाई नि:शुल्क खाना खुवाइसकेको छ । यससँगै विहारले विपन्न वर्गका सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई विशेष पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।
खाद्य सामग्रीका अतिरिक्त विहारले देशभर भारी मात्रामा स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री वितरण गरेको छ । विभिन्न जिल्लाका अस्पताल, स्वास्थ्य केन्द्र, क्वारेन्टिन स्थल, सुरक्षा चौकी, कारागार तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा बोधिसत्वले स्वास्थ्य सामग्री पुर्याएको छ भने पत्रकारहरूलाई पिपिई, प्रेस ज्याकेटसहित सुरक्षा सामग्री वितरण गरेको छ । पछिल्लो समय अपाङ्गता भएका विभिन्न संस्थामा रहेका १७५ जनालाई खाद्य सामग्री सहयोग गरेको विहारले अझै त्यस्ता १ हजार जनालाई सहयोग गर्ने तयारी गरेको 'नेपाल लकडाउन फुड च्यारिटी'का संयोजक समाजसेवी शान्त शर्माले बताएका छन् । यसका अतिरिक्त देशभर बाढी पहिरोको मारमा परेका समुदायको सहयोगमा आफूहरूको ध्यान गएको उनले बताए ।
केही दिनअघि मात्र बोधिसत्वको टोलीले सिन्धुपाल्चोकको लिदी पुगेर पहिरोले घरबार गुमाएका १७५ परिवारलाई खाद्यसामग्री सहयोग गरेको थियो भने उनीहरूको आवास निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
काठमाडौँ — भाद्र १४, २०७७।
सङ्क्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न स्थानीय तह व्यस्त छन् । साथै उनीहरूले प्रवेश नाका व्यवस्थित गर्न सुरक्षाकर्मीसँग समन्वय पनि गरिरहेका छन् । काठमाडौँ उपत्यकामा दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाले आवतजावतमा कमी आए पनि स्थानीय सरकारले सुरक्षाकर्मी र स्थानीय प्रशासनलाई आवश्यक सहजीकरण गर्ने काम गरिरहेका छन् ।
काठमाडौँ प्रवेश गर्ने मुख्य नाका जोडिएका सूर्यविनायक, दक्षिणकाली, चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेका ती नगरपालिकाले जनाएका छन् ।
कतै स्थानीय प्रशासनलाई सहजीकरण गर्ने काम भएका छन् भने कतिपय नगरपालिकाले आफैँ स्वयंसेवक परिचालन गरी आवतजावतमा कडाइ गर्दै आएका छन् । केही नगरपालिकाले नाकामा स्वास्थ्य कक्ष हेल्थ डेस्क राखेर नाकामा खटिने प्रशासन र सुरक्षाकर्मीको नियमित स्वास्थ्य परीक्षण गरिरहेका छन् ।
स्वयंसेवक परिचालन दक्षिणकाली
दक्षिणकाली नगरपालिकाले हेटौँडाबाट उपत्यका प्रवेश गर्ने मुख्य नाका राम्चे र हुमाने भञ्ज्याङमा स्वयंसेवक परिचालन गरी उपत्यका प्रवेशमा कडाइ गरेको छ । स्वयंसेवकले स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्ने काम गरिरहेका छन् । स्थानीय प्रशासनबाट माग भएअनुसार नगरपालिकाले अन्य सहयोग गर्दै आएको नगरपालिकाका प्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।
आवतजावत ठप्प तारकेश्वर
तारकेश्वरबाट पासाङ ल्हामु राजमार्ग र टोखा छहरे हुँदै काठमाडौँ प्रवेश गर्न सकिने भए पनि अहिले दुवै नाकाबाट आवजावत ठप्प छ । काठमाडौँ उपत्यकाको फोहोर धादिङतर्फ जाने सवारी साधन र धादिङबाट उपत्यकामा आउने तरकारी र फलफूलका सवारी साधनबाहेक अन्य आवतजावत बन्द भएको तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले जानकारी दिनुभयो ।
आवश्यक समन्वय र सहयोग सूर्यविनायक
काभे्रबाट काठमाडौंँ आवतजावत गर्ने मुख्य नाका साँगामा सूर्यविनायक नगरपालिकाले आवतजावतका लागि पास सिफारिसमा रोक लगाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले अस्पताल जानुपर्ने व्यक्तिका लागि नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमितका लागि नगरपालिकाले घरघरमै सेवा पु¥याएको छध्र
सवारी व्यवस्थापन गर्दै चन्द्रागिरि
चन्द्रागिरि नगरपालिकाले नगरपालिका क्षेत्र हुँदै काठमाडौँ प्रवेश गर्ने चित्लाङ र नागढुङ्गा नाकामा रोकिएका सवारी साधन व्यवस्थापन गर्न सहजीकरण गरिरहेको छ । भदौ ३ को रातिदेखि उपत्यकामा निषेधाज्ञा लागू भएपछि सो क्षेत्रमा करिब एक हजार चार सयवटा सवारी साधन बीच बाटोमै रोकिएका छन् । ती सवारी साधन व्यवस्थापनमा नगरपालिकाले सहजीकरण गरिरहेको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।
जताबाट आयो उतै फिर्ता शङ्खरापुर
शङ्खरापुर नगरपालिकाबाट काठमाडौँ प्रवेश गर्ने नाङ्लेभारे, भोटेचौर, नगरकोट, कात्तिके नाकाबाट आउने नाका बन्द छ । कोही कोही आवतजावत गर्न खोजे जताबाट आएको उतैतिर फिर्ता पठाइने गरिएको शङ्खरापुर नगरपालिकाले जनाएको छ । मुख्य नाकाभन्दा बाहिर जङ्गल तर्फबाट पनि अवतजावत गर्ने व्यक्तिलाई नगरपालिकाका सबै वडाका बासिन्दालाई उच्च निगरानी राख्न आग्रह गरिएकाले अहिलेसम्म भागेर आवतजावत गरेको जानकारी नआएको उहाँले बताएको खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।
काठमाडौँ — भाद्र १२, २०७७।
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाले शुक्रबारदेखि आफैँ कोरोना (कोभिड–१९) को परीक्षण शुरु गरेको छ ।
आफ्ना नगर क्षेत्रभित्रका जनताका लागि आफ्नै लगानीमा आरडीटी पीसीआर मेशिन गरिद गरी नगरपालिकाले अब आफैँले कोभिड–१९ को परीक्षण शुरु गरेको नगरप्रमुख विदुरकुमार कार्कीले बताउनुभयो ।
नगर क्षेत्रभित्र पनि कोरोना समुदायस्तरमै फैलिएको भन्दै उहाँले सङ्क्रमणलाई नियन्त्रणमा लिन सबभन्दा पहिले सङ्क्रमितको सम्पर्कमा आएकालाई पहिचान गर्दै तिनको परीक्षणलाई प्राथमिकता दिएको बताउनुभयो ।
“बर्दिबासबासी यसअघि स्थानीयस्तरमा कोरोना परीक्षणको व्यवस्था नहुँदा प्रादेशिक अस्पताल जनकपुरको भर परेका थिए”, नगरप्रमुख कार्कीले भन्नुभयो, “तर अब बर्दिबासको सङ्कलित स्वाब परीक्षण गर्न बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।”
पहिलापहिला कोरोना परीक्षणको रिपोर्ट आउन १५ दिन लाग्ने गरेको तर अब आफ्नै मेशिन भएपछि आजको भोलि नै रिपोर्ट आउने र दैनिक ८०० को स्वाब परीक्षण गर्न मिल्ने भएको उहाँले बताउनुभयो ।
बर्दिबास नगरपालिका गत जेठ ५ गते नै आफैँ कोरोना मेशिन खरिद गर्ने निर्णय गरेअनुरुप मेशिन खरिद गरेर आजदेखि आफ्ना क्षेत्रका जनताको सेवामा जुटेको छ ।
(रासस)
काठमाडौँ — भाद्र १२, २०७७।
पण्डित माधवप्रसाद शर्मालाई संक्रमणबीच ‘संस्कार जोगाउने’ पिरलोले सताउन थाल्दै छ । नजिकि“दो ‘सोह्रश्राद्ध’ले त झन् नपिरोल्ने कुरै भएन । सोह्र श्राद्ध आगामी १७ भदौदेखि सुरु हुँदै छ ।
‘संक्रमणबाट जोगिनु पनि प¥यो, संस्कार पनि धान्नैप¥यो,’ पण्डित शर्माले सुनाए, ‘घरघर जाँदा संक्रमण सर्ने र फैलने उत्तिकै खतरा छ, यसो भएपछि श्राद्धमा पनि भर्चुअलको सहायता लिनुपर्ने अवस्था छ ।’ जजमान र पुरोहित आ–आफ्नै घरमा बसेर भर्चुअल श्राद्ध गर्न सकिने उनको धारणा छ ।
‘भर्चुअल श्राद्ध’मा ब्राह्मणबाट संकल्प, मन्त्रोचारण हुन्छ अर्कोतिर जजमान कुशलाई ‘ब्राह्मण’ थपना गरी टीका लगाइदिन्छन् । सोह्र श्राद्ध आउन एक साता मात्र बाँकी छ । पितृ स्मरण गर्दै जल र अन्नसहित श्राद्ध गरिन्छ ।
कोरोनाका कारण पहिलेजस्तो नातागोता भेला गरेर श्राद्ध गर्ने स्थिति छैन । श्राद्ध रोक्ने कुरा पनि भएन । यसअघि, ब्राह्मण जजमानका घर पुग्थे । एकातर्फ पितृ स्मरणसहित संस्कृति धान्न श्राद्ध गर्नैपर्ने बाध्यता र अर्कोतर्फ स्वास्थ्यको ख्याल राख्नुपर्ने चुनौती आइपरेको छ ।
विज्ञका अनुसार संक्रमण फैलाउन ‘एकै व्यक्ति पनि काफी’ हुन्छन् । सोह्र श्राद्ध प्रतिपदादेखि औँसीसम्म एकै ब्राह्मणले धेरै घरमा गई श्राद्ध गराइदिन्छन् ।
नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम संक्रमणकालीन अवस्थामा ‘सकेसम्म एक जना ब्राह्मण मात्र बोलाएर श्राद्ध गर्न आग्रह गर्छन् ।
‘पढ्न सके आफैँले पढेर श्राद्ध गर्ने, नसके स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर ब्राह्मणलाई श्राद्ध गराउन लगाउन सकिन्छ,’ उनी भन्छन्, ‘हाम्रो संस्कार र संस्कृति लचकदार भएकाले विश्वास र आस्था नखलबलिने गरी कर्म गरे पनि फल प्राप्त हुन्छ ।’
आध्यात्मिक पत्रकार संघ अध्यक्ष शिरोमणि दवाडी इन्टरनेट वा फोनका माध्यमबाट श्राद्ध गराउँदा दक्षिणा बैंकिङ प्रणालीबाटै पठाउन सकिने बताउँछन् । ‘नभए, पछि भेटेरै दिए पनि हुन्छ,’ उनले थपे ।
भौतिकवादी चिन्तन छाडेर आध्यात्मिक चिन्तन आवश्यक रहेको दवाडी औँल्याउ“छन् । ‘क्रियाकलापमुखी होइन, आध्यात्मिक सोच विचार समयसापेक्ष बनाऔं,’ उनले भने, ‘मनोवैज्ञानिक त्रास हटाउने, चाडबाड र संस्कृतिको मर्म नमर्ने गरी मनाउन सकिन्छ ।’
मानवशस्त्रका विद्यार्थी उज्ज्वल न्यौपाने इन्टरनेट माध्यमबाट भौतिक रूपमा पुरोहित उपस्थित नभई गरिने कर्मकाण्डलाई समयानुसार संस्कृति परिवर्तन हुँदै जाँदाको परिणामका रूपमा लिन्छन् ।
उनका अनुसार प्रविधि सुविधा संस्कृतिमा प्रयोग हुन थालेको छ, कर्मकाण्ड गराउने व्यक्ति कमी र प्रविधि विकाससँगै विषम परिस्थितिका कारण यो अभ्यास सुरु भएको आजको राजधानी दैनिकमा खवर छ ।
काठमाडौँ — भाद्र १२, २०७७।
नेपालको चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि सरकारले अनवरत दुःख दिन थालेको छ ।
त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएपछि कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क उपचार गर्दै हिंड्नु भएका डा. केसीमाथि सरकारले दुःख दिएको हो ।
साउनदेखि जुम्लाका दुर्गम बस्तीहरुमा उपचार नपाइरहेका नागरिकको सेवामा जुट्नुभएका उहाँलाई प्रहरीले त्यहीं घेराबन्दी गरेको हो ।
उहाँलाई होटलमै घेराउ गर्ने प्रयास गरिएको छ भने उपचारका लागि स्वास्थ्य केन्द्रसम्म जान नै दिइएको छैन । बाटोमा हिड्न पनि दिइएको छैन । बाटो हिंड्दा पनि प्रहरीले घेराबन्दी गरेको छ ।
डा. केसी बस्नुभएको जुम्लाको होटल रोयल गार्डेन नै प्रहरीले नियन्त्रणमा लिएको हो । विहीबार डा. केसीलाई होटलबाट निस्कन नदिनुका साथै अस्पताल जान पनि दिएनन् ।
डा. केसीले दुई वर्षअघि जुम्लामै अनशन बस्नुभएको थियो । सरकारले जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, एमबिबिएस र डिग्रीको पढाइ सुरू गर्ने सम्झौता गरेको थियो ।
दुई वर्षका बीचमा जुम्लामा तीन सय बेडको अस्पताल बने पनि सरकारले डा. केसीसँगको सम्झौता पूर्ण पालना नगरेपछि उहाँले विहीबारदेखि नै सत्याग्रह थाल्ने तयारी गर्नुभएको थियो । एमबिबिएस र डिग्री अझै शुरु भएको छैन ।
सरकारी रवैयाप्रति आपत्ति जनाउँदै डा. केसीले साउन ११ गतेबाटै सत्याग्रह थाल्न खोज्नु भएकोमा देशभर कोरोना महामारी फैलिएपछि सत्याग्रहको समय पछि सार्नुभयो । त्योबीचमा कालिकोट, डोल्पा र मुगु पुगेर उहाँले नागरिकको सेवा गर्नुभयो ।
जुम्ला पुगेरै पनि उहाँले आफूसँग गरेका माग पूरा गर्न पटक पटक अल्टिमेटम दिइरहनु भयो तर सरकारले कुनै चासो नदिएपछि उहाँ फेरि अनशन बस्न लाग्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले भने निषेधाज्ञाका समयमा अनशन बस्न खोजेकाले रोक्नुपरेको जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायत कार्यक्रम सञ्चालन र स्नातकोत्तर तहको अनुमति, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन थाल्ने लगायत माग डा. केसीको छ ।
प्रदेश नम्बर दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया थाल्न पनि उहाँले माग राख्नुभएको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै वरिष्ठताका आधारमा नियुक्ति गर्न, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप गर्ने लगायत माग पनि उहाँले राख्नुभएको छ ।
(ईमेज खबर)
एजेन्सी, ११ भाद्र । बलिउडमा एक राम्रो खबर आएको छ । अभिनेत्री अनुष्का शर्मा गर्भवती भएकी छिन् । बिहीबार अनुष्का र विराटले सामाजिक सञ्जाल मार्फत यो खुशीको खबर सेयर गरेका हुन् । उनीहरुले खुशी सेयर गरे लगत्तै शुभकामना र बधाईको क्रम चलिरहेको छ । केही कलाकार र साथीहरुले अनुष्का र विराटको जीवनमा नयाँ च्याप्टर सुरु गरेकोमा बधाई दिएका छन् ।
अनुष्काले विराटको साथमा सेयर गरेको तस्वीरमा उनले कालो रंगमा सेतो डट्स भएको टिर्शट लगाएकी छिन् । दुवैजना निकै खुशी देखिएका छन् । अनुष्काको बढ्दै गएको पेट स्पष्ट देख्न सकिन्छ । क्याप्सनमा लेखेकी छिन्, ‘अब हामी तीन हुनेछौ । जनवरी २०२१ मा आउनेछ । ’ विराट अहिले आइपिएल २०२०को लागि युएईमा छन् ।
उनीहरुलाई सबैभन्दा पहिला बधाइ दिने अभिनेता वरुण धमल थिए, उनले अनुष्कासँग सुई धागामा काम गरेका थिए । वरुणले लवमा इमोजी बनाएर आफ्नो भावना पोखेका थिए । त्यस्तै केएल राहुल, आलिया भट्ट, प्रियंका चोपडा, सामंता प्रभु, तापसी पन्नु, काजल अग्रवाल, कियारा आडवाणी, परिणिती चोपडा, मोनी राय आदी धेरैले अनुष्का र विराटलाई बधाई दिएका थिए ।
केहि समयको प्रेमलाई २०१७ को डिसेम्बरमा अनुष्का र विराटले विवाह परिणत गरेका थिए । उनीहरुले लकडाउनको समय फार्म हाउसमा बिताएका थिए । जहाँ अनुष्काको माता र पिता पनि सँगै थिए । शाहरुख खानको फिल्म जीरोमा २०१८ मा देखिएकी अनुष्का त्यसयता भने फिल्म खेलेकी छैनन् । उनी आफैले बनाएको ‘बुलबुल’भने यसै वर्ष रिलिज भएको थियो ।