काठमाडौं - नेपालमा मात्र नभएर विदेशी भुमिमा समेत आफ्नो शान, मान र प्रतिष्ठाको उजागर गर्दे नेपाली चलचित्र तथा कलाकारिता क्षेत्रको बृहत्तर हितका लागी अनवरत रुपमा कार्यरत नेपाली चलचित्र क्षेत्रमा दर्शकहरुवाट एक्सन किङ नायकको उपाधि पाएका एवम् पाकिस्तानका दर्शकहरुका प्रिय नायक शिवा अर्थात विशिष्ट कलाकार तथा अभिनेता शिव श्रेष्ठको अध्यक्षतामा “शिव श्रेष्ठ फाउण्डेशन” को आधिकारिक रुपमा स्थापना भएको छ । फाउण्डेशनको शुभारम्भसँगै आफ्नो पहिलो कार्यक्रम स्वरूप जेष्ट ३० गते शुक्रवार ललितपुरको सातदोवाटो स्थित महेन्द्र आदर्श विद्या आश्रममा “फ्री हेल्थ क्याम्प फर स्टुडेन्ट“ आयोजना गरेको छ ।
सिभिल सर्भिस हस्पिटल (सिभिल अस्पताल) को प्राविधिक सहकार्यमा सम्पन्न भएको स्वास्थ्य शिविरमा महेन्द्र आदर्श विद्या आश्रमका विद्यार्थीहरूका लागि नाक, कान, घाँटी, दाँत, स्त्रीरोग सेवा लगायत सम्पूर्ण जनरल हेल्थ एक्जामिनेशन सेवा निःशुल्क प्रदान गरिएको थियो । उक्त स्वास्थ्य शिविर बिहान १०ः३० बजेबाट सुरु भई दिउँसो ३ः०० बजेसम्म सञ्चालन भएको थियो ।
अध्यक्ष शिव श्रेष्ठले नेपाली कला, संस्कृति, चलचित्र, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्यका साथ फाउण्डेशन स्थापना गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रममा महेन्द्र आदर्श विद्या आश्रमका सञ्चालक समितिका तथा व्यवस्थापन समितिका पम्फा भुसाल विशेष अतिथि रूपमा सहभागी हुन भएको थियो । साथै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कोषाध्यक्ष सुनिल कटुवालसहित नेपाली फिल्म क्षेत्रका अन्य कलाकारहरूको समेत उल्लेखनीय रुपमा उपस्थिति रहेको थियो ।
फाउण्डेशनद्धारा आयोजित उक्त स्वास्थ्य शिविरबाट सयौं विद्यार्थीहरु लाभान्वित भएका छन् । स्वास्थ्य शिविरमा सहभागीहरूले यस्तो सामाजिक कार्यले नेपाली कलाकारहरूको सामाजिक उत्तरदायित्वप्रति सचेतता झल्काएको प्रतिक्रिया दिएका छन् ।
काठमाण्डौ – ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती उनकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा मंगलवार भव्यताका साथ मनाइएको छ। गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा ४ संगीतकर्मीलाई नगदसहित सम्मान गरीएको थियो। सो अवसरमा नगद १ लाख १ रुपि“यासहित प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ बाट गायिका मीरा राणालाई सम्मानित गरिएको थियो। गायिका राणाकी पतिको प्रतिकुल स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसकेपछि सो सम्मान उनको भाई विजेन्द्र मिश्रले ग्रहण गरेका थिए। प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मानबाट वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई नगद ५० हजार रुपिया“सहित सम्मानित गरीएको छ।
त्यस्तै प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार २०८२ बाट गायक सुरजकुमार थापालाई नगद ५० हजार रुपि“यासहित सम्मानित गरियो भने प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत सम्मान सिन्धुपाल्चोकका गायक चन्द्र सिं घलेलाई नगद २५ हजार रुपिया“सहित प्रदान गरिएको छ। सम्मान र पुरस्कार कार्यक्रमकी सभापती, प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानको पत्नी किरण प्रधान, प्रमूख अतिथि चौतारा सांगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा तथा अतिथीहरु सो नगरपालिकाकी उपप्रमूख सिता थापा, गीतकार तथा कवि दिनेश अधिकारी, गायिका तीर्थकुमारी थापालगायतले प्रदान गरेका थिए।
कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष तथा प्रेमध्वजकी भाञ्जी भुवन मास्केले चौतारावासीको तर्पmबाट गरिएको सम्मान ग्रहण गरेकै हलमा आएर कार्यक्रम गरिएको जनाउ“दै त्यसप्रति खुशी व्यक्त गरिन्। गीतकार तथा दिनेश अधिकारीले प्रेमध्वजको व्यक्तिगत तथा सागितीक जीवनबारे चर्चा गर्दै प्रधान व्यक्तिको रुपमा पनि निकै सरल र असल स्वभावको रहेको बताए। उनले सिन्धुपाल्चोकका विद्यार्थी प्रेमध्वजको बारेमा विद्यावारिधी गर्नुपर्ने चर्चा गर्दै चौताराको कुनै स्थल प्रेमध्वजको नाममा नामाकरण गर्न, प्रेमध्वजको नाममा छात्रवृत्ती र पुरस्कार स्थापना गर्नसमेत स्थानिय सरकारलाई सुझाए। नगर प्रमूख सापकोटाले प्रेमध्वज राष्ट्रिय विभूतीका साथै सिन्धुका नीधि भएको चर्चा गर्दै उनको नाममा चोक चौतारा निर्माण गर्न वा उनको योगदानको कदर गर्न कन्जुस्याई नगर्ने बताए।
कार्यक्रममा गायक सुरजकुमार थापा, चन्द्रसिह घले र रोशन श्रेष्ठले प्रेमध्वजका गीतहरु प्रस्तुत गरेका थिए भने स्थानिय वनदेवी माविका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए।
गायक प्रधानको ४ वर्षअघि २०७८ सालमा निधन भएको थियो। प्रधानको नाममा उनको परिवारले २०७९ सालमा गोल्डेन भ्वाइस प्रेमध्वज स्मृती प्रतिष्ठानको स्थापना गरेको हो। जसले प्रेमध्वजको जन्मजयन्तीको अवसर पारेर प्रत्येक दुई वर्षमा नेपाली सुगम संगीतमा साधनारत संगीतकर्मीलाई सम्मान गर्दै आएको छ।
काठमाडौं, २९ जेठ । जनसवाल दैनिकका प्रकाशक तथा सम्पादक रामजी बगालेले आफु माथी लागेको आरोपको स्पस्टीकरण दिएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फेक बिज्ञापन गरेको भन्दै बिशेष अदालतमा मुद्दा दर्ता गरे पछि आफू र आफ्ना कर्मचारीबाट त्यस्तो काम नै नभएको उनले बताएका हुन् । बुधवार एक प्रेस बिज्ञप्ति जारी गर्दै सम्पादक बगालेले हरेक दिन प्रेस काउन्सिल नेपालमा बुझाउने हार्ड कपि पत्रिका र पिडिएफ फाइलमा सो बिज्ञापन नभएको, सो बिज्ञापन कहिल्यै नछापिएको र हाल स्थानिय तहको कारोबार बैंकिङ प्रक्रियाबाट हुने गरेको स्मरण गर्दै उनले कुनै पनि प्रकियाबाट रकम पनि आफ्नो कम्पनीमा नआएको बताएका हुन ।
जनसवाल राष्ट्रिय दैनिक पत्रिकामा फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन आजको मितिसम्म कहिल्यै छापिएको छैन्, यससम्बन्धमा प्रेस काउन्सिल नेपालको अभिलेखलाई हेर्दा पनि स्पष्ट हुन्छ किनकि हाम्रो प्रकाशनबाट प्रकाशित सबै अंक पत्रिका पहिलेदेखि नै त्यहाँको रेकर्डमा हार्डकपि र डिजिटल कपि रहने गरेको छ । उनले बिज्ञप्ति जारी गर्दै भनेका छन, अख्तियारको आरोप पत्र हेर्दा कसैले हाम्रो जानकारी विना नै अनधिकृत तरिकाले जनसवाल राष्ट्रिय दैनिकको नक्कली पत्रिका छपाई गरेर या फोटोकपी गरेर भुक्तानी लिई हाम्रो बदनाम गर्ने तथा अनियमितता गरेको देखिन्छ ।
उनले जनसवालले उक्त नगरपालिकाबाट कुनै पनि रकम नलिएको जनाएका छन । फतुवा बिजयपुर नगरपालिकाबाट जनसवाल पब्लिकेसन्स र जनसवाल राष्ट्रिय दैनिकका नाममा आजको मितिसम्म एक रुपैयाँ पनि रकम नआएको जानकारी गराउँदछु । जुन हाम्रो पत्रिकाको प्रभु बैंकमा रहेको खातामा चेक गर्न पनि म सरोकारवाला निकायलाई आग्रह गर्न चाहन्छु । उनले भनेका छन, अहिले सरकारी कार्यालयको भुक्तानी बैंकमार्फत मात्रै हुने गर्छ, नगरपालिका, गाउँपालिका र सरकारी कार्यालय या कुनै एजेन्सी र व्यक्तिबाटसमेत हाम्रो पत्रिकाको खातामा रकम आएको छैन, सो सम्बन्धमा हामीले पनि आवश्यक छानबिनसमेत गरिरहेका छौं र सो कार्यमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन सरोकार निकायलाई आग्रहसमेत गर्दछौ । यो विषयमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवाला निकायको पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।
उनले अगाडी प्रेस बिज्ञप्तिमा भनेका छन, हाल हुँदै नभएको र गर्दै नगरेको बिषयमा नियोजित ढङ्गले हामीलाइ फसाउन खोजेको देखिन्छ, आफ्नो कुनै पनि संलग्नता र जानकारी नै नभएको बिषयमा हाम्रो बदनाम गराउने तवरबाट गरिएको उक्त कार्यको निन्दा गर्दै छिट्टै कानुनी उपचारमा जाने पनि जानकारी गराउन चाहन्छु।
उक्त बिज्ञप्ती जस्ताको तस्तै स्
प्रेस विज्ञप्ति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन प्रकाशन नगरि रकम लिएर भ्रष्टाचारजन्य कार्यमा मतियार गरेको भन्दै २०८२ जेठ २६ गते विशेष अदालत, काठमाडौंमा दायर गरेको आरोपपत्रमा जनसवाल राष्ट्रिय दैनिकको नामसमेत जोडेर यस जनसवाल दैनिकका सम्पादक रामजी बगालेलाई प्रतिवादी बनाइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
हाम्रो पत्रिका जनसवाल दैनिक देशको संविधान, ऐन कानुनको परिधिमा रही पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै भ्रष्टाचार, अनियमितता लगायतविरुद्ध निरन्तर कलम चलाउँदै सुशासन प्रवद्र्धनमा योगदान गर्दै आएको सबैमा सर्वविदितै छ । यसरी देशको चौथो अंगको भूमिकामा रहेर सुशासनको पक्षमा कलम चलाउँदै आएको सन्चार माध्यम हामी आफैं यस्तो कार्यमा संलग्न हुने कुरा सोच्नसमेत नसक्ने प्रस्ट पार्न चाहन्छौं ।
जनसवाल राष्ट्रिय दैनिक पत्रिकामा फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन आजको मितिसम्म कहिल्यै छापिएको छैन । यससम्बन्धमा प्रेस काउन्सिल नेपालको अभिलेखलाई हेर्दा पनि स्पष्ट हुन्छ । किनकि हाम्रो प्रकाशनबाट प्रकाशित प्रत्यक अंक पत्रिका पहिलेदेखि नै त्यहाँको रेकर्डमा हार्डकपि र डिजिटल कपि रहने गरेको छ । अख्तियारको आरोपपत्र हेर्दा कसैले हाम्रो जानकारी विना नै अनधिकृत तरिकाले जनसवाल राष्ट्रिय दैनिकको नक्कली पत्रिका छपाई गरेर या फोटोकपी गरेर भुक्तानी लिई हाम्रो बदनाम गर्ने तथा अनियमितता गरेको देखिन्छ । फतुवा बिजयपुर नगरपालिकाबाट जनसवाल पब्लिकेसन्स र जनसवाल राष्ट्रिय दैनिकका नाममा आजको मितिसम्म एक रुपैयाँ पनि रकम नआएको जानकारी गराउदछु । जुन हाम्रो पत्रिकाको प्रभु बैंकमा रहेको खातामा चेक गर्न पनि म सरोकारवाला निकायलाई आग्रह गर्न चाहन्छु । अहिले सरकारी कार्यालयको भुक्तानी बैंकमार्फत मात्रै हुने गर्छ । नगरपालिका, गाउँपालिका र सरकारी कार्यालय या कुनै एजेन्सी र व्यक्तिबाटसमेत हाम्रो पत्रिकाको खातामा रकम आएको छैन । सोसम्बन्धमा हामीले पनि आवश्यक अनुसन्धानसमेत गरिरहेका छौं र सो कार्यमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन सरोकार निकायलाई आग्रहसमेत गर्दछौ । यो विषयमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवाला निकायको पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।
स्वदेश तथा बिदेशमा एउटा छुट्टै पहिचान स्थापित गरेको हाम्रो लोकप्रिय पत्रिकामाथि यसरी अन्यायपूर्ण ढङ्गले झुटा आरोप लगाउनु निन्दनीय छ । हाल हुँदै नभएको र गर्दै नगरेको बिषयमा नियोजित ढङ्गले हामीलाइ फसाउन खोजेको देखिन्छ । यसतर्फ सरोकारवाला संघ संस्थाहरुको पनि म ध्यानाकर्षण गराउन चाहन्छु । अहिले घटनाले मलाई मात्रै होइन सम्पुर्ण प्रेस जगतलाई चुनौती दिएको मैले महसुस गरेको छु । यस्ता घटना फेरि नदोहोरिएलान भन्न सकिन्न । त्यसैले यसतर्फ सचेत र सजग रहँदै निष्पक्ष न्यायिक छानविनको लागि दबाब सिर्जना गर्न म सरोकारवाला संघरसंस्था,सम्पुर्ण सञ्चार माध्यम, श्रमजीवी पत्रकार, सञ्चार उद्यमी र सञ्चारगृहलाई हार्दिक अनुरोध समेत गर्दछु ।
यो व्यक्ति र जनसवाल केन्द्रित प्रहार हो । कुनै व्यक्ति वा समूहले बिना प्रमाण कसैलाई आरोप लगाउँदा आरोप पुष्टि नहुँदै यसरि चरित्र हत्या गरिनु नेपालको ऐन नियम र संविधानविपरित छ । यो विषयमा हामीमाथि पूर्ण अन्याय भएको छ ।
आफ्नो कुनै पनि संलग्नता र जानकारी नै नभएको बिषयमा हाम्रो बदनाम गराउने तवरबाट गरिएको उक्त कार्यको निन्दा गर्दै छिट्टै कानुनी उपचारमा जाने पनि जानकारी गराउन चाहन्छु । हुनत सम्मानित अदालतमा पुगिसकेको उक्त केसका बारेमा धेरै बोल्न जरुरी छैन । अदालतबाट
हामीमाथि लागेको आरोप खारेज हुन्छ भन्नेमा हामी ढुक्क छौ ।
यो विषयमा जनसवाल राष्ट्रिय दैनिकको कुनै संलग्नता नरहेको पुन स्पष्ट पार्न चाहन्छौं र यससम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न हाम्रा सम्पूर्ण पाठकवर्ग, शुभचिन्तक, विज्ञापनदाता र सरोकारवाला सबैमा अपिल गर्दछौं ।
म जनताको पक्षमा कलम चलाउने कलमजिवी सधै तपाईहरुकै साथमा रहने र आफ्नो कलम थप तिखार्दै जाने जानकारी समेत गराउँदछु ।
सम्पादक
रामजी बगाले
जनसवाल राष्ट्रिय दैनिक
काठमाण्डौं । बाल श्रम विरुद्धको विश्व दिवस २०२५ को अवसरमा बाल श्रमसम्बन्धी विषयमा सञ्चारकर्मीसँग विशेष छलफल कार्यक्रम बुधबार काठमाडौँमा सम्पन्न भयो। कार्यक्रम समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका ९सिविस० को सहयोगमा मिडिया बालबालिका तथा मिडिया समूहद्वारा आयोजना गरिएको थियो।
कार्यक्रममा सिविसका एडभोकेसी एडभाइजर तथा बाल अधिकारकर्मी युवराज घिमिरेले ‘बाल श्रम – खोसिएको बालपनको यथार्थ कथा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै नेपालमा हाल करिब ११ लाख बालबालिका श्रममा संलग्न रहेको र त्यसमा करिब २ लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको तथ्य प्रस्तुत गर्नुभयो। उहाँले बाल श्रम अन्त्यका लागि तथ्यांकहरूको अद्यावधिक, सकारात्मक अभिभावक शिक्षा, जनचेतनाको अभिवृद्धि, निजी क्षेत्र, सञ्चार क्षेत्र, नागरिक अभियान तथा राज्य तीनै तहसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, बाल श्रम अन्त्यलाई राजनीतिक एजेन्डा र गौरवको योजना बनाइनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो।
त्यसैगरी, बालबालिका तथा मिडिया समूहका संयोजक गोविन्द खड्काले ‘मिडिया र बालबालिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारमाध्यममा बालबालिकासम्बन्धी विषयहरू पर्याप्त प्राथमिकता नपाएको र कतिपय अवस्थामा लापरवाहीपूर्ण ढंगमा प्रस्तुत हुने गरेकोतर्फ ध्यानाकर्षण गराउनुभयो। उहाँले बालमैत्री पत्रकारिता आवश्यक रहेको उल्लेख गर्दै पत्रकारहरूलाई नियमित तालिम, आचारसंहिता तथा कार्यदिशा आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सिविसकी अध्यक्ष विमला ज्ञवाली र महासचिव अनिता पाण्डेले सञ्चारमाध्यमले बाल श्रम तथा बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले बालबालिकासम्बन्धी विषयहरूलाई प्राथमिकतामा राखी अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै, सञ्चारकर्मीहरूले बाल अधिकारका सवालमा थप जिम्मेवार, संवेदनशील र सक्रिय भूमिका खेल्नुपर्ने आग्रह गर्नुभयो।
सिविसका परियोजना संयोजक उमङ्ग मैनालीले सञ्चालकको भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा बालबालिका तथा मिडिया समूहका सहसंयोजक रमेश गिरी, सदस्य सरोज ओझा लगायतका महानुभावहरुले धारणा राख्नुहुँदै बालश्रम संबन्धी समस्या समाधानमा संचार माध्यम र नागरिक समाज बिचको समन्वयले महत्वपूर्ण भूमिका खेल्ने आशय व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, बाल अधिकारकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले बाल श्रम अन्त्यका लागि सामाजिक चेतना अभिवृद्धि, सञ्चारको सशक्त प्रयोग र नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा सहभागी पत्रकार तथा सरोकारवालाहरूले यस अभियानमा सञ्चार क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेका थिए।
काठमाडौं – नागार्जुन–६, डाँडापैवा, सितापाईलामा जारी कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२ मा चर्चित मोडल तथा कलाकार प्रतिक्षा काफ्लेले आफ्नो झ्याप्प नृत्यमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेकी छन्।
जेठ १२ गतेदेखि सुरु भएको महोत्सवमा प्रतिकूल मौसमका बाबजुद उल्लेख्य दर्शकहरूको उपस्थिति देखिएको छ। राष्ट्रियस्तरका विभिन्न कलाकारहरूको प्रस्तुति पश्चात स्टेजमा पुगेकी काफ्लेले लोकप्रिय गीतहरूमा दमदार नृत्य प्रस्तुत गर्दै दर्शकलाई ताली, हुटिङ र नाच्न बाध्य बनाइन्। उनका प्रस्तुतिले महोत्सवको माहोल साँच्चिकै उत्सवमय बनेको थियो।
मेलामहोत्सवको पर्याय बन्दै गएकी काफ्ले, पछिल्ला केही महिनायता देशभरका सांस्कृतिक कार्यक्रमहरूमा व्यस्त देखिएकी छन्। ‘बरपिपल’, ‘मायाले’ लगायत आधा दर्जन नयाँ गीतहरूका भिडियोमार्फत चाँडै दर्शकसामु आउने तयारीमा रहेकी उनी दर्शकको माया जित्नेमा पूर्ण आशावादी छिन्।
सानैदेखि नाच र अभिनयमा रुचि राख्ने प्रतिक्षा हाल सामाजिक विषयमा आधारित टेलिचलचित्र “गाउँ फर्क” र केही जनचेतनामूलक वृत्तचित्रमा अनुबन्धित भइसकेकी छन्। अभिनय र नृत्य दुवै क्षेत्रमा अगाडि बढिरहेकी उनी नयाँ पुस्ताकी उदीयमान कलाकारका रूपमा चर्चित बन्दै गएकी छन्।
काठमाडौं, जेठ २६ । युनाइटेड नेचर इन्टरनेशनल पिस (युनिप)ले भिक्षु डा. राजु लामा पी. कोंन्दनलाई अन्तर्राष्ट्रिय शैक्षिक निर्देशकको रूपमा नियुक्त गरेको छ। शिक्षामार्फत दिगो विकास लक्ष्य प्राप्ति साथै वैश्विक विकासमा योगदान पुगोस् भन्ने हेतुले युनिपका प्रेसिडेन्ट जेनरल र डाइरेक्टर जेनरलले डा. लामालाई उक्त पदमा नियुक्ति गर्नुभएको संस्थाले जनाएको छ । उहाँको कार्यकाल जुन २०२६ जुन ९ सम्मका लागि तोकिएको छ । सन् १९७३ सेप्टेम्बर १८ मा जन्मिनुभएका डा. लामाले शिक्षा, अन्तरधार्मिक संवाद र शान्ति निर्माणका क्षेत्रमा दशकौं लामो अनुभव सँगसँगै योगदान पुर्याउँदै आउनुभएको छ। उहाँको नेतृत्वमा युनिपले शैक्षिक पहुँच विस्तार र क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।

यसै क्रममा, बङ्गलादेशका राजु शाहलाई अन्तर्राष्ट्रिय समन्वयक नियुक्त गरिएको छ। उहाँको भूमिकाले युनिपका विभिन्न देशीय शाखाहरूबीच समन्वय सुदृढ गर्न तथा दक्षिण एसिया लगायत विश्वभर शान्ति प्रवर्द्धनका साझा पहलहरूलाई प्रवाह गर्न योगदान पुर्याउने विश्वास लिईएको छ ।

युनिप वैश्विक एकता, वातावरणीय समन्वय र मानवतावादी सहकार्य प्रवर्द्धनमा समर्पित संस्था हो ।“युनिटि अफ नेशन” भन्ने मार्गदर्शक दर्शन अन्तर्गत यसले प्रकृति संरक्षण, शिक्षा, शान्ति र मानवतावादी क्रियाकलापका क्षेत्रमा क्रियाशील समान सोच भएका संस्थाहरूसँग साझेदारी बलियो पार्दै विश्वव्यापी उपस्थिति थप विस्तार गर्दै लगेको छ।
काठमाण्डौ – राष्ट्र्र्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न भएको छ । संघिय राजधानीको चलचित्र विकाश बोर्डमा आयोजना भएको रिवार्डमा २२ विधामा अवार्ड प्रदान गरिको छ । कार्यक्रममा प्रमुख अतिथीका रुपमा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत रहेका थिए भने कार्यक्रमको सभापतित्व आयोजक संस्था सामना म्युजिक क्रियशनकी अध्यक्ष सामना शाहले गरेकी थिईन ।
समारोहमा बिशिष्ट गायिका एवम् गीतकार चन्द्रकला शाहलाई दिर्घ साधना कलाकारिता सम्मान प्रदान गरिएयो । त्यस्तै नेपालकै पहिलो चलचित्र आमाका तिन अभिनेत्रीहरु भुवन चन्द, चैत्यदेवी एवम् बसुन्धरा भुषाललाई चलचित्रकर्मी त्रीदेवी सम्मानद्धारा सम्मानित गरियो । यसै अवसरमा समारोहमा संगीतकार चेतन राई, सञ्चारकर्मी सोनित राज ढुङ्गेल, गायिका अनिता कुँवर, संचारकर्मी तुल सिंह रनपछाई, मिसेज नेपाल रेश्मा घिमिरे, गीतकार/ यक सुवास कार्की , संगीतकार मदन नेपाली, गायक धनराज चुनारा, बालकलाकार आरिया शाही, गोकर्णेश्वर नगरपालिका प्रशासकिय अधिकृत याम नारायण गौली सम्मानित भए ।
पाँचौ राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) कार्यक्रममा लोकदोहोरी शब्दमा ज्यानै फाल्दिन्छु बाट सागर रेग्मी अवार्ड विजेता घोषित भए । यसै गीतबाट मोडल पुरुष अभिनय तर्फ अशोक पौडेल र महिला तर्फ निरुता साही तथा दोहोरी निर्देशकमा श्रृजन बराल गरी ४ विधामा यो गीतले अवार्ड विजेता गराउन सफल भयो ।
कार्यक्रमा वेसारे माया बोलको गीतमा लोकदोहोरी उत्कृष्ट लयको लागी शान्त शिशिर र महिला मोडल नृत्यको लागी सञ्चिता साहीले जुरी अवार्ड पाईन । लोक दोहोरी विधा तर्फ नै गायकमा राम प्रशाद अवस्थीले तिम्रो खाँचो गीतबाट, गायिकामा सिामा थापाले दमौलीमा गेट गीतबाट, मोडल पुरुष नृत्य तर्फ विमल अधिकारी म बाँचेकी तिम्रो लागी गीतबाट, महिला तर्फको मोडलमा अस्मीता पुरी फुलमाया गीतबाट अवार्ड विजेता घोषित भए ।
पाँचौ राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) ०८१ मा आधुनिक गीत तर्फबाट शब्दमा डा. ओम कृष्ण प्रसाई पिता गीतबाट, संगीतमा केशव सापकोटा झेलीमाया गीतबाट गायकमा डेविट शंकर जुनकिरी गीतबाट, गायिकामा प्रतिमा के.सी. खाली खुट्टा गीतबाट, मोडल पुरुष तर्फ श्रीदेव भट्टराई जहिले देखी नजर जुध्यो गीतबाट, महिला मोडलमा दिपा शाही कस्ती थिए कस्ती भए गीतकाट, महिला मोडलकै जुरी अवार्ड बाट सपना जनक मेरो मान्छे गीतबाट, पुरुष मोडलको जुरी अवार्ड विजेन्द्र नौवागे म तिमिलाई मन पराउछु गीतबाट एवम् आधुनिक गीत निर्देशकमा सियोन श्रेष्ठ सत्य राम कसम गीतबाट उत्कृष्ट अवार्ड विजेता घोषित भए ।
उत्कृष्ट छायाँकारमा मेरी बाठी मायाले गीतबाट अजय रेग्मी, सम्पादनमा राजेश कुमार बाँच्दीन म गीतबाट, एरेन्जरमा विष्णु तामाङ पालेदाई गीतबाट अवार्ड विजेता घोषित भएका थिए कार्यक्रममा प्रमुख अतिथी पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य कार्यक्रमका निर्देशक शान्तिप्रियले राखेका थिए । कार्यक्रमको संचालन दिपज्योती थापाले गरकी थिइन ।
काठमाण्डौ – गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत “दुःख सुनाएर के काम?” सार्वजनिक गरिएको छ। डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ।
गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियो बाट युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ। मानिसको जीवनमा सुखका मात्र होइन, दुःखका पलहरू पनि आउँछन्। त्यस्तो बेला धेरैजसो मानिसहरू सम्हालिन सक्दैनन् र आफ्नो दुःख, पीडा, दर्द, भोक, रोग, शोक, गरिबी र कठिनाइ अरूलाई सुनाउँछन्। सुन्ने त धेरै भेटिन्छन्, तर साथ दिने भने थोरै मात्र हुन्छन्।
आज साथ दिएको मान्छेले भोलि गएर त्यही कुरा हाँसो, मजाक र खिल्लीको विषय बनाउन सक्छ। हरेक व्यक्तिका आफ्नै बाध्यता हुन्छन्। मानिसले आफ्नै दुःख ठूलो ठान्छ, अरूको दुःखमा साथ दिने मानिस निकै कम हुन्छन्। कतिपय अवस्थामा मानिस बिरामी भएर अस्पतालको बेडमा छटपटिँदा आफ्नो नजिकको मान्छे खोज्छ, तर त्यस्तो बेला पनि साथ नपाउने अवस्थामा गीतकार खतिवडाले निकै मार्मिक ढंगले “साथ मागेर के काम? चाहिदा खेरी पाइँदैन भने!” भन्ने भाव व्यक्त गरेका छन्।
मानिसलाई स्वार्थी नबनौं, अरूको सुख–दुःखमा साथ दिऊँ भन्ने सन्देश यस गीतमार्फत दिएको पाइन्छ। कतिपयले आफ्ना पीडा र दुःख देखाउँछन् भने, केहीले देखाउँदैनन्। फरक यत्ति हो—कसैको आँसु देखिन्छ, कसैको देखिँदैन; तर मनभित्र आँसु गडेको हुन सक्छ भन्ने गहिरो भाव गीतमा समेटिएको छ। गीतले मानवीय संवेदनशीलता तथा यथार्थतालाई उजागर गरेको छ। गीतमा मानिसको सोच र मनोवृत्तिको पनि चित्रण गरिएको छ।
कोही सकारात्मक सोच राख्छन्, कोही नकारात्मक। सकारात्मक व्यक्तिहरूबाट सकारात्मक ऊर्जा प्राप्त हुन्छ, भने नकारात्मक सोच भएका व्यक्तिहरूले अरूको कुरा काट्ने प्रवृत्ति देखाउँछन्। त्यस्ता मानिसहरूबाट नकारात्मक ऊर्जा सर्छ, त्यसैले त्यस्ता मानिसहरूबाट टाढा बस्नु नै उपयुक्त हुन्छ भन्ने सन्देश गीतमा पाइन्छ। आज जसको सामु अरूको कुरा काटिन्छ, भोलि उसैले तपाईंको पनि कुरा काट्न सक्छ। त्यसैले, आत्मिक शान्तिका लागि यस्तो प्रवृत्तिबाट दूरी कायम गर्नु नै उचित ठहरिन्छ। गीतकार नारायण खतिवडाका यसअघि पनि दर्जनौं गीतहरू सार्वजनिक भइसकेका छन्। “सम्झनाका पाइलाहरू” नामक गीति संग्रहमा १०९ वटा गीतहरू समावेश छन्।
“स्वार्थी संसार,” “स्वदेश छोडी,” “मनका कुरा,” “बिन्दास,” “देखुँ देखुँ,” “सन्देश पुर्याइदेउ,” “मेरो कथा,” “चोखो चोखो” लगायतका गीतहरू बजारमा लोकप्रिय छन्। गीत, कविता तथा समसामयिक लेख रचना विधामा कलम चलाउँदै आउनु भएका गीतकार नारायण खतिवडा हाल सरकारी सेवामा कार्यरत हुनुहुन्छ। सामाजिक परिवेश, घटनाक्रम, वर्तमान परिस्थिति, संयोगान्त र वियोगान्त विषयवस्तुका साथै राष्ट्र र राष्ट्रियताको पक्षलाई कलात्मक र सन्देशमूलक रूपमा साहित्यमा उतार्ने सशक्त स्रष्टा खतिवडाको पछिल्लो सिर्जना “दुःख सुनाएर के काम?” गीत सामाजिक सन्देश र मानवीय पक्ष बोकेर आएको छ। चर्चित संगीतकार दीपक शर्माको संगीत र सुमधुर स्वरका धनी स्वरूपराज आचार्यको स्वरले यस गीतलाई झनै मार्मिक र हृदयस्पर्शी बनाएको छ।
काठमाण्डौ – म्युजिक खबरको आयोजनामा सम्पन्न भएको १२ औं म्युजिक खबर म्युजिक अवार्ड २०८१ को बिशेष अवसरमा बिशिस्ट गीतकार यादव खरेललाई नगद ५१ हजार रूपैयाँ र सम्मानपत्र सहित दीर्घ साधना सम्मान प्रदान गरिएको छ। काठमाडौंमा २३ गते शुक्रबार आयोजित उक्त अवार्ड समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अवार्ड कार्यक्रमकी संयोजक सबिता पोखरेल लगायतले गीतकार खरेललाई उक्त सम्मान प्रदान गरेका हुन् ।
अवार्डमा सुगमसंगीतर्फ गायक गोविन्द मधुर आचार्य र गायिका बबिना भट्टराई सर्वोत्कृष्ट गायक/गायिका घोषित भए। आचार्यले ‘एक दिन उज्यालो छाउला’ गीतबाट अवार्ड पाउँदा भट्टराईले ‘गुनासो’ गीतबाट अवार्ड जितेकी हुन्। त्यस्तै, आधुनिक विधातर्फ नरहरि प्रेमी ‘घर छोडेको मान्छे’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बने भने महेश आचार्यले ‘तिमी सँगै छैनौं’ गीतबाट सर्वोत्कृष्ट गीतकारको अवार्ड पाए।गायिका अन्जु पन्त र गायक नरेश रेग्मीलाई ‘धर्ती र जूनको कहानी’ गीतबाट सर्वोत्कृष्ट युगल गायनको अवार्ड दिइयो।
‘एउट जून’ गीतबाट सुशील बिक्रम शाहले सर्वोत्कृष्ट ध्वनि सम्पादन आधुनिकको अवार्ड पाए। ‘आदत’ गीतबाट विपिन आचार्यले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड जिते। रूपेश थापाले ‘तिमीबिना चल्दैन’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार बन्न सफल भए भने ‘लामपाते सुरती’ बाट रबिन बिकले सर्वोत्कृष्ट म्युजिक भिडिओ सम्पादनको अवार्ड जित्न सफल भए। अभिनेता विनोद श्रेष्ठ र उषा सुवेदीले ‘विदाई’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडिओ मोडलको अवार्ड पाउँदा शान थापाले ‘छुनै हुन्न जस्तो’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशकको अवार्ड पाएका छन्।
एलिना चौहानले ‘तिमीबिना चल्दैन’ गीतबाट पपुलर गायिका अफ दि इयरको अवार्ड चुम्न सफल भइन्। ‘भाग्य लेख्ने भगवान’ गीतबाट गीतकार भुपेन्द्र बुढाथोकीले जुरीतर्फको अवार्ड प्राप्त गरे। ‘पागल’ गीतबाट केशव पौडेलले जुरी अवार्ड संगीतकारको अवार्ड प्राप्त गरे भने दिपेन्द्र आलेले ‘ढल्केबरैमा’ गीतबाट सर्वोत्कृष्ट गायक डायस्पोराको अवार्ड पाइन्। ‘जति टाले पनि’ गीतबाट सुरज पण्डितले गायनतर्फको जुरी अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट कस्ट्युम डिजाइनरको अवार्ड शम्भु पुरीलाई दिइयो।
पप गायनतर्फ गायक प्रेज्वल नेपाली ‘कस्तो माया’ गीतबाट सर्वोत्कृष्ट पप गायक बने। गायिका सारिका घिमिरे ‘कलियुगकी राधा’ गीतबाट सर्वोत्कृष्ट पप गायिका बन्न सफल भइन्। गीतकार रमेश कोइराला सर्वोत्कृष्ट पप गीतकार बने भने जुगल डंगोल सर्वोत्कृष्ट पप संगीतकार बन्न सफल भए। सुदिप भण्डारी (जिबब) सर्वोत्कृष्ट र्यापर बन्न सफल भए।
लोकदोहोरीतर्फ सरोज लामिछानेले ‘खोली तरेको’ गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड जिते भने सुनिता बुढा क्षेत्रीले ‘उजेली’ गीतबाट सर्वोत्कृष्ट गायिकाको जितिन्। कृष्ण केसीले ‘ठूली’ गीतबाट सर्वोत्कृष्ट संगीत, सन्तोष सापकोटाले ‘बस्यौ अलक्कै’ गीतबाट सर्वोत्कृष्ट गीतकार, सामना शाह ‘आँसुको वर्षात्’ बाट सर्वोत्कृष्ट महिला गीतकार, तेजेन्द्र दूरा ‘तिम्रो जवानी’ गीतबाट सर्वोत्कृष्ट संगीत संयोजक, खड्ग बाजुराली ‘ठूली’ गीतबाट सर्वोत्कृष्ट ध्वनि सम्पादनको अवार्ड पाउन सफल भए। त्यस्तै, मौसम हिमालीले ‘कश्मिरे पछ्यौरी’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशकको अवार्ड पाए।
बादल घिमिरेले ‘कसम तोड्ने भा’ बाट सर्वोत्कृष्ट म्युजिक भिडिओ मोडल पुरूष र अस्मिता पुरीले ‘फूलमाया’ गीतबाट सर्वोत्कष्ट म्युजिक भिडियो मोडल महिलातर्फको अवार्ड पाइन्। रेश्मा तामाङ ‘जुध्यो नजर’ गीतबाट सर्वोत्कृष्ट कल्चरल गीत गायिका बनिन्। गायक शुक्र तामाङ र गायिका रेजिना परियारको ‘ठट्यौली ठाडो भाका’ गीत सर्वोत्कृष्ट कल्चरल गीत बन्न सफल भयो। गायक रायन बस्यालले ‘घामको झुल्को’ गीतबाट सर्वोत्कृष्ट नवप्रतिभा गायकको अवार्ड चुमे भने उमेश भट्टले ‘कतै म हराएँ कि’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडिओ नव–निर्देशकको अवार्ड पाए। गायक रामचन्द्र चन्दको ‘पापीनीलाई’ लाई सर्वोत्कृष्ट लोकगीतको अवार्ड दिइयो।
सबिन आचार्य र निशा गुरूङ सर्वोत्कृष्ट प्रत्यक्ष गायक/गायिका घोषित भए। ‘ए गौरी’ गीतबाट गायिका संगम लामिछाने र ‘लजाउँदै लजाउँदै’ गीतबाट सुशील ज्ञवालीले पब्लिक च्वाइस लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए। त्यसैगरी, फिल्म विधातर्फ गीतकार प्रमोद ढुंगाना ‘उपहार’ को ‘हारेको छैन’ गीतबाट सर्वोत्कृष्ट गीतकार बन्न सफल भए।
संगीतकार अर्जुन पोखरेल ‘ज्वाइँसाप’ को ‘कसम बत्तिको’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बने। ‘दिमाग खराब’ को ‘झम्के झमाझम’ गीतबाट गायक सुमिन खड्का र गायिका नम्रता खरेल सर्वोत्कृष्ट गायक/गायिका बन्न सफल भए। गायक सबिन सुवेदीलाई ‘छक्कापञ्जा ५’ को ‘बिहे भाको छैन’ गीतबाट इन्करेजमेन्ट अवार्ड दिइयो। उत्कृष्ट पाँचमा परेकामध्येबाट निर्णायकको तर्फबाट ५० प्रतिशत, दर्शकको (भोट) ४० प्रतिशत र आयोजकको तर्फबाट १० प्रतिशत गणना गरि सर्वोत्कृष्ट मूल्यांकन गरिएको आयोजकले जनाएको छ।
निर्णायकमा मोडल तथा अभिनेता सागर लम्साल ‘बले’, म्युजिक भिडिओ निर्देशक तथा कोरियोग्राफर स्मृति तिमिल्सिना ‘गुरूआमा’, पत्रकार तुलसी गिरी ‘भावुक’, मोडल सबिना कार्की, गायिका देवी घर्ति र गायक राजु ढकाल थिए। कार्यक्रममा ‘म्युजिक खबर रजत सम्मान’ बाट ‘के तल बस्यो’ का गायक तथा संगीतकार तिलकसिंह पेला सम्मानित भएका थिए। गायक खुमन अधिकारी र गायिका जुनु रिजाललाई ‘म्यूजिक खबर दशक संगीत सम्मान’ अर्पण गरियो भने गायिका मिना लामालाई ‘म्युजिक युवा संगीत सम्मान’ अर्पण गरिएको थियो।
यस्तै गायिका पुजा देबकोटालाई ‘म्युजिक खबर बालप्रतिभा संगीत सम्मान’, न्युजिल्याण्ड निवासी गीतकार रमिल अधिकारीलाई म्युजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरियो। त्यस्तै फोटो पत्रकारितामा उचाइ कायम गरेका फोटो पत्रकार प्रदीपराज वन्तलाई म्युजिक खबर फोटो पत्रकारिता सम्मान अर्पण गरियो।
गीतकार शेखर ढुंगेल र निर्देशक दिवाकर भट्टराईलाई म्युजिक खबर स्रष्टा सम्मान, कोरियोग्राफर निर्देशक गम्भीर विष्टलाई म्युजिक खबर कला सम्मान, सफला मैया राजभण्डारीलाई म्युजिक खबर सामाजिक सेवा सम्मान र आश्विनीकान्त झालाई म्युजिक खबर ब्यूटी प्याजेन्ट कोरियोग्राफर सम्मान अर्पण गरियो। त्यस्तै पत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई ५५५५ रूपैयाँसहित म्युजिक खबर संगीत कला सम्मान अर्पण गरियो। शुभकामना मिडिया सोलुशनको आयोजना तथा अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा कार्यक्रम भएको थियो। अवार्डका अध्यक्ष सुमन पण्डितले कला क्षेत्रको सम्बद्र्धन र प्रबद्र्धनका निम्ति म्युजिक खबरको यात्रा निरन्तर अगाडि बढिरहेको बताउँदै अवार्ड र सम्मानले अझै ऊर्जा प्रदान गर्ने बताए।
काठमाडौं – केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट गिरीलाई सदस्य नियुक्ती गरिएको हो ।
गिरीलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिएका हुन् । दुई दशकदेखि रंग पत्रकारितामा सक्रिय गिरी बिभिन्न साप्ताहिक, मासिक, समाचारपत्र, हिमालयन टाइम्स, सौर्य दैनिक र नेपाल टेलिभिजनको चलचित्र समाचार हुँदै पछिल्लो एक दशकदेखि रातोपाटी डटकममा कार्यरत रहेका छन् ।
नेपाल टेलिभिजनका लागि करिब आधा दर्जन टेलिसिरियल, चलचित्र सम्बन्धि कार्यक्रम समेत निर्माण, निर्देशन गरेका गिरीले केही म्युजिक भिडियोको समेत निर्देशन गरेका छन् । गिरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पनि हुन् । त्यस्तै गरी अर्को जाँच समिति (सेन्सर बोर्ड) सदस्यमा कलाकार भीमा मैनाली नियुक्त भएकी छन्। दुई दशक लामो फिल्म करिअरमा मैनालीले कलाकार, लेखक र निर्देशक भएर काम गरेकी छन् । उनले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा समेत आवेदन दिएकी थिइन् । यसअघि समितिको सदस्यमा सम्पन्न श्रेष्ठ नियुक्त भएका छन् ।