generalnews
||Power News Asia||

आजको समाचार

तोरी तेल उद्योग ठप्पको स्थितिमा

समाचार


काठमाडौँ, १३ जेठ । आयातित कच्चा तोरी प्रशोधनमा निर्भर सुनसरी–मोरङ करिडोरका तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

तेस्रो मुलुक र भारतबाट कच्चा आयातमा समस्या परेपछि लामो बन्दाबन्दीको असर तेल उद्योगमा देखिन थालेको हो । कच्चा अभावकै कारण विराटनगर–४, खारजीमा रहेको श्याम एग्रो इन्डस्ट्रिज भने बन्द भएको छ । त्यसबाहेक अन्य उद्योगलाई समेत कच्चा अभावको प्रभाव पर्दै गएको सम्बन्धित उद्योगीको भनाइ छ ।

श्याम एग्रोका सञ्चालक जीवन रिजालले तोरी आयातमा समस्या भएका कारण तत्काल उद्योग बन्द गर्नुपर्ने अवस्था आएको जानकारी दिएका छन् । दैनिक १५ टन तोरी प्रशोधन गर्दै आएको उद्योग बन्द हुनुपर्ने कारणबारे सञ्चालक रिजालले क्यानडा, युक्रेन र अस्ट्रेलियाबाट पछिल्लो बन्दाबन्दीसँगै कच्चा आयात गर्न नसकिएको बताएका छन् । यसैगरी भारतमा समेत ठूला मन्डी बन्द गराइएका कारण तोरी आयातमा समस्या परेको हो ।

अर्डर गरिसकिएको २५ कन्टेनर तोरी आउन नसक्दा उद्योग बन्द हुने अवस्था आयो, रिजालले भने, “कोलकाता बन्दरगाहमा समेत समस्या परिरहेको छ । ” विराटनगरकै चन्द्र शिव राइस मिलका सञ्चालक नरेश राठीका अनुसार कच्चा बोकेको जहाज कोलकाता बन्दरगाहमै धेरै दिनसम्म अड्किएर रहेको छ । (गोरखापत्रबाट)

नागरिकप्रति सरकार संवेदनशील

समाचार


काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूको सुझाव अनुसार जनसङ्ख्याको दुई प्रतिशतसम्म कोरोना भाइरस रोग (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण तथा रोकथाम सम्बन्धमा सोमबार राष्ट्रका नाममा सम्बोधन गदै उनले भने, “कोरोना परीक्षणको दायरालाई विस्तार गर्न किट तथा औषधिको प्रबन्ध द्रूत गतिमा अगाडि बढाइने छ ।” बन्दाबन्दीले समग्र अर्थतन्त्र र नागरिकमा पर्न गएको अप्ठ्यारोप्रति सरकार गम्भीर र संवेदनशील रहेको चर्चा गर्दै उनले भने, “महामारीबाट जनतालाई मुक्त गर्दै अर्थतन्त्रको रक्षा र रोग तथा भोकबाट जनतालाई जोगाउने सरकारको प्रमुख दायित्व हो ।” बन्दाबन्दीले जीवनलाई असहज बनाए पनि यसले सामाजिक दूरी कायम गर्न, सङ्क्रमित पहिचान गर्न र आइसोलेसनमा राख्न मद्दत पु¥याएको उनले सम्बोधनका क्रममा चर्चा गरेका छन् ।

कोरोनाविरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो हुने यथार्थप्रति सरकार सचेत रहेको बताउदै प्रधानमन्त्री ओलीले महामारीका कारण स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिने बताएका छन् । उनले भने, “विश्वका जुनसुकै कुनामा भए पनि अप्ठ्यारोमा परेका नागरिकको सरकारले समयमै उद्धार गर्छ । सरकार नागरिकप्रति संवेदनशील छ ।”

उनले समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै नागरिकलाई स्वदेश ल्याउने कार्य छिट्टै सुरु गरिने बताएका छन् । कोरोना सङ्क्रमण लम्बिन सक्ने सम्भावनाप्रति ध्यान दिँदै सरकारले एसईईका परीक्षार्थीको शैक्षिक वर्ष खेर जान नदिन आवश्यक व्यवस्था मिलाउनेसमेत उनले बताएका छन् । आवश्यक नीतिगत व्यवस्थासहित ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी विद्यालयमा पठनपाठन सञ्चालन गरिने बताउदै उनले महामारीको जोखिम न्यून गर्दै आर्थिक क्रियाकलाप सञ्चालन गरिने समेत बताएका छन् । (गोरखापत्रबाट)

नेपालीलाई स्वदेश ल्याउने तयारी

समाचार


काठमाडौँ, १३ जेठ । कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ ।

यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) तथा विभिन्न मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढाएका छन् तर कति नेपाली ल्याउने भन्ने तथ्याङ्क भने यकिन छैन ।

दुवै समितिमा विशेष भूमिका निर्वाह गरिरहनुभएका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार विदेशबाट ल्याउने नेपालीको अनुमानित सङ्ख्या विश्लेषण गरी समितिमा प्रस्ताव गरिएको हो । झण्डै नौ लाख नेपाली ल्याउने अवस्था आउन सक्छ । जस अनुसार पछिल्लोपटक भएको छलफल अनुसार परराष्ट्र मन्त्रालयले विदेशमा समन्वय गर्ने, नागरिक उड्डयन मन्त्रालयले जहाज व्यवस्थापन गर्ने र विदेशस्थित कूटनीतिक नियोगले फर्कने नेपालीलाई अद्यावधिक गर्ने योजना छ ।

यसैगरी, गृह मन्त्रालयले फर्कनका लागि आवश्यक कानुनी प्रक्रियामा सघाउने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विमानस्थलमा प्रारम्भिक परीक्षणसहितको व्यवस्था मिलाउने काम गर्नेछ । परीक्षण गरिसकेपछि उनीहरूलाई आफ्नो गन्तव्यमा पठाउने योजना अनुसार यातायात मन्त्रालयले सघाउने छ ।

भारतबाट स्थलमार्ग हुँदै र तेस्रो मुलुकबाट आउने करिब नौ लाखसम्म नेपाली नागरिक ल्याउने कार्ययोजना बनेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)ले जनाएको छ । भारतबाट आउने नेपालीको व्यवस्थापन सरकारले सुरु गरिसकेको छ । अब तेस्रो मुलुकका नेपाली ल्याउने विषयमा भने ठोस निर्णय हुन बाँकी छ । (गोरखापत्रबाट)

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत

समाचार


काठमाडौँ, १३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले प्रतिवेदनमा उल्लिखित विषयहरूको प्रभावकारी कार्यान्वयनमा सरकार सक्षम हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच सोमबार प्रधानमन्त्री ओलीले गत वर्ष सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

यसैगरी, प्रधानमन्त्रीले सुरक्षा परिषद्को काम कारबाहीसम्बन्धी छुट्टै प्रतिवेदन पनि राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका छन् । आर्थिक वर्षमा सरकारद्वारा सम्पादित प्रमुख कार्यहरू र हासिल भएका उपलब्धिहरू प्रतिवेदनमा समावेश गरिएको छ ।

प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन र राज्यका नीति तथा दायित्वको कार्यान्वयनको स्थिति र शासकीय सुधार सुशासन कायम गर्ने सम्बन्धमा भएका काम कारबाही प्रतिवेदनमा समेटिएको छ । (गोरखापत्रबाट)

भारतबाट आएका दुई जनामा कोरोना संक्रमण

समाचार


सन्धिखर्क, जेठ १३ । अर्घाखाँची जिल्लाका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ। पाणिनी गाउँपालिका–८ पालीको कमला माविको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा क्वारेन्टाइनमा रहेका १९ वर्ष र ४३ वर्षका दुई पुरुषमा पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिए हो ।

अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण देखा परेको छ। गत जेठ २ गते भारतको रायबरेलीबाट पैदल हिँडेरै पाँच जना गृहजिल्ला आइपुगेका उनीहरुलाई पाणिनी गाउँपालिका–८ को विद्यालयमा क्वारेन्टाइनमा राखिएको थियो। गत जेठ १० गते शनिवार उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो। उनीहरुसँगै आएका अन्य तीन जनाको भने पीसीआर रिपोर्ट भने नेगेटिभ आएको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।

लकडाउन खुकुलो पार्ने प्रधानमन्त्रीको संकेत

समाचार


काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पारिने संकेत गरेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरसविरुद्ध लड्दै गर्दा देशमा आर्थिक गतिविधि पनि शतर्कताको उपाय अपनाएर जारी राखिने बताएका हुन् ।

प्रधानमन्त्रीले कोरोना भाइरसको औषधी पत्ता नलागेको भन्दै अब रोकथामको वैकल्पिक उपायसहित आर्थिक र सामाजिक गतिविधिको उपाय अपनाइएने बताएका हुन् । कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई हामीले आत्मसात् गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ”उद्दोगलाई सञ्चालनको अनुमति दिइनेछ,उ त्पादन गर्न दिने र बजारसम्म पुग्न अवरोध नहुने गरी प्रबन्ध मिलाइनेछ ।’ उनले तोकिएको प्रोटोकल हेरेर उद्दोग सञ्चालन गर्न दिने समेत बताए ।

कोरोना महामारीका बीच पनि अर्थतन्त्रलाई चलायमान राख्ने र राष्ट्रिय गौरवका आयोजना लगायत कतिपय विकास आयोजनालाई अगाडि बढाउने प्रयास र प्रयोग सफल भएको बताए । कोरोनालाई छल्दै विकासका काम अगाडि बढाउन सकिन्छ भन्ने पुष्टि भएको उल्लेख गर्दै अब नियन्त्रणको सीमाभित्र रहनसक्ने थप उद्योगहरुलाई सञ्चालनको अनुमति दिइने बताएका हुन् ।

उनले भने, ‘काममा आउने आफ्ना श्रमिकलाई समुदायमा छ्यासमिस नहुने प्रबन्ध गर्ने सर्तमा जुन-जुन जिल्लाका श्रमिक हुन्, तिनीहरुलाई पहिले कोरोना परीक्षण गरी प्रशासनको निगरानीमा उद्योग-व्यवसाय सञ्चालन हुने स्थानमा ल्याउने प्रबन्ध मिलाइनेछ ।’ यसको प्रभावकारिताको आधारमा क्रमशः थप व्यवसाय सञ्चालनको प्रक्रिया अघि बढाइने बताए ।

दैनिक आवश्यक वस्तुहरुको आपूर्ति सहज तुल्याउने र आन्तरिक उत्पादन बृद्धिका लागि कच्चा पदार्थदेखि उत्पादित वस्तुको बजारसम्मको शृङ्खला अवरुद्ध हुन नदिइने बताए । आवश्यक वस्तुहरुको आन्तरिक ढुवानी र आयात/निर्यात सहज बनाइने प्रधानमन्त्रीले जानकारी दिए ।

उनले भने, ‘खेतीपातीको याम खेर जान नदिन, सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषि कार्य अघि बढाइनेछ । समुदायमा संक्रमण फैलिन नदिन, मानिसको आवागमनलाई आवश्यक मात्रामा सीमित गर्नेगरी प्रशासनिक कडाईलाई भने कायमै राखिनेछ ।’

उनले राष्ट्रिय गौरवको आयोजनालाई समेत अगाडि बढाइने बताए । विभिन्न आयोजनाहरुको काम जारी रहेको भन्दै त्यसको अनुभवबाट पनि विकास निर्माणका कामहरु गरिने बताए ।

प्रधानमन्त्रीले शैक्षिक संस्थाको पनि दुरशिक्षा र अनलाइन शिक्षाबाट सञ्चालन गरिने व्यवस्था मिलाइने बताए । विद्यार्थीहरुको शैक्षिक सत्र खेर जान नदिने उनको भनाई थियो ।

प्रदेशसभा बैठक स्थगित

समाचार


काठमाडौँ, १२ जेठ । प्रदेश नं ५ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगन गरिएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएकोे बैठक विशेष कारणवश बस्न नसकिने भएकाले प्रदेशसभा नियमावली २०७४ बमोजिम सभामुखले अर्को बैठक यही जेठ १३ गते अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको  जानकारी गराएका छन् ।

आज इद उल फित्रका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले यसअघि आइतबार इद उल फित्रको सार्वजनिक बिदा घोषणा गरे पनि पुनः सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । (रासस )

लकडाउनको शुल्क बुझाउन निजी विद्यालयको ताकेता

समाचार


काठमाडौं, जेठ १२ । कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न सरकारले लकडाउन गरेसँग दुई महिनादेखि विद्यालयका प्रत्यक्ष शैक्षिक गतिविधि बन्द छन्, तर निजी विद्यालयहरूले भने यही अवधिमा शुल्क असुली जारी राखेका छन्। लकडाउनअघि नै वार्षिक परीक्षा लिएका स्कुलहरूले अनलाइनमार्फत परीक्षाफल सार्वजनिक गर्दै शुल्क असुल्न थालेका हुन्।

निजी विद्यालयहरूले जुम, फेसबुक म्यासेन्जर, फोन, भाइवर तथा अनलाइनका अन्य माध्यमहरूको प्रयोग गरी मासिक, भर्ना, अनलाइन कक्षा तथा वार्षिक शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन्।नागरिक दैनिकबाट

विद्यालय खोल्ने विकल्प खोज्दै सरकार

समाचार


काठमाडौं, जेठ १२ । लकडाउन लम्बिन सक्ने संकेत देखिएपछि सरकारले सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा गृहकार्य शुरू गरेको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय निकायको संस्था नेपाल नगरपालिका महासंघ, प्रदेश सरकारअन्तर्गत समाजिक विकासमन्त्री, सचिवलगायत सँग छलफल शुरू गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधि र महासंघका अधिकारीले सुरक्षतिरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा संघ सरकारले सहमति दिनुपर्ने जनाएका छन् । मन्त्रालयले अनलाइनमार्फत कुराकानी गर्दा अधिकांश नगरपालिका र गाउँपालिकाले सुरक्षितरूपमा विद्यालय खोल्ने तयारी गरिरहेका छन् ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले लकडाउन लम्बिँदै गए थोरै विद्यार्थी भएका र गाउँ नै सेल्फ क्वारेन्टाइन जस्तो भएका गाउँका विद्यालय सञ्चालन गर्न सकिने विषयमा छलफल शुरू गरेको जानकारी दिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

ट्रक र मोटरसाइकल ठोक्किँदा ड्यूटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

समाचार


फिदिम, १२ जेठ : इलाम–पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो ।

लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न बस्नेत एक स्थानीयको मोटरसाइकल लिएर इलामतर्फ गइरहेका थिए । राँके बजारको चामु होटल छेउमा बस्नेत सवार मे ११ प ४६६ नम्बरको मोटरसाइकल र झापाको विर्तामोडबाट फिदिम आइरहेको मे १ ख १८६३ नम्बरको ट्रक आइतबार दिउँसो ठोक्किँदा बस्नेत गम्भीर घाइते भई ढलेका थिए ।

उपचारका लागि जिल्ला अस्पताल इलाम पु¥याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले जानकारी दिनुभयो । प्रहरी हवल्दार बस्नेत चिलिङ्दिन प्रहरी चौकी राँकेमा कार्यरत थिए । दुर्घटनामा ठक्कर दिने ट्रकका चालक कमल सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस File photo