generalnews
||Power News Asia||

आजको समाचार

सोबिक लिम्बु र नितु बम कल्चर एम्बेस्डर नेपाल २०२५ घाेषित

समाचार


काठमाडौं, साउन ६ – राजधानीमा सम्पन्न “कल्चर एम्बेस्डर नेपाल २०२५” को उपाधि सोबिक लिम्बु र नितु बमले जितेका छन्। शनिबार आयोजना गरिएको यो कार्यक्रम नेपाली कला, संस्कृति र प्रतिभालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

कार्यक्रममा ‘मिस डिभा’ को उपाधि मनिषा थापाले हात पारिन् भने ‘पब्लिक चोइस अवार्ड’ सुस्मिता रावलले जितिन्। ‘मिस टिन आइकन’ को रुपमा सुसिला थापा मगर चयन भइन्। यस्तै, फर्स्ट रनर अपको उपाधि सिरिसा बमले प्राप्त गरिन् भने ‘मस्ट ट्यालेन्ट’को उपाधि सीता घर्ति मगरले जितेकी हुन्।

प्रतियोगिताका विजेता सोबिक लिम्बुलाई ‘मस्ट ह्यान्डसम’ तथा ‘मस्ट फोटोजेनिक’ उपाधि पनि प्रदान गरिएको थियो। नितु बम ‘मस्ट कन्फिडेन्ट’ को रुपमा घोषित भइन्।

प्रतियोगितामा निर्णायकको भूमिका भने लविन अन्सारि, सिमा ढकाल, रशिला लामा, अनिता खड्का र सन्दिपा बाटा ले गर्नु भएको थियो! 

उक्त कार्यक्रम मा इभेन्ट कोर्डिनेट मिलन खड्का र कोरियोग्राफि नबराज देउबा र सिर्जना थापा मगर ले गर्नु भएको थियो!

अब आउने सेप्टेम्बर महिनामा विजेता सोबिक र मनिसा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने तयारी भइरहेको आयोजकले जानकारी दिएका छन्।

यस प्रकारका कार्यक्रमले युवा पुस्तामा आत्मविश्वास, प्रतिभा र सांस्कृतिक चेतनाको विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

चलचित्र शिवांशको छायाँकन सम्पन्न

समाचार


काठमाण्डौ- नायक तेज गिरी र नायिका बिमला लिम्बुको अभिनय रहेको गित “उकुस मुकुस”को छायाँकन संगै नेपाली कथानक चलचित्र “शिवांशःच्यापटर १” को सम्पूर्ण छायाँकन सम्पन्न भएको छ । पोखराको पामेबाट ३६ औं दिनमा छायाँकन सम्पन्न भएको हो । चलचित्रको १ गितको छायाँकन मात्र काठमाण्डौमा भएको थियो भने अन्य सम्पूर्ण छायाँकन पोखराकै पेरिफेरिमा भएको थियो ।

गितको कोरियोग्राफी बिक्रम चौहानले गरेका हुन । अन्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरबाट निमार्ण भएको चलचित्रका निर्माता अन्जन केसी हुन र कथा पनि उनैले लेखेका हुन् भने सह निर्माता शोभा केसी र अनिशा केसी बोगटी हुन । चलचित्रलाई निर्देशक सन्तोष आत्रेयले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । यस चलचित्रमा तेज र बिमला सहित प्रबिण खतिवडा,रुशा न्यौपाने,विकास जोशी को मुख्य मुमिका रहेको छ । चलचित्रमा न्ह्यु बज्राचार्य र राजनराज शिवाकोटीको संगित रहनेछ ।

गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतिक छन् । स्वर राजनराज शिवाकोटी,मिलन नेवार र समिक्षा अधिकारीको रहनेछ । चलचित्रमा द्धन्द निर्देशन मिलन श्रेष्ठले गरेका हुन भने सिनेमाटोग्रफी सरद महतोले गरेका हुन् । चलचित्र आउँदो असोज २४ मा देशभर प्रदर्शनमा आउनेछ । यस अघि लभर ब्वईका रुपमा देखिएका तेज यो चलचित्रबाट एक्सन अबतारमा देखिएका छन् ।

हाँस्य प्रधान तीज गीत ‘भाँडा बजाउने’ को भिडियो सार्वजनिक

समाचार


काठमाण्डौ- नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिंदै गर्दा तीज सँग सम्बन्धित गीतका भिडियोहरु पनि सार्वजनिक भईरहेका छन् । कतिपय तीज गीत द्विअर्थी, अमर्यादित र छाडा भएको, त्यस्ता गीतले विकृति फैलाएको र समाजलाई अश्लिलतातर्फ धकेलिरहेको भन्ने आवाज संस्थागत एवं व्यक्तिगत रुपमा समेत उठिरहेको बेला विशुद्ध मनोरञ्जनात्मक, पारिवारिक, सामाजिक तथा हाँस्य प्रधान तीज गीत ‘भाँडा बजाउने’ को भिडियो बजारमा आएको छ ।

लोकप्रिय सङ्गीतकार गायक नरहरि प्रेमी र पछिल्लो समयकी चर्चित गायिका दिपिका बयम्बूको स्वर रहेको यो गीत पुष्पा पौडेलले रचना गरेकी हुन् । सङ्गीत उदियमान सङ्गीतकार अनिल श्रेष्ठको र सङ्गीत संयोजन तथा मिक्सिङ तथा माष्टरिङ कृष्ण बाजुरालीको रहेको छ । गीतको रेकर्डिङ कार्य ‘म्युजिक एरा’ स्टुडियोमा भएको हो ।

बहुआयामिक छवि बनाएका सङ्गीतकार गायक नरहरि प्रेमीले गायनका साथै अभिनय पनि आफैंले गर्न भ्याएका छन् । यस गीतको भिडियोमा जसमा उनलाई गीतकार पुष्पा पौडेलले साथ दिएकी छिन् । हाँस्य रसको मिठासले भरिपूर्ण यो म्युजिक भिडियो निकै मनोरञ्जक पनि छ । गायक तथा संगीतकार नरहरि प्रेमीको अभिनय दक्षतासंग धेरैजसो दर्शक परिचित नै छन् , तथापि यो ‘भाँडा बजाउने’ गीतको भिडियो हेरिरहँदा नरहरि कुनै चलचित्रमा हाँस्य पात्रको रुपमा अभिनय गरिरहेको जस्तो लाग्छ । त्यसो त पुष्पा पौडेलको अभिनय पनि कम छैन । दुबै कलकारहरुको अभिनय सशक्त र सन्तुलित रहको छ । म्युजिक भिडियोको निर्देशक राजकुमार हुन् । उनको निर्देशकीय भूमिकाको विशेष र अहम् महत्व रहेको कुरा सहजै अड्कल काट्न सकिन्छ । निर्देशन संगसंगै सम्पादनमा पनि खरो उत्रिएका छन् राजकुमार ।

तीज आउन अझै केही समय बाँकी भएता पनि यो ‘भाँडा बजाउने’ गीत सुन्दा र हेर्दा तीज हाम्रो घर दैलोमै आईपुगेको हो कि जस्तै छनक पाइन्छ । भिडियो सुन्दर देखिनुमा क्यामेरा पर्सन खेम थापाको र मेकअप आर्टिष्ट बिमला सापकोटाको कला कौशलको महत्वलाई पनि नजरअन्दाज गर्न मिल्दैन । यो तीज गीत र भिडियो श्रुति सङ्गीत विद्यालयको प्रस्तुति रहेको छ ।

चलचित्र ‘चिट्ठी’को पोस्टर सार्वजनिक

समाचार


काठमाडौँ — भदौ २० गते अर्थात सेप्टेम्बर ५, २०२५ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको माधब राज खरेल निर्देशित बहुप्रतिक्षित चलचित्र ‘चिट्ठी’ को पोष्टर सार्वजानिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिष्टिव्युटर्स प्रा.लि.ले वितरण गर्न लागेको कमेडी तथा हरर जनराको चलचित्रको स्थिर पोटरको साथै मोसन पोस्टरपनि निर्माण पक्षले सार्वजनिक गरेको छ ।
चलचित्र ‘चिट्ठी’ यथार्थपरक हाँस्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सपूर्ण घटनाक्रमको संगम रुपमा चित्रण गरिएको निर्माण पक्षले बताएको छ । चलचित्रले आजको डिजिटल समाज, सामाजिक सम्बन्धहरू र सूचनाको दुरुपयोग जस्ता मुद्दाहरूलाई रोचक तरिकाले उठान गरेको छ ।
“हामीले दर्शकलाई हसाउँदै सोच्न बाध्य पार्ने कथा ल्याएका छौं,” खरेल भन्छन् ।

सार्वजनिक मोसन पोस्टरमा चलचित्रको रहस्य, डर र हाँस्यको फ्युजन स्पष्ट झल्किन्छ । डार्करंग संयोजन, रहस्यमयी अभिव्यक्ति र पात्रहरूको सशक्त उपस्थिति देखिएको पोस्टरले दर्शकमाझ उत्सुकता थप बढाउने निश्चय छ ।

 

चलचित्रमा अर्गानिक कमेडियन खड्ग बहादुर पुन मगर खबपु, संजीत भण्डारी, गोपाल ढकाल छन्दे, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की, रज्जु गुरुङ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन तथा समिर मिँयाको भिएफ्एक्स रहेको छ । चलचित्रमा डा. कृष्णहरि बराल र कमला जोशीको गीत रहेको छ भने शिव परियार, बनिषा पौडेल र बसन्त अर्यालको स्वर रहेको उक्त चलचित्रमा सरोज कोईरालाको संगीत रहेको छ साथमा चलचित्रमा रहेको शिवताण्डव गीतको संयोजन भने राजेन्द्र बजगाईले गरेका छन् । त्यसै गरी किरण दाहालको दन्द्ध निर्देशन रहेको उक्त चलचित्रको ब्याकराउण्ड म्यूजिक पुस्कर खत्रीको रहेको छ भने ध्वनी सम्पादन र मिश्रण क्रमशः मनोज परियार र अमित श्रेष्ठले गरेका हुन् ।

प्रचारप्रसारमा विशेष सक्रियता देखाउँदै निर्माण पक्षले ‘चिट्ठी’ लाई दर्शकमाझ फरक स्वादको चलचित्रको रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।

बनेपामा ‘मार्वल प्यालेस’को भव्य उद्घाटन: स्थानीय निर्माण बजारमा नयाँ युगको शुरुआत

समाचार


बनेपा — काभ्रेको निर्माण व्यवसायमा एक नयाँ आयाम थपिएको छ। बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित पेट्रोल पम्पको पछाडि रहेको बनेपा मार्वल प्यालेस प्रा.लि. आजबाट औपचारिक रूपमा सेवा प्रारम्भ गरेको छ। नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा रिबन काट्दै शुभारम्भ गरिएको हो। नगर प्रमुख शाक्यले कार्यक्रममा शुभकामना व्यक्त गर्दै भने, "गुणस्तरीय सामाग्री स्थानीय बजारमै सहज रूपमा उपलब्ध हुने यो प्रतिष्ठानले निर्माण क्षेत्रमा नयाँ सम्भावना र विश्वासको जग बसाउनेछ।

निजी क्षेत्रको यस्ता लगानीले रोजगारी र आर्थिक प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास लिएको छु।" उद्घाटन समारोहमा स्थानीय व्यवसायी, इन्जिनियर, निर्माण व्यवसाय संलग्नहरू, र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। झण्डै ३० वर्षको व्यवसायिक अनुभव र ४ करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा ल्याइएको यो प्रतिष्ठानबारे सञ्चालक सन्दिप अग्रवालले भने, "हामीले देश-विदेशका उत्कृष्ट ब्राण्डका सामाग्रीहरू अब बनेपामै उपलब्ध गराउने प्रण गरेका छौं। सेवा, गुणस्तर र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय अघि बढाउनेछौं।" अंकित अग्रवालले प्रतिष्ठानमा उपलब्ध वस्तुहरूको विवरण दिँदै भने, "यहाँ टायल्स, मार्वल, ग्रेनाइट, बाथरुम फिटिङ्स, सेनेटरी सामान, पाइप फिटिङ्सलगायत निर्माण सामग्रीहरू थोक मूल्यमा उपलब्ध छन्।

सम्पूर्ण वस्तुहरू गुणस्तरीय र ब्राण्डेड छन्।" पङ्कज अग्रवालले ढुवानी सुविधाको उल्लेख गर्दै भने, "हामी काभ्रे जिल्लाभर निःशुल्क ढुवानी सेवा दिनेछौं। ग्राहकलाई समय, पैसा र झन्झटबाट बचाउन यो सेवा प्रभावकारी हुनेछ। हामी ‘मंगलम पाइप फिटिङ्स’को आधिकारिक डिस्टिब्युटर पनि हौं, जसले गर्दा उपभोक्तालाई भरपर्दो सेवा दिन सक्नेछौं।" विशेष रूपमा, बनेपा मार्वल प्यालेसमा कजारिया, लेमिनार, प्राइम, एटीएस, साउथ ग्रेनाइट, राजस्थानी मार्वल, ज्याक वार, केरोभिट बाथ वेर जस्ता अन्तर्राष्ट्रिय स्तरका ब्राण्डका सामाग्रीहरू सजिलै पाइनुका साथै सम्पूर्ण सामग्रीमा वारेन्टीसहितको सेवा प्रदान गरिने छ। स्थानीय इन्जिनियरले भने, "हामीजस्ता निर्माण व्यवसायीका लागि यस्ता प्रतिष्ठान स्वर्ग समान हुन्। पहिले काठमाडौँसम्म जानुपर्ने वस्तुहरू अब बनेपामै पाइने हुँदा समय र लागत दुवै बच्नेछ।"

एनआरएनए पोर्चुगलको निर्वाचनबाट सुजन मोक्तान अध्यक्षमा विजयी

समाचार


समिर लामा/ काठमाण्डौ– गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको हालै सम्पन्न निर्वाचनले सुजन लामा मोक्तानलाई  २०२५-२०२७  कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गर्दै नयाँ नेतृत्वको सुरुवात गरेको छ । पेशाले पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय अनुभवले भरिपूर्ण मोक्तानको विजयले एनआरएनए पोर्चुगलमा नयाँ ऊर्जा, स्वच्छ दृष्टिकोण र युवामुखी नेतृत्वको संकेत दिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर गरेका मोक्तानले भारत, दुबई, अष्ट्रिया र जर्मनीमा पर्यटन व्यवस्थापन तथा ग्लोबल डेस्टिनेसन सस्टेनेबिलिटी सम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् । नेपालमै सात वर्ष पर्यटन, कर्पोरेट र बैंकिङ क्षेत्रसँग जोडिएर काम गरिसकेका उनी पछिल्लो दशकदेखि पोर्चुगलको लिस्बनमा पर्यटन तथा सामाजिक अभियन्ताका रूपमा सक्रिय छन् । आफ्नो कार्यकालमा नेपाल–पोर्चुगल सम्बन्ध सुदृढ गर्ने योजना राखेको भन्दै मोक्तानले भने“ “एनआरएनए एउटा नाफारहित संस्था हो । त्यसलाई विवादमुक्त, पारदर्शी र नेपाली डायस्पोराको साझा थलो बनाउने हाम्रो उद्देश्य हो,” मोक्तानको अध्यक्षीय कार्ययोजना नेपाल र पोर्चुगलबीचको सम्बन्धलाई सांस्कृतिक, सामाजिक र आर्थिक क्षेत्रमा फैलाउने दिशामा केन्द्रित छ ।

विशेषगरी, पोर्चुगलको पर्यटकीय बजारबाट नेपालमा गुणस्तरीय टुर प्याकेजमार्फत पर्यटक पठाउने, नेपाली दूतावास र पोर्चुगिज संस्थाहरूसँग सहकार्य गरी संयुक्त कार्यक्रम गर्ने, सामाजिक मनोपरामर्श (काउन्सेलिङ) कार्यक्रममार्फत नेपाली समुदायमा एकता, समझदारी र समावेशी सोचको विस्तार गर्ने, युवाहरूलाई शिक्षा र रोजगारीको क्षेत्रमा वैधानिक मार्गदर्शन प्रदान गर्ने, र गैरराजनीतिक, सफा छविका अभियन्ताहरूलाई एनआरएन अभियानमा जोड्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

मोक्तानले संस्थाभित्र गुटबन्दी, स्वार्थ र सत्ता मोहका कारण संस्थाको प्रतिष्ठामा आँच पुगेको स्वीकार गर्दै अब समय व्यक्तिगत फाइदा होइन, साझा भविष्य मा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । साथै संस्था सधैं हाम्रो घरजस्तो हुनेछैन । त्यसैले आज गरिने कामहरू पारदर्शी, उत्तरदायी र दीर्घकालीन सोचले गरिनुपर्ने बताए । सुजन लामा मोक्तान एचएलसी संयोजक डा. शेष घलेद्वारा मान्यता प्राप्त अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । यसलाई एनआरएनए पोर्चुगलको पहिलो वैधानिक निर्वाचनका रूपमा समेत चिनिएको छ ।

मोक्तानले अब एनआरएनएको नाममा हुने कुनै पनि अनियमितता, मानव तस्करी, वा स्वार्थपूर्तिको खेल अब स्वीकार्य नहुने भन्दै एक दशक लामो अन्तर्राष्ट्रिय अनुभव र नेपालको गाउँदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मको समझ राख्ने आफ्नोे प्रमुख लक्ष्य रहेको भन्दैे नेपाललाई विश्वको एक प्रमुख पर्यटन गन्तव्य बनाउने तर्फ विशेष जोड दिने समेत बताएका छन् । उनले एनआरएनए पोर्चुगलमार्फत “नेपाल भ्रमण वर्षको पुनःघोषणा” गर्ने सन्देशसहित विभिन्न संवाद, प्रदर्शन र अवार्ड कार्यक्रमहरू आयोजना गर्ने तयारी पनि गरिरहेका छन् । एनआरएनए पोर्चुगलमा सुजन लामा मोक्तानको आगमनले युवा नेतृत्वको सम्भावना, प्रस्ट दृष्टिकोण र संस्थागत सुधारको अपेक्षा गरिएको छ ।

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको रक्तदान कार्यक्रम सम्पन्न

समाचार


काठमाडौं— राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा राजधानीको अनामनगर स्थित सामाजिक विकास भवनमा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । मौसम परिवर्तनसँगै बाढी, पहिरो तथा सम्भावित दैवी प्रकोपका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै र पछिल्लो समय रगतको अभावबाट उत्पन्न स्वास्थ्य समस्याहरूको समाधानमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी प्रमुख एआइजी टेक तामाङ, लोकप्रिय नायक धिरेन शाक्य, निर्देशक माधवराज खरेल, संगीतकर्मी कस्तुप पन्त, गायक कुलेन्द्र विश्वकर्मा, संगीतकार नरहरी प्रेमी,सञ्चारकर्मी सुमन पण्डित र सविता पोख्रेल एवम् संस्थाका पदाधिकारी र सदस्यहरु लगायत दर्जनौं व्यक्तित्वहरुले रक्तदान गरेका थिए । यसका साथै, समाजसेवी, जनप्रतिनिधि, खेलाडी, राजनीतिक व्यक्तित्व तथा सर्वसाधारणहरुको समेत उक्त रक्तदान कार्यत्रक्रममा उल्लेखनीय सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, नेपाल फलफूल थोक व्यवसायी संघ, यसोदा ग्रुप अफ इन्डस्ट्रीज (करेन्ट नुड्ल्स), र माइलस्टोन इन्फ्रास्टक्चर इन्जिनियरिङ कन्सल्टेन्सीको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । नेपाली गीत–संगीत तथा कलाकारिता क्षेत्रमा क्रियाशील संघसंस्थाहरुको पनि सक्रिय सहकार्य रहेको थियो।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नारायण ब. थापा, निवर्तमान तथा संसथापक अध्यक्ष राजेन्द्र बजगाई, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा, महासचीव सनम कठायत, सचीव रिता केसी, वेनिषा पौडेल, एआइजी टेक तामाङ र एयोशा ग्रुपका अध्यक्ष चुन्ना पौडेलले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्दै आभार समेत प्रकट गरेका थिए । कार्यक्रम संयोजक तथा प्रतिष्ठानका महासचिव सनम कठायतले आगामी दिनमा पनि यस्ता सामाजिक र रचनात्मक क्रियाकलापमा प्रतिष्ठानलाई निरन्तर सक्रिय बनाउने प्रतिबद्धता जनाएका थिए ।

वरिष्ठ संगीतकार चेतन सापकोटा, संगीतकार संघ नेपालका अध्यक्ष अष्ट लामा, रोयल्टी संकलन समाजका सचिव बसन्त सापकोटा, गीतकार शंकर अधिकारी ’घायल’, म्यूजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ मलेकु, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, रापती समाजका अध्यक्ष गोबिन्द मधुर आचार्य, पत्रकार तथा गीतकार डब्बु क्षेत्री, प्रतिष्ठानका सल्लाहकार चलचित्र निर्देशक माधब राज खरेल, रबिन्द्र बराल, रमेश दाहाल र डा. ओमकृष्ण प्रसाईँ लगायतको उपस्थिति रहेको थियो ।

वेष्ट फाइनान्सले ल्यायो 'ग्रीन सेभिङ्स डिपोजिट': वृक्षारोपणसँगै वातावरण संरक्षणमा सशक्त कदम

समाचार


२०८२ साउन ४, काठमाडौं | जलवायु परिवर्तनका असर न्यूनीकरण, वातावरणीय प्रदूषण नियन्त्रण तथा प्राकृतिक स्रोत संरक्षणमा सहकार्य गर्दै वेष्ट फाइनान्स कम्पनी लिमिटेडले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४’ अन्तर्गतको मार्गदर्शन कार्यान्वयनका क्रममा कम्पनीले यो नयाँ निक्षेप योजना सुरु गरेको हो।

ग्राहकमैत्री यो योजनाअन्तर्गत निक्षेपकर्ताको नाममा एउटा बिरुवा रोपिने व्यवस्था गरिएको छ। त्यसका लागि वेष्ट फाइनान्सले लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालसँग सहकार्य गरेको छ। उक्त वृक्षारोपण कार्यक्रमलाई स्थायित्व दिन बिरुवा रोप्ने, गोडमेल गर्ने, संरक्षण गर्ने र पाँच वर्षपछि स्थानीय निकायलाई हस्तान्तरण गरिने जनाएको छ।

साझेदारीको औपचारिक सहमतिपत्रमा वेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपाल (एरिया १ काठमाडौँ) का एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्यले हस्ताक्षर गरेका हुन्।

यसै सन्दर्भमा, वेष्ट फाइनान्स, लायन्स क्लब र गोदावरी नगरपालिका वडा नं. १ को संयुक्त आयोजनामा गोदामचौरस्थित खाली जग्गामा ५०० बिरुवाको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. १ का अध्यक्ष श्रीराज थापा, वेष्ट फाइनान्सका अध्यक्ष प्रा. डा. रामजी गौतम, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती, कम्पनीका कर्मचारीहरू, लायन्स डिष्ट्रिक्ट ३२५ एस नेपालका पदाधिकारीहरू – एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्य, एरिया एक्जुकेटिभ चिफ बालकुमार पाण्डे लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै लायन्स डिष्ट्रिक्ट ३२५ एस अन्तर्गतका ५० भन्दा बढी क्लबहरू सहभागी भएका थिए। यो अभियानले वातावरण संरक्षणमा वित्तीय संस्थाहरूको भूमिका महत्वपूर्ण रहन सक्ने सम्भावनाको संकेत गरेको छ।

तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै

समाचार


काठमाडौं- छायाँछवि क्रियशनले विगत १२ वर्षदेखि गर्दै आएको सांस्कृतिक पर्व तीजमा आधारित रहेर आयोजना गरिने छायाँछवि तीज म्युजिक अवार्डको १२औँ संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रुपमा आव्हान गरेको छ । नेपाली खासगरी हिन्दू नारीहरूको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतमार्फत प्रस्तुत गर्ने चलन छ ।

पहिले पहिले खासगरी घरबाट पीडित बुहारीहरूको पीडा गीत मार्फत प्रस्तुत गर्ने गरेको भएपनि समयक्रममा त्यसमा आएको परिवर्तन सँगसँगै भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ ।

यही क्रमका गीतहरू गाउँघरका जमघटबाट अझै पर हटेर मूलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका अवसरमा सयौं गीत प्रकाशित हुने गरेका छन् । यही तीजका स्रष्टाहरू पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमका अभ्यक्ष शान्तिप्रियले बताउनुभएको छ ।

छायाँछविका अध्यक्ष शान्तिप्रियले १२औं तीज म्युजिक अवार्डमा तीजका विभिन्न २५ विधामा स्रष्टालाई पुरस्कृत गरिने बताउनुभयो । कार्यक्रममा बिभिन्न सम्मान एवम् पुरस्कार पनि प्रदान गरिने वताउनुभयो ।

१२औ छायाँछवि तीज म्युजिक अवार्डको लागि साउन महिनाभर छायाँछविको कार्यालय डिल्लीबजार अथवा इमेलमार्फत पनि गीत दर्ता गर्न सकिनेछ ।

"पवित्रा आचार्य : अभिनयदेखि कास्टिङ निर्देशकसम्मको प्रेरणादायी यात्रा"

समाचार


काठमाडौं – स्टारकास्टले भरिपूर्ण चलचित्र ‘विजयपथ’बाट नेपाली रजतपटमा पाइला चालेकी अभिनेत्री हुन् पवित्रा आचार्य । डेब्यू फिल्ममा नै निखिल उप्रेती, सुशील क्षेत्री, सञ्चिता लुइँटेलजस्ता स्टारकास्टसँग सहकार्य गर्ने अबसर पाएकी आचार्य त्यसयता अभिनयसँगसँगै अन्य विधामा पनि निरन्तर सकृय छिन् ।

आचार्यले पहिलो चलचित्रको सफलतापछि महानायकको उपाधि पाएका राजेश हमालसँग ‘राजनीति’ नामको चलचित्रमा काम गरिन् । यो चलचित्रमा नेपाली संगीत दुनियाँकी चर्चीत गायिका कोमल वलीले पहिलोपटक ठुलोपर्दामा अभिनय गरेकी थिइन् । त्यसपछि आचार्यले तत्कालिन समयका चल्तिका अभिनेता आर्यन सिग्देलले लिड गरेको ‘आवेग’ चलचित्रमा काम गरिन् ।

हरेकपटक अनुभवी टिमसँग काम गर्ने अबसर पाएकी आचार्य बालापनदेखि नै नृत्यमा पोख्त थिइन् । अभिनयसँग आफ्नो रुचीको विधा नृत्यलाई निरन्तरता दिने उद्देश्यले उनले ७० को दशकको सुरूवाती समयबाट नै कोरियोग्राफीमा आफुलाई अघि सारिन् ।

उनै कोमल वलीको तीज गीतबाट नृत्य निर्देशक बनेकी आचार्यले त्यसयता थुप्रै म्युजिक भिडियोमा कोरियोग्राफी गरेकी छिन् । उनको निर्देशनमा वलीसँगै चर्चित कलाकारहरू करिश्मा मानन्धर, अनुपबिक्रम शाही, आँचल शर्मा, सलोन बस्नेत, अनु शाह, नीता ढुङ्गाना लगायतले कम्मर मर्काइसकेका छन् ।

यो बीचमा ‘कमाण्डर’ र ‘मेला’ दुई चलचित्रमा समेत आचार्यले कोरियोग्राफी गरेकी छिन् । कोरियोग्राफीसँगै मोडलिङमा पनि आफुलाई अघि सार्दै आएकी आचार्य यतिबेला मोडलिङ र कोरियोग्राफी वृत्तमा ‘पावला’ नामले परिचित छिन् । एक अन्तर्राष्ट्रिय फ्लेभरको म्युजिक भिडियोको आफै निर्देशन र कोरियोग्राफीपछि उनले ‘पावला’ नामलाई ब्राण्ड बनाउन अघि सरेकी हुन् । आचार्यको उक्त भिडियो ‘पावला’ नाममै सार्वजनिक भएको थियो ।

अभिनेत्री, मोडल र कोरियोग्राफरको रूपमा परिचय बनाएकी आचार्य उर्फ ‘पावला’ले अब आफ्नो परिचयलाई थप फराकिलो बनाउँदै कास्टिङ निर्देशकसम्म पुर्याएकी छिन् । निर्माणाधिन चलचित्र ‘कश्यप’ टिमले बिहिबार मात्रै आचार्यलाई कास्टिङ निर्देशकको रूपमा अनुबन्ध गरेको छ ।

सपना र संघर्षको पथ औंल्याउने बताउने आचार्यको नयाँ यात्राले कुन गति लिन्छ त्यो भने समयले बताउनेछ । एकपछि अर्को विधामा हात हाल्दै त्यसको सफलता चाखेकी उनि निरन्तरको मेहनत नै सफलताको सुत्र ठान्छिन् ।

आचार्य हाल कलाकारहरूको हक हितको लागि स्थापीत संस्था नेपाल चलचित्र कलाकार संघको केन्द्रीय सह‍(कोषाध्यक्ष समेत छिन् । विभिन्न सामाजिक कार्यहरूमा पनि उनको यात्रा निरन्तर छ । काठमाडौंका विभिन्न वृद्धाश्रम र वाल आश्रमहरूमा उनले निरन्तर सहयोग गर्दै आएकी छिन् ।