काठमाडौं, जेठ ५ । सोमबार रौतहट र बारामा नौ जना कोरोना संक्रमित थपिएका छन् ।
आज फेला परेको नयाँ संक्रमितहरु मध्ये रौतहटको इशनाथ नगरपालिकाका ८ जना र बाराको करैयामाईमा एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या तीन सय चार जना पुगेको छ । हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका छन् ।
काठमाडौं, जेठ ५ । विदेशबाट प्राप्त हुने रेमिट्यान्स चैतमा भारी मात्रामा घटेकोे छ। चालु वर्षका अघिल्ला ८ महिनामा मासिक औसत ७४ अर्ब रेमिट्यान्स भित्रिने गरेको नेपालमा चैतमा ३४ अर्ब ४८ करोड मात्रै भित्रिएको छ।
यो करिब ५५ प्रतिशतको गिरावट हो। फागुनको तुलनामा यो अझै उच्च दरको गिरावट हो। फागुनमा ७९ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको थियो।
विश्वभर कोरोना भाइरस महामारीको असर बढ्न थालेपछि चैतदेखि रेमिट्यान्स आयमा भारी गिरावट आउने अनुमान गरिएको थियो। रेमिट्यान्ससँगै अन्तर्रा्ष्ट्रिय व्यापार खुम्चिएको पनि राष्ट्र बैंकले बताएको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
काठमाडौं, जेठ ४ । सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ। यसको औपचारिक निर्णय उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिले गर्नेछ।
विदेशमा अलपत्र नेपालीले घर फर्कन पाँउ भन्दै दूतावास घेर्ने, समाजिक सञ्जालमा लेख्ने, सरकारलाई खुला पत्र पठाउने र सञ्चार माध्यमले पनि बारम्बर कुरा उठाउन थालेपछि सरकार उनीहरुलाई फिर्ता ल्याउन बाध्य भएको हो।
सर्वोच्च अदालत, संघीय संसद्का दुवै सदन तथा संसदीय समितिले पनि अलपत्र नेपालीको उद्दार गर्न सरकारलाई निर्देशन दिइसकेको छन्।प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी मुलुकमा पालै–पालो टेलिफोन गरी त्यहाँका नेपालीलाई ब्यवस्थापन गर्न आग्रह गरे पनि त्यसको प्रभाव नपरेको भन्दै त्यहाँका नेपालीको पीडा सार्वजनिक हुने क्रम नरोकिएपछि सरकार उद्दारका लागि अघि बढेको हो।
खाडी मुलुक र मलेसियाले बिना भिसाका र कामबाट बिदा भएर अलपत्र नेपालीलाई घर फर्काउन लागेपछि उनीहरुलाई स्वदेश ल्याउन सरकार बाध्य भएको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।
काठमाडौं, जेठ ४ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबारदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पास उपलब्ध गराउने भएको छ। यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी पास जारी गर्ने मापदण्ड बनाएर विभागमा दर्ता भएका फर्म तथा कम्पनीलाई पुनः नयाँ पासको व्यवस्था गरिएको जनाइएको छ।
दर्ता भएका फर्मले आफू सदस्य रहेको सम्बन्धित छाता संस्थाबाट प्रयोजन खुलाएर विभागमा निवेदन दिएपछि मात्र सवारी पास अनुमति दिने व्यवस्था गरिएको सूचना अधिकारी रवीन्द्र आचार्यले बताए। उनका अनुसार फर्म वा कम्पनीले नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग व्यवसायी महासंघ, नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल चेम्बर अफ कमर्सबाट विभागले उपलब्ध गराएको ढाँचामा प्रयोजन खुलाएर निवेदन दिएपछि विभागले औचित्यका आधारमा व्यहोरा खोली आवश्यक संख्यामा नीलो रंंगको पास जारी गर्नेछ।
विभागले स्थानीय तहले तोकेको समयमा वा समय नतोकेकामा बिहान र साँझ व्यावसायिक कारोवार सञ्चालनमा ल्याउने, कारोवार गर्दा मूल्यसूची राख्ने, बिलबिजक जारी गर्ने र म्याद गुज्रेका सामान अलगै राखी वितरकलाई नै फिर्ता गर्ने प्रबन्ध मिलाउन आग्रह गरेको छ।
बिक्रीस्थलमा काम गर्ने व्यक्तिलाई सामाजिक दूरी कायम गरी मास्क, पञ्जा, स्यानिटाइजर तथा नियमित हात धुन र सकभर विद्युतीय कारोवार गरी ग्राहकलाई सेवाको व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ। एम्बुलेन्स, शव वाहन एवं औषधि तथा औषधिजन्य सामग्री, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्यास, खाद्य वस्तु, निर्माण सामग्रीलगायत सवारी साधनलाई सवारी पास आवश्यक नपर्ने जनाइएको छ। रासस
वीरगञ्ज, जेठ ४ । स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा क्वारेन्टाइनका शंकास्पद व्यक्ति भागे प्रहरीले पहिला ‘सामान्य बल’ प्रयोग गर्नेछन् ।
त्यति हुँदा पनि नियन्त्रणमा नआए गोलीसमेत चलाउन सक्ने निर्णय गरिएको उनले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
काठमाडौँ, ४ जेठ । लकडाउनका कारण पेट्रोलियम पदार्थको कारोबार घटेपछि नेपाल आयल निगमले निजी क्षेत्रका बिक्रेतालाई हप्तामा एकपटक मात्र आपूर्तिको व्यवस्था गर्ने भएको छ ।
पेट्रोलियम पदार्थको कारोबार जम्मा ३० प्रतिशतमा झरेपछि सहकारी तथा सरकारी क्षेत्रबाट सञ्चालन भएका बिक्रेतालाई दैनिक र निजीलाई हप्ताको एकपटक आपूर्तिको व्यवस्था गर्ने भएको हो ।
निगमले कोरोना भाइरसको जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीसाधनका चालक तथा सहचालकका साथै प्रत्येक ट्याङ्करलाई मानव बस्तीदेखि टाढा राख्ने प्रबन्ध मिलाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । (गोरखापत्रबाट)
काठमाडौँ, ४ जेठ । कोरोना भाइरस भित्रिन नदिन गरिएको बन्दाबन्दीले गर्दा पश्चिम नेपालको प्रमुख नाकाका रूपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन कार्य प्रभावित भएको छ ।
चालू आर्थिक वर्ष २०७६/७७ को वैशाख मसान्तसम्म बन्दाबन्दीकै कारण भन्सार कार्यालयले लक्ष्यभन्दा तीन अर्ब ४८ करोड ५३ लाख २२ हजार रुपियाँ कम राजस्व सङ्कलन गरेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिएका छन् ।
भन्सार प्रमुख निरौलाका अनुसार सो अवधिमा १२ अर्ब ७६ करोड ८८ लाख ७३ हजार रुपियाँ राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य रहेकामा कुल नौ अर्ब २८ करोड ३५ लाख ५१ हजार रुपियाँ मात्र राजस्व सङ्कलन भएको छ । बन्दाबन्दीका कारण चैत ११ गतेदेखि नै सीमा नाका बन्द गरिएपछि अत्यावश्यक वस्तुबाहेकको आयात निर्यात नहुँदा भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको हो । (गोरखापत्रबाट)
काठमाडौँ, ४ जेठ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौँ प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले नाकामा विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन् ।
उपत्यका बाहिरबाट लुकिछिपी उपत्यका छिर्न थालेपछि ती नगरपालिकाले नाकामा विशेष सुरक्षा सतर्कता अपनाउन थालेका हुन् । उपत्यका प्रवेश गर्ने नाका जोडिएका काठमाडौँको चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर, सूर्यविनायक, नागार्जुन र दक्षिणकाली नगरपालिकाले नाकामा विशेष सुरक्षा अपनाएका हुन् । (गोरखापत्रबाट)
काठमाडौं, जेठ ४ । सरकारले विवादित अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसीं चालु संसद् अधिवेशनबाट पास गराउने रणनीति बनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) उल्लेख नगरी यो परियोजनाअन्तर्गतको प्रसारण लाइन बनाउने कार्यक्रम ल्याएपछि सरकार यो परियोजना चालु संसद् अधिवेशनबाट पास गराउने रणनीतिमा रहेको पुष्टि भएको हो ।
नीति तथा कार्यक्रममा ‘लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४ सय केभी प्रसारण लाइन निर्माण कार्य अघि बढाइने उल्लेख छ । सरकारसँग अहिले नयाँ आयोजनाका लागि बजेट छैन । यस्तो अवस्थामा यी प्रसारण लाइन निर्माण गर्ने कार्यक्रम सरकारले ल्याएको छ ।
मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि आयोजनालाई समावेश गरेकाले संघीय संसद्बाट एमसिसी कम्प्याक्ट पारित हुनेमा आशावादी रहेको बताएको आजको नागरिक दैनिकमा खवर छ ।
बाँके, जेठ ४ । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए ।
उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो । क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जनाए । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उनको भनाइ छ ।
एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको छ । पहिलो चरणमा सङ्क्रमित आठ जनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्न नेपालगञ्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको सङकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले बताए।
उनका अनुसार पहिलो चरणमा नरैनापुरका विभिन्न स्थानमा क्वारेन्टिनमा राखिएका र सङ्क्रमितको सम्पर्कमा आएका २८४ जनाको स्वाब सङ्कलन गरिँदैछ । यसक्रममा आवश्यकताका आधारमा थप आशङ्कितको पनि स्वाब सङ्कलन गर्न सकिने छ । भारतबाट आएका व्यक्तिमा सङ्क्रमण देखिएकाले अन्यत्र फैलिन नदिन सजगता अपनाइएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको भनाई छ । उनले भारतबाट आएका नागरिकबाट कोरोनाको जोखिम रहेकाले परीक्षण गर्नगराउन गाउँपालिकावासीलाई आग्रहसमेत गरेका छन् ।
राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टिनमा राखेको छ । गत बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
हाल नरैनापुर गाउँपालिकामा निर्माण भएका ११ क्वारेन्टिनमा रहेका ६४१ नेपाली सबै भारतबाट आएका हुन् । पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी सीमामा अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टिनमा राखेको छ । नरैनापुरका सङ्क्रमित आठै जनालाई उपचारका लागि दाङको बेलझुण्डीस्थित प्रदेश सरकारको कोरोना विशेष आइसोलेशन अस्पतालमा पठाइएको छ । बाँकेमा सङ्क्रमित ३३ पुगेसँगै यहाँका अन्य स्थानीय तहले सतर्कता अपनाएका छन् ।
क्वारेन्टिन भरिभराउ
बाँकेका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टिन भारतबाट फर्किएका नेपालीले भरिभराउ भएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा अलपत्र नेपालीलाई मुख्य नाकाबाटै स्थानीय प्रशासनले नेपाल भित्र्याएपछि क्वारेन्टिनमा बस्ने ह्वात्तै बढेको हो ।
भारतबाट आउने नेपालीको चाप बढ्दै गएपछि यहाँका स्थानीय तहले क्वारेन्टिन बढाएका छन् । बाँकेमा अहिले ४१ क्वारेन्टिनमा एक हजार १२६ जना बसिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक हजार ७३ पुरुष र ५३ महिला बाँकेका क्वारिन्टनमा रहेका छन् । नरैनापुरमा शुक्रबार मात्रै भारतबाट आएका आठ जनामा कोरोना सङ्क्रमण फेला परिसकेको छ ।
भारतसँग सीमा जोडिएको डुडुवा गाउँपालिकामा निर्माण भएका पाँच क्वारेन्टिनमा १६८ जना बसिरहेका छन् । खजुरा र बैजनाथ गाउँपालिकामा सातसात क्वारेन्टिन छन् । खजुरामा २४ र बैजनाथमा ३० नेपाली क्वारेन्टिनमा रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिकाका चार क्वारेन्टिनमा ३९, नेपालगञ्ज उपमहानगरपालिकाका दुई क्वारेन्टिनमा ११९, कोहलपुर नगरपालिकाका दुई क्वारेन्टिनमा २३, जानकी गाउँपालिकाका दुई क्वारेन्टिनमा २३ र नेपाली सेनाले बनाएको क्वारेन्टिनमा ७४ जना बसिरहेको उनको भनाइ छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले भारतबाट घर फर्किने नेपाली बढ्दै गएकाले क्वारेन्टिन व्यवस्थापनमा समस्या हुँदै गएको बताए । उनले अब प्रदेश र केन्द्रीय सरकारले सहयोग नगरे क्वारेन्टिन सञ्चालन गर्न कठिन हुने गुनासो पनि गरे ।रासस