काठमाडौँ, ६ जेठ । बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द(शिल) गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन् । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा छ वटा वडा छन् ।
यसको उत्तरपूर्वमा राप्तीसोनारी गाउँपालिका जोडिएको छ । सङ्क्रमण न्यूनिकरणका लागि गाउँपालिकामा अत्यावश्वक कामबाहेक पूर्ण रुपमा आवतजावत ठप्प हुने गरी बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताएका छन् । उनका अनुसार नरैनापुरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । (रासस)
काठमाडौं, जेठ ६। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नहरुको जावाफ दिने भएका छन् । शुक्रबार संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन्।
आइतबारदेखि प्रतिनिधि सभामा सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल सोमबार सकिएपछि आज प्रधानमन्त्री ओलीले छलफलका क्रममा उठेका प्रश्नको संसदलाई जवाव दिने भएका हुन् छलफलका क्रममा प्रतिपक्षमा रहेका सवै राजनीतिक दलहरुले नीति तथा कार्यक्रमको विरोध जनाएका छन् ।
आज मध्यान्ह १२ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि राष्ट्रपतिबाट प्रस्त्तुत नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।
काठमाडौँ, ५ जेठ । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकका लागि २० अर्ब रुपियाँको राहत प्याकेज ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको छ ।
कोभिड १९ का कारण पर्यटन क्षेत्रमा परेको असरबाट यस क्षेत्रलाई बचाउन आवश्यक उपायका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बोर्डले उक्त सुझावसहितको प्रतिवेदन बुझाएको हो । उक्त राहत प्याकेज प्राप्त गर्न बोर्डले केही निश्चित सर्त पनि सुझावका रूपमा प्रस्तुत गरेको छ ।
पर्यटन व्यवसायीले यस्तो राहत प्राप्त गर्न पर्यटन क्षेत्रमा कार्यरत प्रमाणसहित कर्मचारीको अन्तिम तीन महिनाको तलब बैङकमा जम्मा गरेको प्रमाण, स्थायी लेखा नम्बर (प्यान) अथवा आयकर र सामाजिक सुरक्षा कोषमध्ये कुनै एक प्रमाण पेस गर्नुपर्ने बोर्डले सुझाव दिएको छ । यसो गर्नसके कर्मचारी एवं श्रमिकको जीविकोपार्जनमा सहयोग पुग्ने, पलायन रोक्ने र भविष्यमा पनि कर्मचारी अभाव नहुने बोर्डको विश्वास छ । (गोरखापत्रबाट)
काठमाडौं, जेठ ५ । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल–भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान खुले लगत्तै वार्ता गर्ने अनौपचारिक जानकारी दिएको छ।
भर्चुअल वार्ताका बारेमा नेपालले राखेको प्रस्तावलाई भने भारतले अस्वीकार गर्दै यो विषय बसेर छलफल गर्नुपर्ने स्पष्ट पारेको छ।‘अन्तर्राष्ट्रिय उडान खुलेको एक दुई दिनमा नै हामी वार्तामा बस्नेछौं’, भारतको अनौपचारिक धारणा उद्धृत गर्दै परराष्ट्रका एक अधिकारीले जानकारी दिँदै भने, ‘नेपाल–भारत सीमाको अधितम विषय वार्ताबाट नै समाधान भएकाले विवाद रहेको सुस्ता र कालापानी क्षेत्र बारे हामी पुनः वार्ता गरी टुंगोमा पुग्नुपर्छ।’
भारतीय पक्षले लामो समय लगाएरै भए पनि वार्ताका लागि सकारात्मक जवाफ दिनुलाई आफ्नो पहलकदमी र दलहरूको एकवद्ध स्वरलाई कारक मानेका छन् परराष्ट्र अधिकारीले।
नेपाल-भारतबीच सीमाको विषयमा सल्टाउन बाँकी रहेको सीमालगायतको विषयमा अन्तर्राष्ट्रिय उडान खुलेको एक साताभित्र वार्ता गरिसक्ने गरी छलफल भइरहेको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
काठमाडौँ, ५ जेठ । धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुईलाई हतियारसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २० वर्षीय सुनिलकुमार साह रहेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले विशेष सूचनाका आधारमा शहीदनगर नगरपालिका–३ झण्डा चोकबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले ज १२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा हतियार फेला परेको बताएका छन् । (गोरखापत्रबाट)
काठमाडौं, जेठ ५ । नापी विभागले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ। विभागले नक्सा दुई महिनाअघि नै तयार पारेर भूमि व्यवस्था मन्त्रालयलाई बुझाइसकेको छ।
संसद्को राज्य व्यवस्था समितिले भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा बनाई सार्वजनिक गर्न पटकपटक निर्देशन दिए पनि सरकारले भने अझै त्यस्तो नक्सा सार्वजनिक गरेको छैन।
भूमि व्यवस्था मन्त्रालयका सचिव केदार न्यौपानेले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा विभागबाट मन्त्रालयमा आइपुगेको पुष्टि गरे। सरकारले हालै सार्वजनिक आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिबद्धता गरेको थियो।
नापी विभागले नयाँ नक्सामा भारतबाट अतिक्रमित करिब ३ सय ३५ वर्ग किमि भूभाग समेटेको आजको नागरिक दैनिकमा खवर छ ।
काठमाडौं, जेठ ५ । लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरु क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम जोखिएको छ ।
सरकारले गत चैत ११ गतेदेखि गर्दै आएको बन्दाबन्दीको समयमै विभिन्न ढंगबाट काठमाडौं उपत्यकामा संक्रमित जिल्लाबाट हजारौं व्यक्ति भित्रिएको पाइएको छ । ती क्वारेन्टाइनबाहिर नै रहेको र कतिपयमा चेकजाँचका क्रममा कोरोना संक्रमण भएको पाइएको छ ।
गत बिहीबारसम्म लकडाउनमा प्रमुख जिल्ला अधिकारीले जारी गर्ने पासका आधारमा एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पाइएको थियो । त्यस समयमा निजी सवारीमार्फत सयौं व्यक्ति काठमाडौं उपत्यका भित्रिएको आजको राजधानी दैनिकमा खवर छ ।
काठमाडौं, जेठ ५ । भारतले नेपाली भूमि अतिक्रमण गरेको क्षेत्रनजिकै दार्चुलाको व्यास गाउँपालिका–२, घाटीबगरमा मेजर (सेनानी) को नेतृत्वमा सेनाको फौज बस्ने भएको छ ।
हालै राखिएको सशस्त्रको छाङरुस्थित बीओपीबाट ३२ किमि तल घाटीबगरमा सेनाको क्याम्प बस्न लागेको आजको कान्तिपुर दैनिकमा खवर छ ।
काठमाडौं, जेठ ५ । सरकारले कोरोना महामारीको उपचारकै लागि ‘लेभल–३’ अस्पताल भनेर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई तोके पनि दुई जना संक्रमित भेटिएसँगै त्यहाँभित्र विभिन्न विभागबीच समन्वय अभाव रहेको पाइएको छ ।
एक सात वर्षीया बालिका तथा अर्का एक बिरामी कुरुवामा कोरोना संक्रमण देखिएसँगै अस्पतालभित्रका असमञ्जस्यहरू बाहिर देखिएका हुन् ।
अस्पतालमै वैशाख २४ मा शिशुलाई जन्म दिएकी एक महिलाको कोभिड–१९ कै कारण मृत्यु भएपछि अस्पताल व्यवस्थापन थप दबाबमा परेको हो ।
अन्तर विभाग समन्वयको अभावकै कारण अस्पतालले गठन गरेको कोभिड–१९ कमिटीले बनाएका उपचार तथा व्यवस्थापन प्रोटोकलहरूको पालना हुन नसकेको आजको कान्तिपुर दैनिकमा खवर छ ।
काठमाडौं, ४ वैशाख । सरकारले आज लकडाउन १५ दिनका लागि थपेको छ । मन्त्रिपरिषदको बैठकले लकडाउन थपेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्रीको कार्यभार समेत सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने भएको छ । खतिवडाले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने बताए । त्यसरी पास विना रोकथामको उपायसहित कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटी कायम रहेको बताए ।
नयाँ मोडालिटीका बारे छलफल भइरहेको र सुरक्षित तरिकाले श्रम गर्न दिने तयारी भएको खुलासा गरे ।
पास विना सञ्चालन गर्न पाउने सवारी साधन
एम्बुलेन्स, शवबाहन र दमकल
यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरु प्रेस काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु
स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु, औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु
खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति
फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति
ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु
यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ
यसबाहेक कोरोना भाइरसको रोकथामका लागि ध्यान दिई निर्माण कार्य गर्न र निर्माण सामाग्री ढुवानी गर्न दिइने भएको छ ।
