generalnews
||Power News Asia||

आजको समाचार

एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

समाचार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम आज औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ।

कार्यक्रमको उद्घाटन उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्की र एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रूपमा गर्नुभयो।

कार्यक्रममा एनआरएनए उपाध्यक्ष मनोजकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले धन्यवाद ज्ञापन गर्दै एनआरएनएप्रति आभार व्यक्त गर्नुभयो।

एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले सम्बोधन गर्दै भन्नुभयो –
“यो परियोजना केवल संरचना हस्तान्तरण होइन, प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारी र सहकार्यको प्रतिक हो। स्मार्ट, सुरक्षित र दिगो सहर निर्माणतर्फ यो कदमले नयाँ अध्याय सुरू गरेको छ।”

७५ लाख ४४ हजार रुपैयाँको लागतमा सम्पन्न यस परियोजनामा सिभिल निर्माण, आधुनिक डिजाइन, भिडियो वाल, नेटवर्क प्रणाली र अपरेशनल उपकरणहरूको प्रतिस्थापन तथा मर्मत कार्य गरिएको छ।

श्रेष्ठले विश्वका स्मार्ट सहरहरू — सिङ्गापुर, टोक्यो, लन्डन र दुबईका ट्राफिक प्रणालीबाट प्रेरणा लिँदै नेपालमा पनि एआई (AI) आधारित ट्राफिक व्यवस्थापन र रियल टाइम डेटा मोनिटरिङ प्रणाली लागू गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा एनआरएनए सिईओ रवि किरण अधिकारीले संस्थाले हालसम्म गरेका गतिविधिहरू र आगामी परियोजनाहरूको बारेमा जानकारी दिँदै भन्नुभयो –
“एनआरएनएले प्रवासी नेपालीको सीप, स्रोत र सोचलाई मातृभूमिको विकासमा उपयोग गर्ने प्रयासलाई निरन्तरता दिइरहेको छ। ट्राफिक कन्ट्रोल रुम जस्ता परियोजनाले संस्थाको सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाएको छ।”

एनआरएनएले आगामी चरणमा ‘Breathalyzer Devices’ ट्राफिक प्रहरीलाई उपलब्ध गराउने योजना अघि सारेको छ, जसले मदिरा सेवनपछि सवारी चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न र दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउनेछ।

त्यसैगरी, एनआरएनएले हालैको Gen Z आन्दोलनबाट क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको पुनर्निर्माण गर्ने तयारी समेत गरेको जनाएको छ।

कार्यक्रममा एनआरएनए विपद् व्यवस्थापन तथा पुनर्निर्माण समिति संयोजक मनोजकुमार श्रेष्ठले अभियानमा साथ दिने सबैलाई धन्यवाद दिँदै भने,
“यो काम एनआरएनए र नेपाल प्रहरीबीचको सहकार्यको उत्कृष्ट उदाहरण हो। यसले ट्राफिक व्यवस्थापनमा नयाँ आयाम थप्नेछ।”

एआईजी दानबहादुर कार्कीले पनि एनआरएनएलाई धन्यवाद व्यक्त गर्दै भने,
“यस्ता अभियानहरूले प्रहरी संगठनमा ऊर्जा थप्ने काम गर्छन्। ट्राफिक नियम पालन र नागरिक सचेतनाको क्षेत्रमा यस्ता सहयोगले महत्वपूर्ण योगदान पुर्‍याउँछ।”

एसएसपी नवराज अधिकारीले पनि धन्यवाद ज्ञापन गर्दै भने,
“एनआरएनएको सहयोगले ट्राफिक प्रहरीको मनोबल बढाएको छ। यस्तो सहकार्यले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ।”

यससँगै, काठमाडौं उपत्यकाको ट्राफिक कन्ट्रोल रुम अब अत्याधुनिक, स्मार्ट र दिगो स्वरूपमा सञ्चालनमा आउने भएको छ। यसले सडक सुरक्षा, आपतकालीन प्रतिक्रिया र नागरिक सेवामा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।

कार्तिक २१ गते अञ्जना गुरुङको एकल सांगीतिक कार्यक्रम को आयोजना हुँदै

समाचार


काठमाण्डौ– नेपाली सुगम संङ्गीतको क्षेत्रको लागी एक लोकप्रिय नाम हो गायिका अन्जना गुरुङ । गायिका अञ्जना गुरुङले विगत दुई दशक भन्दा लामो समयदेखी नेपाली गीत सङ्गीतका विभिन्न विधाहरुमा आफ्नो जादुमय स्वर प्रस्तुत गर्दै आउनु भएको छ साथै उहाँ चलचित्रको पाश्र्वगायनमा पनि सफल गायिकाको रुपमा चिनिनहुन्छ ।

यहि कार्तिक २१ गते शुक्रबारका दिन काठमाण्डौमा टिका गोपाल एम्. क्रियशनले गायिका गुरुङको एकल साङितिक कार्यक्रम–२०८२ को आयोजनामा गर्ने भएको छ । उक्त दिन गायिका अञ्जना गुरुङको लोकप्रिय गीतहरुको प्रस्तुती हुुने आायोजक टिका गोपाल एम्. क्रियशनका अध्यक्ष गीत सिंहले बताउनु भयो । गायिका गुरुङका “आँखैमा राख्छु मेरो देश, म त काली सुन्दरी, बदनाम भए म तिम्रै कारणले, आँधी सारी तिम्रो माया, ठ्याक्कै भेटौंला, नजर नजरको, जसले मुटु चुडेर लग्यो, माईला रोधी घरमा (कौडा), मान चाहे नमान तिमी मेरो हौ " लगायत सयौं गीतहरु चर्चामा रहेका छन् ।

नेपाली सांङ्गीतिक जगतमा गयिका गुरुङ एक परिचित र सम्मानित नाम हो। नेपाली सुगम संङ्गीतदेखि चलचित्रको पाश्र्वगायनसम्म, उहाँले आफ्नो जादुमय स्वर प्रस्तुत गर्दै आईरहनु भएको छ । सादगीपूर्ण व्यक्तित्व र सालिन र भद्र स्वभावकी गायिका गुरुङको आफ्नो छुट्टै जादुमय स्वरका कारणले पनि नेपाली सांङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै स्थान रहेको छ। गायिका अञ्जना गुरुङको एकल सांङ्गीतिक कार्यक्रम केवल मनोरञ्जनको अवसर मात्र पनि होइन, नेपाली संङ्गीतप्रति र गयिका गुरुङ प्रति कृतज्ञता प्रकट गर्ने एउटा मञ्च पनि हो।

गायिका गुरुङको एकल साङितिक कार्यक्रम–२०८२ को विशेष अवसर पारेर गायिका गुरुङको संरक्षकत्व तथा नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” लाई पनि सोही समारोहमा प्रदान गरिने भएको छ । नगद एकाउन्न हजारको पुरस्कार राशी रहेको उक्त पुरस्कार यसवर्ष बरिष्ठ गायक कमल बि.क. “निर्मोही” लाई प्रदान गरिने भएको छ ।

नेपाली गीतहरुलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्नको लागी विगत लामो समयदेखी सक्रिय रहेका कमल बि.क. “निर्मोही” मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरुलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आईरहनु भएको छ गायक नर्मोही पछिल्लो समय मृगौला रोगबाट समेत पिँडित छन् ।

यस अघि “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार” बाट बरिष्ठ गायिका चन्द्रकला शाह (२०७८), बरिष्ठ गीतकार बिश्व बल्लभ (२०७९), बरिष्ठ बाध्यबादक कृष्ण गन्धर्ब (२०८०) र बरिष्ठ लोकगायक रेशम थापा (२०८१) सम्मानित एवम् पुरस्कृत भईसक्नु भएकोछ ।

“कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” गायक निर्मोहीलाइ

समाचार


काठमाण्डौ– नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको नगद ५१,००० (एकाउन्न हजार) रुपैयाँ राशी सहितको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” यसवर्ष बरिष्ठ गायक कमल बि.क. “निर्मोही” लाई प्रदान गरिने भएको छ ।

नेपाली गीतहरुलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्नको लागी विगत लामो समयदेखी सक्रिय रहेका कमल बि.क. “निर्मोही” मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरुलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आईरहेका छन् । विशेषतः गायक “निर्मोही” का “बुलबुल तालैमा, आउँ त भने, मैले भन्थे नी, सलल बग्ने, ताने झै माया, अरु मैले, बनको फुल फुलेछ, कठै सानु, भेरी दोभान, लाग्यो माया” लगायत दर्जनौँको संख्यामा रहेका उनका गीतहरु चर्चामा रहेका छन् । गायक निर्मोही प्रसिद्ध रेडियोकर्मी पनि हुन् ।

विशेष गरी कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार तथा सम्मानको उद्देश्य भनेको नेपाली सङ्गीत क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका अग्रज श्रष्ठा तथा कलाकारहरुलाई जीवीत रहँदै सम्मान पत्र सहितको नगद पुरस्कारबाट पुरस्कृत गर्नु रहेको यस पुरस्कारका संरक्षक गायक तथा सङ्गीतकार कन्हैया सिंह परियाले बताए । जुन पुरस्कार र सम्मानले सम्मान्नित हुने अग्रज श्रष्ठाको मनमा खुशी र जीवनमा थप सकारात्मक सोंच र उर्जाको बृद्धि होस् ।

टिका गोपाल डिजिटल एम्. क्रियशन प्रा.लि.का संचालक तथा कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार समितिका अध्यक्ष गीता सिंह र पुरस्कार छनौट समिति तथा कार्यक्रम संयोजक सङ्गीतकार सन्तोष श्रेष्ठद्धारा सयूक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा गायक निर्मोहीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

कार्तिक महना भित्रै काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि गायक निर्मोहीलाई ५१,००० (एकाउन्न हजार) रुपैयाँको नगद सहितको पुरस्कार र सम्मान पत्रद्धारा सम्मानित गरिने विज्ञप्तीमा भनिएको छ । गायक नर्मोही पछिल्लो समय मृगौला रोगबाट समेत पिँडित छन् ।

यस अघि “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार” बाट बरिष्ठ गायिका चन्द्रकला शाह (२०७८), बरिष्ठ गीतकार बिश्व बल्लभ (२०७९), बरिष्ठ बाध्यबादक कृष्ण गन्धर्ब ( २०८०) र बरिष्ठ लोकगायक रेशम थापा (२०८१) सम्मानित एवम् पुरस्कृत भईसकेका छन् ।

बोर्डद्वारा १७८ चलचित्रकर्मीलाई परिचयपत्र वितरण

समाचार


काठमाण्डौ - चलचित्र विकास बोर्डले शुक्रबार एक विशेष कार्यक्रमका बीच १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ। २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका ती चलचित्रकर्मीहरूलाई बोर्डले सम्मानपूर्वक परिचयपत्र प्रदान गरेको हो। चाबहिल स्थित चलचित्र विकास बोर्डको हलमा आयोजित सो कार्यक्रमको अध्यक्षता बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका थिए भने विशेष अतिथि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरि निरौला रहेका थिए ।

यसअघि बोर्डले ३० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिक र अन्य क्षेत्रका व्यक्तिहरूलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको थियो। बोर्डले यसै आर्थिक वर्षदेखि परिचयपत्र प्राप्त गरेका विशिष्ट चलचित्रकर्मीहरूका लागि वार्षिक रु. १ लाख ५० हजार बराबरको तथा सामान्य चलचित्रकर्मीहरूका लागि रु. ७५ हजार बराबरको स्वास्थ्य बीमा सुविधा सुरु गरेको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष डीसीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता नभई पेशागत पहिचान र अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउने कदम समेत भएको बताए । उनले भने( ‘चलचित्रकर्मीको पहिचान, सामाजिक सुरक्षा र प्रतिष्ठाको संरक्षणका लागि बोर्ड निरन्तर क्रियाशील रहन प्रतिबद्ध छ । समारोहमा चलचित्रकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

रमेश दुलाल "कागे" को ‘२२औँ काग सम्मेलन’ भब्य रुपमा सम्पन्न

समाचार


काठमाडौं, काग तिहारको अवसरमा कलाकार रमेश दुलाल"कागे"ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ भब्य रुपमा सम्पन्न गरेका छन ।

टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं  कागलाई आकर्षित गरे । बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ  हजारौ कागहरू आकाशबाट झर्दै भेला भएका थिए।

दुलालले कागसहित हालसम्म १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाजहरू नक्कली रूपमा निकाल्न सक्छन । साथै, उनले मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन समेत प्रस्तुत गर्न सक्छन्।

उनका अनुसार, विगतका वर्षहरूमा उनले कहिले रत्नपार्कस्थित शान्ति बाटिकामा, कहिले एयरपोर्ट परिसरमा, त कहिले सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आएका छन्।
दुलालले भने, “काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो। कागलाई यमराजको दूतका रूपमा मानिन्छ। यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ।”

काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुलालको यो कार्यक्रमलाई उपस्थित दर्शकहरूले सराहना गरेका छन्  भने बहुप्रतिभाको धनी दुलालको चर्चा गरेका छन ।
कार्यक्रमको मुख्य  प्रायोजकमा मोर्डन राप्ती रियल स्टेट र 
भरत विश्वकर्मा रहेका छन भने सहप्रायोजकमा
 ह्याम्स हस्पिटल,शंकर प्रसाद आचार्य,चुडा मैनाली,होराईजन स्पा,नौकरी नेपाल र शान्ती तथा ग्रामिण विकास केन्द्र नेपाल रहेका थिए भने मिडिया संयोजन जनसवाल रास्ट्रीय दैनिक र आर्टिस्ट खवर लगाएतले गरेका थिए ।

नेपाल सरकारले ‘सिनेपाः स्टुडियो’का लागि तीन करोड रुपैयाको अनुदान बजेट प्रदान गर्ने

समाचार


काठमाडौं - नेपाल सरकारले काभ्रेपलाञ्चोकको बनेपामा निर्माणाधिन अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपाः स्टुडियो’का लागि तीन करोड रुपैयाको अनुदान बजेट प्रदान गर्ने भएको छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच शुक्रबार उक्त सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर सम्पन्न भएको हो ।

‘सिनेपाः स्टुडियो’ नेपाली चलचित्र उद्योगलाई प्रविधिक रूपमा सशक्त बनाउन, निर्मातालाई एकीकृत स्थानमा सवै प्रकारका सेवाहरु प्रदान गर्न का लागी र अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम नेपाली चलचित्र बनाउन बनाउन लक्षित परियोजना रहेको बोर्डका अध्यक्ष डिसीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘काभ्रेपलाञ्चोकको जिल्लको ऐतिहासिक शहर बनेपामा निर्माण भइरहेको सिनेपाः स्टुडियो नेपाली चलचित्र उद्योगका लागि नयाँ युगको सुरुआत हुनेछ, यो केबल स्टुडियो होइन, हाम्रो चलचित्र क्षेत्रको भविष्यमाथीको लगानी हो ।’

यसमा अत्याधुनिक फिल्म छायाङ्कन, ध्वनि रेकर्डिङ, सम्पादन, ‘भिजुअल इफेक्ट्स’, रङ्ग संयोजन र ‘पोस्ट–प्रोडक्सन’ सुविधा रहनेछन् । सिनेपाःको निर्माण सम्पन्न भएपछि नेपाली चलचित्रकर्मीलाई विदेशमा गएर चलचित्रको प्राविधिक काम महँगोमा गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास चलचित्रकर्मीहरुको रहेको छ ।

उक्त सम्झौता गर्दाको बखतामा चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई र योजना अधिकृत गिरीश शर्मा लगायतको पनि उपस्थिति रहेको थियो।

 

धार्मिक, साँस्कृतिक र सामाजिक पर्वको संगम बडा दशैं

समाचार


काठमाडौ– नेपालीहरुको महान चाड बडा दशैं तथा विजया दशमी वर्षेनी मनाईने फगत एक चाड मात्रै होईन, यो त नेपाली समाजलाई एकै सूत्रमा बाँध्ने प्रमुख पर्व पनि हो । यस्ता पर्वहरुले हामी नेपालीहरुलाई एक सुत्रमा बाँध्ने गरको छ । समग्रमा भन्नु पर्दा दशैं तिहार तथा छट जस्ता पर्वहरुले पारिवारिक पुर्नमिलनको अवसर पनि बनाई दिएको छ । गाउँमा सामूहिक पूजापाठ, मेलापात, रमाइलो, सामूहिक भोजजस्ता गतिविधिले सामुदायिक सम्बन्ध बलियो हुन्छ । शहरमा पनि साथीभाइबीच भेटघाट र शुभकामना आदान–प्रदान हुन्छ । यस वर्षको दशैं पनि असोज ६ गते घटस्थापनाबाट सुरु भई २१ गते पुर्णिमाको दिनवाट समापन हुँदैछ । हुन त करिब दुई सातासम्म चल्ने यो पर्वले धार्मिक श्रद्धा, साँस्कृतिक परम्परा, सामाजिक एकता र आर्थिक गतिविधि सबैलाई जोड्ने काम गर्छ ।

दशैंको पहिलो दिन घटस्थापना नै सम्पूर्ण पर्वको आधार हो । यस दिन बिहानै साइत मिलाएर घर–घरमा कलश स्थापना गरिन्छ । कलशलाई शक्तिको प्रतीक मानिन्छ । त्यसैगरी, बालुवा थापेर जौ रोपिन्छ जसलाई जमरा भनिन्छ । दशौं दिनसम्म बढाइएको जमरा देवी दुर्गाको आशीर्वादको प्रतीकका रूपमा टीका थाप्दा प्रयोग गरिन्छ । घटस्थापनाले दुर्गा पूजाको औपचारिक शुरुवात जनाउँछ ।

घटस्थापनापछि लगातार नौ दिनसम्म देवी दुर्गाका नौ रूपहरूको विशेष पूजा आराधना हुन्छ, जसलाई नवरात्रि भनिन्छ । भक्तजन उपवास बस्छन्, मन्दिर–मन्दिरमा भीड लाग्छ र देवीस्थानहरूमा विशेष पूजा हुन्छ । द्वितीया, तृतीया र चतुर्थी  भक्तजनले साधारण पूजा गर्ने र देवीको स्तुति गर्ने परम्परा हुन्छ । पञ्चमी र षष्ठी  विशेष गरी परिवारजनले घरमै देवीको पूजा गर्ने दिन मानिन्छ ।

सप्तमी अर्थात फूलपाती– यस दिन गोरखाबाट विशेष विधिमा ल्याइएको फूलपाती काठमाडौं स्थित दशैघरमा भित्राईने परम्परा रहँदै आएको छ । यसै दिन देवीको प्रतीकका रूपमा आम नेपालीहरुले आ–आफ्नो घरमा फूलपातीलाई भित्राउने गर्दछन् अर्थात जमरा राखिन्छ ।

अष्टमी अर्थात महाअष्टमी– यस दिनलाइ महाअष्टमी पनि भनिन्छ यस दिन देवीलाई बलिप्रदान गर्ने चलन छ । शक्तिपीठ, मन्दिर र घर–घरमा विशेष पूजा–विधि हुन्छ। रातभर देवीको नाममा बलि दिने प्रचलन अझै पनि कतिपय ठाउँमा रहिआएको छ ।

नवमी अर्थात महानवमी – यस दिनमा विशेषत दशैं घरमा अस्त्र शस्त्रको पूजा गरिन्छ । यस दिन हातहतियार, मोटरगाडी तथा ईन्जिनहरुको समेत पनि पुजा गर्ने गरेको पाईन्छ । सेनादल, प्रहरीलगायत सुरक्षासंस्थामा यस दिनलाई विशेष पर्वका रूपमा मनाइन्छ । तुलजा भवानी र अन्य शक्तिपीठमा विशेष पूजा हुन्छ ।

दशौं दिन अर्थात विजया दशमी– यस दिनलाई पर्वको विशेष दिनको रुपमा मानिन्छ । धार्मिक विश्वास अनुसार दशमीको दिन देवी दुर्गाले महिषासुर नामक दैत्यलाई बध गरी सत्य र धर्मको विजय स्थापित गर्नुभएको थियो। यसैले यस दिनलाई “विजया दशमी“ भनिन्छ ।

(दशैमा नवदुर्गा देवीको पुजा तथा आरधना गर्दा प्रयोग गरिने मन्त्रहरुः पहिलो दिन–“ॐ देवी शैलपुत्र्यै नमः”, दोश्रो दिन– “ॐ देवी ब्रह्मचारिण्यै नमः”, तेस्रो दिन– “ॐ देवी चन्द्रघण्टायै नमः”, चौथो दिन–“ॐ देवी कुष्माण्डायै नमः”, पाँचौं दिन–“ॐ देवी स्कन्दमातायै नमः”, छैठौं दिन“ॐ देवी कात्यायन्यै नमः”, सातौं दिन–“ॐ देवी कालरात्र्यै नमः”, आठौं दिन– “ॐ देवी महागौर्यै नमः”, नवौं दिन– “ॐ देवी सिद्धिदात्र्यै नमः”)

दशैंको दशौं दिन अर्थात विजया दशमीको दिन घरका ज्येष्ठ सदस्यबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा परापुर्वकाल देखी चल्दै आएको छ र शो निरन्तरता आज पनि यथावत नै छ । आशीर्वादमा दीर्घायु, स्वास्थ्य, समृद्धि र प्रगतिका शुभकामना दिने गरिन्छ । परिवारका सदस्यहरू मात्र होइन, आफन्त, छिमेकी र समाजका अन्य व्यक्ति तथा दशैं विदेशमा रहेका आफन्तजनहरूसंग पनि भेटघाट गरी टीका लगाउने र शुभकामना साटासाट गर्ने चलनले आम रुपमा हामी नेपालीहरुलाई सामाजिक पनि बनाएको । टिका, जमरा लगाउने तथा आफन्तविचको भेट र आर्शिवाद लिने ठाउँ अनुसराको प्रचलनमा भने केही फरक पाईन्छ, कतै कतै विजया दशमीसंगै दशै सकियो भन्ने चलन पनि छ भने प्रायः ठाउँहरुमा पुर्णिमाको दिनसम्म पनि टिका जमरा ग्रहण गर्ने प्रचलन रहँदै आएको पाईन्छ ।

दशैं नजिकिँदै गर्दा बजारमा विशेष चहलपहल देखिन्छ । नयाँ कपडा, जुत्ता, गहना, खाद्यान्न, मासु, मिष्ठान्न आदिको बिक्री बढ्छ । कृषकले पनि वर्षभर मेहनत गरेर उत्पादन गरेका धान, तरकारी, फलफूल बजारसम्म पुर्याउने अवसर पाउँछन् । यसरी दशैंले समग्र रुपमा देशको अर्थतन्त्रलाई समेत चलामान बनाएको हुन्छ ।

समयसँगै दशैं मनाउने तरिका पनि परिवर्तन हुँदै गएको छ । पुराना पुस्ताले धार्मिक अनुष्ठानलाई बढी महत्व दिने गरेका छन् भने नयाँ पुस्ताले दशैंलाई सामाजिक भेटघाट र रमाइलोको अवसरका रूपमा लिन थालेका छन् । कतिपय शहरहरुमा पार्टी तथा भोजभतेरलाई बढी जोड दिएको पाईन्छ भने गाउँमा अझै पनि परम्परागत पूजा–विधि कायम छ । तर जसरी जे परिवर्तन भए पनि दशैंको मूल आत्मा भने परिवारलाई एकत्रित गर्ने, आशीर्वाद थाप्ने र मेलमिलाप गर्ने संस्कारमा केन्द्रित रहन्छ ।

दश दिनसम्मको धार्मिक विधि–विधानले नेपाली समाजमा श्रद्धा र आस्थाको भाव जागृत गराउनुका साथै टीकाले परिवार र समाजलाई अझ नजिक बनाउने गर्दछ । दुर्गा भवानीको आराधना, धर्मको विजय, सामाजिक मेलमिलाप र आर्थिक गतिविधिसहित दशैं नेपालीको जीवनमा केवल पर्व मात्र नभई सांस्कृतिक धरोहरका रूपमा स्थापित हुदै आएको छ ।

नेपालभर मनाइएको यस वर्षको विजया दशमीले फेरि एकपटक दशैं नेपालीको धार्मिक आस्था मात्र होइन, सांस्कृतिक पहिचान, सामाजिक सम्बन्ध र राष्ट्रिय एकताको पनि अभिन्न सूत्र हो भन्ने विश्वासलाई थप बलियो बनाउदै गएको छ ।

लेखकः कमला जोशी (सम्पादक, पावर न्यूज मासिक)

साहलाई खानेपानी मन्त्री नियुक्त गर्न प्रस्ताव दर्ता

समाचार


जनकपुरधाम-  जेनजी समूहका तर्फबाट ई. मधुसुधन कुशवाहाले प्रधानमन्त्री सुशिला कार्कीलाई सम्बोधन गर्दै खानेपानी मन्त्रालयमा ई. दिपेन्द्र साहलाई नियुक्त गर्न प्रस्ताव दर्ता गराएका छन्।

कुशवाहाले साहलाई भ्रष्टाचार र बेथितिविरुद्ध ज्यान र जागिरको जोखिम मोल्दै काम गर्दै आएको इमानदार प्रशासकका रूपमा प्रस्तुत गरेका छन्।

साहले विदेह नगरपालिकामा प्रशासकीय अधिकृत रहँदा र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरको प्रमुख हुँदा उपभोक्ता समितिबाट हुने बेथिति नियन्त्रण गरेको र त्यसकै कारण अन्याय सहनुपरेको भन्दै उनलाई खानेपानी मन्त्री बनाउन माग गरिएको हो।

फेसबुक लाइभमै सुरज श्रेष्ठले सुनाए ‘त्रिसुली माया’ को अनुभव

समाचार


काठमाडौं – समकालीन लोक–दोहोरी गीतमा लक्षणा र गहिरा अभिव्यञ्जना प्रयोग गर्ने गीतकार तथा संगीतकार प्रल्हाद सुवेदीको नयाँ सिर्जना ‘त्रिसुली माया’ सार्वजनिक भएको छ।

गीतमा आधुनिक जनरामा स्थापित गायक सुरज श्रेष्ठले स्वर भरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गर्दै गायक श्रेष्ठले भने, “मेरा लागि यो अलिक फरक जनरा हो। तर, यो कम्पोजिसन मीठो लागेर स्वर दिन मन लाग्यो। आशा छ, सबैले माया र साथ दिनुहुनेछ।”

‘डुएट’ शैलीमा तयार पारिएको यस गीतमा श्रेष्ठसँगै गायिका दिपिका व्याम्बु मगरले पनि स्वर दिएकी छन्। रमेश सेञ्चुरीको एरेन्ज रहेको गीतको भिडियो आउटपुट सुरज श्रेष्ठकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

“नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसमा अन्तरक्रिया सम्पन्न”

समाचार


काठमाडौँ– नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसअन्तर्गत दोस्रो दिन आइतबार राजधानीस्थित चलचित्र विकास बोर्डको हलमा अन्तरक्रिया तथा परिसंवाद सम्पन्न भयो।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित महानायक राजेश हमाल ले आफ्नो ३६ वर्ष लामो निरन्तर यात्राको अनुभव साझा गर्दै, दर्शकको सोच र समयसँगै आउने परिवर्तनलाई स्वीकार गर्नुपर्ने विचार व्यक्त गरे। उनले हरेक दशकमा दर्शकको मनोवृत्तिमा परिवर्तन आउने उल्लेख गर्दै, अहिले विश्वव्यापी प्रविधिक क्रान्तिले चलचित्र उद्योगमा नयाँ चुनौती र अवसर दुवै सिर्जना गरेको बताए।आमजनमानसको दृस्टि परेको कुनैपनी कृयासिल ब्यक्ती दृस्टीमा रहन्छ तर आम जनमानिसको मनमा बसेको ब्यक्ति सधै जिबन्त रहन्छ भनी लोकपृयता को बारेमा हमालले परिभाषा दिनुभयो।

त्यसैगरी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डका हालका योजना र कार्यसमिक्षा प्रस्तुत गर्दै नेपाली चलचित्रलाई बचाउन र रोजगारी सिर्जना गर्न हमालले खेलेको भूमिकाको प्रशंसा गरे। उनले हमाललाई “महानायक” भन्नेमा कुनै दुईमत नरहेको उल्लेख गर्दै भने, “उनले निर्देशक, निर्माता, कलाकार वा प्राविधिक को भन्ने नसोची लगातार काम गरे, जसले गर्दा धेरै कलाकार तथा प्राविधिकले रोजगारी पाए र संकटको घडीमा समेत चलचित्र क्षेत्रलाई जोगाउन मद्दत भयो।”

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष एवं विशिष्ट कलाकार मोहन निरौलाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। निरौलाले चलचित्र क्षेत्रमा  लैङिक समानता, पारिश्रमिक विभेद, हिंसा ,चलचित्रमा बिदेशी लगानी, नेपाली  चलचित्रको अन्तर्राष्ट्रिय  बिस्तार ,केहि चलचित्रले   शो नपाएकोकुराहरू लगायत नेपाली चलचित्र र पेशाकर्मिको हिजो आज र भोलिको अवस्था बारे  वक्ताहरुलाइ जिज्ञासा राखेका थिए  । चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीले चलचित्र चलिरहेको बेला कलाकारको बोली र व्यवहारले दर्शकमा पर्ने प्रभावबारे सचेत हुनुपर्नेमा जोड दिए। विश्लेषक एवं निर्देशक डा। घनश्याम खतिवडाले चलचित्रमा भाषाको महत्वबारे विचार व्यक्त गरे।

नायिका अन्जना बराईलीले चलचित्र क्षेत्रमा प्रवेश गर्दा आफूले कुनै पनि प्रकारको ह्यारेस्मेन्ट नभोगेको अनुभव सुनाउँदै नयाँ महिला कलाकारलाई “डराउनुपर्ने कारण छैन, आत्मविश्वासका साथ अघि बढ्नुपर्छ” भन्ने सन्देश दिइन्।

कार्यक्रम गोपाल ढकाल ‘छन्दे’८ले सञ्चालन गरेका थिए भने संयोजकमा नायक सबिन श्रेष्ठ, व्यवस्थापकमा निर्देशक देवेन्द्र पाण्डे थिए भने अध्यक्ष निरौलाले संघ सधैं चलचित्र क्षेत्रको विकासमा सहकार्यका लागि तत्पर रहने प्रतिवद्धता व्यक्त गरे।

चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको यस कार्यक्रममा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द लगायत चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो। यसअघि, स्थापना दिवसको पहिलो दिन रबिन्द्र खड्काको संयोजकत्वोमा राजधानीको भण्डारखालमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो भने स्थापना दिवसको  तेस्रो दिन भाद्र २३ गते शिबहरी बैरागी नेपालको सम्योजकत्वमा जीवन बिज्ञान प्रतिस्ठानमा सम्पन्न भयो। योग र ध्यान कार्यक्रमको सहजताका लागि सुनिल कटुवाल,गोपाल ढकाल र रोशन श्रेष्ठको सक्रियता रहेको थियो ।