काठमाडौं, जेठ ११ । नेपाल–भारत सम्बन्धमा उत्पन्न उतार–चढाव मत्थर पार्न तत्काल वार्ता प्रक्रियामा जानुपर्ने कूटनीतिक क्षेत्रका विज्ञहरूको धारणा छ। नेपालले विधिवत् ढंगले नक्सादेखि निसान छापसमेत परिवर्तन गरिसकेको पृष्ठभूमिमा भारतसँग धैर्यपूर्वक वार्ताका लागि विभिन्न ब्याक च्यानल प्रयोग गर्नुपर्ने सुझाव उनीहरूको छ। आपसी तनावले दुवै मुलुकलाई हित नगर्ने कुरा भारतले पनि बुझेर वार्तामा आउन ढिलाइ गर्न नहुने सुझाव यस क्षेत्रका विज्ञको छ।
सुगौली सन्धिअनुरुपको नेपालको भूभाग भारतको नक्सामा परेको मात्र होइन, त्यहाँ भारतीय सुरक्षा फौजको उपस्थितिसमेत छ। यसैले यस्ता विषयमा नेपाल निकै सजग रहेर दरिलो ढंगले विभिन्न माध्यमबाट वार्ता गर्नै पर्छ। अहिले अन्तर्राष्ट्रियकरणतर्फ जान नहुने पनि विज्ञहरूले सुझाव दिएको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।
काठमाडौं, जेठ ११ । पछिल्लो समय कोरोना बिमा गर्नेको संख्या बढेको छ । कोरोना बिमालेख जारी भएपछि बिहीबारसम्म करिब १ लाख ६० हजारले यस्तो बिमा गरेका छन् । कोभिड–१९ को जोखिम सुरक्षणका लागि एक महिनाअघि ९वैशाख ४ मा० बिमा समितिले कोरोना बिमालेख जारी गर्न निर्देशन दिएको थियो । वैशाख ७ देखि बिमा कम्पनीहरूले यो बिमालेख जारी गरेका हुन् ।
एक महिनामा १ लाख ५९ हजार ९ सय ३६ जनाले कोरोना बिमा गरेका हुन् । यसबाट ८ करोड ६१ लाख ४४ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको आजको कान्तिपुर दैनिकमा खवर छ ।
काठमाडौं, जेठ ११ । पाँच वर्षअघि बंगलादेशको अतिक्रमित ४३ हजार बिघा जग्गा फिर्ता गरी सहानुभूति लिन सफल भएको भारत सरकार यतिखेर नेपालको विषयमा भने नराम्ररी आलोचित बन्न पुगेको छ ।
सन् १९७१ देखिको भारत र बंगलादेशबीचको सीमा विवाद ४४ वर्षसम्मको निरन्तर प्रयासबीच ७ मे २०१५ मा वार्ताद्वारा टुंगो लागेको थियो । सोही वार्तापछि बंगलादेशले भारतबाट अतिक्रमित करिब ४३ हजार बिघा भूमि फिर्ता पाएको थियो ।
बंगलादेशको अतिक्रमित भूमि फिर्ता गरेको भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा अतिक्रमण गरेको झण्डै ३ सय ३५ वर्ग किलोमिटर भूमि फिर्ता गर्नुको विकल्प नरहेको अधिवक्ता तथा अन्तर्राष्ट्रिय कानुनका अध्येता डा गोकुल प्रसाद बुर्लाकोटीको ठम्याइ छ ।
त्यस्तै, कानुनविद््का अनुसार नेपाल र भारत दुवै स्वतन्त्र, स्वाधीन तथा सार्वभौम राष्ट्र भएकाले संयुक्त राष्ट्र संघमा यी दुवै राष्ट्रको हैसियत समान छ । राष्ट्रसंघको अस्तित्व तथा यसको विश्वसनीयताको मुख्य आधार भनेकै राष्ट्रहरूको समान सार्वभौम हैसियत रहेको आजको राजधानी दैनिकमा खवर छ ।
काठमाडौँ, ११ जेठ । सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा परी कुटपिट हँुदा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले बताएका छन् ।
जग्गाको विषयमा छिमेकीसँग गत वैशाख १३ गते विवाद भएको थियो । सो विवादका क्रममा कुटपिट हँुदा उनको टाउको र खुट्टामा गम्भीर चोट लागेपछि उनलाई गजेन्द्रनारायाण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएको थियो ।
वैशाख २७ गते अस्पतालले उनलाई डिस्चार्ज गरेपछि घरमै औषधि खाएर उपचार गराइरहेको अवस्थामा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै कुटपिटमा संलग्न रहेकाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)
काठमाडौँ, ११ जेठ । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ ।
प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिएका छन् । ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ । ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताएका छन् ।
सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ । (रासस)
काठमाडौं, जेठ ११ । जंगी अड्डाले भ्रष्ट सैनिक अधिकारीहरूमाथि कारबाही सुरु गरेको छ । जंगी अड्डाले सैनिक उच्चअधिकारीहरूसमेत भ्रष्टाचारमा संलग्न भएको पाएपछि त्यस्ता भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको हो ।
जंगी अड्डाले भ्रष्टाचारका मुद्दाहरूलाई अघि बढाएर भ्रष्ट सैनिकहरूविरुद्ध जंगी अड्डा कडा रूपमा उत्रिएको हो । जंगी अड्डाले आर्थिक अनियमिततामा संलग्न भएको अभियोगमा सहायक रथी प्रयोगजंग राणा र महासेनानी नविन सिलवाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
सहायक रथी राणा निरीक्षणाधिकृत महानिर्देशनालयमा कार्यरत छन् । महासेनानी सिलवाल हाल १४ नम्बर बाहिनीका सहायक बाहिनीपति हुन् । सैनिक प्रहरीले राणा र सिलवाल दुवैलाई गत साता पक्राउ गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।
कैलाली, जेठ ११ । सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा रहेका १६ जनालाई डिस्चार्ज गरिएको छ । रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
भारतबाट फर्केएर गौरीफन्टा नाकामा आरडीटी पोजेटिभ देखाएपछि अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरि गरिएको पिसिआर परिक्षणमा१६ जनाको रिपोट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन्।
काठमाडौं, जेठ ११ । सरकारले संक्रमितको स्थायी र अस्थायी ठेगाना स्पष्ट रूपमा नखुलाउँदा ‘कन्ट्याक्ट टे्सिङ’ र ‘ट््याकिङ’ गर्न सकस बन्दै गएको छ । संक्रमितको पहिचानका लागि ‘कन्ट्याक्ट टे्सिङ’ र ‘ट््याकिङ’ महत्वपूर्ण मानिन्छ ।
कोरोना भाइरस संक्रमितको संख्या ५ सय ९१ पुग्दा पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मेवारी पाएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमितको स्पष्ट ठेगाना खुलाउन प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।
संक्रमितसँग सम्पर्कमा आएकाको ‘कन्ट्याक्ट टे«सिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी नहुँदा लुकेर बस्ने संक्रमितको संख्या अत्यधिक बढ्ने भन्दै यो कार्य तत्काल बढाउन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडिया ब्रिफिङमा संक्रमितको अस्थायी र स्थायी ठेगाना स्पष्ट नखुलाउँदा संक्रमित भनिएका जिल्लाका नागरिक अन्योलमा परेका छन् । संक्रमित रहेको स्थान पत्ता लगाई सम्पर्कमा आएकालाई तुरुन्तै आइसोलेसनमा बस्न लगाएर स्वाब संकलन गर्नुपर्ने हुन्छ ।
राष्ट्रिय सूचना आयोगले संक्रमित तथा मृतकको स्थायी र अस्थायी ठेगाना स्पष्ट खुलाउन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयलाई गत ६ जेठमा पत्र काटेको थियो । आयोगले जारी गरेको विज्ञप्तिमा संक्रमित र मृतकको ठेगाना फरक फरक हुन सक्ने भएकाले स्पष्ट ठेगाना खुलाउनुपर्ने उल्लेख छ । तर, स्वास्थ्य मन्त्रालयले पत्र कार्यान्वयनमा हेलचेक््रयाइँ गर्दै आएको आजको राजधानी दैनिकमा खवर छ ।
काठमाडौं, जेठ १० । आर्थिक वर्ष समाप्त हुने समय नजिकिएसँगै अहिले विभिन्न निकायबाट खर्च नभएका बजेट धमाधम फिर्ता हुन थालेका छन् ।
अर्थ मन्त्रालयका अनुसार गत चैत महिनामा मात्र विभिन्न १० निकायबाट करिब ४ अर्ब ८१ करोड ७० लाख ४४ हजार ७ सय ९१ रुपैयाँ बजेट फिर्ता भएको छ ।
जसमध्ये सबैभन्दा धेरै फास्ट ट्र्याकको रकम फिर्ता आएको हो । अर्थ मन्त्रालयका अनुसार रक्षा मन्त्रालयले चालू आर्थिक वर्षका लागि फास्ट ट्र्याकमा विनियोजित रकमबाट २ अर्ब ८३ करोड ६६ लाख ५२ हजार रुपैयाँ फिर्ता भएको आजको राजधानी दैनिकमा खवर छ ।
काठमाडौं, जेठ १० । नारायणी अस्पताललाई कोभिड–१९ विशेष अस्पताल बनाइँदा त्यहाँ सञ्चालित डाइलासिस सेवा बन्द भएपछि नेसनल मेडिकल कलेजमा सारिएका, डाइलाइसिस उपचार लिइरहेका ४० मिर्गौला रोगीमध्ये सात जनाको मृत्यु भएको छ। पीडित पक्षले यी मृत्युका घटना नेसनल मेडिकल कलेज शिक्षण अस्पतालको गम्भीर लापरबाहीका कारण भएको आरोप लगाएका छन्।
नारायणी अस्पतालका सेवाहरू बन्द भएपछि त्यहाँबाट पाउने सम्पूर्ण सेवाहरू नेसनल मेडिकल कलेजबाट लिने भनेर जानकारी गराइएको थियो। मिर्गौलाको समस्या भई नारायणी अस्पतालमा डाइलासिस गराइरहेका ४० जना बिरामीलाई समेत सो अस्पतालबाट वैशाख ३ गते नेसनल मेडिकल कलेजमा स्थानान्तरण गरियो। त्यसको पाँच साताभित्र तीमध्ये सात जनाको मृत्यु भएको आजको नागरिक दैनिकमा खवर छ ।