लक्ष्मण पौडेल, भैरहवा । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएका युवक गुल्मीको मदाने गाउँपालिका – ६ का स्थायी बासिन्दा रहेको पाइएको छ ।
रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत ती युवकको पिसिआर परीक्षणका लागि यही जेठ २ गते स्वाब सङ्कलन गरी भैरहवास्थित प्रयोगशाला ल्याइएको थियो । सङ्कलित स्वाब परीक्षण गर्दा पोजिटिभ पाइएको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए ।
पेसाले शिक्षक रहेका ती युवक केही समयदेखि जन्डिस रोगबाट ग्रसित रहेको पारिवारिक स्रोतले बताएको छ । उनी जेठ १ गते जन्डिसकै उपचारका रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पताल आएका थिए ।
जण्डिसको औषधि खाइरहेका उनलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय मेडिकलमा देखाइएको थियो । त्यहाँबाट उपचारका लागि मोटरसाइकलमा सन्धिखर्क पु¥याइयो । सन्धिखर्क पु¥याएर त्यहाँ रहेको छायाँ पोलिक्लिनिकमा पनि सामान्य चेकजाँच गरिएको थियो । तर अवस्था थप जटिल बनेपछि एम्बुलेन्स खोजेर सीधै रुपन्देहीको क्रिमसन अस्पताल ल्याइएको थियो ।
जेठ १ गते क्रिमसन अस्पताल ल्याइएका उनलाई तत्कालै आइसियूमा राखेर उपचार सुरु गरिएको थियो । आफन्तले जन्डिसको बिरामी बताएको र ज्वरो पनि नआएकाले सुरुमा कोरोना आशङ्का नगरी अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख मनमोहन भट्टराईले बताए। चिकित्सकहरूले भने एक्युट इन्सेफ्लाईटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुईदिन आईसियूमा राखेर उपचार गरेका थिए ।
आइसियूमा राखेर उपचार गर्दा पनि निको नभएपछि जेठ ३ गते भेन्टिलेटरमा राखिनुका साथै कोरोनाको आशङ्कामा स्वाब सङ्कलन गरिएको थियो । कोरोना पुष्टि भएका युवकलाई भैरहवाको भीम अस्पताल लगिने बताइए पनि राति अबेरसम्म लगिएको छैन । युवकको अवस्था भने गम्भीर रहेको अस्पतालले जनाएको छ । क्रिमसन अस्पतालले मुलुकमा लकडाउन भएदेखि नै ज्वरोका बिरामी नहेर्ने भनेर ब्यानर नै टाँस गरेको थियो । पछि उक्त ब्यानर हटाइएको थियो । “जन्डिसको बिरामीमा देखिने लक्षण देखिएका कारण अस्पतालमा भर्ना गरिएको हो” प्रशासकीय अधिकृत भट्टराईले भने।
अस्पतालमा उपचाररत युवकमा कोरोना सङ्क्रमण भेटिएपछि सोमबार साँझदेखि नै क्रिमसन अस्पताल सिल गरिएको छ । अस्पताल सिल गरिएपछि कसैलाई पनि अस्पतालमा आवतजावत गर्न दिइएको छैन । अस्पतालभित्र स्वास्थ्यकर्मी, उपचाररत बिरामी र तिनका कुरुवाहरू रहेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अब परीक्षणको दायरा बढाउनुपर्ने बताएको छ । नगर प्रमुख वासुदेव घिमिरेले अब लकडाउनलाई थप कडा पारिने र परीक्षणको दायरा बढाइने बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सङ्क्रमित युवकको सम्पर्कमा करिब एक दर्जन व्यक्तिहरू रहेको पाइएको भन्दै तिनीहरूलाई तत्काल परीक्षण गरिने र अस्पतालमा रहेका स्वास्थ्यकर्मी र बिरामीहरूको पनि परीक्षण गरिने जानकारी दिए । “ती युवकको सम्पर्कमा रहेका व्यक्तिहरू पत्ता लागिसकेका छन्, अब उनीहरूको तत्काल परीक्षण हुन्छ”उनले भने।-गोरखापत्रबाट
एजेन्सी, ६ जेठ । विश्वभर कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको प्रतिष्पर्धा चलिरहेको छ । विश्वका एक सयभन्दा बढी प्रयोगशाला यसको विकासमा सक्रिय भएका छन् । अरबौं डलर खर्च भइरहेको छ । भ्याक्सिन विकासका जानकार वैज्ञानिकहरु अहोरात्र खटिइरहेका छन् । जसले सकारात्मक सम्भावनाहरु देखाइरहेको छ ।
अमेरिकामा कोभिड १९ भ्याक्सिनको परीक्षणको नतिजा सफलतातर्फ उन्मुख भएको छ । मोर्डना कम्पनिले गरिरहेको परीक्षणले नतिजा दिने देखाउँदैछ । प्रारम्भिक परिणाम अनुसार कोभिड १९ को परीक्षणको भ्याक्सिनले सकारात्मक नतिजा दिएको हो ।
अमेरिकाको बायोटेक कम्पनि मोर्डनाले त्यहाँको नेस्नल इन्स्टिच्युट अफ हेल्थसँग मिलेर कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । सीएनएनका अनुसार यदि भविष्यमा अध्ययन राम्ररी बढेमा सन् २०२१ को जनवरी अगावै भ्याक्सिन सार्वजनिक रुपमा उपलब्ध हुनेछ । यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । त्यस अगाडि भ्याक्सिनको सबै चरणको परीक्षण सफल हुनुपर्नेछ ।
मोर्डनाका प्रमुख डा. ताल जाक्सले सीएनएनसँग भने, यो असाध्यै राम्रो खबर हो । उनले सफलतातर्फ बढिरहेको बताए ।
प्रारम्भिक तथ्यांक अनुसार पहिलो चरणको क्लिनिकल परीक्षणबाट थोरै मानिसलाई लिएर भ्याक्सिन सुरक्षित र रोगप्रतिरोधात्मक क्षमताको प्रतिक्रिया प्राप्त गर्ने अध्ययन गरिएको थियो । परीक्षणले भ्याक्सिनलाई रोक्ने पाइएको मोर्डनाका प्रमुख जाक्सले बताएका छन् । रिसर्चरहरु निकै उत्साही भएका छन् ।
अब मोर्डनाले दोस्रो चरणको परीक्षण शुरु गर्ने छ । तेस्रो चरणको परीक्षण जुलाईमा हुनेछ । जसमा हजारौं मानिसहरुमा परीक्षण हुनेछ । कोभिड १९ रोकथाममा सफलता हासिल हुनुका साथै मानिसको स्वास्थ्यलाई नकारात्मक असर नगरेमा यसको सार्वजनिक प्रयोग शुरु गरिनेछ ।
यसैगरी, रुस, भारत, चीन, इजरायल, बेलायत, अष्ट्रेलियालगायतका मुलुकका कम्पनिहरु पनि भ्याक्सिन विकासमा जुटिरहेका छन् । सबैले सफलताको संकेत गरेका छन् । विश्वका चर्चित विश्वविद्यालयहरु पनि भ्याक्सिनको विकासमा लागेका छन् ।-File Photo Source: Agency
काठमाडौँ, ६ जेठ । बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ ।
अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ शक्तिशाली हुने क्रममा मङ्गलबारबाट पूर्वी नेपालको मौसममा बदली हुँदै नेपाल प्रवेश गर्ने महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले बताएका छन् । उनका अनुसार त्यस चक्रवातको गति उत्तरपश्चिम हुँदै अघि बढिरहेको छ ।
उनले भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पार्नेछ, त्यसपछि मध्य र पूर्वी नेपालका भूभागमा असर गर्नेछ, जसका कारण त्यस क्षेत्रमा वर्षा हुनेछ भनेका छन् । पश्चिम भूभागमा भने त्यसको तुलनामा कम वर्षा हुनेछ । त्यस पछिको दुई/तीन दिनसम्म देशैभरि बदली भई केही स्थानमा भारी वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातका साथै एक÷दुई स्थानमा भारी हिमपातसमेत हुने सम्भावना छ । (गोरखापत्रबाट)
काठमाडौँ, ६ जेठ । अघिल्लो वर्ष २०.९ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाहमा यो वर्ष ४ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई रु. ६२६ अर्ब ९० करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैङ्कले सोमबार प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या १०.२ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३७.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ४.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ४.४ प्रतिशतले कमी आई रु. ७१३ अर्ब ११ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २०.९ प्रतिशतले बढेको थियो । (गोरखापत्रबाट)
एजेन्सी, ९ जेठ । भारत र चीनबीच फेरि तनाव बढेको छ । विवादित सीमा क्षेत्रमा दुवै देशले सैन्य उपस्थिति बढाएका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार लदाकमा भारत र चीन दुवैले फौजको उपस्थिति बढाएका छन् । चिनियाँ फौजले विवादित सीमा क्षेत्रको गल्वान उपत्यकाको नदी छेउमा टेन्ट गाँडेर निर्माण शुरु गरेपछि देमचोक, चुमार र दौलत बेग ओल्डी क्षेत्रमा भारतले फौज बढाएको छ ।
गल्वन क्षेत्र सन् १९६२ को भारत चीन युद्धको एउटा बिन्दु हो । त्यहाँ बेला बेलामा दुई देशबीच विवाद भइरहन्छ ।
यसअघि सिक्किमको पाङगोङ सोस्थित भारत-चीन सीमामा हालै झडप भएको थियो । उक्त झडप स्थानीय तहमा मिलाइएपनि दुई देशबीच सीमाको विषयमा तनाव बढेको देखिनथालेको छ ।
यसैगरी, नेपालले लिपुलेक हुँदै भारतले चीनतर्फको लिंकरोड खोलेकोमा आपत्ती जनाएपछि भारतीय सेनापति एम एम नरभानेले चीनतर्फ संकेत गर्दै उक्साएको आरोप लगाएका छन् । उनले गत शुक्रबार नेपालसँग कुनै सीमा विवाद नभएको र अहिले भएका गतिविधि कसैको उक्साहटमा भएको बताए । भारतको सुरक्षासम्बन्धी थिंक ट्यांकले यो समाचार छाप्दा सेनापति नरभानेले चीनतर्फ संकेत गरेको बताएका थिए ।-File Photo: Agency
काठमाडौं, जेठ ६ । सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको सहमतिसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा सहितको नयाँ नक्साको प्रस्ताव सोमबारको मन्त्रिपरिषद्ले पारित गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले सुगौली सन्धिअनुसारको नेपालको अन्तर्राष्ट्रिय सीमा कायम गर्दै नयाँ नक्सा जारी गर्ने भएको सरकारका प्रवक्ता डा। युवराज खतिवडाले मन्त्रिपरिषद्को बैठकपछि भने । ‘भूमि व्यवस्था मन्त्रालयद्वारा प्रस्तावित नेपालको अध्यावधिक नक्सा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ,’ खतिवडाले भने, ‘यो राजनीतिक नक्साले नेपालको उत्तर, पूर्व, दक्षिण, पश्चिमका अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक, प्रशासनिक प्रबन्ध पनि समेटिएको छ ।’
उनले यो नक्सा सबै किसिमका प्रशासनिक प्रबन्धमा प्रयोग गर्ने गरी लागू गर्ने गरी अगाडि बढाइने पनि बताए । निशान छाप, सांसदको लोगो, संविधानको पुस्तकदेखि सरकारी कार्यालय नयाँ नक्सामा विशेष त पश्चिमोत्तरी सीमा लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको रहने आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।
काठमाडौँ, ६ जेठ । पोखरा महानगरपालिका–१३ को वडा कार्यालय अगाडि बिहान ९ बजे नै मानिस जम्मा हुने गर्छन् । सामाजिक दूरी कायम गरेर वडाले लगाएको घेराभित्र उभिनेहरुको हातमा एउटा झोला पनि हुन्छ ।
उनीहरु सेवा लिन आएका भने होइनन् । बन्दाबन्दीका कारण हातमुख जोड्न समस्यामा परेकाहरु वडाले वितरण गरेको खाना खानका लागि त्यहाँसम्म आइपुगेका हुन् । पोखराको १३ नं वडाले बन्दाबन्दीका कारण बिहान बेलुकाको छाक टार्न समस्यामा परेकालाई लक्षित गरेर खाना वितरण गर्न थालेपछि विपन्न परिवारले वडामा गएर भोको पेट भर्ने गरेका छन् । सोही वडामा बस्दै आएका ३० वर्षीय मन विकले वडाले खाना वितरण गरेपछि भोको बस्नु नपरेको बताएका छन् । “ज्यामी काम गर्थें, बन्दाबन्दी भयो, अहिले भोको पेट भरिएको छ अब त काम गर्न पाए पनि हुने”, विकले भने ।
खानाको लाइमा बसेकी पार्वती परियारले पनि चार जनाको परिवारलाई बिहान–बेलुका वडाबाटै खाना लैजाने गरेको बताएका छन् । सोही ठाउँका खबहादुर विक पनि भोको पेट वडाध्यक्षले भरिदिएपछि खुशी हुनुहुन्छ । खाना पाए पनि सबैको एउटा चाहना छ, “बन्दाबन्दी सकियोस् काम गर्न पाइयोस्, भोको पेटको राग आफ्नै पसिनाले मेट्न पाइयोस् ।”
खानाका लागि लाइनमा पालो पर्खिरहहेकी सुन्तली विकले भने, “मलाई त काम गर्न कहिले पाइएला भनेर अत्यास लागेको छ, अहिले भोको पेट अध्यक्षले भर्ने भएको छ, तर सधैँ त हुन्न होला नि ? कहिले पानी पर्छ, कहिले हावा चल्छ, खाना लिन आउन पनि समस्या नै हुन्छ तर बाध्यताले आउनैपर्छ ।” उनले आफू र श्रीमान् मात्रै रहेकाले दुई जनालाई खाना लैजाने गरेको बताएका छन् । (रासस)
बाँके, कपिलवस्तु, रुपन्देही, जेठ ६ । क्वारेन्टाइन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो ।
तर बाँके नरैनापुर गाउँपालिकाको क्वारेन्टाइन हेर्दा लाग्छ, यहाँ परीक्षण होइन, मानिसहरूलाई थुन्नका लागि राखिएको छ । यहाँ क्वारेन्टाइनमा पालना गर्नुपर्ने कुनै नियम पालना भएको छैन, जसले गर्दा संक्रमण नभएकालाई पनि संक्रमण हुने निश्चितजस्तै छ ।
क्वारेन्टाइनमा बसेकाहरूबीच सामाजिक दूरी पालना गरिएको छैन । भारतबाट आएका युवा एउटै कोठामा आठ जना कोचिएर बस्ने गरेका छन् । उनीहरू बिछ्यौना नभएको भन्दै सुत्न घरै पुग्छन् र बिहान लुसुक्क आइपुग्छन् ।
यस्तो बेथितिपूर्ण स्थानीय क्वारेन्टाइनमध्येको एक हो– नरैनापुर–४ स्थित फतिमा मदरसाको क्वारेन्टाइन । यहाँ २३ जनालाई तीनवटा कोठामा खाँदेर राखिएको छ । मदरसामा शौचालय नभएकाले शौच गर्न खेतबारीमा पुग्छन् क्वारेन्टाइनमा बसेकाहरू । कतिपय शौच गरेर घरतिर जाने गरेको आजको कान्तिपुर दैनिकमा खवर छ ।
भक्तपुर, जेठ ६ । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनमा यहाँका तयारी पोसाक र जुत्ताका व्यापारीले अहिलेसम्म दुई करोडको नोक्सानी व्यहोरेका छन्। लकडाउनका कारण पसल खोल्न नपाउँदा मुसाले काटिएर र ढुसीले मक्किएर आफूहरुले नोक्सानी व्यहोर्नुपरेको व्यापारीहरू बताउँछन्।
लकडाउनका कारण गत चैत ११ गतेदेखि पसल खुलेका छैनन्। पसल खोल्न नपाउँदा तयारी लत्तााकपडा तथा जुत्तााचप्पल नासिने क्रम बढेको खवर आजको अन्नपूर्ण पोष्ट्ले छापेको छ ।
काठमाडौं, जेठ ६ । कोरोना भाइरस महाव्याधिले २५ प्रतिशत वैदेशिक रोजगारी गुम्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार प्रतिवेदन सार्वजनिक गरेको छ ।
संघले कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्दार गरी नेपाल फर्काउनु पर्ने श्रमिकको संख्या करिब २० देखि २५ प्रतिशत रहेको संघले जनाएको छ ।
भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिब ६ लाख नेपाली श्रमिक नेपाल फर्काउनुपर्ने जनाएको छ । दुई वर्षे करार अवधि वा भिसाको समयावधि समाप्त भई स्वदेश फर्कने श्रमिकको संख्या करिब ६० प्रतिशत रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।