लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए वान नेपालको आठौं महाधिवेशनबाट शनिबार निर्वाचित भएका बायाँबाट क्रमश: डिष्ट्रिक्ट गभर्नर टंक बहादुर श्रेष्ठ, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर रेवत बहादुर कार्की र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर कर्म गुरुङ्ग । काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए वान नेपालको आठौं महाधिवेशनले डिष्ट्रिक्ट गभर्नर, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर, सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर चयन गरेको छ । शनिबार जुम क्लाउड मिटिङ (Zoom Cloud Meeting) महाधिवेशनबाट सन् २०२०-२१ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा लायन टंक बहादुर श्रेष्ठ, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन रेवत बहादुर कार्की र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदमा लायन कर्म गुरुङ्ग विजय भएका छन् । विश्वभर फैलिएकाे काेराेना भाइरसका कारण यस वर्ष इलेक्ट्रोनिक मतदान गरिएको पूर्व डिष्ट्रिक्ट गभर्नर लायन अन्नत प्रसाद भेटुवाल ज्यूले जानकारी दिए ।
इलेक्ट्रोनिक मतदानमा २७१ क्लबबाट कूल ५२९ भोट मध्ये ५०३ भाेट खसेको थियो । सो मध्येबाट डिष्ट्रिक्ट गभर्नर पदमा लायन टंक बहादुर श्रेष्ठलाई ४८७ 'एस' भोट प्राप्त भएको छ भने १६ नो' भोट खसेकाे छ । त्यसैगरि फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन रेवत बहादुर कार्कीलाई ४७९ 'एस' भोट, २४ नो भोट खसेकाे छ । त्यसैगरि सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर दुई उम्मेद्ववार मध्ये लायन कर्म गुरूङले ४२२ (८३.८९ प्रतिशत) मत प्राप्त गरेर विजय भएका छन् । सोही पदका अर्का उम्मेद्ववार दिपेन्द्र शाक्यले ८१ भाेट (१६.१० प्रतिशत) प्राप्त गरे । भरखरै निर्वाचित भएका डिष्ट्रिक्ट गभर्नर लायन टंक बहादुर श्रेष्ठले गाउँ सहरसँग कुरा गर्दै भने- 'पहिलाे कुरा त यस काेराेना भाइरसकाे त्रासकाे विषम परिस्थितिमा पनि भर्चुअल महाधिवेशन सफल गराउनु भएकाेमा म लायन डिस्ट्रिक गभर्नर राजन खत्री र लायन्स मित्रहरूलाई विशेष धन्यबाद दिन चाहन्छु ।

आगामी दिनहरूमा अग्रजहरू तथा लायन्स लिडरहरूकाे सल्लाह र सुझाव लिएर कार्ययाेजना बनाइ सेवामा लाग्नेछु । आज प्राप्त भएकाे मतले मलाई थप जिम्मेवारी काँधमा आएकाे छ । भाेलीका दिनमा लायन्स मित्रहरूले दिएकाे जिम्मेवारी निष्पक्ष ढंगले अगाडि बढ्नेछु । साथै याे काेराेनाकाे महामारीमा यसअघि पनि सेवा प्रदान गरेकै हाे र आगामी दिनमा पनि हामी संस्थाागत व्यक्तिगत रूपमा जसलाई आवश्यकता हाे उनीहरूकाे सेवामा समर्पित हुनेछु । विशेष गरि हामीले शुरू गरेकाे लायन्स फुड बैंक, १० युनिट हजारभन्दा बढि रगत संकलन र कीर्तिपुरमा सञ्चालन गरेकाे स्किन बैंकमा सहयाेग निरन्तरता दिनेछु । सबै लायन लिडरहरूकाे सामुहिक नेतृत्वमा मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।' त्यसैगरि, सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर पदमा विजयी लायन कर्म गुरुङ्गले सम्पूर्ण लायन्स साथीहरूलाई आठौं महाधिवेशन सफल बनाउन सहयाेग गरि विजय गराउने लायन लिडरप्रति धन्यबाद व्यक्त गर्दै गाउँ सहरसँग कुरा गर्दै भने- ' म सामाजिक सेवामा तल्लीन व्यक्ति भएकाले लायनवादमा लागेकाे हुँ । त्यसैले हामीले आफूभन्दा कम भाग्यशाली व्यक्तिहरूलाई सेवा गर्ने हाे ।

मलाई सेकेण्ड भाइस डिस्ट्रीक गभर्नर पदमा निर्वाचित गराएर थप भारी बाेकाउनु भएकाे छ । म अघि लागेर भारी बाेक्न तयार छु । सामुहिक नेतृत्वमा विश्वास गर्ने भएकाले सम्पूर्ण लायन्स मित्रहरूकाे सहयाेगमा अघिल्लाे वर्ष पनि हाम्राे डिष्ट्रिक्ट विश्वकै उत्कृष्टमा पर्न सफल भएकाे थियाे भने यसपटक पनि हामीले काेराेनाकाे कहरमा झन बढि जिम्मेवारीका साथ काम गर्नुपर्ने बेला आएकाे छ । साेही अनुरूप म र हामी सबै एकै भएर लाग्नेछाै भन्ने विश्वास दिलाउन चाहन्छु ।' वर्तमान डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री (राजन) ले निर्वाचित सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना दिँदै आगामी दिनमा निर्वाचित सबै लायन लिडरहरूसँग सहकार्य गर्दै सिकेका अनुभव साटासाट गर्ने बताए । त्यसैगरि यो वर्ष डिस्ट्रीक ३२५ ए वान ३३७९ वटा सर्भिस कार्यक्रमबाट ८ लाख भन्दा बढी सुबिधा बन्चित मानिसलाई सेवा पुर्याएर ऐतिहासिक रेकर्ड कायम गरेको कुरा पनि ग्लोबल सर्भिस टिम (जिएसटी) डिस्ट्रिक को-अर्डिनेटर लायन रमेश लामाले डिस्ट्रीक गभर्नर लायन इन्द्र खत्री (राजन) लाई बधाई सहित जानकारी गराएका छन् ।

अमेरिकाको शिकागो शहरमा सन् १९१७ को जुन ७ मा मानवीय सेवाको उदेश्यले लायन्सको गठन भएको थियो । स्थापना भएपछि विश्वका करिब १० करोड भन्दा बढी मानिसहरूलाई लायन्सले भोक, रोक र अशिक्षाबाट मुक्त गर्नका लागि कार्य गर्दै आएको छ । नेपालमा सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले विराटनगरमा लायन्स क्लब अफ विराटनगरको स्थापना गरेका थिए । विश्वमा करिब १४ लाख लायन्सका स्वयमसेवक सदस्यहरू कार्यरत छन् भने नेपालमा मल्टिपल डिष्ट्रिक्ट ३२५ अन्तर्गतका चारवटा डिष्ट्रिक्टमा ३४ हजार भन्दा बढी लायन्स सदस्यहरु रहेका छन् । कार्यक्रममा लायन्स क्लबमा रहेका काम गर्नुहुने विभिन्न अग्रज व्यक्तित्वहरुले आ-आफ्ना धारणा राखेका थिए । त्यसैगरि लियोतर्फ लियाे क्लब अफ मकालुका समृन गौतम लियो डिस्ट्रिक्त प्रेसिडेन्ट निर्वाचित भएका छन् भने भाइस प्रेसिडेन्टमा लियाे क्लब विराटनगर माेरङका मुकेश पाैडेल निर्वाचित भएका छन् ।

डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो ।
डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । परीक्षणपछि उनी स्क्रब टाइफसको औषधि लिएर अस्पतालबाट फर्किएका थिए तर पछि उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
सङ्क्रमितसँग सम्पर्क आएका कर्मचारी, सञ्चारकर्मी, होटल सञ्चालक तथा डडेल्धुरा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी र कर्मचारी गरी १५० जनाको स्वाब परीक्षण गरिएको छ । बीस जनाको आरडिटी गरिएको र चिकित्सकसहित सात जना अन्य आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा भारतबाट फर्किएका नागरिकलाई सबै स्थानीय तहले क्वारेन्टिनमा राखिरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । डडेल्धुरामा सात स्थानीय तहका ३० हजार सङ्ख्यामा डडेल्धुराबाट भारत गएको तथ्याङ्क छ । बिहीबार २८८ जनालाई क्वारेन्टिनबाट घर पठाइएको छ । शनिबार ६२६ जिल्लाका सात स्थानीय तहको क्वारेन्टिनमा रहेको प्रजिअ पन्तले बताउनुभयो ।
काठमाडौं, जेठ ११ । नेकपाका नेता लिलामणी पोखरेलले अहिलेको संसदले एमसीसी पारित गरे त्यसले पार्टीका ठूलो द्वन्द निम्त्याउने भाँडभैलो सिर्जना गर्ने बताएका छन् । उनले एमसीसी पारित गर्ने कि नगर्ने भन्ने कुरा संसदको विषय भएपनि यथास्थितिमा पारित गर्न नमिल्ने धारणा राखेका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै पोखरेलले एमसीसी इण्डाप्यासिफिक अन्र्तगतको अमेरिकी शैन्य रणनीति भएकाले अहिलेको अवस्थामा नेपालले पारित गराउन नमिल्नेसमेत दावी गरे । उनले नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत नराखिएको र नीति तथा कार्यक्रमा नआएको विषय संसदबाट पारित हुनै नसक्ने जनाए।
नेता पोखरेलले अहिले कोरोना संक्रमण नियन्त्रण र रोजगारीका विषयहरु ल्याउनुपर्ने समयमा एमसीसीको विषय उठाउन आवस्यक नभएको भन्दै सरकारले नीति तथा कार्यक्रममा ठूलो ओयोजना नराख्ने भन्ने पनि ४ सय केभिको प्रसारण लाइन ल्याउने कुरा कसरी आएको हो, त्यो विचारणनीय भएको बताए।
उनले हिजोको बैठकमा एमसीसीमा भएका विषयहरुको टेक्निकल कुरामा छलफल भएको भएको भन्दै यसको औचित्य र आवस्यकताका विषयमा नेपालका लागि आवस्यक हो कि हैन भन्ने छलफल भएको जानकारी दिदै एमसीसी अहिले नेपालको हितमा नभएको धारणा राखेका छन् ।
यो इण्डोप्यासिफिक मातहत भएको र यसले नेपाललाई इण्डोप्यासिफिक क्षेत्रभित्र राख्न खोजेकोले यो नेपालको हित नभएको पोखरेलको भनाइछ । उनले अमेरिकाले पटक पटक यो शैन्य गठबन्धनसँग सम्बन्धित भएको बताइरहेकाले नेपाल सरकार त्यो संगठनमा कुनै पनि किसिमले सहभागि हुन नसक्ने दावी गरे । उनिहरुको डकुमेन्टहरु हेर्दा पनि यो एमसीसीको परिचालन अमेरिकाको रक्षामन्त्रालयले चलाउने भनिसकेको अवस्थामा नेकपा पारित गराउने पक्षमा जान नहुने उनले बताए ।
केन्द्रीय कमिटीको बैठकमा एमसीसीबारे अध्यायन गर्न तिन सदस्य समिति गठन भएको र त्यो समितिले अहिलेकै अवस्थामा एमसीसी पारित गराउन नसकिने सुझाव दिएकाले नेपालको संविधान विपरित गएर संसदले पारित गर्न नसक्ने पोखरेलको भनाइछ । अन्र्तराष्ट्रिय कानुन अनुसार सर्तहरु राखिनुले पनि यसलाई प्रस्ट पारेको उनले भने,‘ यसलाई मुलुकको हित भन्दा बाहिर गएर पारित गर्न सकिदैन् । अहिलेको अवस्थामा एमसीसी पारित भए त्यसले पार्टीमा द्वन्द सुरु हुन्छ’ ।
जेठ ११, काठमाण्डौ । काठमाण्डौको डिल्लीबजार कारागारमा केदीहरुबीच झडप हुँदा तीन जना घाइते भएका छन् । आज बिहान कारागारभित्र नै झडप भएको हो । घाइते तीन जनालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
काठमाडौ, ११ जेठ । आज देशका विभिन्न भु भागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बँगलादेशको आसपासमा अवस्थित चक्रवात अंपुन कमजोर भई न्युन चापीय प्रणालीको रुपमा रहेको र नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारेको छ ।
महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू(भाग लगायत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आज राति देशैभरि सामान्य बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।- Photo Source: MFD
समाचार विश्लेषण । नेपालमा झण्डै दुई तिहाईको कम्युनिस्ट सरकार भएकै बेलामा नयाँ नक्शा जारी भएको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरी नेपालले नयाँ नक्शा जारी गरेपछि नयाँ दिल्लीमा तरंग आएको छ ।
भारतले लिपुलेक हुँदै चीनको सीमासम्म जोडिने लिंकरोड खोलेपछि नेपालले आपत्ती जनाउँदै कडा कदम चाल्यो । योसँगै भारतमा कम्युनिस्टहरुको विगत र वर्तमानबारे विश्लेषण हुन थालेको छ ।
भारतका पूर्व सैनिक जनरल गगन दीप बक्सीले भारतले विगतमा नेपालमा हिन्दु राष्ट्र ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु ठुलो गल्ती भएको अभिव्यक्ति दिएका छन् । उनले एबीपी न्युजसँग यसै हप्ता अन्तवार्तामा भने, ‘हिन्दु राज्य ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु हाम्रो ठुलो गल्ती थियो ।’ माओवादीलाई समर्थन गर्दा सेल्फ गोल गरेको उल्लेख गर्दै कम्युनिस्टहरुले नै नेपालमा चीनलाई ल्याएर भारतलाई चुनौती दिएको आरोप लगाए ।
भारतको सत्तारुढ भारतीय जनता पार्टीका प्रवक्ता प्रेम शुक्लाले माओवादीलाई विगतमा पालेर राजनीतिक प्रबलता दिइएको बताए । उनले साम्यवादी शक्तिलाई पालेर राजनीतिक प्रबलता दिनुलाई गम्भीर गल्ती समेत भनेका छन् । भारतको टेलिभिजन च्यानल एबीपी न्युजसँगको अन्तवार्तामा भाजपा प्रवक्ता शुक्लाले भने, ‘प्रचण्ड जस्ता साम्यवादी शक्तिलाई जेएनयुमा पालेर राजनीतिक प्रबलता दिइयो ।’ कँग्रेस आईको पालामा राजीब गान्धीलाई पशुपतिनाथको दर्शन गर्न नदिइएको विषय उल्लेख गर्दै त्यसपछि हिन्दु शासकहरुप्रति फरक धारणा पैदा गरिएको समेत आरोप लगाए ।
कम्युनिस्ट सरकारले सिमा विवादमा तेस्रो पक्षका रुपमा चीनलाई ल्याएको भन्दै यो स्वीकार्य नहुने स्पष्ट पारे । उनले भने, ‘चीनलाई ल्याउनु दुर्भाग्यपूर्ण छ ।’ उनले अहिले नेपालमा साम्राज्यवादी शक्तिको नांगो नाँच चलिरहेको समेत बताए ।
नेपाल मामलाका जानकार जनरल अशोक मेहताले तत्काल वार्ता हुनुपर्नेमा जोड दिए । उनले एक हप्ताभित्र अनलाइनमै भएपनि वार्ता हुनुपर्ने बताए । अर्का भारतीय विद्धान प्राध्यापक महेन्द्र पी लामाले पनि वार्ताको विकल्प नभएको बताए । नेपाल मामलाका जानकार प्राध्यापक एस डी मुनीले भारत नेपाल मामलामा असफल हुँदै गएको आरोप लगाएका छन् ।
भारतमा एकपक्ष वार्तामा जोड दिइरहेको छ । एउटा तप्का चीनलाई नेपालको कम्युनिस्ट सरकारले ठाउँ दिएको भन्न थालेका छन् । उनीहरु विगतमा हिन्दु राष्ट्रको अन्तमा भारतको भुमिकाप्रति प्रश्न उठाइरहेका छन् । यसलाई जनरल बक्सीले सेल्फ गोल भनेका छन् । यो सेल्फ गोलले चीनलाई निकै ठाउँ दिएको उनको तर्क छ । जनरल अशोक मेहताले चीनको नेपाल मामलामा निकै बदलाव आइसकेको बताए । चीनले सत्तारुढ नेकपाको आन्तरिक विवादमा सम्झौता गराइदिएको उनको भनाई छ । नेपालमा भारतको प्रभाव रहेकोमा अहिले चीनले जितिसकेको बताए । उनले भने, ‘चीनले वामपन्थी एलाइन्स बनायो ।’ नेकपा एकीकरण चीनले गराएको बताए ।
चीनको बढ्दो प्रभाव बढिरहँदा भारतमा कम्युनिस्ट शक्तिलाई सघाएकोमा गम्भीर विश्लेषणहरु हुन थालेको छ । जनरल बक्सीको भनाईलाई दृष्टिगत गर्ने हो भने भारतभित्र कम्युनिस्ट शक्तिलाई विगतमा साथ दिनुलाई गम्भीर गल्ती भनिएको छ । यदि भारत यस्तो निष्कर्षमा पुगेमा नेपालको राजनीतिमा कस्तो असर पर्छ ? यो प्रश्न चासोको विषय बन्नसक्छ ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टीमाथि धर्मको राजनीति गरेको आरोप लाग्दै आएको छ । उसले नेपालमा हिन्दु राष्ट्र पुर्नस्थापनाको चाहना राखेको विषय चर्चामा आउनेगर्छ । भाजपाका केही नेताहरुको भनाई र दबाब त्यसैतर्फ छ । घटनाक्रम यसरी विकास हुँदैछ कि यसले राजनीतिमा नयाँ दुर्घटनाको सम्भावना बढेको छ । भारतमा नेपाल मामलामा पुर्नविचारको विषय उठ्न थालेको छ । जसलाई भाजपा नेता प्रमोद शुक्लाले पनि संकेत गरेका छन् । घटनाक्रमले भारतले विगतमा परिवर्तनका लागि दिदै आएको साथलाई फर्केर हेर्न थालेको छ । यसले राजनीतिमा नयाँ सम्भावनाको मार्ग कोर्दै लानसक्ने देखिएको छ ।-File Photo
काठमाडौँ, ११ जेठ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सम्भाव्य क्वारेन्टाइन स्थल बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका होटल तथा प्यार्टी प्यालेसहरूको विवरण सङ्कलन गर्न थालेको छ ।
सरकारले होटल तथा पार्टी प्यालेसहरूमा क्वारेन्टाइन राख्न सकिने भन्दै पत्रचार गरेपछि प्रशासनले यसको लागत सङ्कलन गर्न सुरु गरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । “कथंकदाचित महामारीकै अवस्था भयो भने पनि क्वारेन्टाइनको व्यवस्था बनाउनुपर्छ भन्ने ध्येयले होटल तथा प्यार्टी प्यालेसहरूको विवरण लिने काम थालेका हौँ,” उनले भने ।
कतिपय विदेशबाट उद्धार गरी ल्याउने नेपाली नागरिकका लागि पनि राख्ने सबैभन्दा उत्तम ठाउँ होटल तथा पार्टी प्यालेस नै हो भन्ने सरकारको निष्कर्ष रहेको पनि उनले बताएका छन् । होटल तथा पार्टी प्यालेसहरूको विवरण सङ्कलन गर्दैगर्दा त्यो कति क्षेत्रफलमा फैलिएको छ र त्यहा कति मानिस राख्न सकिन्छ भन्ने कुराको विवरण लिइएको छ । (गोरखापत्रबाट)
काठमाडौँ, ११ जेठ । कोरोना भाइरस रोग (कोभिड–१९) विरुद्ध बन्दाबन्दीको समयमा अदालतको काम कारबाहीलाई प्रविधिमैत्री बनाउँदै सर्वोच्च अदालतले म्याद सूचना तथा लिखित जवाफ इमेलबाटै गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
भीडभाड कम गर्न तथा कोरोना जोखिमबाट बच्न भौतिक दूरी कायम गर्ने उद्देश्यसहित अदालतमा स्वयं उपस्थित हुनुपर्ने बाध्यतालाई अदालतले हटाएको हो । कतिपय मुद्दामा बहस नोट पनि इमेलबाटै मागिएको छ । सर्वोच्च अदालतले शुक्रबार बन्दी प्रत्यक्षीकरणका दुई निवेदनमा लिखित जवाफ इमेलबाटै पठाउन आदेश गरेको छ । यस्तै मुद्दाको जानकारीबारेको म्याद इमेलबाटै दिन पनि आदेशमा भनिएको छ ।
कास्की कारागारको थुनामा रहेका पितृराज सापकोटा र काठमाडौँस्थित कारागारको थुनामा रहेका कृष्ण चौधरीको बन्दी प्रत्यक्षीकरण निवेदनमा यस्तो आदेश भएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले मुद्दाको लिखित जवाफ इमेलमार्फत नै पेस गर्न विपक्षीहरूका नाममा आदेश गरेको छ । यस्तै अदालतले आदेश, निवेदनसहितको म्याद सूचना पनि इमेलबाटै विपक्षीलाई पठाउन आदेश गरेको छ । (गोरखापत्रबाट)
काठमाडौँ, ११ जेठ । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् ।
कोरोना प्रभाव लम्बिँदै जाने हो भने वैकल्पिक अध्ययन अध्यापन पद्धति अवलम्बन गर्नुु जरुरी भए पनि त्यसप्रति सरोकार निकाय मौन छन् भने तत्कालीन र दीर्घकालीन रणनीतिमा बहससमेत हुन सकेको छैन । यो जटिल अवस्थामा शिक्षा क्षेत्र ‘पर्ख र हेर’कै अवस्थामा रहेकोप्रति अभिभावकले गुुनासो गर्न थालेका छन् ।
अभिभावकको भनाइ छ, “बालबालिकाको अध्ययन गर्ने बानी नै छुुट्न लागिसक्यो, सम्बद्ध निकाय भने पर्ख र हेरकै अवस्थामा छ ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले कोरोना प्रभावको यो जटिल अवस्थामा अहिले तत्काल नयाँ नीतिगत निर्णय लिने अवस्थामा मन्त्रालय नरहेको बताएका छन् । सङ्क्रमण धेरै लम्बिएको अवस्थामा विभिन्न विकल्पमा जाने हिसाबले आफूहरूले आन्तरिक तयारी गरिरहेको जानकारी उनले दिएका छन् । (गोरखापत्रबाट)
काठमाडौँ, ११ जेठ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न मन्त्रालय तथा निकायले करिब पाँच अर्ब रुपियाँ बराबरको बजेट ‘सरेन्डर’ गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार बजेट त्यसरी फिर्ता गर्नेमा राष्ट्रपति कार्यालयदेखि मन्त्रालय र आयोगसमेत छन् । हालै सार्वजनिक मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा धेरै बजेट सरेन्डर गर्नेमा रक्षा मन्त्रालय सबैभन्दा अगाडि छ । रक्षाले दु्रत मार्गतर्फको दुई अर्ब ८३ करोड ६६ लाख र अन्य शीर्षकतर्फ पाँच करोड ६१ लाख गरी दुई अर्ब ८९ करोड रुपियाँभन्दा बढी बजेट फिर्ता गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७२ करोड ६२ लाख, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ५१ करोड ५७ लाख र परराष्ट्र मन्त्रालयले ३५ करोड ९१ लाख रुपियाँ बजेट फिर्ता गरेका छन् । राष्ट्रपति कार्यालयले नौ करोड ५० लाख रुपियाँ बजेट सरेन्डर गरेको छ । सवारी खरिदको समेत बजेट यसमा समावेश रहेकामा कोभिड १९ को महामारीको समयमा उक्त बजेट स्थगित गरेर कार्यालयले अर्थ मन्त्रालयलाई बजेट फिर्ता गरेको हो ।
निर्वाचन आयोगले पनि २० करोड ३१ लाख रुपियाँ बजेट फिर्ता गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले एक करोड, सार्वजनिक खर्च वित्तीय उत्तरदायित्वको सचिवालयले ९९ लाख ६२ हजार र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ५० लाख रुपियाँ बजेट फिर्ता गरेको छ । यो सबै गरेर चैत मसान्तसम्म चार अर्ब ८१ करोड ७० लाख रुपियाँ बजेट फिर्ता भएको अर्थ मन्त्रालयले जनाएको छ । (गोरखापत्रबाट)