काठमाडौं, जेठ ११ । नेकपाका नेता लिलामणी पोखरेलले अहिलेको संसदले एमसीसी पारित गरे त्यसले पार्टीका ठूलो द्वन्द निम्त्याउने भाँडभैलो सिर्जना गर्ने बताएका छन् । उनले एमसीसी पारित गर्ने कि नगर्ने भन्ने कुरा संसदको विषय भएपनि यथास्थितिमा पारित गर्न नमिल्ने धारणा राखेका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै पोखरेलले एमसीसी इण्डाप्यासिफिक अन्र्तगतको अमेरिकी शैन्य रणनीति भएकाले अहिलेको अवस्थामा नेपालले पारित गराउन नमिल्नेसमेत दावी गरे । उनले नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत नराखिएको र नीति तथा कार्यक्रमा नआएको विषय संसदबाट पारित हुनै नसक्ने जनाए।
नेता पोखरेलले अहिले कोरोना संक्रमण नियन्त्रण र रोजगारीका विषयहरु ल्याउनुपर्ने समयमा एमसीसीको विषय उठाउन आवस्यक नभएको भन्दै सरकारले नीति तथा कार्यक्रममा ठूलो ओयोजना नराख्ने भन्ने पनि ४ सय केभिको प्रसारण लाइन ल्याउने कुरा कसरी आएको हो, त्यो विचारणनीय भएको बताए।
उनले हिजोको बैठकमा एमसीसीमा भएका विषयहरुको टेक्निकल कुरामा छलफल भएको भएको भन्दै यसको औचित्य र आवस्यकताका विषयमा नेपालका लागि आवस्यक हो कि हैन भन्ने छलफल भएको जानकारी दिदै एमसीसी अहिले नेपालको हितमा नभएको धारणा राखेका छन् ।
यो इण्डोप्यासिफिक मातहत भएको र यसले नेपाललाई इण्डोप्यासिफिक क्षेत्रभित्र राख्न खोजेकोले यो नेपालको हित नभएको पोखरेलको भनाइछ । उनले अमेरिकाले पटक पटक यो शैन्य गठबन्धनसँग सम्बन्धित भएको बताइरहेकाले नेपाल सरकार त्यो संगठनमा कुनै पनि किसिमले सहभागि हुन नसक्ने दावी गरे । उनिहरुको डकुमेन्टहरु हेर्दा पनि यो एमसीसीको परिचालन अमेरिकाको रक्षामन्त्रालयले चलाउने भनिसकेको अवस्थामा नेकपा पारित गराउने पक्षमा जान नहुने उनले बताए ।
केन्द्रीय कमिटीको बैठकमा एमसीसीबारे अध्यायन गर्न तिन सदस्य समिति गठन भएको र त्यो समितिले अहिलेकै अवस्थामा एमसीसी पारित गराउन नसकिने सुझाव दिएकाले नेपालको संविधान विपरित गएर संसदले पारित गर्न नसक्ने पोखरेलको भनाइछ । अन्र्तराष्ट्रिय कानुन अनुसार सर्तहरु राखिनुले पनि यसलाई प्रस्ट पारेको उनले भने,‘ यसलाई मुलुकको हित भन्दा बाहिर गएर पारित गर्न सकिदैन् । अहिलेको अवस्थामा एमसीसी पारित भए त्यसले पार्टीमा द्वन्द सुरु हुन्छ’ ।
जेठ ११, काठमाण्डौ । काठमाण्डौको डिल्लीबजार कारागारमा केदीहरुबीच झडप हुँदा तीन जना घाइते भएका छन् । आज बिहान कारागारभित्र नै झडप भएको हो । घाइते तीन जनालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
काठमाडौ, ११ जेठ । आज देशका विभिन्न भु भागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बँगलादेशको आसपासमा अवस्थित चक्रवात अंपुन कमजोर भई न्युन चापीय प्रणालीको रुपमा रहेको र नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारेको छ ।
महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू(भाग लगायत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आज राति देशैभरि सामान्य बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।- Photo Source: MFD
समाचार विश्लेषण । नेपालमा झण्डै दुई तिहाईको कम्युनिस्ट सरकार भएकै बेलामा नयाँ नक्शा जारी भएको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरी नेपालले नयाँ नक्शा जारी गरेपछि नयाँ दिल्लीमा तरंग आएको छ ।
भारतले लिपुलेक हुँदै चीनको सीमासम्म जोडिने लिंकरोड खोलेपछि नेपालले आपत्ती जनाउँदै कडा कदम चाल्यो । योसँगै भारतमा कम्युनिस्टहरुको विगत र वर्तमानबारे विश्लेषण हुन थालेको छ ।
भारतका पूर्व सैनिक जनरल गगन दीप बक्सीले भारतले विगतमा नेपालमा हिन्दु राष्ट्र ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु ठुलो गल्ती भएको अभिव्यक्ति दिएका छन् । उनले एबीपी न्युजसँग यसै हप्ता अन्तवार्तामा भने, ‘हिन्दु राज्य ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु हाम्रो ठुलो गल्ती थियो ।’ माओवादीलाई समर्थन गर्दा सेल्फ गोल गरेको उल्लेख गर्दै कम्युनिस्टहरुले नै नेपालमा चीनलाई ल्याएर भारतलाई चुनौती दिएको आरोप लगाए ।
भारतको सत्तारुढ भारतीय जनता पार्टीका प्रवक्ता प्रेम शुक्लाले माओवादीलाई विगतमा पालेर राजनीतिक प्रबलता दिइएको बताए । उनले साम्यवादी शक्तिलाई पालेर राजनीतिक प्रबलता दिनुलाई गम्भीर गल्ती समेत भनेका छन् । भारतको टेलिभिजन च्यानल एबीपी न्युजसँगको अन्तवार्तामा भाजपा प्रवक्ता शुक्लाले भने, ‘प्रचण्ड जस्ता साम्यवादी शक्तिलाई जेएनयुमा पालेर राजनीतिक प्रबलता दिइयो ।’ कँग्रेस आईको पालामा राजीब गान्धीलाई पशुपतिनाथको दर्शन गर्न नदिइएको विषय उल्लेख गर्दै त्यसपछि हिन्दु शासकहरुप्रति फरक धारणा पैदा गरिएको समेत आरोप लगाए ।
कम्युनिस्ट सरकारले सिमा विवादमा तेस्रो पक्षका रुपमा चीनलाई ल्याएको भन्दै यो स्वीकार्य नहुने स्पष्ट पारे । उनले भने, ‘चीनलाई ल्याउनु दुर्भाग्यपूर्ण छ ।’ उनले अहिले नेपालमा साम्राज्यवादी शक्तिको नांगो नाँच चलिरहेको समेत बताए ।
नेपाल मामलाका जानकार जनरल अशोक मेहताले तत्काल वार्ता हुनुपर्नेमा जोड दिए । उनले एक हप्ताभित्र अनलाइनमै भएपनि वार्ता हुनुपर्ने बताए । अर्का भारतीय विद्धान प्राध्यापक महेन्द्र पी लामाले पनि वार्ताको विकल्प नभएको बताए । नेपाल मामलाका जानकार प्राध्यापक एस डी मुनीले भारत नेपाल मामलामा असफल हुँदै गएको आरोप लगाएका छन् ।
भारतमा एकपक्ष वार्तामा जोड दिइरहेको छ । एउटा तप्का चीनलाई नेपालको कम्युनिस्ट सरकारले ठाउँ दिएको भन्न थालेका छन् । उनीहरु विगतमा हिन्दु राष्ट्रको अन्तमा भारतको भुमिकाप्रति प्रश्न उठाइरहेका छन् । यसलाई जनरल बक्सीले सेल्फ गोल भनेका छन् । यो सेल्फ गोलले चीनलाई निकै ठाउँ दिएको उनको तर्क छ । जनरल अशोक मेहताले चीनको नेपाल मामलामा निकै बदलाव आइसकेको बताए । चीनले सत्तारुढ नेकपाको आन्तरिक विवादमा सम्झौता गराइदिएको उनको भनाई छ । नेपालमा भारतको प्रभाव रहेकोमा अहिले चीनले जितिसकेको बताए । उनले भने, ‘चीनले वामपन्थी एलाइन्स बनायो ।’ नेकपा एकीकरण चीनले गराएको बताए ।
चीनको बढ्दो प्रभाव बढिरहँदा भारतमा कम्युनिस्ट शक्तिलाई सघाएकोमा गम्भीर विश्लेषणहरु हुन थालेको छ । जनरल बक्सीको भनाईलाई दृष्टिगत गर्ने हो भने भारतभित्र कम्युनिस्ट शक्तिलाई विगतमा साथ दिनुलाई गम्भीर गल्ती भनिएको छ । यदि भारत यस्तो निष्कर्षमा पुगेमा नेपालको राजनीतिमा कस्तो असर पर्छ ? यो प्रश्न चासोको विषय बन्नसक्छ ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टीमाथि धर्मको राजनीति गरेको आरोप लाग्दै आएको छ । उसले नेपालमा हिन्दु राष्ट्र पुर्नस्थापनाको चाहना राखेको विषय चर्चामा आउनेगर्छ । भाजपाका केही नेताहरुको भनाई र दबाब त्यसैतर्फ छ । घटनाक्रम यसरी विकास हुँदैछ कि यसले राजनीतिमा नयाँ दुर्घटनाको सम्भावना बढेको छ । भारतमा नेपाल मामलामा पुर्नविचारको विषय उठ्न थालेको छ । जसलाई भाजपा नेता प्रमोद शुक्लाले पनि संकेत गरेका छन् । घटनाक्रमले भारतले विगतमा परिवर्तनका लागि दिदै आएको साथलाई फर्केर हेर्न थालेको छ । यसले राजनीतिमा नयाँ सम्भावनाको मार्ग कोर्दै लानसक्ने देखिएको छ ।-File Photo
काठमाडौँ, ११ जेठ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सम्भाव्य क्वारेन्टाइन स्थल बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका होटल तथा प्यार्टी प्यालेसहरूको विवरण सङ्कलन गर्न थालेको छ ।
सरकारले होटल तथा पार्टी प्यालेसहरूमा क्वारेन्टाइन राख्न सकिने भन्दै पत्रचार गरेपछि प्रशासनले यसको लागत सङ्कलन गर्न सुरु गरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । “कथंकदाचित महामारीकै अवस्था भयो भने पनि क्वारेन्टाइनको व्यवस्था बनाउनुपर्छ भन्ने ध्येयले होटल तथा प्यार्टी प्यालेसहरूको विवरण लिने काम थालेका हौँ,” उनले भने ।
कतिपय विदेशबाट उद्धार गरी ल्याउने नेपाली नागरिकका लागि पनि राख्ने सबैभन्दा उत्तम ठाउँ होटल तथा पार्टी प्यालेस नै हो भन्ने सरकारको निष्कर्ष रहेको पनि उनले बताएका छन् । होटल तथा पार्टी प्यालेसहरूको विवरण सङ्कलन गर्दैगर्दा त्यो कति क्षेत्रफलमा फैलिएको छ र त्यहा कति मानिस राख्न सकिन्छ भन्ने कुराको विवरण लिइएको छ । (गोरखापत्रबाट)
काठमाडौँ, ११ जेठ । कोरोना भाइरस रोग (कोभिड–१९) विरुद्ध बन्दाबन्दीको समयमा अदालतको काम कारबाहीलाई प्रविधिमैत्री बनाउँदै सर्वोच्च अदालतले म्याद सूचना तथा लिखित जवाफ इमेलबाटै गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
भीडभाड कम गर्न तथा कोरोना जोखिमबाट बच्न भौतिक दूरी कायम गर्ने उद्देश्यसहित अदालतमा स्वयं उपस्थित हुनुपर्ने बाध्यतालाई अदालतले हटाएको हो । कतिपय मुद्दामा बहस नोट पनि इमेलबाटै मागिएको छ । सर्वोच्च अदालतले शुक्रबार बन्दी प्रत्यक्षीकरणका दुई निवेदनमा लिखित जवाफ इमेलबाटै पठाउन आदेश गरेको छ । यस्तै मुद्दाको जानकारीबारेको म्याद इमेलबाटै दिन पनि आदेशमा भनिएको छ ।
कास्की कारागारको थुनामा रहेका पितृराज सापकोटा र काठमाडौँस्थित कारागारको थुनामा रहेका कृष्ण चौधरीको बन्दी प्रत्यक्षीकरण निवेदनमा यस्तो आदेश भएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले मुद्दाको लिखित जवाफ इमेलमार्फत नै पेस गर्न विपक्षीहरूका नाममा आदेश गरेको छ । यस्तै अदालतले आदेश, निवेदनसहितको म्याद सूचना पनि इमेलबाटै विपक्षीलाई पठाउन आदेश गरेको छ । (गोरखापत्रबाट)
काठमाडौँ, ११ जेठ । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् ।
कोरोना प्रभाव लम्बिँदै जाने हो भने वैकल्पिक अध्ययन अध्यापन पद्धति अवलम्बन गर्नुु जरुरी भए पनि त्यसप्रति सरोकार निकाय मौन छन् भने तत्कालीन र दीर्घकालीन रणनीतिमा बहससमेत हुन सकेको छैन । यो जटिल अवस्थामा शिक्षा क्षेत्र ‘पर्ख र हेर’कै अवस्थामा रहेकोप्रति अभिभावकले गुुनासो गर्न थालेका छन् ।
अभिभावकको भनाइ छ, “बालबालिकाको अध्ययन गर्ने बानी नै छुुट्न लागिसक्यो, सम्बद्ध निकाय भने पर्ख र हेरकै अवस्थामा छ ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले कोरोना प्रभावको यो जटिल अवस्थामा अहिले तत्काल नयाँ नीतिगत निर्णय लिने अवस्थामा मन्त्रालय नरहेको बताएका छन् । सङ्क्रमण धेरै लम्बिएको अवस्थामा विभिन्न विकल्पमा जाने हिसाबले आफूहरूले आन्तरिक तयारी गरिरहेको जानकारी उनले दिएका छन् । (गोरखापत्रबाट)
काठमाडौँ, ११ जेठ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न मन्त्रालय तथा निकायले करिब पाँच अर्ब रुपियाँ बराबरको बजेट ‘सरेन्डर’ गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार बजेट त्यसरी फिर्ता गर्नेमा राष्ट्रपति कार्यालयदेखि मन्त्रालय र आयोगसमेत छन् । हालै सार्वजनिक मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा धेरै बजेट सरेन्डर गर्नेमा रक्षा मन्त्रालय सबैभन्दा अगाडि छ । रक्षाले दु्रत मार्गतर्फको दुई अर्ब ८३ करोड ६६ लाख र अन्य शीर्षकतर्फ पाँच करोड ६१ लाख गरी दुई अर्ब ८९ करोड रुपियाँभन्दा बढी बजेट फिर्ता गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७२ करोड ६२ लाख, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ५१ करोड ५७ लाख र परराष्ट्र मन्त्रालयले ३५ करोड ९१ लाख रुपियाँ बजेट फिर्ता गरेका छन् । राष्ट्रपति कार्यालयले नौ करोड ५० लाख रुपियाँ बजेट सरेन्डर गरेको छ । सवारी खरिदको समेत बजेट यसमा समावेश रहेकामा कोभिड १९ को महामारीको समयमा उक्त बजेट स्थगित गरेर कार्यालयले अर्थ मन्त्रालयलाई बजेट फिर्ता गरेको हो ।
निर्वाचन आयोगले पनि २० करोड ३१ लाख रुपियाँ बजेट फिर्ता गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले एक करोड, सार्वजनिक खर्च वित्तीय उत्तरदायित्वको सचिवालयले ९९ लाख ६२ हजार र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ५० लाख रुपियाँ बजेट फिर्ता गरेको छ । यो सबै गरेर चैत मसान्तसम्म चार अर्ब ८१ करोड ७० लाख रुपियाँ बजेट फिर्ता भएको अर्थ मन्त्रालयले जनाएको छ । (गोरखापत्रबाट)
काठमाडौँ, ११ जेठ । पछिल्लो २४ घण्टामा बारा, सर्लाही र सप्तरीका २१ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या १७१ पुगेको छ ।
ती २१ मध्ये भारतबाट भित्रिएका २० व्यक्तिमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताएका छन् । बाराको सिमरौनगढ नगरपालिकाका कोरोनाबाट सङ्क्रमित सातजना केही दिनअघि भारतबाट फर्केका थिए । उनीहरुलाई स्थानीय कङ्कालिनीमाई माविस्थित क्वारेन्टाइनमा राखिएको थियो ।
करैयामाई गाउँपालिका–५की एक ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । केहीदिन अघि भारतबाट फर्किएका उनका ३८ वर्षीय श्रीमान्मा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनका आफन्त, सम्पर्कमा आएका व्यक्तिका साथै श्रीमतीको पनि स्वाब सङ्कलन गरिएको थियो । परीक्षणबाट ती व्यक्तिकी श्रीमतीमा कोरोना सङ्क्रमण देखिएको हो ।
सर्लाहीका १३ मध्ये १२ जना सङ्क्रमित भारतको गुजरात, महाराष्ट्र र दिल्लीबाट आएको बताइएको छ । सर्लाहीको कविलासी नगरपालिका–१ की ३७ वर्षीया कोरोना सङ्क्रमित महिलाको काठमाडौँमा उपचार भइरहेको छ । यस्तै सर्लाहीको गोडैता नगरपालिकामा विभिन्न मितिमा भारतबाट फर्केका १२ सङ्क्रमितलाई मलङ्गवा–२ स्थित अल्पमाई अस्पतालको आइसोलेशनमा राख्ने तयारी भइरहेको सचिव डा. घिमिरेले बताएका छन् । सप्तरीको बलानविहुल गाउपालिकाका ३५ वर्षीय पुरुष वैशाख २९ गते भारतको हरियाणाबाट फर्केका थिए । उनको गजेन्द्रनारायणसिँह अस्पताल राजविराजमा उपचार भइरहेको छ । (रासस)
प्रकाशित मिति : 24 May, 2020
|
8 SHARES |

काठमाडौँ, ११ जेठ । कोराना भाइरस रोकथामका लागि गरिएको लकडाउन उल्लङ्घन भएपछि स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ ।
बजारमा जथाभावी काम नभएका व्यक्ति हिँड्ने भएपछि प्रशासनले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा जुम्ला बजारमा प्रवेश निषेध गरे पनि उल्लङ्घन भएपछि जोखिम बढेको छ । बाहिरबाट आउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको र लकडाउनको समयमा भीडभाड बढेको भन्दै प्रशसानले बिहीबारबाट कडाइ गरेको हो ।
कोरोनाको जोखिम न्यूनीकरणका लागि जुम्लामा अत्यावश्यकबहेकका पसल खोलिएको र मानिसहरु आत्यावश्यक वस्तु किनमेल गर्ने बहानामा बढी भीडभाड हुने गरेका कारण थप कडाइ गर्न थालेको हो । लकडाउन पूर्ण कार्यान्वयन नभएपछि स्थानीय प्रशासनले थप सुरक्षा व्यवस्था कडा गर्ने भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कोरोनाको रोकथामका लागि उच्च सतर्कता अपनाउन नागरिकको दायित्व भए पनि मास्कबिना नागरिक हिँडडुल गरिरहेकाले खाद्यान्नलगायतका अत्यावश्यकबाहेकका पसल खोलिएको पाइएमा प्रशासनले कारवाही गर्ने बताएका छन् ।
उनले नागरिकलाई लकडाउनको पूर्णपालना गर्न र कोरोनाबाट जोगिन अनुरोध गरेका छन् । बजारमा जथाभावी हिँड्नेलाई सचेत गर्नुका साथै केही मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । यस्तो अवस्थामा बाहिरबाट निकै ठूलो मेहनत गरेर क्वारेन्टाइनमा राखिएको छ । परीक्षण प्रक्रिया बढाइएको छ तर जथाभावी बजारमा हिँड्ने क्रम बढेको छ । (रासस)