काठमाडौं, १२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा थप ७२ जनामा कोरोनाको संक्रमण देखिएको छ । आज विहान थपिएका ७२ संक्रमितसँगै कुल संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।
कञ्चनपुर, जेठ १२ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमावर्ती क्षेत्रमा अलपत्र परेकाहरुलाई गड्डाचौकी नाका भएर आजदेखि स्वदेश फर्किन दिने भएको छ। आईतबार प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले अलपत्र परेकाहरुलाई गड्डाचौकी नाका भएर भित्रिन दिने निर्णय गरेको थियो। गड्डाचौकी नाकामा समान्य स्वास्थ्य परीक्षण भएपनि किटको उपलब्धता नभएका कारण कोरोना परीक्षण भने गरिने छैन्। स्वदेश प्रवेश अनुमती मिलेपछि लामो समयदेखि सीमावर्ती क्षेत्रमा अलपत्र परेकाहरु बिहानैदेखि नाकामा जम्मा हुने क्रम सुरु भएको भएको छ ।
काठमाडौँ, १२ जेठ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ ।
विश्वविद्यालयको उपकुलपति गएको भदौ ६ गतेबाट रिक्त भएको छ । रजिष्ट्रार माघ १२ गतेबाट र दुईवटा सङ्कायका डिन जेठ १ गतेबाट खाली छ । त्यस्तै आर्थिक प्रशासन महाशाखा प्रमुख, पाठ्यक्रम निर्देशकजस्ता महत्वपूर्ण अधिकारी खाली छन् । विश्वविद्यालय सञ्चालन गर्ने कार्यकारी परिषद्को सात सदस्यमध्ये एक जना विधिवतरुपमा रहेका छन् ।
विश्वविद्यालयको अर्को व्यवस्था नभएसम्मका लागि तत्कालीन डिन शारदा थपलियालाई उपकुलपतिको जिम्मेवारी दिइएको छ । उनलाई दैनिक कार्य व्यवस्थापन गर्नका लागि मात्र जिम्मेवारी दिइको हो । थपलियाले पूर्ण जिम्मेवारी नपाउँदा दीर्घकालीन महत्वको काम गर्न नमिलेको र रजिष्ट्रार नहुँदा आर्थिक र प्रशासनिक काममा समस्या देखिएको बताएका छन् । रजिष्ट्रार खाली हुँदा सापट लिएर कर्मचारीको तलब खुवाउनु परेको बताउँदै उनले अन्य विकास निर्माणका काममा अवरोध पुगेको बताएका छन् ।
आर्थिक वर्ष सकिन लागेकाले यस वर्षको हरहिसाब मिलानको काममा पनि समस्या हुने देखिएको छ । उपकुलपति नियुक्ति भएमा चार वर्ष कार्ययोजना बनाएर काम गर्नसक्ने भए पनि त्यसो हुन सकेको छैन । कामु अवस्थामा रहनुभएका थपलियाले जेठ १ गतेबाट रिक्त रहेको डिन पदमा सहायक डिनलाई कायम मुकायम नियुक्त गरेको बताएका छन् । (रासस)
काठमाडौँ, जेठ : सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षामा उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गर्दै उहाँले नेतृत्व तहले राष्ट्र जनता र सङ्गठनको हितमा कार्य गरेको भन्दै उहाँले आफूले के पाएँभन्दा पनि मैले मुलुकका लागि के गरँे भनेर सोच्नुपर्ने उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफूलाई समयसापेक्ष परिवर्तन गर्दै मुलुक र जनताको हितमा कार्य गर्नसमेत प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । राष्ट्र, राष्ट्रियता र जनताभन्दा ठूलो केही नभएको उल्लेख गर्दै उहाँले प्रत्येक राष्ट्रसेवक कर्मचारी इमान्दार र कर्तव्यनिष्ठ काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल सरकारबाट प्राप्त निर्देशनअनुसार २२१ वटा सीमा निगरानी चौकी (विओपी) लाई एक वर्षभित्र स्थापना गर्ने लक्ष्यअनुरुप हालसम्म १२३ ठाउँमा स्थापना भइसकेको जानकारी दिनुभयो । रासस File Photo
जेठ ११, काठमाण्डौ । आइतबार बेलुका पर्साका एकै परिवारका १८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।बीरगञ्जस्थित नाराययणी अञ्चल अस्पतालबाट २ महिनाका बालकसहित १८ जना कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएका हुन् ।नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत उनीहरु बीरगञ्ज महानगपालिका–३ का स्थानीय बासिन्दा हुन् ।गत वैशाख २४ गते कोरोना पुष्टि भएका उनीहरू एकै परिवारका ४ महिने शिशुदेखि ६६ वर्ष उमेरका ११ पुरूष र ७ महिला छन्। उनीहरूको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।यसअघि पनि शनिबार जेठ १० गते नारायणी अस्पतालमा उपचार गराईरहेका ९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका थिए।नारायणी अस्पतालको आईसोलेशनमा उपचार गराईरहेका ६२ जना मध्ये १८ जना निको भई घर फर्केका हुन् । नेपालमा उपचारपछि निको हुनेको संख्या १ सय ५ पुगेको छ ।
काठमाडौँ १२ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गर्नुभएको छ । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहनु भएका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उहाँले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताउनुभयो ।
बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रुपमा रहेको बताउँदै एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने जनाउनुभएको छ । विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु मुलुकमा सम्मानित र संरक्षित भएको बताउँदै प्रधानमन्त्रीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गर्नुभएको छ । रासस File photo
काठमाडौँ, १२ जेठ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत रोजगारीका लागि दक्षिण कोरियामा जाने उम्मेदवारका लागि कोरियाली भाषा परीक्षा अनिश्चित बन्दै गएको छ ।
कोरियाको मानव संसाधन विभाग (एचआरडी) कोरियाले २०२० जेठको अन्तिममा लिने भनेको भाषा परीक्षा कोभिड १९ कारण रद्द भएसँगै भाषा परीक्षा अनिश्चित बनेको हो । कोरिया भाषा परीक्षा तथा सीप परीक्षण कहिले हुन्छ भन्ने यकिन नभएको एचआरडीले जनाएको छ ।
एचआरडी कोरियाका अनुसार अब हुने परीक्षा उत्पादनमूलक क्षेत्रका लागि मात्र हुने योजना रहेकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष भाषा परीक्षामा उत्तीर्ण हुनेको सङख्या घट्ने अनुमान गरिएको छ । २०१९ को भाषा परीक्षामा कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमूलक गरी दुई विधामा परीक्षा भएकाले १० हजार रोजगारीका लागि झन्डै एक लाखको हाराहारीमा आवेदन परेको थियो । (गोरखापत्रबाट)
काठमाडौँ, १२ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना (इद मुवारक) व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमार्फत पवित्र इद उल फित्र पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहँदै आएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइ अझ बढी जिम्मेवार हुने उल्लेख गरेका छन् ।
कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरीलाई कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन उनले सबैलाई आग्रह गरेका छन् । ‘इद उल फित्र’ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वास व्यक्त गर्दै सभापति देउवाले इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् । File Photo
काठमाडौं, जेठ १२ । भारतले नेपालको प्रमुख निर्यात वस्तु चिया निकासीमा अवरोध गरेको छ । केही साताअघि मात्रै नेपालबाट पाम आयल आयात गर्ने भारतीय आयातकर्ताको लाइसेन्स खारेज गरेको भारतले चिया रोक्नुको स्पष्ट कारण भने खुलाएको छैन ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय भन्सारका अधिकारीले नेपालमा उत्पादित चिया विभिन्न बहाना गरेर भारत प्रवेशका लागि अनुमति दिएका छैनन् ।
लकडाउनको विषम परिस्थितिमा अत्यावश्यक सामाग्री र कृषिजन्य वस्तुको आयात – निर्यातमा कुनै रोकावट नहुने समझदारी भए पनि भारततर्फको निकासीमा समस्या देखिएको मन्त्रालयले जनाएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
काठमाडौँ, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव, सहिष्णुता, भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ बनाउन पर्वहरुले प्रेरित गर्ने बताएका छन् ।राष्ट्रपति भण्डारीले इस्लाम समुदायको इदुल फित्रको अवसरमा शुभकामना सन्देश दिदै जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकासमा पर्वहरुले टेवा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् । उनले नेपालीबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न ईद पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तिलाई केन्द्रमा कायम राख्दै गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको बताएका छन् । प्रधानमन्त्री ओलीले इस्लाम समुदायको इदुल फित्रको अवसरमा शुभकामना सन्देश दिदै भने, “लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै गरिने अहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो ।”उनले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको चर्चा गर्दै भने, “यस्ता विशेषताहरु यहाँ मौलिक पूँजीको रुपमा रहेका एकता छन् । (गोरखापत्रबाट)