काठमाडौं |थाइल्यान्डस्थित नेपाली राजदूतावासको आयोजना र थाई नेपाली संघ तथा एनआरएनए एनसीसी थाइल्यान्डको सहकार्यमा बैंककमा २१२ औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न भएको छ। नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा संरक्षणका उद्देश्यले आयोजित कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओली प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै कविता वाचन, भानु संवाद, रामायण पाठ र शुभकामना मन्तव्यहरू प्रस्तुत गरिएका थिए। कार्यक्रमको विशेष आकर्षणको रूपमा दुई चरणमा कविता वाचन प्रतियोगिता आयोजना गरिएको थियो, जहाँ ७-१२ वर्ष उमेर समूह र १३-१८ वर्ष समूहका बालबालिकाहरूले उत्साहपूर्वक सहभागिता जनाए। विजयी प्रतिभाहरूलाई पुरस्कारसहित सम्मान गरिएको थियो।
यस अवसरमा थाई नेपाली समुदायबीच भाषिक र सांस्कृतिक चेतना अभिव्यक्त हुनुका साथै एकताको भावना अझ बलियो बनाइएको थियो। कार्यक्रमले विशेषतः नयाँ पुस्तामा मातृभाषा र संस्कारप्रतिको अभिरुचि जगाउने भूमिका खेलेको आयोजकहरूको भनाइ छ।
थाई नेपाली संघका संरक्षक कुमार कार्कीले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिंदै भने, “विदेशमा बसेर पनि यस्ता कार्यक्रममार्फत आफ्नो भाषा र संस्कृतिप्रति श्रद्धा प्रकट गर्नु गौरवको विषय हो। यसले नयाँ पुस्तालाई पनि पहिचानप्रतिको चेतना जगाउँछ भन्ने हाम्रो विश्वास छ।”
कार्यक्रममा साहित्यिक व्यक्तित्व, कलाकार, सामाजिक अगुवा र स्थानीय नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अघिल्लो वर्ष झैं यसपालिको कार्यक्रमले पनि नेपाली एकता र संस्कृतिक महत्वलाई प्रवर्द्धन गर्न सफल भएको आयोजकले जनाएको छ।
काठमाडौं, असार २८ | पिक पोइन्ट एजुकेशन नेटवर्कले एसईई २०८१ ब्याचका ६५ जना विद्यार्थीलाई भव्य समारोहका बीच नगदसहित सम्मान गरेको छ। शनिबार काठमाडौंको गोल्फुटार स्थित ताज प्यालेस होटलमा आयोजित 'एसईई फेलिसिटेसन कार्यक्रम' मा शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, खादा, मायाको चिनोसहित नगद पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रमको अध्यक्षता संस्थापक तथा प्रधानाध्यापक इन्जिनियर विनय श्रेष्ठले गरेका थिए भने उप–प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए।
सम्मान समारोहमा ४.० जिपिए ल्याउने विद्यार्थीहरूलाई जनही ५०,००० रुपैयाँ नगद पुरस्कार दिईएको थियो। त्यस्तै अन्य उत्कृष्ट विद्यार्थीहरूलाई पनि शैक्षिक प्रदर्शनको आधारमा नगद पुरस्कार वितरण गरियो । कुल ७ लाख ५० हजार रुपैयाँ बराबरको नगद पुरस्कार यसपटकको ब्याचका लागि प्रदान गरिएको हो।
कार्यक्रममा विद्यालयका संस्थापक सदस्य थमिन्द्र खतीवडाले स्वागत मन्तव्य राखेका थिए । त्यसपछि ४ जीपीए ल्याएकी दिया घिमिरेले मन्तव्यसहित गीत प्रस्तुत गरिन।

मोहमद कालिम्सा, सन्दीप राजभण्डारी, बिष्णु कुमारी खुलाल मगर, निर्जला दाहाल र वर्दन ढकालजस्ता ४.० जीपीए ल्याउने विद्यार्थीहरूले आफ्नो अनुभव सुनाए।
अभिभावक प्रतिनिधिका रूपमा बेद ढकाल ( बरदान ढकालका बुबा) र सारदा ढकाल(निर्जला ढकालकी आमा) ले शुभकामना मन्तव्य दिएका थिए। बुढानीलकण्ठ १३का अध्यक्ष टिका नारायण श्रेष्ठले संस्थाको शैक्षिक नेतृत्वको प्रशंसा गरे।
कार्यक्रममा ब्याच २०८१ का छात्राहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरे भने पिक पोइन्ट सिङिङ आइडल २०८१ की विजेता त्रिप्तिका थापा मगरले साङ्गीतिक प्रस्तुति दिईन्।
शिक्षकहरूलाई समेत खादा र प्रशंसा-पत्रसहित सम्मान गरिएको उक्त कार्यक्रममा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, जनसंख्या, लेखाशास्त्र र कम्प्युटर विषयका शिक्षकहरू समावेश थिए।
भाईस प्रिन्सिपल महेश केसीले विद्यालयको समग्र शैक्षिक यात्रा र दृष्टिकोणबारे जानकारी दिँदै विद्यार्थीकै हितका लागि निरन्तर क्रियाशील रहेको बताए।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उप–मेयर अनिता लामा, तथा वडा नं। २, १०, ११, १२, र १३ का अध्यक्षहरू विशेष अतिथिका रूपमा उपस्थित थिए।

समापन मन्तव्य दिंदै संस्थापक/ प्रिन्सिपलइन्जिनियर विनय श्रेष्ठले सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै शिक्षा, अनुशासन र नैतिकताको मूल्यमान्यता लिएर अघि बढ्ने” प्रतिबद्धता दोहोर्याए। “विद्यार्थीहरूको निरन्तर मिहिनेत, शिक्षकहरूको समर्पण र अभिभावकको विश्वासकै कारण आज हामी यस सम्मानित स्थानमा पुग्न सफल भएका हौं ”उनले भने ।
भाईस प्रिन्सिपल महेश केसीका अनुसार, यो सम्मान कार्यक्रमले “विद्यार्थीहरूलाई अझ उत्साहित तुल्याउँदै पीक पोइन्ट एजुकेशन नेटवर्कलाई देशको एक अग्रणी शिक्षण संस्थाका रूपमा सुदृढ गरेको” छ।
हालै प्रकाशित एसईई २०८१ को नतिजामा पिक पोइन्ट एकेडेमी, बुढानीलकण्ठले उल्लेखनीय सफलता हासिल गर्दै GPA को आधारमा बुढानीलकण्ठ क्षेत्रका टप–४ उत्कृष्ट विद्यालयमध्ये चौथो स्थान ओगट्न सफल भएको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ अन्तर्गत सञ्चालनमा रहेको पिक पोइन्ट एकेडेमी यस पटकको एसईई परीक्षामा सर्वोत्कृष्ट विद्यालयको रूपमा उभिएको छ। उत्कृष्ट शैक्षिक उपलब्धिको मान्यतास्वरूप वडाले एसईईमा ४.० जिपिए ल्याउने विद्यार्थीलाई रु. १,००,००० (एक लाख) नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

काठमाडौं, असार २६ | वातावरणीय अभियानप्रति प्रतिबद्धता प्रस्तुत गर्दै नेपालकै पहिलो हरित विद्यालय बज्र एकेडेमीका विद्यार्थीहरूद्वारा सञ्चालित “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट प्रतिष्ठित 'वातावरण संरक्षण पुरस्कार' प्रदान गरिएको छ। क्लबलाई नगद रु. १०,००० (दश हजार रुपैयाँ) सहितको उक्त पुरस्कार काठमाडौंमा शुक्रबार आयोजित विशेष सम्मान समारोहका बीच प्रदान गरिएको हो।
उक्त पुरस्कार पुरस्कार छनोट समितिका सदस्यद्व्य लेखक तथा पत्रकार सरोज ओझा र पत्रकार सुकृत नेपालले बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्रविक्रम थापालाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए। पुरस्कारको कोष अष्ट्रेलियाको मेलबर्नमा पुनः प्रयोगयोग्य वस्तुहरूको सङ्कलन तथा बिक्रीबाट संचित गरी त्यहाँका परोपकारी लेखक तथा वातावरणीय अभियन्ता शिव न्यौपानेले स्थापना गरेका हुन्। उक्त अभियानले विश्वव्यापी रूपमा वातावरणीय चेतना फैलाउने र नेपालमा जमीनी तहका वातावरणीय प्रयासहरूलाई सहयोग गर्ने उद्देश्य लिएको छ।
बज्र इको क्लबले वातावरण संरक्षण र चेतनाका क्षेत्रमा निरन्तर, प्रभावकारी र नविन प्रयासहरू गर्दै आएको मूल्याङ्कन गर्दै यस वर्षको पुरस्कार प्रदान गरिएको हो। क्लबले फोहोर व्यवस्थापन, वृक्षारोपण कार्यक्रम, पुनः प्रयोग तथा पुनःचक्रण अभियान, र सिर्जनात्मक कला तथा सांस्कृतिक कार्यक्रमहरूमार्फत वातावरणीय सन्देश प्रवाह गर्दै आएको छ। शिक्षालाई वातावरणसँग जोडेर प्रस्तुत गर्ने यस क्लबको प्रयासले देशभरका अन्य विद्यालयहरूलाई समेत प्रेरणा दिएको छ।
हालै क्लबले नेपाल सरकारद्वारा आयोजित पहिलो 'सगरमाथा संवाद'मा रामायणमा आधारित वातावरणीय नाटक प्रस्तुत गर्दै वातावरणीय चेतना अभिव्यक्त गरेको थियो, जसले मिथकीय आख्यानलाई वातावरणीय सन्देशसँग जोडेर निकै प्रशंसा पाएको थियो।
पुरस्कार छनोट समितिका अनुसार यस सम्मानले विद्यार्थी नेतृत्वमा आधारित अभियानहरूले जलवायु परिवर्तन, प्रदूषण, र वातावरणीय संकटजस्ता विश्वव्यापी चुनौतीहरूको समाधानमा कस्तो महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने कुरा उजागर गर्ने उद्देश्य राखेको छ। हरित मान्यताप्राप्त नेपालकै पहिलो विद्यालय बज्र एकेडेमीले शिक्षण, संस्कार र समुदायसँगको सहकार्यमा वातावरणीय सतत अभ्यासलाई संस्थागत गर्दै आएको छ।
पुरस्कार प्राप्त गरेपछि बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्रविक्रम थापाले धन्यवाद व्यक्त गर्दै भने, "यो पुरस्कारले बज्र इको क्लबका सदस्यहरूको समर्पणलाई मात्र होइन, भावी पुस्तालाई वातावरणप्रति जिम्मेवार बनाउने महत्त्वलाई पनि उजागर गरेको छ, जुन स्थानीय र अन्तर्राष्ट्रिय सन्दर्भमा अत्यन्तै सान्दर्भिक छ।"
काठमाण्डौ । Insight Vision Secondary School & College, धुम्बराहीमा ‘TIVSIAN MEET’ भव्य तथा प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ। “National Glory, Our Students’ Story” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विद्यालयमा अध्ययन गरेका तथा हाल नेपाली राष्ट्रिय टिममा आबद्ध रहेका खेलाडीहरूलाई विशेष सम्मान गरिएको हो।
कार्यक्रममा प्रमुख आकर्षणका रूपमा नेपाली राष्ट्रिय महिला फुटबल टिम की सदस्य तथा विद्यालयकी गौरवशाली पूर्व विद्यार्थीहरूलाई ‘Honouring Heroes’ शीर्षकमा सम्मान गरियो।

सम्मानित खेलाडीहरूमा राष्ट्रिय टिमको कप्तान सबित्रा भण्डारी, अनिता बस्नेत, सबिता राना, पुजा राना, हिरा कुमारी भुजेल, र रेखा पौडेल रहेका थिए।
यी सबै खेलाडीहरूले Insight Vision S.S./College बाट प्लस टु (कक्षा १२) पास गरेका हुन् र अहिले स्नातक (Bachelor) तेस्रो वर्षमा अध्ययनरत छन्।
कार्यक्रममा नेपाली राष्ट्रिय महिला टिमकी पूर्व कप्तान अनु लामा विशेष अतिथि रूपमा सहभागी भइन्।त्यस्तै, काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जन र अखिल नेपाल फुटबल संघ (ANFA) का उपमहासचिव बद्री भट्टराईको उपस्थिति कार्यक्रमको थप विशेष पक्ष बनेको थियो।
लोकप्रिय लोकगायक बाद्री पंगेनीको पनि विशेष उपस्थितिले माहोललाई उत्साहपूर्ण बनाएको थियो।

विद्यालयले सबै खेलाडीहरूलाई सम्मानपत्रसहित नगद सम्मान गरेको थियो।सबित्रा भण्डारीलाई २० हजार रुपैयाँ, र अन्य पाँच खेलाडीलाई जनही १०/१० हजार रुपैयाँ नगद प्रदान गरिएको हो ।
कार्यक्रममा विद्यालयका संस्थापक, शिक्षकगण, अभिभावक, हाल अध्ययनरत तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले आफ्ना विद्यार्थीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन पाएकोमा गहिरो गर्व व्यक्त गर्दै, यस्ता अनुकरणीय सफलताले नयाँ पुस्तालाई अझ प्रेरणा दिने विश्वास व्यक्त गर्यो।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, खेलाडीहरूको अनुभव आदान–प्रदान, फोटो सेसन, तथा विशिष्ट अतिथिहरूको प्रेरणादायी सम्बोधन लगायत विविध आकर्षक कार्यक्रमहरू समावेश गरिएका थिए।
विद्यालयले यस्ता प्रेरणादायी गतिविधिहरू भविष्यमा पनि निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौं - चलचित्र लेखक तथा निर्देशक माधब राज खरेलद्धारा निर्देशित चलचित्र “चिट्ठी” भदौ २० गतेवाट प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको संचारकर्मी कमला जोशी निर्माता रहेको यस चलचित्रको वितरणको जिम्मेवारी कुवेर सिने डिस्ट्रीब्युशनले लिएको छ ।
केही समय अघि काठमाण्डौमा विशेष प्रदर्शनी गरिएको यस चलचित्रप्रति दर्शकहरुले देखाएको माया र दिएको प्रतिक्रियाले निर्माण पक्ष उत्साहित भएको छ । दुई घण्टा लामो चलचित्र “चिट्ठी” पुर्णतया हरर कमेडी तथा स्पेन्स र थ्रिलर शैलीमा तयार भएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रलाई पिजी सर्टिफिकेट दिएको छ, जसअनुसार १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा चलचित्र हेर्न पाउने भएका छन् ।
चलचित्रमा खड्गबहादुर पुन मगर ‘खवपु’, सञ्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, नम्रता खरेलका प्रमुख भुमिका रहेको छ । त्यसैगरी मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरु समेत विशेष भुमिकामा देखिएका छन् ।
संचारकर्मी सरोज कोईरालाको संगीत एवम् डा. कृष्णहरि बराल र कमला जोशीको शब्द रहेको चलचित्रका गीतहरुको लागी शिव परियार, बेनिशा पौडेल र बसन्त अर्यालको स्वर दिएका छन् । चलचित्रको कथा वस्तु अनुरुप तैयार भएको शिव ताण्डव गीतको संगीत संयोजन भने संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् । चलचित्रमा समावेश गरिएको शिव ताण्डवले पनि चलचित्रलाई एक अलग आकर्षण थप्ने विश्वास निर्देशक खरेलको रहेको छ ।
‘चिट्ठी’ लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन, समिर मियाँको ग्राफिक्स तथा भिएफ एक्स, किरण दाहालको द्वन्द्व, पुष्कर खत्रीको पाश्र्व संगीत, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ प्वाईन्ट वान साउण्ड डिजाईन रहेको छ ।
चलचित्रको गीत, ट्रेलर र पोष्टर छिट्टै सार्वजानिक गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रको प्रचार प्रसार सामाग्री भने अमृत चापागाईँ र साहिल खानको तैयार गरका छन् । चलचित्रको प्रचार प्रसार सामाग्री भने अमृत चापागाईँ र साहिल खानको तैयार गरका छन् ।
काठमाडौँ – गीतकार, गायक तथा संगीतकार डिबी खड्का र गायिका सुनिता कार्कीको सहकार्य रहेको गीत ‘म त गाउँले ठिटो’ सार्वजनिक भएको छ । रोमान्टिक लोकलयमा तयार गीतमा शब्द गायक खड्का र होम न्यौपानेको रहेको छ ।
गायक खड्काकै संगीत रहेको गीतको एरेन्ज बिकल खड्काले गरेका हुन् । मा गीतमा संगीत पनि ले नै दिएका हुन् । दयपुर ताप्ली गाउँपालिका बासी गायक तथा संगीतकार खड्का लामो समयदेखि गीतसंगीतमा सक्रिय छन् ।
गीतको भिडियो तामझाम सहित आकर्षक बनाइएको छ । जसमा एआरके, सादिक थापा, राजकुमार लामा बल, सुशिला खड्का, विकास ग्याबा तामाङ, नारायण के.सी, रामजी अधिकारी, तुलसी पौडेललगायतको अभिनय छ ।
भिडियोमा टंक केसी एण्ड टिमको छायांकन, रोशन पौडेलको सम्पादन, सादिक थापा र दिपक श्रेष्ठको कोरियोग्राफी छ भने निर्देशन एआरकेले गरेका हुन् । भिडियो रियासा इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
काठमाडौं- गुरुङ समुदायका महिला तथा विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘मिस एण्ड मिसेस गुरुङ’को चौथो संस्करण (मिस एण्ड मिसेस गुरुङ २०८२) सुरू भएको छ । आयोजकले प्रतियोगिताको आवेदन खुल्ला गर्दै असार २६ गते काठमाडौंको सामाखुसीस्थित विशाल फूटसलमा पहिलो चरणको अडिसन राखेको एक बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
कार्यक्रमको आयोजना गर्दै आएको संस्था ‘एस के इन्टरटेन्मेन्ट’का अनुसार, यो प्रतियोगिता विगतका संस्करणहरूमा प्राप्त सफलता र सकारात्मक प्रतिक्रियालाई ध्यानमा राखी यसपटक अझ व्यापक र समावेशी रूपमा आयोजना हुन लागेको छ ।
‘एस के इन्टरटेन्मेन्ट’की अध्यक्ष शान्ता लामा तामाङका अनुसार, प्रतियोगितामा सहभागी हुने महिला तथा विवाहित महिलाहरूका लागि फारम शुल्कदेखि सम्पूर्ण प्रशिक्षण निःशुल्क राखिएको छ । उनले कार्यक्रमलाई कुनै आर्थिक भारबिना प्रतिभा उजागर गर्ने एक प्लेटफर्म बनाएको बताइन् । ‘गुरुङ महिलाहरूमा लुकेका कला, आत्मबल र संस्कृतिक मूल्यलाई मञ्च प्रदान गर्ने हाम्रो उद्देश्य हो’ उनले भनिन् ।
प्रतियोगिताको अडिसनमा सहभागी भएर छनोटमा परेका प्रतियोगीहरूले ३०–३५ दिनसम्म विभिन्न प्रशिक्षणहरू प्राप्त गर्नेछन् । तिनीहरूलाई व्यक्तित्व विकास, फेसन प्रशिक्षण, आत्मविश्वास निर्माण, गुरुङ सांस्कृतिक प्रस्तुति, स्टेज उपस्थिति, फोटोशुट, पब्लिक स्पिकिङ लगायतका क्षेत्रमा दक्ष बनाइनेछ ।
सम्पूर्ण तालिमपश्चात एउटा भव्य ग्रान्ड फिनाले कार्यक्रम आयोजना गरिनेछ, जहाँ निर्णायक मण्डलद्वारा विजेता घोषणा गरिनेछ। विजेताहरूलाई उपाधि, ट्रफी, प्रमाणपत्र, आकर्षक पुरस्कार तथा विभिन्न ब्रान्डहरूसँग आबद्ध हुने अवसर प्राप्त हुनेछ।
यस प्रतियोगिताले गुरुङ जातिको भेषभूषा, परम्परा र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्त्वपूर्ण अभियान बोकिरहेको आयोजक संस्था ‘एस के इन्टरटेन्मेन्ट’को भनाइ छ । इच्छुक सहभागीहरूलाई समयमै सम्पर्क गरी अडिसनमा भाग लिन आयोजकले विशेष आग्रह गरेको छ । थप जानकारी तथा फारमका लागि ‘एस के इन्टरटेन्मेन्ट’को आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ । प्रतियोगीताको डिजिटल पार्टनरको रुपमा जीनोपे जोडिएको छ ।
काठमाण्डौ- राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। राजेन्द्र बजगाईको अध्यक्षता एवं विशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् भने दीपक शर्मा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, सुजाता के.सी. उपाध्यक्षमा सहमतिमा चयन हुनु भएको छ भने सनम कठायत महासचिव पदमा निर्विरोध निर्वाचित हुनु भएको छ। रिता के.सी. सचिवमा सहमतिका आधारमा चयन हुनु भएको हो। बेनिश पौडेल महिला सचिव र प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। अन्य निर्वाचित सदस्यहरूमा मनोज परियार, वीरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गीता पाण्डे, सुभाष तिम्सिना, प्रमोद डि.जी. र प्रज्वल राज भट्ट रहेका छन्। १७ सदस्यीय कार्यसमितिमा बाँकी रहेका २ सदस्य नयाँ कार्यसमितिबाट चयन गरिनेछ।
कार्यक्रम अनामनगरस्थित किम्ची रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको थियो, जसमा संस्थाका संस्थापक सल्लाहकार राजु सिंह, डा.टिका भण्डारी, चलचित्र निर्देशक माधव राज खरेल, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गीतकार डा.ओमकृष्ण प्रसाईं, बी.बी. थापा, राजेन्द्र लुईटेल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नारायण थापाले गीत–संगीतमा देखिएको विकृति र विसङ्गतिलाई नियन्त्रण गर्न कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, महासचिव सनम कठायतले पछिल्लो समय कलाकर्मीहरूमा देखिएको नैराश्यताको अन्त्य गर्न केही रचनात्मक कार्यक्रमहरूको थालनी गर्ने, श्रष्टाहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखी सिङ्गो कलाकर्मी वर्गको हित हुने कार्यक्रमहरू सुरु गर्ने तथा स्वास्थ्य बीमा लगायतका सामाजिक कार्यहरूमा संस्था क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिष्ठानका संस्थापक तथा निवर्तमान अध्यक्ष राजेन्द्र बजगाईले नवनिर्वाचित कार्यसमितिले प्रतिष्ठानको गौरव बढाउने विविध प्रभावकारी तथा रचनात्मक कार्यहरू गर्नेमा पूर्ण आशावादी रहेको बताउनुभयो। साथै, सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूले आ–आफ्नो तहबाट समर्पित भएर श्रष्टामुखी कार्यहरू गर्दै जाने दृढ प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
काठमाण्डौ – चलचित्र “ढुङ्गे युग” मार्फत नेपाली संवाद विहिन तथा मूक चलचित्रको इतिहासमा आफ्नो नाम लेखाइसकेका निर्देशक माधव राज खरेल आफ्नो पछिल्लो गीत “दूरदेखी आएँ प्रिय” बोलको गीत मार्फत समाजका संवेदनशील पक्षमा चोटिलो प्रहार गरेका छन् । हालैसालै सार्वजनिक भएको गीत उक्त गीतमा खरेलले गीतकारका रूपमा शब्द संयोजन गरेका छन्, जसले आधुनिक शहरको विसंगति, सम्बन्धको संकुचन र आत्म–विरोधाभासको भावलाई गहिरो चित्रण गरका छन् ।
खरेलले लेखेका गीतका शब्दहरू भावनात्मक मात्र होइनन्, सामाजिक चेतनाले पनि भरिएका छन् ।
“दुरदेखि आएँ प्रिय, तिमी बस्ने शहरमा,
आत्माहरु बिक्दा रैछन्, सफल हुने रहरमा”
प्रस्तुत हरफहरू मार्फत निर्देशक खरेलले आजको दुनिँयाको उपभोक्तावादी समाजमा रहेका मानिसहरु विशेषतः माया प्रेमले परिपुर्ण आत्मा, कसरी व्यापारको वस्तु बन्न पुगेको छ भन्ने सन्देश दिएका छन् । उनको लेखनशैलीमा गहिरो भाव र प्रतीकात्मक बिम्ब रहेको छ, जसले दर्शक तथा श्रोताहरुको अन्तरमन छुनेमा निर्देशक तथा गीतकार खरेल विश्वस्थ रहेका छन् ।
गीतमा स्वर दिएका छन् गायक डेभिड शंकरले । डेभिड ंशंकर पछिल्लो पुस्ताका लोकप्रिय गायक हुन् । थुप्रै दर्शक तथा श्रोताहरुको मनमुटुमा बस्न सफल गायक डेभिडले शब्दको मर्मलाई आत्मीय गायनमार्फत जीवन्त पार्ने कोशिस छन् । यस गीतको संगीतको पक्षपनि अत्यन्तै उत्कृष्ट रहेको छ । गीतको संगीत र संगीत संयोजन राजेन्द्र बजगाईको रहेको छ, जसले सरल तर प्रभावशाली धुन सिर्जना गरेका छन्, संगीतको मिठास धुनले गीतलाई भावनाको लहरसँगै बाँधेर लैजान्छ । गीतको रेकर्डिङ, ध्वनी मिश्रण तथा सम्पादन मनोज परियारले गरेका हुन् ।
यस गीतको म्यूजिक भिडियोको पक्ष पनि उत्कृष्ट रहेको छ । गायक स्वयम्ले नै भिडियोमा अभिनय गरेका छन् भने निर्देशनमा रहेकी छिन् पुजा ठकुरी, जसले निर्देशक खरेलको शब्दलाई दृश्यमा जीवनन्तता दिएर गीतको सन्देशलाई अझ प्रभावशाली बनाएकी छन् । ठकुरी पछिल्लो पुस्तामा क्रियाशिल म्यूजिक भिडियो निर्देशकको रुपमा चिनिन्छिन् । भिडियोको छायांकन युदिन योञ्जन, सम्पादन तथा कलर संयोजन बिनोद बमले गरेका छन् । बम नेपाली म्युजिक भिडियो क्षेत्रमा सक्रिय र ख्यातीप्राप्त सम्पादक तथा कलरिस्ट हुन् ।
यसै गीतमार्फत खरेलले भन्न खोजेका छन् -“आजको समाजमा मान्छे ‘मान्छे’ रहन सकिरहेको छैन । प्रेम, मूल्य र संवेदनशीलता जस्ता भावनाहरू नाफाको बजारमा हराउँदै गएका छन् ।”
“राजा रंक एउटै भए, तिम्रो नगरमा
मायालुले माया भुल्ने, यो शहरमा”
यो गीत खरेलको सिर्जनात्मक यात्राको एउटा अर्को महत्वपूर्ण अध्याय पनि बनेको छ । शब्द, स्वर, संगीत र दृश्यको मिठासपूर्ण मिश्रणको रुपमा तैयार भएको “दुरदेखि आएँ प्रिय” केवल गीत मात्र होइन, यसलाई समाजको मनोविश्लेषणको रुपमा समेत लिन सकिने खरलले बताए ।
यो गीतले केवल मनोरञ्जनका लागी मात्र नभई आम रुपमा सम्बन्धहरुको सोच र संवेदनालाई पनि सँगै बोकेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्र अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष अमृता थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला नेतृ यशोदा सुबेदी , सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी (बिबेक),सम्पर्क समन्वय प्रदेश समितिका कोषाध्यक्ष,ठुलोबाबु श्रेष्ठ, सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिका ईन्चार्ज मेहेन्द्र घोरासैनी, सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष तोक बहादुर गधराज(तोकेन्द्र) सिन्धुपाल्चोककी महिला नेतृहरु अम्बिका नेपाल,जानुका पराजुली ,सुमित्रा बस्नेत, मिथिला सिग्देल,लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले गणतन्त्रले दिएको अधिकार प्रयोग गर्दै महिला शसक्तिकरणको अभियानमा लाग्न बलियो संगठन निर्माण पहिलो आधार भएको बताउनु भएको थियो ।
कार्यक्रम सन्चालन अधिवक्ता एवं महिला नेतृ सुष्मा गिरीले गर्नु भएको थियो
सम्मेलन बाट रिना घिमिरेको अध्यक्षतामा ३३ सदस्सीय जिल्ला समिति सर्वसहमत निर्वाचित भएको छ ।
जसमा
अध्यक्ष— रिना घिमिरे
उपाध्यक्ष— सरस्वती घोरासैनि
उपाध्यक्ष — आशा तमाङ
उपाध्यक्ष— राधिका खतिवडा
उपाध्यक्ष — लक्ष्मी पुरी
उपाध्यक्ष— सुन्तली थापा
उपाध्यक्ष — गिता तामाङ
सचिब — सुष्मा गिरी
सहसचिब — कमला तामाङ
सह(सचिब — अप्सरा न्यौपाने
कोषाध्यक्ष — सुमित्रा कार्की
सदस्यहरु
दुर्गा न्यौपाने,रश्मि नेपाल, सरला थापा,आशा सापकोटा,रुपा थापा,उर्मिला रायमाझी ,गिता चालिसे, इन्द्रमाया सुनुवार, कुमारी बराइली,देवकी भट्टराई ,शर्मिला दुलाल, गिता श्रेष्ठ,कविता वाइबा,रामप्यारी दनुवार,तारा घतानी,प्रीयान्का गहतराज,सीता तामाङ,सीता भण्डारी,रेस्मा सुनुवार,राममाइ तामाङ,लक्ष्मि तामाङ,लक्ष्मि थामी रहेका छन् ।
निर्वाचित कार्यसमितिलाई माओवादीका बिभिन्न तहका नेताहरुले बधाई तथा शुभकामना समेत दिनु भएको छ ।