generalnews
||Power News Asia||

आजको समाचार

एक हजार ७५३ जनाको स्वाब जुम्लामा ल्याइयो

समाचार


काठमाडौँ, ७ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हवाईमार्गमार्फत स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि जुम्ला ल्याएको छ ।

हुम्लाका पाँच स्थानबाट ६००, कालिकोटको नौ स्थानबाट ६५३, मुगुको दुई स्थान र केही गाडीमा ल्याएको सहित ५०० गरेर एक हजार ७५३ जनाको स्वाब जुम्ला ल्याइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिएका छन् । जुम्ला ल्याइएको स्वाब भने दर्ता गरेर परीक्षण गरिने प्रयोगशाला प्रमुख विवेक पुनमगरले बताएका छन् । यसअघि जुम्लाको ८४७ जनाको एकै दिन स्वाब सङ्कलन गरेर परीक्षण गरिएको नतिजा नेगेटिभ आएको छ ।

स्वाब सङ्कलन गर्न चिकित्सकको टोलीलाई गत वैशाख २८ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले जुम्ला पुगेर निर्देशन दिएपछि हेलिकोप्टरमार्फत टोली जिल्ला–जिल्ला खटाइएको थियो । प्रतिष्ठानले यसअघि जोखिम जिल्ला बाहिरबाट आएका व्यक्ति, स्वास्थ्यकर्मी र पत्रकारको एक हजार ३१२ जनाको जुम्लामै पिसीआर परीक्षण गरी नतिजा नेगेटिभ आएको छ । त्यसअघि पनि ३२४ जनाको हेलिकोप्टरमार्फत काठमाडौँ स्वाब पठाएर परीक्षण गराइएको थियो । (रासस )

कर्णाली नदीले तीव्र कटानी गरेपछि सीमास्तम्भ जोखिममा

समाचार


लम्की, ७ जेठ : कैलालीको टीकापुर–८ श्रीलङ्कास्थित कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटानी गरिरहेको छ । नदीले तीव्र कटानी गरेपछि सीमा क्षेत्रमा रहेका सीमास्तम्भसमेत जोखिममा छन् ।

यो वर्षको नदी कटानले ७०१÷१ नंको सहायक सीमास्तम्भ नदीमा मिसिएको छ । नदीले दुई साताअघिदेखि कटान शुरु गरेको हो । नदीले ३०० मिटरको दूरीमा रहेको सहायक सीमा कटान बढेपछि नदीमा मिसिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो । “नदी कटान तीव्र भएको छ, एक साताअघि अनुगमन गरेका थियौँ”, नगरप्रमुख रावलले भन्नुभयो, “साता नबिल्दै स्तम्भ नदीमा मिसियो ।”

प्रमुख रावलले चाहेर पनि सीमास्तम्भ जोगाउन नसकिएको बताउनुभयो । “नेपालतर्फको थुप्रै भूभाग नदीले बगाइसकेको छ”, रावल भन्नुहुन्छ, “अहिले नदी बगिरहेको ठाउँमा कुनै बेला मानवबस्ती थियो ।” यो नदी कुनै बेला कैलाली र बर्दियाको सीमा हुँदै बग्थ्यो । विसं २०४० मा नदीले धार परिवर्तन गरेर कैलालीतर्फ मोडिएको स्थानीयवासी बताउँछन् । विसं २०४० मा आएको बाढीले कैलालीका थुप्रै गाउँ नदीले बगायो । तिनै गाउँ अहिले बगर बनेका स्थानीयवासी झपट बुढाले बताउनुभयो ।

अहिलेसम्म टीकापुर नगरपालिकाभित्रका चार मुख्य र ११ सहायक सीमास्तम्भ नदीले बगाएको छ । तीमध्ये धेरैजसो मोहना नदीको कटानले बगाएको सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज चन्द्रदेव भट्टले बताउनुभयो । उहाँले नदी कटानले सीमास्तम्भ हराउने क्रम जारी रहेको जानकारी दिनुभयो ।

नगरपालिकाभित्रका मुख्य सीमास्तम्भ ७०१, ७०३, ७०४ र ७०६ नदीमा मिसिएका छन् । त्यस्तै सहायक सीमास्तम्भ ७०२÷२ देखि ७०२÷७ सम्म, ७०४÷३, ७०४÷४, ७०४÷६ र ७०५÷३ समेत बेपत्ता अवस्थामा रहेको दुई देशको सीमा सर्भे टोलीको रिपोर्टमा उल्लेख छ । तीमध्ये धेरैजसो सीमास्तम्भ पुनःनिर्माणको समस्या भइरहेको छ । “सीमास्तम्भ भएको ठाउँमा नदी बगिरहेको छ”, सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज भट्टले भन्नुभयो, “कुन ठाउँमा पुनःनिर्माण गर्ने भन्ने नै अन्योल छ ।”

कैलालीमा जम्मा २८२ सीमास्तम्भ रहेका छन् । तीमध्ये ५३ मुख्य र बाँकी सहायक सीमास्तम्भ भएको नेपालतर्फको टोली नं ४ का टोलीनेता सुदर्शन धामीले जानकारी दिनुभएको छ । “हामी मर्मतको काम गरिरहेका छौँ”, धामीले भन्नुभयो, “दुई देश नेपाल र भारत मिलेर मर्मतको काम भइरहेको छ । कतिपय सीमास्तम्भ नदी कटानका कारण बेपत्ता छन् । बेपत्ता भएका सीमास्तम्भ कसरी निर्माण गर्नु ?”रासस File photo

कोरोना पुष्टि भएका युवकको अवस्था गम्भीर, अस्पताल सिल

समाचार


लक्ष्मण पौडेल, भैरहवा । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएका युवक गुल्मीको मदाने गाउँपालिका – ६ का स्थायी बासिन्दा रहेको पाइएको छ ।

रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत ती युवकको पिसिआर परीक्षणका लागि यही जेठ २ गते स्वाब सङ्कलन गरी भैरहवास्थित प्रयोगशाला ल्याइएको थियो । सङ्कलित स्वाब परीक्षण गर्दा पोजिटिभ पाइएको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए ।

पेसाले शिक्षक रहेका ती युवक केही समयदेखि जन्डिस रोगबाट ग्रसित रहेको पारिवारिक स्रोतले बताएको छ । उनी जेठ १ गते जन्डिसकै उपचारका रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पताल आएका थिए ।

जण्डिसको औषधि खाइरहेका उनलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय मेडिकलमा देखाइएको थियो । त्यहाँबाट उपचारका लागि मोटरसाइकलमा सन्धिखर्क पु¥याइयो । सन्धिखर्क पु¥याएर त्यहाँ रहेको छायाँ पोलिक्लिनिकमा पनि सामान्य चेकजाँच गरिएको थियो । तर अवस्था थप जटिल बनेपछि एम्बुलेन्स खोजेर सीधै रुपन्देहीको क्रिमसन अस्पताल ल्याइएको थियो ।

जेठ १ गते क्रिमसन अस्पताल ल्याइएका उनलाई तत्कालै आइसियूमा राखेर उपचार सुरु गरिएको थियो । आफन्तले जन्डिसको बिरामी बताएको र ज्वरो पनि नआएकाले सुरुमा कोरोना आशङ्का नगरी अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख मनमोहन भट्टराईले बताए। चिकित्सकहरूले भने एक्युट इन्सेफ्लाईटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुईदिन आईसियूमा राखेर उपचार गरेका थिए ।

आइसियूमा राखेर उपचार गर्दा पनि निको नभएपछि जेठ ३ गते भेन्टिलेटरमा राखिनुका साथै कोरोनाको आशङ्कामा स्वाब सङ्कलन गरिएको थियो । कोरोना पुष्टि भएका युवकलाई भैरहवाको भीम अस्पताल लगिने बताइए पनि राति अबेरसम्म लगिएको छैन । युवकको अवस्था भने गम्भीर रहेको अस्पतालले जनाएको छ । क्रिमसन अस्पतालले मुलुकमा लकडाउन भएदेखि नै ज्वरोका बिरामी नहेर्ने भनेर ब्यानर नै टाँस गरेको थियो । पछि उक्त ब्यानर हटाइएको थियो । “जन्डिसको बिरामीमा देखिने लक्षण देखिएका कारण अस्पतालमा भर्ना गरिएको हो” प्रशासकीय अधिकृत भट्टराईले भने।

अस्पतालमा उपचाररत युवकमा कोरोना सङ्क्रमण भेटिएपछि सोमबार साँझदेखि नै क्रिमसन अस्पताल सिल गरिएको छ । अस्पताल सिल गरिएपछि कसैलाई पनि अस्पतालमा आवतजावत गर्न दिइएको छैन । अस्पतालभित्र स्वास्थ्यकर्मी, उपचाररत बिरामी र तिनका कुरुवाहरू रहेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अब परीक्षणको दायरा बढाउनुपर्ने बताएको छ । नगर प्रमुख वासुदेव घिमिरेले अब लकडाउनलाई थप कडा पारिने र परीक्षणको दायरा बढाइने बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सङ्क्रमित युवकको सम्पर्कमा करिब एक दर्जन व्यक्तिहरू रहेको पाइएको भन्दै तिनीहरूलाई तत्काल परीक्षण गरिने र अस्पतालमा रहेका स्वास्थ्यकर्मी र बिरामीहरूको पनि परीक्षण गरिने जानकारी दिए । “ती युवकको सम्पर्कमा रहेका व्यक्तिहरू पत्ता लागिसकेका छन्, अब उनीहरूको तत्काल परीक्षण हुन्छ”उनले भने।-गोरखापत्रबाट

नआत्तिनुहोस् ! कोभिड-१९ को भ्याक्सिन ९ महिनाभित्र आउँदैछ

समाचार


एजेन्सी, ६ जेठ । विश्वभर कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको प्रतिष्पर्धा चलिरहेको छ । विश्वका एक सयभन्दा बढी प्रयोगशाला यसको विकासमा सक्रिय भएका छन् । अरबौं डलर खर्च भइरहेको छ । भ्याक्सिन विकासका जानकार वैज्ञानिकहरु अहोरात्र खटिइरहेका छन् । जसले सकारात्मक सम्भावनाहरु देखाइरहेको छ ।

अमेरिकामा कोभिड १९ भ्याक्सिनको परीक्षणको नतिजा सफलतातर्फ उन्मुख भएको छ । मोर्डना कम्पनिले गरिरहेको परीक्षणले नतिजा दिने देखाउँदैछ । प्रारम्भिक परिणाम अनुसार कोभिड १९ को परीक्षणको भ्याक्सिनले सकारात्मक नतिजा दिएको हो ।

अमेरिकाको बायोटेक कम्पनि मोर्डनाले त्यहाँको नेस्नल इन्स्टिच्युट अफ हेल्थसँग मिलेर कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । सीएनएनका अनुसार यदि भविष्यमा अध्ययन राम्ररी बढेमा सन् २०२१ को जनवरी अगावै भ्याक्सिन सार्वजनिक रुपमा उपलब्ध हुनेछ । यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । त्यस अगाडि भ्याक्सिनको सबै चरणको परीक्षण सफल हुनुपर्नेछ ।

मोर्डनाका प्रमुख डा. ताल जाक्सले सीएनएनसँग भने, यो असाध्यै राम्रो खबर हो । उनले सफलतातर्फ बढिरहेको बताए ।

प्रारम्भिक तथ्यांक अनुसार पहिलो चरणको क्लिनिकल परीक्षणबाट थोरै मानिसलाई लिएर भ्याक्सिन सुरक्षित र रोगप्रतिरोधात्मक क्षमताको प्रतिक्रिया प्राप्त गर्ने अध्ययन गरिएको थियो । परीक्षणले भ्याक्सिनलाई रोक्ने पाइएको मोर्डनाका प्रमुख जाक्सले बताएका छन् । रिसर्चरहरु निकै उत्साही भएका छन् ।

अब मोर्डनाले दोस्रो चरणको परीक्षण शुरु गर्ने छ । तेस्रो चरणको परीक्षण जुलाईमा हुनेछ । जसमा हजारौं मानिसहरुमा परीक्षण हुनेछ । कोभिड १९ रोकथाममा सफलता हासिल हुनुका साथै मानिसको स्वास्थ्यलाई नकारात्मक असर नगरेमा यसको सार्वजनिक प्रयोग शुरु गरिनेछ ।

यसैगरी, रुस, भारत, चीन, इजरायल, बेलायत, अष्ट्रेलियालगायतका मुलुकका कम्पनिहरु पनि भ्याक्सिन विकासमा जुटिरहेका छन् । सबैले सफलताको संकेत गरेका छन् । विश्वका चर्चित विश्वविद्यालयहरु पनि भ्याक्सिनको विकासमा लागेका छन् ।-File Photo Source: Agency

शक्तिशाली अम्पुन चक्रवात आउँदै

समाचार


काठमाडौँ, ६ जेठ । बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ ।

अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ शक्तिशाली हुने क्रममा मङ्गलबारबाट पूर्वी नेपालको मौसममा बदली हुँदै नेपाल प्रवेश गर्ने महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले बताएका छन् । उनका अनुसार त्यस चक्रवातको गति उत्तरपश्चिम हुँदै अघि बढिरहेको छ ।

उनले भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पार्नेछ, त्यसपछि मध्य र पूर्वी नेपालका भूभागमा असर गर्नेछ, जसका कारण त्यस क्षेत्रमा वर्षा हुनेछ भनेका छन् । पश्चिम भूभागमा भने त्यसको तुलनामा कम वर्षा हुनेछ । त्यस पछिको दुई/तीन दिनसम्म देशैभरि बदली भई केही स्थानमा भारी वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातका साथै एक÷दुई स्थानमा भारी हिमपातसमेत हुने सम्भावना छ । (गोरखापत्रबाट)

रेमिट्यान्स आप्रवाहमा चार प्रतिशतले कमी

समाचार


काठमाडौँ, ६ जेठ । अघिल्लो वर्ष २०.९ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाहमा यो वर्ष ४ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई रु. ६२६ अर्ब ९० करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैङ्कले सोमबार प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या १०.२ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३७.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ४.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ४.४ प्रतिशतले कमी आई रु. ७१३ अर्ब ११ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २०.९ प्रतिशतले बढेको थियो । (गोरखापत्रबाट)

भारत-चीन तनाव, विवादित सीमाक्षेत्रमा सैन्य फौज थपिए

समाचार


एजेन्सी, ९ जेठ । भारत र चीनबीच फेरि तनाव बढेको छ । विवादित सीमा क्षेत्रमा दुवै देशले सैन्य उपस्थिति बढाएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार लदाकमा भारत र चीन दुवैले फौजको उपस्थिति बढाएका छन् । चिनियाँ फौजले विवादित सीमा क्षेत्रको गल्वान उपत्यकाको नदी छेउमा टेन्ट गाँडेर निर्माण शुरु गरेपछि देमचोक, चुमार र दौलत बेग ओल्डी क्षेत्रमा भारतले फौज बढाएको छ ।
गल्वन क्षेत्र सन् १९६२ को भारत चीन युद्धको एउटा बिन्दु हो । त्यहाँ बेला बेलामा दुई देशबीच विवाद भइरहन्छ ।

यसअघि सिक्किमको पाङगोङ सोस्थित भारत-चीन सीमामा हालै झडप भएको थियो । उक्त झडप स्थानीय तहमा मिलाइएपनि दुई देशबीच सीमाको विषयमा तनाव बढेको देखिनथालेको छ ।

यसैगरी, नेपालले लिपुलेक हुँदै भारतले चीनतर्फको लिंकरोड खोलेकोमा आपत्ती जनाएपछि भारतीय सेनापति एम एम नरभानेले चीनतर्फ संकेत गर्दै उक्साएको आरोप लगाएका छन् । उनले गत शुक्रबार नेपालसँग कुनै सीमा विवाद नभएको र अहिले भएका गतिविधि कसैको उक्साहटमा भएको बताए । भारतको सुरक्षासम्बन्धी थिंक ट्यांकले यो समाचार छाप्दा सेनापति नरभानेले चीनतर्फ संकेत गरेको बताएका थिए ।-File Photo: Agency

अब लिम्पियाधुरा सहितको नक्सा

समाचार


काठमाडौं, जेठ ६ । सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको सहमतिसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा सहितको नयाँ नक्साको प्रस्ताव सोमबारको मन्त्रिपरिषद्ले पारित गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले सुगौली सन्धिअनुसारको नेपालको अन्तर्राष्ट्रिय सीमा कायम गर्दै नयाँ नक्सा जारी गर्ने भएको सरकारका प्रवक्ता डा। युवराज खतिवडाले मन्त्रिपरिषद्को बैठकपछि भने । ‘भूमि व्यवस्था मन्त्रालयद्वारा प्रस्तावित नेपालको अध्यावधिक नक्सा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ,’ खतिवडाले भने, ‘यो राजनीतिक नक्साले नेपालको उत्तर, पूर्व, दक्षिण, पश्चिमका अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक, प्रशासनिक प्रबन्ध पनि समेटिएको छ ।’

उनले यो नक्सा सबै किसिमका प्रशासनिक प्रबन्धमा प्रयोग गर्ने गरी लागू गर्ने गरी अगाडि बढाइने पनि बताए । निशान छाप, सांसदको लोगो, संविधानको पुस्तकदेखि सरकारी कार्यालय नयाँ नक्सामा विशेष त पश्चिमोत्तरी सीमा लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको रहने आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।

वडावासीको पेट भर्दै वडाध्यक्ष लामा, दैनिक एक हजारलाई खाना

समाचार


काठमाडौँ, ६ जेठ । पोखरा महानगरपालिका–१३ को वडा कार्यालय अगाडि बिहान ९ बजे नै मानिस जम्मा हुने गर्छन् । सामाजिक दूरी कायम गरेर वडाले लगाएको घेराभित्र उभिनेहरुको हातमा एउटा झोला पनि हुन्छ ।

उनीहरु सेवा लिन आएका भने होइनन् । बन्दाबन्दीका कारण हातमुख जोड्न समस्यामा परेकाहरु वडाले वितरण गरेको खाना खानका लागि त्यहाँसम्म आइपुगेका हुन् । पोखराको १३ नं वडाले बन्दाबन्दीका कारण बिहान बेलुकाको छाक टार्न समस्यामा परेकालाई लक्षित गरेर खाना वितरण गर्न थालेपछि विपन्न परिवारले वडामा गएर भोको पेट भर्ने गरेका छन् । सोही वडामा बस्दै आएका ३० वर्षीय मन विकले वडाले खाना वितरण गरेपछि भोको बस्नु नपरेको बताएका छन् । “ज्यामी काम गर्थें, बन्दाबन्दी भयो, अहिले भोको पेट भरिएको छ अब त काम गर्न पाए पनि हुने”, विकले भने ।

खानाको लाइमा बसेकी पार्वती परियारले पनि चार जनाको परिवारलाई बिहान–बेलुका वडाबाटै खाना लैजाने गरेको बताएका छन् । सोही ठाउँका खबहादुर विक पनि भोको पेट वडाध्यक्षले भरिदिएपछि खुशी हुनुहुन्छ । खाना पाए पनि सबैको एउटा चाहना छ, “बन्दाबन्दी सकियोस् काम गर्न पाइयोस्, भोको पेटको राग आफ्नै पसिनाले मेट्न पाइयोस् ।”

खानाका लागि लाइनमा पालो पर्खिरहहेकी सुन्तली विकले भने, “मलाई त काम गर्न कहिले पाइएला भनेर अत्यास लागेको छ, अहिले भोको पेट अध्यक्षले भर्ने भएको छ, तर सधैँ त हुन्न होला नि ? कहिले पानी पर्छ, कहिले हावा चल्छ, खाना लिन आउन पनि समस्या नै हुन्छ तर बाध्यताले आउनैपर्छ ।” उनले आफू र श्रीमान् मात्रै रहेकाले दुई जनालाई खाना लैजाने गरेको बताएका छन् । (रासस)

क्‍वारेन्टाइनमा भद्रगोलः शौच गर्न खेतमा, सुत्‍न घरमा

समाचार


बाँके, कपिलवस्तु, रुपन्देही, जेठ ६ । क्वारेन्टाइन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो ।

तर बाँके नरैनापुर गाउँपालिकाको क्वारेन्टाइन हेर्दा लाग्छ, यहाँ परीक्षण होइन, मानिसहरूलाई थुन्नका लागि राखिएको छ । यहाँ क्वारेन्टाइनमा पालना गर्नुपर्ने कुनै नियम पालना भएको छैन, जसले गर्दा संक्रमण नभएकालाई पनि संक्रमण हुने निश्चितजस्तै छ ।

क्वारेन्टाइनमा बसेकाहरूबीच सामाजिक दूरी पालना गरिएको छैन । भारतबाट आएका युवा एउटै कोठामा आठ जना कोचिएर बस्ने गरेका छन् । उनीहरू बिछ्यौना नभएको भन्दै सुत्न घरै पुग्छन् र बिहान लुसुक्क आइपुग्छन् ।

यस्तो बेथितिपूर्ण स्थानीय क्वारेन्टाइनमध्येको एक हो– नरैनापुर–४ स्थित फतिमा मदरसाको क्वारेन्टाइन । यहाँ २३ जनालाई तीनवटा कोठामा खाँदेर राखिएको छ । मदरसामा शौचालय नभएकाले शौच गर्न खेतबारीमा पुग्छन् क्वारेन्टाइनमा बसेकाहरू । कतिपय शौच गरेर घरतिर जाने गरेको आजको कान्तिपुर दैनिकमा खवर छ ।